+
+
Shares

सगरमाथा संवादमा हिमालको चिन्ता हुँदैगर्दा हुम्लामा फुटेको थियो हिमताल

काठमाडौंमा सरकारले बहुप्रतीक्षित सगरमाथा संवाद आयोजना गरी हिमाली क्षेत्रको असुरक्षाका कारण यो क्षेत्रले भोगिरहेको साझा जलवायु संकटबारे अन्तर्राष्ट्रिय बहस चलाउँदैगर्दा संयोगवश हुम्लाको विकट गाउँले यस्तै किसिमको प्रत्यक्ष असर भोग्नु परेको थियो ।

अनलाइनखबर टिम अनलाइनखबर टिम
२०८२ जेठ ४ गते २२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको तिलगाउँमा १ जेठको राति हिमताल फुटेर पहिरो गएको छ।
  • जलवायु परिवर्तन र हिमताल फुट्ने सम्भावनाले बाढीको जोखिम बढाएको जलवायु विज्ञहरूले बताएका छन्।

४ जेठ, काठमाडौं । संयोग नै मानौं, राजधानी काठमाडौंमा दुई दिनअघि जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य शीर्षकमा सगरमाथा संवाद नामक अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै थियो ।

त्यसैको अघिल्लो राति अर्थात् १ जेठमा पश्चिम कर्णाली पहाडको विकट लिमी उपत्यकाको हिमाली क्षेत्रमा हिमताल फुटेर एकाएक पहिरो गयो । नाम्खा गाउँपालिका वडा नम्बर ६ को तिलगाउँमा पहिरो जाँदा सिंगो बस्ती नै यतिबेला विस्थापित छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा १ जेठको राति सुतिसकेका थिए । राति खहरे गडगडाएझैं ठूलो आवाजले १८ घरका बासिन्दाको भागाभाग भयो । वर्षाको कुनै संकेत बेगर आएको यो बाढीबारे तिलगाउँका वडाध्यक्ष पाल्जोर लामाले पहिरोस्थलबाट अनलाइनखबरसँग भने, ‘पहिरो गएको ठाउँ हेर्दै अचम्मको रहेछ । म वारिपट्टि रहेकाले गर्दा गाउँ पुग्न पनि निकै गाह्रो थियो । तल एक ठाउँबाट बाटो पार गर्न सकिन्छ जस्तो देखियो । त्यसपछि म त्यो बाटो हुँदै गाउँतर्फ लागेँ । हेर्दाखेरि ठूलो क्षतिजस्तो नदेखिए पनि बस्ती नै जोखिमतर्फ गइसकेको रहेछ ।’

विकट तिलगाउँमा पुग्न हिल्साबाट जनपद र सशस्त्र प्रहरीलाई आधा दिन समय लाग्यो । उनीहरूले क्षति विवरण लिएर गए पनि उद्धारको ठोस कार्य भने हुन सकेन ।

‘माथि ५ हजार ३ सय मिटरको दुईवटा हिमताल रहेछन्, त्यहाँ आजसम्म गाउँले पुगेका नै थिएनन्,’ वडाध्यक्ष लामाले भने, ‘यस्तो जोखिम आउला भन्ने कहिल्यै सोचेनौं ।’

३२ गाउँले यति बेला त्रिपालमुनि बसिरहेका छन् । तिलगाउँमा अहिले खानेपानीको समस्या सुरु भएको छ । कुलो बगिसकेको छ ।

उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

आजै बिहान मात्रै सगरमाथा संवादमा आएका पाहुनाहरूलाई लिएर सरकारी टोली माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकनका लागि निस्किएको थियो ।

लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । सोनाम साङ्मु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

लेदोसहितको पहिरोले १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनीमा सिँचाई गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार, क्षतिको विवरण संकलनको क्रममा छ ।

शहामीले गर्नसक्ने तत्कालिन व्यवस्थापनको अधिकतम प्रयास भएको छ । अहिले हेलिकप्टर आए हुन्थ्यो भन्ने स्थानीयको कुरा छ,’ उनले भने, ‘आज स्थानीय ५ जनाको टोली त्यहाँ पुगेको छ । उहाँहरूले देखेको कुराको आधारमा अन्य रणनीति बनाउनुपर्ने देखिन्छ ।’

जलवायु परिवर्तनका कारण नेपाललाई परिरहेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सरकारले ‘सगरमाथा संवाद’ कार्यक्रम गरिरहेका बेला हिमाली जिल्ला हुम्लामा बाढीले वितण्डा मच्चाएको हो ।

आजै बिहान मात्रै सगरमाथा संवादमा आएका पाहुनाहरूलाई लिएर सरकारी टोली माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकनका लागि निस्किएको थियो ।

हिमाली बस्ती तिलगाउँमा कसरी आयो बाढी ? अनलाइनखबरको यो जिज्ञासामा जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली यसबारे स्याटेलाइटमार्फत् अध्ययन गरिरहेकाले एक–दुई दिनमा तथ्य सार्वजनिक गर्ने बताउँछन् ।

