+

के खानाले औषधिको काम गर्न सक्छ ?

२०८२ जेठ  २३ गते १७:५७ २०८२ जेठ २३ गते १७:५७
Shares
के खानाले औषधिको काम गर्न सक्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खानाले शरीरलाई आवश्यक पोषक तत्वहरू प्रदान गर्छ र रोगबाट जोगाउँछ, तर पूर्ण उपचार होइन।
  • भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, फाइबर, प्रोटिन र बोसोले शरीरको प्रणालीलाई बलियो बनाउँछन्।
  • अति–प्रशोधित खानाले दीर्घकालीन रोगहरूको जोखिम बढाउँछ, र चिकित्सकीय उपचारको विकल्प होइन।

भनिन्छ-जस्तो खान्छौं, शरीर त्यस्तै बन्छ ।

शरीर बन्न पोषक तत्व चाहिन्छ । जुन खानाबाट प्राप्त हुन्छ । यही पोषणले शरीर बनाउँछ । औषधिको पनि काम गर्छ । रोगबाट बचाउँछ । यही कारणले खानालाई औषधिको रूपमा पनि लिइन्छ । तर, खानाले औषधिको पूर्ण विकल्प लिन सक्दैन ।

पहिला बुझौं, खानाले शरीरलाई कसरी पोषण दिन्छ ?

खानामा पाइने विभिन्न पोषक तत्वहरूले शरीरको कार्य सञ्चालन गर्छ ।  यी तत्वहरूमा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, फाइबर, प्रोटिन र स्वस्थ प्रोटिन समावेश हुन्छन् । यी प्रत्येकले शरीरका विभिन्न प्रणालीलाई बलियो बनाउन र रोगबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।

भिटामिन र खनिज

शरीरलाई थोरै मात्रामा भिटामिन र खनिज चाहिन्छ, तर यिनीहरूको कमीले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । उदाहरणका लागि, भिटामिन सीको कमीले कमजोरी, रक्तअल्पता, सास फेर्न गाह्रो र छाला सम्बन्धी समस्याहरू ल्याउँछ । यो रोग ताजा फलफूल र तरकारीबाट प्राप्त भिटामिन सीले सजिलै निको हुन्छ ।

त्यस्तै, भिटामिन डीको कमीले हड्डी कमजोर हुने (ओस्टियोपोरोसिस) र भाइरल संक्रमणको जोखिम बढ्छ । भिटामिन डी सूर्यको किरण, माछा र दुग्धजन्य पदार्थबाट प्राप्त हुन्छ।

तरकारी, फलफूल, गेडागुडी र अन्नहरूमा पाइने एन्टिअक्सिडेन्टहरूले कोषिकाहरूलाई हानिकारक फ्री रेडिकल्सबाट बचाउँछन् ।

पोलिफेनोल जस्ता एन्टिअक्सिडेन्टहरूले डिमेन्सिया, मुटु रोग र उच्च रक्तचापको जोखिम कम गर्न सक्छन् । सन् २०२१ को एक अध्ययनअनुसार पोलिफेनोलले भरपूर आहारले डिप्रेशनको दर घटाउन मद्दत गर्छ । यस्ता यौगिकहरू ब्लुबेरी, सागपात, र ग्रीन टीमा प्रशस्त पाइन्छ ।

फाइबर

फाइबर पाचन प्रणालीलाई स्वस्थ राख्छ, आन्द्राको लाभदायिक ब्याक्टेरियालाई पोषण दिने र कुनै अंग सुन्निएको भए कम गर्छ । उच्च फाइबरयुक्त खानाहरू, जस्तै तरकारी, फलफूल, गेडागुडीहरूले कोलन क्यान्सर, स्ट्रोक र मुटु रोगको जोखिम कम गर्छ । कम फाइबर आहारले यी रोगहरूको जोखिम बढाउँछ।

प्रोटिन र बोसो

प्रोटिन र बोसोको संयोजनले मांसपेशी निर्माण, प्रतिरक्षा कार्य र मेटाबोलिजमलाई सहयोग गर्छ । माछा, सिमी र मासुमा पाइने प्रोटिनले यी कार्यहरू सम्पन्न गर्छ । त्यस्तै, माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले सुन्निएको शरीर नियन्त्रण गर्छ । मुटु र प्रतिरक्षा स्वास्थ्यमा सुधार ल्याउँछ ।

सम्पूर्ण खानाहरूमा यी सबै पोषक तत्वहरूको संयोजनले स्वास्थ्यलाई फाइदा  गर्छ, जुन सप्लिमेन्टले गर्न सक्दैन ।

स्वस्थ खानपानले रोगको जोखिम कम गर्छ ?

