
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लामा हिमपहिरोले विस्थापित तिलगाउँबासीलाई नाम्खा गाउँपालिकाले राहत सामग्री पुर्याएको छ।
- राहतमा दाल, चामल, तेल, चिउरा, भुजालगायत खाद्यान्न सामाग्री समावेश छन् र गाउँपालिकाले गाडी र घोडा प्रयोग गरी वितरण गरेको हो।
- हिमपहिरोका कारण १८ घरधुरी विस्थापित भए पनि मानवीय क्षति नभएको र भौतिक क्षति ठूलो भएको छ।
७ जेठ, हुम्ला। हिमपहिरोले विस्थापित भएको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा एक सातापछि राहत पुगेको छ ।
जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा नाम्खा गाउँपालिका र विभिन्न संघ संस्थाको सहयोगमा दाल, चामल, तेल, चिउरा, भुजालगायत खाद्यान्न सामग्री तिलगाउँ पुगेको हो ।
नाम्खा गाउँपालिका केन्द्र याल्वाङबाट गाडीमार्फत उक्त सामाग्री हल्जीसम्म लगिएको थियो। हल्जी गाउँबाट बोकेर आधा स्थानमा लगिएको थियो । त्यसपछि तिलगाउँबाट आएका घोडाहरुले बोकेर उक्त सामाग्री पुर्याएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले बताए ।
राहत पुगेपछि स्थानीयहरु खुसी भएका छन् । गाउँपालिका अधयक्ष प्रेमबहादुर लामाको नेतृ्त्वमा उक्त राहत सामग्री तिलगाउँ पुगेको हो ।
गोरेटो बाटोका कारण घोडाहरू गाउँबाट ल्याएर खाद्यान्न बोकाएर लगिएको नाम्खा गाउँपालिका–६ कन्जोकका फुर्वु लामाले बताए । स्थानीय तहले केही राहतको समाग्री पुर्याए पनि संघ र प्रदेश भने बेखबर बनेको गुनासो स्थानीयको छ ।
१ जेठको राति साढे १० बजेतिर दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी अहिले विस्थापित बनेका छन् । ५० घर मध्ये १८ घरधुरी बस्दै आएका तिलगाउँबासी अहिले भने त्रिपाल टाँगेर बस्ने बाध्य छन् भने खोलाको धमिलो पानी पिउनुपर्ने अवस्था छ ।
हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ । हाइड्रोवापरदेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ ।
१ जेठको राति तिलगाउँभन्दा करिब ८ घण्टा टाढाको ठग्रा नाग्ना भन्ने स्थानबाट दुई वटा हिमताल भाँसिएर हिमपहिरो आएपछि अहिले गाउँ विस्थापित छ ।
तिलगाउँका स्थानीयवासीहरु हिमशिखर आधारभूत विद्यालय नजिकै खुला चौरमा त्रिपालमुनि बसेका छन् । ‘चिसोमा त्रिपालमा बाँस बस्ने र खोलाको धमिलो पानी खान बाध्य छौं’ नाम्खा गाउँपालिका ६ का कोन्जोक मुटुप लामाले गुनासो गरे । वृद्धवृद्धा बालबालिकालाई चिसो र धमिलो पानीका कारण विरामी हुने चिन्ता तिलगाउँबासीको छ ।
तिलगाउँमा घटना घटेपछि नेकपा माओवादी केन्द्रका सांसद छिरिङ दम्डुल लामा भोटेले तिलगाँउका बासिन्दालाई तत्काल उद्धार तथा राहतको लागि सरकारलाई सांसदमा ध्यानकर्षण गरे ।
तिलगाउँजस्तै यसअघि ४ साउन २०७७ मा नाम्खा–६ कै हल्जी गाउँ पनि जोखिममा परेको थियो । हल्जी गाउँभन्दा उत्तरतर्फबाट हिमपहिरो आएको थियो। त्यतिबेला ९६ घरधुरीका नागरिकहरु जोखिममा परेको स्थानीय फुर्वा तामाङ अहिले पनि स्मरण गर्छन् । अहिले पनि यो गाउँ त्रासमा रहेको उनी बताउँछन् ।
तर जलवायु परिवर्तनको हानी नोक्सानीबाट बच्ने र न्युनिकरणका उपाय खोज्ने विषयमा राजधानी काठमाडौँ मासगरमाथा संवादमा चलिरहँदा यो विषय भने गौण बनेको नाम्खाबासीको गुनासो छ। तिलगाउँ र हल्जीमात्रै होइन जलवायु परिवर्तनको निकै ठूलो मारमा लिमी उपत्यका रहेको स्थानीयबासी बताउँछन् ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4