
वैशाख ९ गते भारतको काश्मीरमा आतंकवादी हमलामा परी एकजना नेपालीसहित २६ जना सर्वसाधारणको निधन भयो । त्यस घटनापछि उद्वेलित भएको भारतले मंगलबार पाकिस्तानका विभिन्न ठाउँमा आक्रमण थाल्यो । आतंकवादीहरूलाई संरक्षण गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि आक्रमण थालेको हो ।
यो सैन्य अभियानलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । भारतीय सेनाले आतंकवादी बसेका ९ स्थानमा लडाकु विमानमार्फत एयर स्ट्राइक गरेको दाबी गरेको छ । भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको पाकिस्तानका प्रधानमन्त्रीले स्वीकार गरेका छन् । साथै उनले यो आक्रमणको बदला लिने घोषणा पनि गरेका छन् ।
नेपालले भने बिहीबार साँझ मात्रै आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं साथ दिने बताएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्याएको नेपालले यस क्षेत्रको शान्तिका निम्ति दुवै देशलाई अपिल गरेको छ ।
भारत-पाकिस्तानको पछिल्लो तनाव, थप तनावको सम्भावना र यसको असरबारे परराष्ट्र मामिलाका जानकारसमेत रहेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य राजन भट्टाराईसँग अनलाइनखबरका बिनु सुवेदी र सइन्द्र राईले गरेको कुराकानी :
भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई छिमेकी राष्ट्रका हिसाबले हामीले कसरी हेर्नुपर्छ ?
भारत र पाकिस्तानको तनाव जुन हिसाबले अघि बढ्न खोजेको छ, त्यसलाई अहिलेकै सन्दर्भमा मात्रै बुझ्नु हुँदैन । सन् १९४७ मा भारत र पाकिस्तानबीच विभाजन भयो, त्यसपछि पनि दुवै मुलुक पटकपटक युद्धमा गए । दुवै मुलुक युद्धमा जाँदा पनि समाधान भने दिएन । त्यसैले दुवैतर्फको बुझाइ द्वन्द्व लम्ब्याएर, युद्ध गरेर निचोड आउँछ भन्ने मलाई लाग्दैन । त्यहाँभित्रको नेतृत्व पंक्तिले औपचारिक रूपमा युद्ध घोषणा गरे दुईटै मुलुकमा कुनै निकास निस्किन्छ भन्ने लाग्दैन । किनभने, दुवै मुलुक एकअर्कालाई पूरै निषेध गर्ने अवस्थामा छैनन् ।
यद्यपि, सैन्य हिसाबले भारत बलियो छ तर पाकिस्तान पनि त्यति कमजोर छैन । अझ पाकिस्तान आणविक हतियारले सुसज्जित छ । त्यसैले आणविक हतियारयुक्त दुई मुलुकबीचको तनाव लामो र औपचारिक युद्धमै जान्छ भन्ने मलाई लाग्दैन ।
अहिलेको द्ववन्द विशेषगरी काश्मीरमा २६ जना निहत्था जनताको हत्या भएपछिको प्रतिक्रिया हो । भारतले त्यो घटनासँग जोडिएका समूहहरूलाई पाकिस्तानले खास-खास ठाउँ दिएको छ र उनीहरू त्यहाँ सेल्टर लिएर बसेका छन् भनेको छ । बुधबारको आक्रमण पनि तिनै ठाउँमा केन्द्रित गरिएको देखिन्छ ।
भारतले आफूले सर्वसाधरण नागरिकको हत्या नगरेको बताइरहेको छ । पाकिस्तानी आर्मी तथा अन्य संरचनालाई पनि छोएका छैनौं भनेको छ । पाकिस्तानले त्यसलाई अलि फरक ढंगले हेरेको छ । हाम्रा ३१ जना मान्छे मारिए, त्यसभित्र नागरिक छन्, मस्जिदमा समेत आक्रमण भएको छ । त्यसैले हामी यसको बदला लिन्छौं भनेको छ । यो अवस्थामा पाकिस्तानबाट केही पनि हुँदैन त म भन्दिनँ, तर पाकिस्तानलाई पनि अहिलेको तरल राजनीतिक अवस्थामा प्रत्याक्रमण गर्न कठिन छ ।
तर, कतिपय अवस्थामा राष्ट्रियता र काश्मीर मुद्दा भारत र पाकिस्तानकै लागि यस्तो मुद्दा हो कि, शासकहरूले द्वन्द्व बढाएर आफ्नो पक्षमा जनमत बढाउने हतियारका रूपमा प्रयोग गर्ने गरेको विगतको अभ्यासबाट देखिन्छ । त्यसैले त्यही बाटोतर्फ केही गर्न खोजिएको हो कि भन्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूको आशंका छ ।
यस्तो अलि बढी भारतका तर्फबाट होला हैन ?