पौष्टिक आहारले दीर्घकालीन रोगहरूको जोखिम कम गर्छ । मेडिटेरेनियन आहार, जसमा तरकारी, फलफूल, सम्पूर्ण अन्न, माछा र जैतुनको तेल समावेश हुन्छ, मुटु रोग, मधुमेह, न्यूरो सम्बन्धी रोग र क्यान्सरको जोखिम कम गर्नमा प्रभावकारी छ ।

बोटबिरुवामा आधारित र प्यालियो आहारहरूले पनि यस्तै फाइदा दिन्छन् । उदाहरणका लागि, बोटबिरुवामा आधारित खानेकुराले मुटु रोग कोरोनरी धमनीलाई उल्टाउन सक्ने दावी छ ।

सन् १९९० को एक अध्ययनअनुसार यी आहार दैनिक खाँदा रक्तनलीको अवरोध हटाउन मद्दत गर्छ ।त्यस्तै, कम कार्बोहाइड्रेट खानेकुराले टाइप २ मधुमेहलाई नियन्त्रण गर्न सक्छ । यी आहारहरूले डिप्रेशनको दर कम गर्ने र दीर्घायु बनाउन सक्छ ।

तर, अति–प्रशोधित खानाहरू, जस्तै चिनीयुक्त पेय, फास्ट फूड र परिष्कृत अन्नले मोटोपन, मधुमेह र क्यान्सरको जोखिम बढाउँछ । सन् २०२३ को एक समीक्षा अनुसार यी खानाहरूले विशेषगरी आन्द्रा र स्तन क्यान्सरको जोखिम बढाउँछ । यस्ता खानाले आन्द्राको ब्याक्टेरियालाई हानि गरी दीर्घकालीन सुन्निने समस्या गराउँछ ।

खानाले रोगको उपचार गर्न सक्छ ?

खानाले रोगको रोकथाम र लक्षण कम गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ, तर सबै रोगको उपचार गर्न सक्दैन । वंशाणुगत, तनाव, प्रदूषण, उमेर, धूम्रपान, रक्सी  र व्यायामको कमी जस्ता कारकहरूले पनि रोगको जोखिमलाई प्रभाव पार्छ । खानाले यी कारकहरूको प्रभावलाई पूर्ण रूपमा हटाउन सक्दैन ।

जसका लागि यस्ता खानेकुरा त्याग्नुको साथै औषधि उपचार आवश्यक पर्छ ।

उदाहरणका लागि, क्यान्सर, गम्भीर मुटु रोग वा जटिल भाइरल संक्रमण जस्ता अवस्थाहरूमा खानाले सहायक भूमिका खेल्न सक्छ । तर, किमोथेरापी, औषधि वा शल्यक्रिया जस्ता चिकित्सकीय उपचारको स्थान लिन सक्दैन । खानालाई औषधिको प्रतिस्थापनको रूपमा प्रयोग गर्नु खतरनाक हुन सक्छ।

गलत दावीबाट सावधान

बजारमा कतिपय कम्पनीहरूले आहार, सप्लिमेन्ट वा वैकल्पिक उपचारले क्यान्सर, मधुमेह वा अन्य गम्भीर रोग निको पार्ने दावी गर्छन् । उदाहरणका लागि, कुनै खास ‘सुपरफूड’वा सप्लिमेन्टले क्यान्सर निको पार्छ भन्ने दावी भएको भेटिन्छ । जसको कुनै ठोस अध्ययन भएका छैनन् ।

विज्ञापन गरिएका आहारहरू सामान्यतः अनुसन्धानले समर्थन गर्दैन । प्रायः अत्याधिक महंगा पनि हुन्छन् । यस्ता दावीहरू प्रायः वैज्ञानिक आधारहीन हुन्छन् । धन सकिन्छ, रोगले झनै गाल्न सक्छ ।

किमोथेरापीजस्ता परम्परागत उपचारहरूलाई अप्रमाणित, वैकल्पिक आहारहरूले प्रतिस्थापन गर्नुहुँदैन । यसले गम्भीर जटिलताहरू निम्त्याउँन सक्छ ।

औषधिहरू जीवन बचाउन र रोगहरूको उपचार गर्न विकसित गरिएको हो ।

उपचार केवल खानपान वा जीवनशैलीमा मात्र निर्भर हुँदैन, सम्भावित जीवन रक्षक चिकित्सा उपचारलाई छोडेर खानपानमा मात्र ध्यान केन्द्रित गर्नु खतरनाक वा घातक पनि हुन सक्छ ।

आहार खाना पोषण
बबिता अधिकारी
लेखक
बबिता अधिकारी
पोषणविद्

अधिकारीले बाल पोषण विकासमा स्नातक र ग्रामीण विकासमा स्नाकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय