
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन महिनालाई हिन्दुधर्मावलम्बीहरूले भगवान शिवको प्रिय महिना मान्छन् र यस समयमा पूजा–अर्चना तथा नियमहरूको पालना गर्छन् ।
- साउनमा मासुजन्य खाना नखानुको धार्मिक, वैज्ञानिक, आयुर्वेदिक र पारिस्थितिक कारणहरू छन्, जसमा पाचन समस्या, माइक्रोबियल सङ्क्रमण र जैविक सन्तुलन समावेश छन्।
साउनको महिना धेरै दृष्टिकोणले विशेष मानिन्छ । यो समयमा वर्षाको मौसम हुन्छ, जुन निकै रमाइलो हुन्छ र धार्मिक हिसाबले पनि यो महिना निकै महत्वपूर्ण मानिन्छ । यो महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा लिइन्छ । त्यसैले भगवान शिवको आशीर्वाद प्राप्त गर्न मानिसहरूले पूजा–अर्चना गर्छन् । साथै, यो समयमा धेरै नियमहरूको पालना पनि गरिन्छ ।
साउनमा धेरै प्रकारका खानाहरू खान निषेध गरिन्छ । मासुजन्य खाना पनि यस्तै खानाहरूमध्ये एक हो, धेरै व्यक्तिहरू साउन महिनामा मासु बार्ने गर्छन् । यसका पछाडि धार्मिक विश्वास त छँदै छ, तर मासुजन्य खाना नखानुमा वैज्ञानिक कारण पनि छ ।
साउनमा मासुजन्य खाना खान नहुने कारण के हो त ?
धार्मिक कारण
हिन्दुधर्मावलम्बीका लागि साउन महिना पवित्र र महत्वपूर्ण मानिन्छ । यो समयमा भगवान शिवको आराधना गरिन्छ र उनको कृपा प्राप्त गर्न व्रत–उपवास पनि राखिन्छ । यस्तोमा यो महिनाको पवित्रता र पूजा–अर्चनाका नियमहरूको पालना गर्दै मासुजन्य खानाबाट टाढा रहने गरिन्छ ।
वैज्ञानिक कारण
पाचन प्रणालीमा मौसमी प्रभाव
साउन महिनामा वर्षातका कारण वातावरणमा आद्र्रता र चिसो बढ्छ । यो समयमा मानव शरीरको मेटाबोलिज्म दरमा कमी आउन सक्छ, किनभने शरीरले चिसो मौसममा ऊर्जा संरक्षण गर्न खोज्छ । मासुजन्य खानाहरू प्रोटिन र बोसोयुक्त हुन्छन्, जसलाई पचाउन शरीरले धेरै ऊर्जा र समय खर्च गर्नुपर्छ ।
वर्षातको समयमा कमजोर पाचन शक्तिका कारण यस्ता खानाहरू पचाउन गाह्रो हुन्छ, जसले अपच, ग्यास्ट्रिक वा पेटसम्बन्धी अन्य समस्याहरू निम्त्याउन सक्छ । वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन् कि, उच्च आद्र्रतायुक्त मौसममा मानव शरीरको पाचन एन्जाइमहरूको प्रभावकारिता कम हुन सक्छ, जसले भारी खानाहरूलाई पचाउन कठिन बनाउँछ ।
माइक्रोबियल सङ्क्रमणको जोखिम
वर्षातको मौसममा मासुजन्य खानाहरूमा ‘माइक्रोबियल’ ब्याक्टेरिया, फंगस, र परजिवी सङ्क्रमणको जोखिम उच्च हुन्छ । साउनमा निरन्तर वर्षा र उच्च आद्र्रताले मासु भण्डारण र प्रशोधनमा कठिनाइ उत्पन्न गर्छ । मासु छिट्टै बिग्रने खाद्य पदार्थ हो र यो मौसममा उचित तापमान नियन्त्रणको अभावमा ब्याक्टेरियाको वृद्धि तीव्र हुन्छ । यस्ता ब्याक्टेरियाले खाद्य विषाक्तता निम्त्याउन सक्छ, जसले पेट दुख्ने, वान्ता र झाडापखाला जस्ता समस्याहरू उत्पन्न गर्छ । त्यसैले, साउनमा मासुजन्य खानाबाट टाढा रहनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
प्रकृतिको पारिस्थितिक सन्तुलन
वर्षातको समयमा धेरै जीवजन्तुहरूको प्रजनन् चक्र सक्रिय हुन्छ । यो समयमा मासुका लागि जीवजन्तु मार्दा पारिस्थितिक सन्तुलनमा असर पर्न सक्छ । उदाहरणका लागि, माछा, कुखुरा, र अन्य साना जीवहरूको प्रजनन् यो मौसममा चरमोत्कर्षमा हुन्छ । यदि यो समयमा यस्ता जीवहरू अत्यधिक मार्ने कार्य भयो भने खाद्य श्रृंखलामा असन्तुलन आउन सक्छ । यो परम्पराले अप्रत्यक्ष रूपमा जैविक विविधताको संरक्षणमा योगदान पुर्याउँछ, जुन वैज्ञानिक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।
हर्मोनल र रासायनिक प्रभाव
वर्षातको समयमा जीवजन्तुहरूको शरीरमा हर्मोनल परिवर्तनहरू हुन्छन्, विशेषगरी प्रजननको समयमा । यस्ता हर्मोनहरूले मासुको गुणस्तर र स्वादमा पनि प्रभाव पार्न सक्छ । यदि यस्तो मासु राम्ररी नपकाइए वा उपयुक्त तरिकाले प्रशोधन नगरेमा, हर्मोनल र रासायनिक अवशेषहरू मानव शरीरमा प्रवेश गर्न सक्छन्, जसले दीर्घकालीन स्वास्थ्य समस्याहरू जस्तै हर्मोन असन्तुलन वा अन्य जैविक प्रभावहरू निम्त्याउन सक्छ । साथै, वर्षातको समयमा पशुहरूले खाने घाँसपात वा पानीमा कीटनाशक वा अन्य रासायनिक पदार्थहरू मिसिन सक्छ, जुन मासुमा जम्मा हुन्छ र मानव स्वास्थ्यमा हानिकारक हुन सक्छ ।
आयुर्वेदिक दृष्टिकोण
आयुर्वेदका अनुसार, वर्षातको मौसममा शरीरमा ‘वात’ र ‘कफ’ दोषको प्रभाव बढ्छ । मासुजन्य खानाले यी दोषहरूलाई थप असन्तुलित बनाउन सक्छ, जसले जोर्नी दुखाइ, सुस्ती र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । आयुर्वेदले यो मौसममा हल्का, सुपाच्य र शाकाहारी खानाहरूलाई प्राथमिकता दिन सुझाव दिन्छ । उदाहरणका लागि, दाल, तरकारी र सागपातले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्छ र पाचन प्रणालीलाई बोझ कम गर्छ।
वातावरणीय प्रदूषण र मासुको गुणस्तर
साउनमा वर्षातले गर्दा माटो र पानीमा प्रदूषणको मात्रा बढ्न सक्छ । खेतबारीबाट बगेर आएका रासायनिक मल, कीटनाशक र अन्य प्रदूषकहरू पानीको स्रोतमा मिसिन्छन् । यस्ता प्रदूषित स्रोतहरूबाट पानी पिउने वा घाँस खाने पशुहरूको मासुमा यी रसायनहरू सङ्कलन हुन सक्छन् । यस्तो मासु खाँदा मानव शरीरमा यी हानिकारक रसायनहरू प्रवेश गर्न सक्छन्, जसले दीर्घकालमा पनि स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
प्रतिक्रिया 4