News Summary
Generated by OK AI. Editorially reviewed.- हाई हिल लगाउँदा कम्मर सामान्य भन्दा बढी झुक्छ र तल्लो ढाडका हड्डीहरूमा अतिरिक्त दबाब पर्छ, जसले मेरुदण्डमा क्षति पुग्न सक्छ।
- अमेरिकन स्पाइन सोसाइटीको प्रतिवेदनअनुसार, दैनिक ३ इन्चभन्दा अग्ला हिल लगाउने महिलाहरूमा तल्लो ढाड दुख्ने सम्भावना २५ प्रतिशतले बढ्छ।
फेसनको दुनियाँमा हाई हिललाई महिलाको शैली, सुन्दरता र आत्मविश्वासको प्रतीक मानिन्छ । कार्यालय जाँदा, पार्टीमा वा विभिन्न समारोहमा हिल लगाउनु फेसनको अभिन्न अंग बनेको छ । यी आकर्षक हिलले मन त लोभ्याउँछन्, तर शरीरका लागि भने हानिकारक हुन सक्छन्। विशेषगरी, मेरुदण्डमा यिनले पार्ने असरबारे धेरैलाई जानकारी नहुन सक्छ ।
हिल लगाउँदा मेरुदण्डलाई कसरी हानि पुग्छ ?
सामान्य अवस्थामा महिलाको शरीरको तौल खुट्टाको पन्जा, कुर्कुच्चा, घुँडा र मेरुदण्डमा समान रूपमा बाँडिएको हुन्छ । तर, हाई हिल लगाउँदा यो प्राकृतिक सन्तुलन बिग्रिन्छ । हिलका कारण कम्मर सामान्य भन्दा बढी झुक्छ, जसले तल्लो ढाडका हड्डीहरू, फेसेट जोर्नीहरू र इन्टरभर्टेब्रल डिस्कहरूमा अतिरिक्त दबाब पर्छ । यो दबाबले मेरुदण्डमा क्षति पुग्न सक्छ ।
साथै , हिल लगाउँदा मांसपेशीहरूमा तनाव बढ्छ र जोर्नीहरूमा अनावश्यक दबाब पर्छ । यस्ता परिवर्तनले लामो समयसम्म मेरुदण्डमा गम्भीर असर पार्न सक्छन्, जस्तै दुखाइ, हड्डीको आकारमा परिवर्तन, वा अन्य समस्याहरू निम्तिन सक्छ ।
हिल र मेरुदण्डबारे अनुसन्धानले के भन्छ ?
अमेरिकन स्पाइन सोसाइटीको एक प्रतिवेदनअनुसार, दैनिक ३ इन्चभन्दा अग्ला हिल लगाउने महिलाहरूमा तल्लो ढाड दुख्ने सम्भावना २५ प्रतिशतले बढ्छ । मेरुदण्डको
प्राकृतिक वक्रता ‘एस–आकार’ लाई हिलले असन्तुलित बनाउँछ । लामो समयसम्म यस्तो असन्तुलन रहँदा मेरुदण्डको वक्रता स्थायी रूपमा परिवर्तन हुन सक्छ, जसले कम्मर र घुँडामा दुखाइ निम्त्याउछ । यस्तो अवस्थाले दीर्घकालीन स्वास्थ्य समस्याहरू देखिन सक्छन् ।
अन्य हानिहरू
हिल लगाउँदा हिँड्ने शैली परिवर्तन हुन्छ, जसले मेरुदण्डको इन्टरभर्टेब्रल डिस्कमा असामान्य दबाब पर्छ । यसले स्लिप डिस्क वा डिस्क क्षति जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ ।
हिल लगाएर हिँड्दा सन्तुलन कायम गर्न कम्मर र काँधलाई पछाडि झुकाउनुपर्छ । यसले शरीरको प्राकृतिक हाउभाउ बिग्रिन्छ । लामो समयसम्म गलत पोजमा रहँदा मेरुदण्ड बाङ्गिन सक्छ, जसलाई चिकित्सकीय भाषामा स्कोलियोसिस भनिन्छ । यो गम्भीर अवस्था हो र कहिलेकाहीँ शल्यक्रियाको आवश्यकता पर्न सक्छ ।
हाई हिलले घुँडामा अनावश्यक दबाब बढाउँछ । लामो समयसम्म हिल लगाउँदा भविष्यमा बाथको जोखिम बढ्न सक्छ । हिल अगाडि झुकेको हुन्छ । यसो हुँदा पन्जामा धेरै दबाब पर्छ, जसले ह्यामरटो, बुनियन वा खुट्टाको आकार बिग्रने जस्ता समस्या निम्त्याउछ ।
हाई हिलले गोलीगाँठोमा समस्या आउने सम्भावना बढ्छ । साथै, लामो समयसम्म हिल लगाउँदा स्नायुहरूमा हानि पुग्न सक्छ ।
के सबै हिल हानिकारक हुन्छन् ?