पाकिस्तानका तर्फबाट पनि छ । ती २६ जना मार्ने कुरामा भारतले कुनै पहल त गरेको हैन । त्यो विशुद्ध आतंकवादी हमला हो । कहाँ थिए आतंकवादी र कसरी आएर हमला गरे भन्ने कुरा उनीहरूलाई हामीलाई भन्दा धेरै थाहा छ । हामी शान्तिपूर्ण हिसाबले बसिरहेका थियौं, पाकिस्तानीहरूले ती आक्रमणकारीलाई संरक्षरण गरिरहेको छ भन्ने भारतीय पक्षको दाबी छ । हामीले किटेरै ती फोर्सहरूलाई कारबाही गर भन्दा पाकिस्तानले नगरेको भारतीयको उनीहरूको दलिल छ । पाकिस्तानको पनि आफ्नै खालको दलिल छ । यस्तो बेलामा द्वन्द्व बढेर जाँदा दुईवटै मुलुकलाई फाइदा छैन ।
अहिले विश्व नै दक्षिणपन्थीको पोल्टामा गइरहेको बेला छ । दोस्रो विश्वयुद्धका बेला आइडियोलोजिमा आधारित पोलोराइजेसन थियो । अहिले विश्वभरि नै दक्षिणपन्थी, अति राष्ट्रवादी र जातीय एजेण्डा बोक्नेहरू हाबी भइरहेको देखिन्छ । यस्तो स्थितिमा भारत र पाकिस्तान जुन-जुन बाटोबाट जान चाहिरहेका छन्, औपचारिक रूपमै युद्धमा जान्छन् भन्ने मलाई लाग्दैन ।
काश्मीर घटनालाई आतंकवादी हमला भनेर पाकिस्तानले पनि भनेको छ । हमलाकारीसँग पाकिस्तानको प्रत्यक्ष सम्बन्ध पनि छैन । यस्तोमा हमला गरेर भारतले नै युद्धलाई निम्तो दिएको हो कि भन्नेहरू पनि त छन् नि ?
भारतसँग भएको सूचनाअनुसार २६ जनाको हत्या गर्नेहरूको कनेक्सन पाकिस्तानसँग छ, ऊ पाकिस्तानमा सहज ढंगले बसिरहेको छ र त्यसलाई पाकिस्तानले कारबाही गरेन, हामीले पहिलेदेखि नै सूचना दिइरहेका थियौं भन्ने नै हो । पाकिस्तानले भारतले दिइरहेको प्रमाणलाई मानिरहेको छैन । यहाँनेर अलिकति ग्याप छ ।
नेपाल दुवैको छिमेकी राष्ट्र भएकाले स्वाभाविक रूपमा नेपाललाई प्रभाव पर्छ नै । यो तनाव लम्बिँदै गयो भने हामीलाई पर्ने असरहरू के हुन्छन् ?
