+

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

२०८२ असार  ४ गते १३:४० २०८२ असार ४ गते १३:४०
Shares
मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खानेकुरा अड्किएमा तुरुन्त प्राथमिक उपचार गरी र अस्पताल जानु आवश्यक छ।
  • अड्किएको वस्तुले ज्यान जाने र संक्रमणको खतरा रहन्छ ।
  • दाँत नहुने व्यक्तिहरूले हड्डीबिना मासु खानु उपयुक्त हुन्छ ।

केही दिनअघि एक वृद्धको अप्रत्याशित मृत्यु भयो । कारण थियो, मासु घाँटीमा अड्किनु ।

त्यो दिन बिहान अरु दिनजस्तै सामान्य थियो, परिवारसँगै खाजा खाने क्रममा अचानक वृद्धको घाँटीमा मासुको टुक्रा अड्कियो । केही मिनेटमै सास फेर्न गाह्रो भयो, अनुहार निलो देखिन थाल्यो र तुरुन्तै स्वास्थ्य संस्था लैजाने प्रयास भए पनि उनको ज्यान जोगाउन सकिएन ।

यस प्रकारका घटनाहरू हामीले यदाकदा समाचारमा पढ्ने, सुन्ने गर्छौं । तर यो केवल ‘दुर्लभ दुर्घटना’ होइन ।

यस्तो अवस्था जोकसैलाई कुनै पनि बेला पर्न सक्छ । समयमै उचित उपचार नपाए ज्यानै जाने सम्भावना रहन्छ । विशेष गरी वृद्ध, बच्चा र श्वास-प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिमा यस्तो जोखिम उच्च हुन्छ।

के हुन्छ, जब घाँटीमा खानेकुरा अड्किन्छ ?

जब हामी कुनै पनि खानेकुरा खान्छौं, त्यो खानेकुरा खाद्यनली हुँदै पेटतर्फ जान्छ । तर कतिपय अवस्थामा खानेकुरा घाँटीमै अड्किन पुग्छ । मासु खानेक्रममा सँगै हड्डी पनि निलियो भने घाँटीमा अड्किन सक्छ ।

अड्किएको खानेकुराले वायुनलीलाई दबाइदिन्छ वा पूर्णरूपमा बन्द गरिदिन्छ । त्यसपछि शरीरमा अक्सिजनयुक्त हावा जान बन्द हुन्छ, जसका कारण ३ देखि ५ मिनेटभित्र नै मस्तिष्कमा अक्सिजन नपुगेर गम्भीर अवस्था आउन सक्छ ।

किन हुन्छ यस्तो दुर्घटना ?

यस्तो दुर्घटनाको प्रमुख कारण खाँदा होस नपुर्‍याउनु हो । मासु अड्काएर आउनेहरूमा वयस्क बढी छन् । मासुसँगै मदिरा पिइरहेको अवस्थामा हड्डी अड्काउनेहरु धेरै हुन्छन् । धेरै मात लागि सकेपछि मदिरा पिउँदा के खाइरहेको भन्ने होस नहुँदा समस्या बन्न सक्छ ।

त्यसैगरी, कसैमा हतार-हतार खाने बानी हुन्छ । यस्तोमा पनि हड्डी अड्किन सक्छ । कसैको भने एक हातमा मोबाइल र अर्को हातले मासुका परिकार खाइराख्दा खानमा कम र मोबाइलमा बढी ध्यान दिँदा हड्डी अड्किने जोखिम बढी हुन्छ ।

वृद्धवृद्धामा पनि यो समस्या व्यापक देखिन्छ । वृद्धवृद्धाको कमजोर दाँतले मासु चपाउन सक्दैन । नचपाई निल्दा मासुसँगै हड्डी खाद्यनलीबाट जान्छ र अड्किने गर्छ । दाँत नै नहुने वृद्धवृद्धामा त झन बढी समस्या हुन्छ । अहिले भान्सामा पहिले भन्दा मासु धेरै पाक्छ । यस कारण पनि मासु घाँटीमा अड्किने समस्या बढी देखिन्छ ।

वृद्धमा हड्डी अड्किने अर्को कारण पनि छ । खाना मुखमा पस्नेबित्तिकै तालुमा एक किसिमको अनुभूति हुन्छ । जसले गर्दा गिजामा बल लगाएर चपाउन सक्छौं । तर उमेर बढेसँगै तालुमा हुने त्यो अनुभूति कम हुन्छ । र, खानेकुरा मुखमा हाल्दा चपाएको थाहा नहुँदा हड्डी निल्ने सम्भावना बढी हुन्छ ।

बच्चामा पनि मासु खाँदा हड्डी अड्किने सम्भावना हुन्छ । किनकी, उनीहरुलाई आफूले के खाइरहेको थाहा हुँदैन । विशेषत ४ वर्षमुनिका बच्चामा यो समस्या देखिन्छ ।

कुन-कुन अंगमा अड्किएको हुनसक्छ  ?

