
News Summary
Generated by OK AI. Editorially reviewed.- इम्पावर इभेन्टले महिला सशक्तीकरणलाई केन्द्रमा राखेर \'मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल\' प्रतियोगिता आयोजना गर्न लागेको छ।
- प्रतियोगितामा किशोरीदेखि विवाहित, एकल महिलासम्मले भाग लिन सक्नेछन् । फाइनल प्रतिस्पर्धा २९ अगष्टमा काठमाडौँमा हुनेछ।
३० असार, काठमाडौं । महिला सशक्तीकरणलाई केन्द्रमा राखेर ‘मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल’ प्रतियोगिता हुने भएको छ । यो अमेरिकन फ्रेन्चाइज प्रतियोगिता नेपालमा इम्पावर इभेन्टले आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा किशोरीदेखि अविवाहित, विवाहित, एकल महिला, डिभोर्सी सबैले भाग लिन सक्ने प्रतियोगिताकी निर्देशक पूजा पाख्रिनले जानकारी दिइन् ।
‘सौन्दर्य प्रतियोगिता भन्नेबित्तिकै सुन्दरताका आधारमा ‘जज’ गरिने प्रतियोगिता भन्ने नै भन्ने बुझाइ हुन्छ’ पाख्रिन भन्छिन्, ‘तर यो प्रतियोगिता सौन्दर्यसँग मात्र सम्बन्धित छैन । यो महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको छ ।’
पाख्रिन मिसेस भोग नेपाल, २०२४ की विजेता हुन् । महिलाहरूलाई सशक्तिकरण गर्ने प्रतियोगिताको अवधारणा आफैँले अघि बढाएको उनले बताइन् ।
सौन्दर्य प्रतियोगिता भन्नेबित्तिकै निश्चित उचाइ र सौन्दर्य भएका महिलाहरूले भाग लिने प्लेटफर्म हो भन्ने आम सोचाइमा परिवर्तन ल्याउन मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता आयोजना गर्न लागिएको पाख्रिनको भनाइ छ ।
अन्तर्राष्ट्रिय स्तरको प्याजेन्ट कुन तहको हुनुपर्छ भनेर स्थापित गर्ने गरी प्रतियोगिता सम्पन्न गर्ने दावी उनको छ । प्रतियोगितामा भाग लिने महिलाहरूलाई व्यक्तित्व विकास, ग्रुमिङ, आत्मविश्वास अभिवृद्धि, करिअर केन्द्रित वर्कशप, महिला सशक्तीकरण सम्बन्धी सेमिनार, प्रोफेसनल फोटो सुट, रनवे ट्रेनिङ, स्टाइलिङ सेसन तथा देश विदेशका प्रतिष्ठित डिजाइनर र विज्ञहरूसँग अन्तरक्रिया गराइने निर्देशक पाख्रिनले जानकारी दिइन् ।
निर्देशक पाख्रिनका अनुसार प्रतियोगिताका लागि फिजिकल अडिसन सम्पन्न गरिएको छ । जसबाट ३५ जना प्रतियोगी छनोट भइसकेका छन् । काठमाडौँ उपत्यका बाहिरका प्रतियोगिहरूका लागि डिजिटल अडिसन गरिने गरिनेछ । प्रतियोगितको फाइनल प्रतिस्पर्धा २९ अगष्टमा गरिने छ ।
हरेक उमेर समूहका महिलाहरूमा रहेका प्रतिभा र कथाहरूलाई प्रस्फुटन हुन दिएर उनीहरूको आत्मविश्वास बढाउनु प्रतियोगिताको उद्देश्य रहेको इम्पावर इभेन्टका कार्यकारी निर्देशक श्रीजल विक्रम शाहीले बताए ।
प्रतिक्रिया 4