दीर्घकालीन रूपमा हामीले प्रभाव भोग्दै आइरहेका छौं नि । हामीले क्षेत्रीय हितका लागि विकास गरेको सार्क अहिले निष्क्रियजस्तै छ। वास्तवमा सार्कले धेरै राम्रो काम गर्दै आएको थियो । सार्क रिजनल पोलिसी निर्माण गर्ने कुरामा, ट्रेड विस्तार गर्ने कुरामा, लगानी विस्तार गर्ने कुरामा, आतंकवादी गतिविधिविरुद्ध एकजुट भएर प्रतिकार गर्दै आएको संस्था हो । तर भारत र पाकिस्तानको विवादले सार्क अहिले अस्तित्वमै नभए जस्तो अवस्थामा पुग्यो । यद्यपि, हाम्रो नीति भनेको सार्क जस्तो संस्थालाई सक्रिय बनाउनुपर्छ भन्ने हो ।
जब छिमेक मुलुकहरू युद्धमा जान्छन्, क्षेत्रीय शान्ति नै खल्बलिन्छ । र, अन्तर्राष्ट्रिय शान्ति खल्बलिन्छ । हामी शान्तिपूर्ण व्यवस्थाबाटै आर्थिक विकास, समृद्धि, सामाजिक रुपान्तरणका कार्य योजनाहरू पूरा गर्न चाहन्छौं । शान्तिपूर्ण लोकतान्त्रिक बाटोमा बढिरहेको, आर्थिक विकास अगाडि बढाइरहेको मुलुकका रूपमा हाम्रो छबि बनाइरहेका छौं ।
अब युद्धको स्केल कस्तो हुन्छ, अहिले टार्जेटेड ठाउँमा भारतले आक्रमण गर्यो, भोलि पाकिस्तानले टार्जेटेड ठाउँमा आक्रमण गरेर सामसुम पार्ने स्थितिमा जान्छ कि लम्बिँदै गएर ठूलो युद्धमा परिणत हुन्छ, त्यो हेर्न बाँकी छ ।
भारत-पाकिस्तान तनावले हाम्रो सुरक्षा क्षेत्रमा असर पर्न सक्छ । भारतसँग खुला सिमाना छ, त्यसको दुरुपयोग गरी कुनै पनि हिसाबबाट हामीमाथि अप्ठ्यारो पर्न सक्छ । हाम्रो नीति स्पष्ट छ, कुनै पनि छिमेकी र मित्रराष्ट्रको विपक्षमा हाम्रो भूभाग प्रयोग हुन दिँदैनौं भनेर दरिलो प्रतिबद्धता जाहेर गरेका छौं ।
भाजपाका नेता विजय चौधाइवालेले नेपालका मस्जिदहरूबारे चासो राखेको सुनियो, कुरा के हो ?
हाम्रा भूभागहरू आतंकवादी अथवा अपराधिक समूहहरूले सुरक्षित स्थल बनाउने कुरा हुँदैन भन्ने कुराको सुनिश्चितता नजिकका छिमेकीलाई दिनैपर्छ । नजिकका छिमेकी मात्र होइन, विश्व व्यवस्थामा जब हामी विश्व शान्तिको पक्षमा छौं । शान्तिपूर्ण हिसाबले जानुपर्छ र द्वन्द्वहरूको समाधान संवादबाट गर्नुपर्छ भन्छौं । हामी त्यस्तो कुरामा आफू संलग्न हुने पनि होइन र कतैबाट हुन्छन् भने तत्काल कार्बाही गरेर हटाउनेतर्फ जानुपर्छ ।
सुखद् पक्ष, अहिलेसम्म हाम्रो मदरसा भए पनि, मुस्लिम समुदायको उपस्थिति भए पनि एकले अर्काको अस्तित्व स्वीकार्दै बसिरहेका छौं । यहाँ कहीँ पनि त्यस्तो गतिविधि भएको छैन । र, भोलि पनि त्यस्तो गतिविधि हुँदैन भन्ने सुनिश्चितता गर्दै जानुपर्छ । कहीँ कतैबाट प्रश्न नउठ्ने गरी हाम्रो व्यवस्था र प्रणालीहरू अगाडि लानुपर्छ । यस्तो बेलामा धमिलो पानीमा माछा मार्ने तत्वहरू सक्रिय हुन सक्छन्, यसतर्फ राज्य चनाखो हुनुपर्छ ।
पहलगाम घटनामा नेपाल तत्कालै बोलेको थियो । तर भारतको हमलाबारे नेपाल मौन छ नि ?
