News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलको साउ पाउलो विश्वविद्यालयकी पोषणविद् लिभिया हेसेगावाले बिस्तारै खाना खाँदा पाचन सहज हुने बताउनुभयो।
- न्यूयोर्कको कर्नेल विश्वविद्यालयकी सेंडर कर्स्टनले छिटो खाना खाँदा धेरै क्यालोरी सेवन हुने र तौल बढ्ने जोखिम हुने खुलाउनुभयो।
- हेसेगावाले खाना खाँदा चम्चा वा काँटा टेबलमा राखेर खाने र कम कुराकानी गर्ने सुझाव दिनुभयो।
बिस्तारै र विचारपूर्वक खाना खानुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । टिभी हेर्दै वा मोबाइल चलाउँदै खाना खानु सजिलो लाग्न सक्छ, तर विज्ञानले यसको नकारात्मक पक्षलाई उजागर गर्छ । खाना खानेको गति र तरिकाले पाचन, सन्तुष्टि, तौल व्यवस्थापन र समग्र स्वास्थ्यमा प्रभाव पार्छ।
पाचनमा सहजता
ब्राजिलको साउ पाउलो विश्वविद्यालयबाट प्रशिक्षित पोषणविद् लिभिया हेसेगावाले बताउँछिन्, ‘बिस्तारै खाँदा खाना साना–साना टुक्रामा टुक्रिन्छ, जसले पाचनलाई सहज बनाउँछ । म मेरो बिरामीहरूलाई सधैं सम्झाउँछु कि, पेटमा दाँत हुँदैनन् । ठूला–ठूला टुक्रामा खाना पेटमा पुग्दा पाचन प्रक्रिया सुस्त र कम प्रभावकारी हुन्छ ।’
उनका अनुसार खाना धेरै चपाउँदापाचनमा सहयोग गर्ने इन्जाइमको उत्पादन बढ्छ, जसले पोषक तत्वलाई शरीरमा राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ । यदि खाना राम्रोसँग नचपाइयो भने, पेटले धेरै मेहनत गर्नुपर्छ, जसले पेट फुल्ने र पाचन सुस्त हुने समस्या देखिन सक्छ ।
‘यही कारणले कतिपय मानिसको खाना खाएको धेरै घण्टासम्म पेट फुलिरहन्छ र उनीहरूलाई आलस्य महसुस हुन्छ’ हेसेगावाले भन्छिन् । खानालाई कति समय चपाउने भन्ने कुनै निश्चित समय हुँदैन । गन्तीमा ध्यान दिनुभन्दा खाना नरम र सजिलै पच्ने अवस्थामा पेटमा पुग्नु महत्त्वपूर्ण हुने विशेषज्ञहरू बताउँछन् ।
खाना खाँदा ध्यान भट्काउने कुराहरू, जस्तै-: टिभी हेर्ने, मोबाइल चलाउने वा कुराकानी गर्ने आदि बानीले खाना चपाउने क्षमतामा नकारात्मक प्रभाव पार्छ । यसले गर्दा हतारमा खाना खाँदा शरीरमा धेरै हावा प्रवेश गर्छ, जसले पेट फुल्ने समस्या निम्त्याउँछ ।’
तौल बढ्ने समस्या
न्यूयोर्कको कर्नेल विश्वविद्यालयकी पोषण विज्ञान विभागकी निर्देशक सेंडर कर्स्टन भन्छिन्, ‘हत्तारमा खाना खाँदा धेरै ऊर्जा खर्च हुन्छ, जसले प्रतिमिनेट धेरै क्यालोरी खपत गर्छ । अनुसन्धानले देखाउँछ कि, छिटो खाँदा सजिलै धेरै खाना खाइन्छ ।’