सबै हिल हानिकारक नहुन सक्छन् । केही सावधानी अपनाएर हिल लगाउँदा मेरुदण्ड र शरीरलाई हुने हानि कम गर्न सकिन्छ । हिलको उचाइ १.५ इन्चभन्दा कम राख्नु उपयुक्त हुन्छ । उचाइ जति धेरै हुन्छ, शरीरलाई त्यति नै हानि पुग्छ ।
पेन्सिल हिलको सट्टा स्थिर ब्लक हिल छनोट गर्नुपर्छ । ब्लक हिलले शरीरको सन्तुलनलाई कम बिगार्छ । प्रत्येक २–३ घण्टामा खुट्टालाई आराम दिनुपर्छ । यो अभ्यासले शरीरको सन्तुलन कायम राख्न मद्दत गर्छ।
हिलमा कुशनको सोल भएको जुत्ता वा स्यान्डल छनोट गर्नुपर्छ । यसले दबाब कम गर्छ । यदि पहिलेदेखि नै कम्मर वा मेरुदण्डमा दुखाइ छ भने चिकित्सकको सल्लाहबिना हिल लगाउनु हुँदैन ।
कहिलेकाहीँ हिल लगाउनु ठिक हो ?
विशेष अवसर वा पार्टीमा कहिलेकाहीँ हिल लगाउँदा फरक पर्दैन। तर, नियमित रूपमा हाई हिल लगाउने बानीले मेरुदण्ड र समग्र स्वास्थ्यमा दीर्घकालीन हानि पुग्न सक्छ । त्यसैले, हिलको प्रयोगलाई सीमित राख्नु उचित हुन्छ ।
मेरुदण्डलाई बलियो बनाउन के खाने ?
मेरुदण्डलाई स्वस्थ र बलियो राख्न सन्तुलित आहार आवश्यक छ । निम्न खानेकुराहरूले मेरुदण्डको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ः
क्याल्सियमयुक्त खाना : दूध, दही, बदाम, र हरियो सागसब्जी ।
भिटामिन डी : अण्डा, माछा र घामको किरण ।
प्रोटिन : सोयाबिन, मासु र दाल ।
म्याग्नेसियम र भिटामिन : ओखर, पालक र ब्रोकाउली ।
यी पोषक तत्वहरूले हड्डी र मांसपेशीलाई बलियो बनाउँछन्, जसले मेरुदण्डलाई स्वस्थ राख्न मद्दत गर्छ ।
ध्यान दिनुपर्ने कुरा
हाई हिलले फेसनमा आकर्षण थपे पनि मेरुदण्ड, घुँडा र समग्र शरीरको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । सही हिलको छनोट, सीमित प्रयोग र स्वस्थ आहारले यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ ।
यदि पहिलेदेखि नै ढाड वा मेरुदण्डको समस्या छ भने, चिकित्सकको सल्लाह लिएर मात्र हिल लगाउनुपर्छ । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै फेसन र आरामदायी जीवनशैलीबीच सन्तुलन कायम गर्नु बुद्धिमानी हुन्छ ।
प्रतिक्रिया 4