हरेक घटनामा नेपालले प्रतिक्रिया दिनुपर्छ भन्ने हुँदैन । घटना कसरी अगाडि बढ्छ भन्ने हेर्नुपर्छ । हाम्रो विदेश नीतिको आधारभूत पक्ष भनेको हामी शान्तिको पक्षमा छौं । जुनसुकै समस्या पनि टेबलमा बसेर कूटनीतिक माध्यमबाटै समाधान गरिनुपर्छ, चाहे त्यो दुई पक्षीय होस्, अथवा बहुपक्षीय । यो आधारभूत मान्यताबाट हामीले तलमाथि गर्नु हुँदैन ।
दोस्रो हामीले जहिल्यै पनि सैन्यगत रूपमा कतै पनि पक्षधरता लिन सक्दैनौं, लिन हुँदैन । हाम्रो जस्तो भूराजनीतिक अवस्थितिका कारण पृथ्वीनारायण शाहले पनि कतै पनि पक्षधरता नलिने कुरा गर्नु भएको हो । त्यसयता कतिपय बेला तलमाथि भए पनि सामान्य अवस्थामा असंलग्नताकै माध्यमबाट अगाडि जानुपर्छ । यही नीतिबाटै भोलि आउन सक्ने द्वन्द्वहरूको पनि समाधान गर्नुपर्छ ।
तेस्रो– पहलगाम घटनामा हामीले जे बोल्यौं, ठिक समयमा बोलेका थियौं । त्यो आतंकवादी गतिविधि थियो, शान्तिपूर्ण र निहत्था जनतामाथि गरिएको बर्बर आक्रमण थियो । त्यसको जति भर्त्सना गरे पनि पुग्दैन ।
नेपाल सार्क राष्ट्रको अध्यक्ष मुलुक हो । तर अध्यक्ष हुनुको हैसियतले अपिल गर्न ढिलाइ भइरहेको छ जस्तो लाग्दैन ?
सार्कको अध्यक्ष हैसियतले दुईपक्षीय मामलामा बोल्न मिल्दैन । सार्कको चार्टरमा एउटा प्रतिबन्धात्मक प्रबन्ध नै छ, दुईपक्षीय मामला त्यहाँ ल्याउन पाइँदैन ।
पाकिस्तान र भारतको दुईपक्षीय मामिलाले सार्क अड्किएर बसेको छ । पाकिस्तानमा हुने बैठकमा भारत जान्न भनिरहेको छ । सार्कमा सर्वसम्मत विषय मात्र निर्णय हुने हो । सबै राष्ट्रको सहमतिमा निर्णय लिने कुरा हुन्छ ।
भारत–पाकिस्तान तनावका सन्दर्भमा, भारतले यतिबेला जे दाबी गरिरहेको छ, त्यसलाई पाकिस्तानले मानिरहेको छैन । हामीले पाकिस्तानमा यसो गर्यौं भनेर दाबी गर्नेले पर्याप्त आधार त दिन सक्नुपर्यो । पाकिस्तानले पनि होइन भन्ने आधार दिन सक्नुपर्यो । त्यसपछि मात्रै एउटा पक्षको अर्घेल्याईं रहेछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
भारत र पाकिस्तानको तनाव त नेपालका लागि पनि चिन्ताको विषय भयो नि होइन ?