हड्डी खाद्य नली, श्वासप्रश्वास नली र फोक्सोमा अड्किन्छ । मासुसहितको हड्डी खाद्य नलीमा अड्किँदा खाना निल्न गाह्रो हुने, घाँटी दुख्ने, र्‍याल बढी आउने, मुख वा घाँटी सुन्निने जस्ता लक्षण देखिन्छन् । श्वास नलीमा अड्किँदा सास फेर्न कठिन हुने, तुरुन्तै निलाे देखिने र तत्काल ज्यानै जाने खतरा हुन्छ । यदि वस्तु फोक्सोसम्म पुग्यो भने गम्भीर प्रकारको श्वास-प्रश्वास समस्या वा इन्फेक्सन हुन सक्छ।

खाना नलीमा चारवटा मुख्य ठाउँमा अड्किने सम्भावना हुन्छ । त्यसमध्ये सर्वाधिक अड्किने ठाउँ फ्यारिङ्गोइसोफेगियल जंक्शन (घाँटी र खाद्य नली जाेडिने ठाउँ ) हो, जुन घाँटीको माथिल्लो भागमा हुन्छ । यो क्षेत्र साँघुरो हुने भएकाले हड्डी वा वस्तु सजिलै अड्किन्छ । अन्य ठाउँहरूमा अगाडिको दाँत (सेन्ट्रल इन्साइजर) बाट १५ सेन्टिमिटर, २५ सेन्टिमिटर र ४० सेन्टिमिटर तलका साँघुरा भागहरू पर्छन् । यी ठाउँहरूमा हड्डी घोचिएर अड्किन सक्छ ।

तत्काल प्राथमिक उपचार

यदि खानेकुरा वा वस्तु अड्कियो भने तत्काल कदम चाल्नुपर्छ । हाइमलिक म्यानुभर एक प्रभावकारी प्राथमिक उपचार विधि हो । यो प्रक्रियामा बिरामीलाई पछाडिबाट अँगालो हालेर, पेट र छातीको जंक्शनमा जोरले दबाइन्छ । यसले पेटको हावाको दबाबले अड्किएको वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ । यो प्रक्रिया प्रशिक्षित व्यक्तिले मात्र गर्नुपर्छ।

यदि सास फेर्न गाह्रो भइरहेको छ वा बिरामी निलो हुन थालेको छ भने तत्काल अस्पताल लैजानुपर्छ । दूरदराजका क्षेत्रमा अस्पताल नजिक नहुँदा यस्ता घटनाले ज्यान लिन सक्छ । यदि अड्किएको वस्तु सानो छ र एकतर्फी श्वास नलीमा पुगेको छ भने एउटा फोक्सोले काम गर्न सक्छ, जसले केही समय बचाउन सक्छ । तर, दुईवटै श्वास नली बन्द भएमा तत्काल हाइमलिक म्यानुभर वा अन्य उपायले निकाल्न नसके ज्यान जाने सम्भावना हुन्छ ।

मृत्युको जोखिम

अड्किएको वस्तुले तत्काल वा ढिलो गरी मृत्यु हुने जोखिम हुन सक्छ । यदि वस्तुले श्वास नली पूरै बन्द गर्‍यो भने केही मिनेटमै अक्सिजन अभावले मस्तिष्कमा क्षति हुन्छ । यदि अड्किएको वस्तुले खाना नलीमा प्वाल पार्‍यो भने मध्य छातीमा मेडियास्टाइनाइटिस नामक गम्भीर संक्रमण हुन सक्छ । यो अवस्थामा छातीको मध्य भागमा  मुटु र ठूला रक्तनलीहरू इन्फेक्सन फैलिन्छ, जसले ज्यानै लिन सक्छ ।

खाद्य नलीमा अड्किएको वस्तुले प्वाल बनाएमा छातीमा संक्रमण फैलिन्छ, जसले मुटु र ठूला रक्तनलीहरूलाई असर गर्छ । यस्तो अवस्थामा एन्टिबायोटिकले मात्र काम नगर्न सक्छ र शल्यक्रिया आवश्यक पर्छ।

कतिपयले अड्किएको वस्तु निकाल्न केरा खाने, लालीगुराँसको फूल खाने वा चिउरा खाने जस्ता घरेलु उपाय गर्छन् । यस्ता उपायले वस्तु झन् भित्र धकेलिन सक्छ वा इन्फेक्सन बढाउन सक्छ । जब खाना निल्न गाह्रो हुन्छ, ज्वरो आउँछ वा सास फेर्न समस्या हुन्छ, तत्काल अस्पताल जानुपर्छ ।

कसरी बच्ने ?

यो समस्याबाट बच्न सावधानी अपनाउनु नै उत्तम उपाय हो । वृद्धवृद्धाले साना र नरम मासुका टुक्रा खानुपर्छ । दाँत नहुने व्यक्तिहरूले हड्डीबिना मासु खानु उपयुक्त हुन्छ ।

मासु खाँदा हड्डी राम्रोसँग हटाउनुपर्छ । खाने बेला मोबाइल वा टेलिभिजनमा ध्यान नदिनुहोस् । परिवारमा कम्तीमा एक जनाले हाइमलिक म्यानुभर सिक्नु आवश्यक छ ।

कतिपय बच्चामा हड्डी मात्र होइन, ब्याट्री अड्किएको शंका लागेमा तुरुन्तै अस्पताल लानुपर्छ । ब्याट्रीले रसायन रिलिज गरेर खाद्य नलीमा गम्भीर क्षति पुर्‍याउँछ । एक घन्टाभित्र निकाल्न सकिएन भने अवस्था जटिल हुन्छ ।

खाना घाँटी मासु
डा. अरुण अधिकारी
लेखक
डा. अरुण अधिकारी
नाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक

डा. अधिकारी नाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक हुन् । उनी हाल हस्पिटल फर चिल्ड्रेन आई ईएनटी एण्ड रिह्याबलिएसन सर्भिस (चियर्स)मा कार्यरत छन् । उनले एमबीबीएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर १३१७० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?