‘बिस्तारै खाँदा खाना मुखमा लामो समय रहन्छ, जसले पाचन प्रक्रियालाई सुरु गर्न आवश्यक हर्मोनहरूको रिलीजलाई प्रोत्साहन गर्छ’ सेंडर कर्स्टन भन्छिन्, ‘पेट भरिएको संकेत दिने हर्मोन रिलिज गर्न दिमागलाई केही समय लाग्छ ।’
भेट भरिएको संकेत दिन पनि समय लाग्न हुनाले छिटो खानेहरूले आवश्यकता भन्दा धेरै खाना खाने उनको भनाइ छ । यसको परिणामस्वरूप, धेरै क्यालोरी लिइन्छ, जुन शरीरमा बोसोको रूपमा जम्मा हुन्छ ।
स्वास्थ्यमा जोखिम
हत्तारमा खाना खाँदा एसिड रिफ्लक्स र ग्यास्ट्राइटिस जस्ता पाचन समस्याहरू झन् खराब हुन सक्छन् । रिफ्लक्सबाट पीडित व्यक्तिहरूले छिटो खाँदा लक्षणहरू थप बिग्रन सक्छन् ।
हेसेगावाले भन्छिन्, ‘ठूला–ठूला टुक्रामा खाना आन्द्रामा पुग्दा आन्द्राको ब्याक्टेरियाको सन्तुलन बिग्रन सक्छ, जसले समग्र पाचन प्रणालीलाई प्रभावित गर्छ।’ यदि यो बानी निरन्तर रह्यो भने, मोटोपनको जोखिम बढ्छ । विशेषगरी यदि जीवनशैलीमा पहिलेदेखि नै अस्वस्थ बानीहरू छन् भने मोटोपनाको जोखिम झन् बढ्न सक्छ ।
यसले टाइप २ मधुमेह, फ्याटी लिभर, हृदय रोग, उच्च रक्तचाप र कोलेस्टेरोल बढ्ने जोखिम हुन्छ । स्तन र प्यान्क्रियाटिक क्यान्सर जस्ता रोगहरूको जोखिम बढाउँछ ।
सुधारका लागि सुझावहरू
राम्रो खानपानको बानी विकास गर्न चाहनेहरूका लागि हेसेगावाको पहिलो सुझाव छ, खाना खाँदा चम्चा वा काँटा तल राख्ने ।
‘खाना खाँदा चम्चा वा काँटा सधैं हातमा नराख्नुहोस्, किनभने यसले तपाईंलाई धेरै खाना खान्छु भन्ने पत्तै हुँदैन’ उनी भन्छिन्, ‘चम्चालाई टेबलमा राख्ने र उठाएर खाने यो साधारण कार्यले खाने गतिलाई सुस्त बनाउँछ । एक चोटी खाने, त्यसपछि अर्को चोटी खानुअघि चम्चा तल राख्ने गर्दा राम्रो हुने हेसेगावाको सुझाव छ ।
खानालाई एकदमै नरम लेदो नहुन्जेल चपाउने हेसेगावाको सुझाव छ । ‘जब खाना लेदो जस्तै हुनु भनेको राम्रोसँग चपाएको छ भन्ने संकेत हो’ हेसेगावा भन्छिन्, ‘यसले स्वाभाविक रूपमा खाने गतिलाई सुस्त बनाउँछ ।’
टिभी हेर्दै वा मोबाइल चलाउँदै खाना खाँदा कति खाना र कति छिटो खाइरहेको छ भन्ने कुरा बिर्सन सकिने भएकाले यस्तोमा सचेत भएर खाना खानुले यी समस्याबाट बचाउने
हेसेगाव बताउँछिन् ।
हेसेगावाले भन्छिन्, ‘खाना खाँदा धेरै कुराकानी नगर्ने कोसिस गर्नुपर्छ । कुराकानीले पनि ध्यान भट्काएर छिटो र धेरै खाना खान सकिन्छ । कम कुराकानी गर्दै खाना खानुले खानामा बढी ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।’
बीबीसीबाट
प्रतिक्रिया 4