
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको जाँङ गाउँमा ४ जना मात्र बसोबास छन् र गाउँ सुनसान भएको छ।
- गाउँका बासिन्दाले गाउँ छोड्न चाहे पनि आर्थिक अभावले रोकिएको बताउँछन्।
- गाउँको संरक्षण र सुरक्षा व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने देखिएको छ।
२६ जेठ, हुम्ला । चारैतिर डाँडाकाडाँले घेरिएको समथर फाँटमा गुजुमुज्ज घर । गाउँको तलतिर टाँचिखोला हुँदै कलकल बग्ने हिमनदी ।
सुनसान गाउँका प्रत्येक घरमा तालाचाबी लगाइएका छन् । केही घरका झ्यालका सिसा फुटेका छन् । फाट्टफुट्ट चौंरी र घोडाहरू देखिने गाउँका जग्गा-जमिन सबै बाझो छ ।
गाउँमा मान्छे भेट्नै मुस्किल छ । कोही नयाँ मान्छे आउँदा उनीहरूलाई स्वागत गर्न र तिर्खा लाग्दा पानी दिने मान्छेसम्म भेटिँदैन ।
स्थलगत रिपोर्टिङका क्रममा हुम्ला लिमीको जाँङ गाउँ पुग्दा यस्तो निरस दृश्य देखियो, जहाँ सिंगो गाउँमा जम्मा ४ जनाको मात्रै बसोबास रहेछ ।
गाउँ प्रवेश गर्नेवित्तिकै ६२ वर्षीय वृद्ध काजाङ लामा हस्याँङफस्याँङ गर्दै हामी नजिक आइपुगे र सोधे, ‘तपाईंहरू जिल्लाबाट सञ्चै आउनुभयो ?’ जाँङ गाउँमा १० वर्ष पहिलेसम्म ६७ घरधुरीको बसोबास रहेछ । अहिले विस्तारै घट्दै गाउँ सुनसान जस्तै भएछ । अहिले जम्मा दुई घरमात्र बाँकी रहेछ । ‘पहिले हाम्रो जाँङमा घरधुरी ६७ थियो । साहुजति शहर गए । हामी गरिब गाउँमै छ,’ काजाङले सुनाए ।
धनीहरू काठमाडौँ र चीनको ताक्लाकोट गएको उनले जानकारी दिए । उनले भने, ‘हामी गरिब दुई घर मात्रै छौं । गाउँ छोडेर शहर पस्ने हाम्रो हैसियत छैन । जाँङ र हल्जीको सीमाना र हेप्का र जाँङको सीमानाको रक्षा गरेर बस्ने हो ।’
जाँङ गाउँका बासिन्दा भएभरको धन-सम्पत्ति लिएर शहर गइसके । खालीघरमा तालाचाबी लगाइएको छ । भएका चारजना मन नभएर नभई बाध्यताले गाउँ बसिरहेको काजाङले बताए । ‘हामीलाई गाउँ छोड्न मन नभएर होइन, पैसा छैन, रहरले गाउँ छोडेर भएन,’ उनले भने, ‘काठमाडौँ पनि थाहा छ । चाइना पनि थाहा छ । इन्डिया पनि थाहा छ । पैसा नभएर गाउँमै रोकिएको छौं ।’
हिउँदमा गाउँ बस्न ठूलो समस्या हुन्छ । हिउँले न्यालु लेक बन्द हुन्छ । काजाङ दु:ख सुनाउँछन्, ‘हिउँदमा धेरै समस्या हुन्छ, चारजना मात्रै छौं, बिरामी भए कहाँ जानु’, उनले भने । हिउँदमा ताक्लाकोट जाने गरेको उनले बताए ।
