News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले फिल्म 'लालीबजार' को प्रदर्शनमा रोक लगाउन माग गर्दै दायर रिटमाथि विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ।
- फिल्मले वादी समुदायलाई गलत चित्रण गरेको दाबी गर्दै अभियन्ता रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन्।
- उच्च अदालत पाटनले अन्तरिम आदेश खारेज गरी फिल्म प्रदर्शनको बाटो खुला गरेपछि सर्वोच्चमा मुद्दा पुगेको हो।
काठमाडौं । सर्वोच्च अदालतले फिल्म ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउन माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्धय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा यो मुद्दामाथि सुनुवाई भएको थियो । फिल्मले वादी समुदायलाई गलत चित्रण गरेको दाबीसहित प्रदर्शन रोक्न माग गर्दै अभियन्ता रोशनी नेपालीले मुद्दा हालेकी थिइन् ।
रिटमा पाटन उच्च अदालत, संचार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डसहित ७ लाई विपक्षी बनाइएको छ । विपक्षीलाई छलफलको सूचना दिन आदेश दिँदै अदालतले इजलासबाट अर्को सुनुवाईको मितिसमेत तोकेको छ । यो मुद्दामा बुधबारको लागि अर्को पेशी तोकिएको छ ।
गत साता उच्च अदालत पाटनले फिल्मको प्रदर्शनको रोक्न यसअघि आफूले दिएको अन्तरिम आदेशलाई खारेज गर्दै फिल्म प्रदर्शनको लागि बाटो खुला गरेको थियो । त्यसपछि फिल्म शुक्रबारदेखि प्रदर्शन भैरहेको छ ।
अन्तरिम आदेश खारेज गर्ने उच्च अदालत पाटनको पछिल्लो आदेशलाई चुनौती दिँदै अभियन्ता नेपाली सर्वोच्चमा पुगेकी थिइन् । सर्वोच्चले गत शुक्रबार पहिलो आदेश दिँदै उच्च अदालत पाटनको आदेशको सक्कल फाइल र फिल्मको कपि झिकाउन आदेश दिएको थियो ।
सोमबार सुनुवाइ तोकिएपनि हेर्न नभ्याउने सूचीमा थियो । मंगलबार आज मात्र अदालतले यस्तो आदेश दिएको हो ।
यम थापा निर्देशित र षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मले वादी समुदायकी महिलाले गर्ने संघर्षको कथा भन्छ । फिल्ममा स्वस्तिमा खड्काले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।
प्रतिक्रिया 4