नेपालका थुप्रै जवान भारतीय सेनामा भर्ना हुन गएका छन् । पहिले काश्मीर र चीनसँगको लडाईंमा पनि नेपाली परेका दृष्टान्त छन् । त्यसैले पनि तनाव नलम्बियोस् र वार्ताकै टेबलबाट निष्कर्ष निस्कियोस् भन्नेमा जोड दिनुपर्छ ।
भारत-पाक तनावकै बीचमा पाकिस्तानी सैनिक नेपाल भ्रमणमा आएको विषय पनि संसद्मा उठ्यो नि ?
आतंकवादको विरोध जहाँ, जसले गरे पनि स्वाभाविक हो । पाकिस्तानी सेनाको विषय के हो भन्ने पनि अब त स्पष्ट भइहाल्यो । अमेरिकी सेनासहितको उपस्थितिमा नियमित तालिममा नेपाल आएका थिए उनीहरू । यस्तो बेला हामीले अत्यन्त संयमतापूर्वक बुझेर अभिव्यक्ति दिनु राम्रो हुन्छ ।
तर, माओवादी महासचिव र उपमहासचिवमध्ये एकले भारत र अर्कोले पाकिस्तानको पक्षमा अभिव्यक्ति दिएको पनि देखियो नि ?
यो कुनै पार्टीको मात्रै भन्दा पनि विश्व परिवेशको विषय जस्तो भयो । भारतले आतंकवादी बसेका ठाउँमा लक्षित गरेको भनेको छ । पाकिस्तानले यसको बदलामा के गर्छ भनेर आकलन हुन नसकेका बेला अहिले के हुन्छ भन्न कठिन हुन्छ । यो नियमित युद्ध होइन । खास क्याम्प लक्षित गरेर थालेको आक्रमण नियमित युद्धमा परिणत हुन्छ कि हुँदैन भन्ने कुरा हो ।
खास-खास घटनाबाट विगतमा पनि टुंगिएको छ । कारगिलको लडाईं पनि केही समयपछि टुंगियो । आजको विश्व परिवेश पनि युद्ध लम्ब्याइराख्ने अवस्थामा छैन । भारतको हितमा पनि छैन, पाकिस्तानको हितमा पनि छैन । एक–अर्कालाई उत्तेजित गराउने अवस्थामा दुवै देश छैनन् । पाकिस्तान आर्थिक, सैन्य सबै हिसाबले भारतभन्दा कमजोर छ । भारतसँग युद्धमा जानु उसका लागि पनि स्रोत-साधन लगायत सबै दृष्टिले जोखिमयुक्त छ ।
भारत-पाकिस्तानबीच सन् १९४७ पछि पनि विभिन्न समयमा युद्ध भइरहेका दृष्टान्त देखिन्छन् । १९९९, २००८, २०१९ तिर पनि लफडा भएका थिए । त्यस्तो बेला नेपालको अडान कस्तो हुन्थ्यो ?
हामी खासै बोल्दैनथ्यौं । मुम्बई आक्रमणका बेला हामीले आतंकवादको निन्दा गर्यौं । तर जब दुई देशबीचको तनावको विषय आउँछ, त्यस बेला चाहिँ हामीले संवादका लागि आग्रह गर्ने र शान्तिको कामना गर्ने गरेका छौं । शान्तिपूर्ण हिसाबले तनाव टुंग्याउने पक्षधरता नै हामीले लिने गरेका छौं ।
तर, विभिन्न देशहरूले आफ्ना धारणा राखिसक्दा नेपालले वक्तव्य दिन किन ढिलाइ गरेको ?
सरकारले केही हेरेर तयारी गर्न समय लिएको हो । औपचारिक रूपमा धारणा आइहाल्छ । मूलतः परिस्थिति कसरी अघि बढ्छ भनेर हेर्न पनि परिपक्वता देखाइएको हो । छिमेकीहरूको तनावमा नेपालले संयमित र स्पष्ट भएर पोजिसन स्पष्ट गर्छ ।
प्रतिक्रिया 4