गाउँलेहरूले दुईवटा ताल फुटेर अचानक लेदोसहितको पहिरो आएर बस्ती नै जोखिममा परेको बताइरहेका बेला विभागले शीघ्र अनुसन्धान गरी रिपोर्ट दिने बताएको हो ।

‘हुम्लामा बाढी आउनुका दुईवटा कारण हुनसक्छन् । एउटा वर्षा भएकाले पहिरो खसेर केहीबेर पानीको बहाव थुनिने र खुल्ने गर्दा बाढीको रुप लिएको हुन सक्छ । अर्को कारण भनेको हिमताल वा हिमपोखरी फुटेको हुनसक्छ,’ पराजुलीले भने, ‘सानातिना हिमतालहरू त्यतातिर थुप्रै देखिन्छन् । यी दुई सम्भावनाहरू हुन् । त्यो एक–दुई दिनमा पुष्टि हुन्छ ।’

यसलाई जलवायु परिवर्तनको प्रभावको कारण मान्न सकिने एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा कार्यरत जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठ बताउँछन् ।

उनका अनुसार, बाढी गएको स्थानमा जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र छैन । त्यसैले सो क्षेत्रमा कति पानी परेको थियो भन्ने जानकारी विभागलाई छैन ।

त्यसैले स्याटेलाइटमार्फत् अध्ययन गरिरहेको उनले बताए । ‘सेन्टिनल एसियाको स्याटेलाइट मनिटरिङ सिस्टमबाट त्यहाँको डेटा लिएका छौं,’ पराजुलीले भने, ‘घटना हुनुभन्दा अघिल्ला दिनको र घटना भइसकेको दिनका केही इमेजहरू आइसकेको छ । त्यसलाई अध्ययन गर्न चाहिँ बाँकी छ ।’

उनले थपे, ‘सायद भोलि वा पर्सिसम्म कुन प्वाइन्टबाट बाढी सिर्जना भयो भन्ने जानकारी आउँछ ।’

यसअघि जल तथा मौसम विज्ञान विभागले यही स्याटेलाइट प्रणालीमार्फत् गत वर्ष असोजमा आएको बाढी–पहिरो तथा सोलुखुम्बुको थामेमा गएको बाढी–पहिरोको अध्ययन गरिएको थियो ।

यो प्रणालीमा नेपालका जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नापी विभाग, सिंचाइ विभाग लगायत सदस्य छन् ।

काठमाडौंमा १३ देश र ६ अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिले आफ्नो वक्तव्य राख्दै मानवताको भविष्य रक्षा खेल्नुपर्ने भूमिकाबारे मत राखेका थिए । उनीहरूले जलवायु परिवर्तनका कारण सिर्जित हिमाली क्षेत्रको प्रकृति, जनजीवन र पशुचौपायाको सुरक्षा समस्याबारे आफ्ना धारणाहरू पेश गर्दै गरेको पृष्ठभूमिमा संयोगवश हुम्ला घटना भएको हो ।

हुम्ला घटना जलवायु परिवर्तनकै परिणाम

मौसमविद्हरूका अनुसार पछिल्ला केही वर्षयता नेपालको हिमाली क्षेत्रमा हिउँको साटो पानी पर्ने गरेको छ । यसलाई जलवायु परिवर्तनको प्रभावको कारण मान्न सकिने एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा कार्यरत जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठ बताउँछन् ।

‘हुम्लाको यो घटना पनि जलवायु परिवर्तनकै परिणाम हो भन्छु म,’ उनले भने, ‘कतिपय प्रकोपहरूमा जलवायु परिवर्तनकै कारण हो र ? भनेर प्रश्न गर्न सकिन्छ । तर जलवायु परिवर्तनको प्रत्यक्ष उदाहरणमा हिउँ पग्लिने, हिमताल विष्फोट हुने, हिउँ पहिरो जाने घटनाहरू हुन् ।’

विकसित देशहरूले बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने, त्यसको असरले तापक्रम बढ्ने र हिउँ पग्लिने दर बढ्दा हिमाली क्षेत्र संकटमा परेको उनको भनाइ छ । यसबाट हरितगृह ग्याँस उत्सर्जनमा न्यून योगदान हुने नेपाल जस्ता देशहरू प्रत्यक्ष मारमा परिरहेकाले नेपालले त्यसबारे आवाज उठाउनुपर्ने श्रेष्ठ बताउँछन् ।

‘क्लाइमेट एक्सनलाई कार्यान्वयन गराउने र हानी तथा नोक्सानीका लागि नेपालले निरन्तर दबाब दिनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसका लागि नेपालले खासगरी हिमालदेखि समुद्रसम्मका देशहरूलाई एकजुट बनाउनुपर्छ । सगरमाथा संवादको उद्देश्य पनि त्यही हो ।’

–हुम्लाबाट नरजन तामाङ, काठमाडौंबाट नारायण अधिकारी, विनोद घिमिरे र रुपक चौलागाईं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?