काजाङहरू बर्खामा भने गाउँमै बस्छन् । गाउँमा खाने-बस्ने कुनै होटल छैनन् । उनी भन्छन्, ‘बर्खामा ठूला हाकिमहरू यहाँ आउँछन् । उनीहरूलाई तातोपानी खुवाउँला, चिया खुवाउँला भनेर बर्खामा गाउँ बस्ने गरेका छौँ ।’
यो गाउँलाई सरकारले निकुञ्ज बनाएको हुन्थ्यो भन्ने लागेको छ काजाङलाई । ‘मेरो विचारमा यो ठाउँलाई निकुञ्ज बनाएको भए हुन्थ्यो । यहाँ जंगली जनावर छन्, विभिन्न किसिमका चराचुरुंगी छन्’, उनको भनाइ छ, ‘दुई घरधुरीलाई गाउँमा घेरबारको समस्या छ । चौंरी, घोडाहरूबाट बालीनाली जोगाउन गाह्रो छ ।’
वडाबाट थोरैतिनो बजेट माग्नका लागि दुई भाइले सरसहल्ला गरेको उनले बताए । बजेट ल्याएर गाउँलाई केही सुरक्षा गर्न सकिन्छ कि भन्ने काजाङको आशा छ । ६६ वर्षीय सुन्डुप लामाको पनि गाउँ छोड्ने सुरसार छैन ।
‘गाउँ नै रमाइलो लाग्छ । आफू जन्मेको भूमि छोड्न मन पनि छैन, छोडेर जान धन पनि छैन’, उनले अनलाइनखबरसँग भने, ‘धनीहरू शहरतिर झरे । हामी दुई घर गरिब मात्रै गाउँमा छौं । हिउँदमा हामी ताक्लाकोट जान्छौं । बर्खाको समयमा गाउँ फिर्ता हुन्छौं ।’
गाउँपालिकाले गाउँ बस्ने दुई घरधुरीलाई जग्गा घेरबारको व्यवस्था गरिदिन्छ कि भन्ने उनलाई आश छ । पशुवस्तुहरूबाट खेतबारी जोगाउन समस्या रहेको सुन्डुपले सुनाए ।हाल जाँङ गाउँमा सुन्डुप लामाका श्रीमान् र श्रीमती अनि काजाङ लामा र उनकी दिदी याङजिन लामा मात्र छन् ।
नाम्खा गाउँपालिका- ६ की याङजिनले भनिन्, ‘खेतबारी खाली छ । गाउँ खाली छ । हामी चारजना मात्रै छौं ।’ गाउँमा हिमाली मुला, आलु, कला, केराउ, रोप्नमै हिजोआज व्यस्त रहेको उनले बताइन् । यो वर्ष कम हिउँ र कम पानी परेपछि खेतबारी सुख्खा भएको उनको भनाइ छ ।
जनप्रतिनिधिले राजीनामा दिएर गाउँ छोडिन्
जाँङ गाउँकी कार्यपालिका सदस्य पुटी लामाले पनि गाउँ छोडेकी छन् । गत वर्ष २ असारमा वडा सदस्यबाट राजीनामा दिएर उनी गाउँ छोडेर हिँडेको नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
‘दुई घरधुरीका चारजना मात्रै छन् । कुनै बेला लिमीको अस्तित्व नै मेटिने हो कि भन्ने चिन्ता छ,’ वडाध्यक्ष तामाङले अनलाइनखबरसँग भने । राज्यले लिमीलाई हेपिरहेको उनको गुनासो छ।
६ महिना धान्छ जाँङको उत्पादनले
जाङमा आलु र उवा फल्छ । दाल, चामल, तेल किनेरै खानुपर्छ । गाउँमा उत्पादन भएको आलु, उवाले ६ महिनासम्म धान्ने गरेको सुन्डुप लामा बताउँछन् । ‘सरकारी अनुदानको चामल समयमा पुग्दैन । चीनसँगको नाका हिल्सा हुँदै ताक्लाकोट पुगेर खाद्यान्न किनेर खानुपर्छ,’ सुन्डुपले भने ।
यहाँका बासिन्दाले ताक्लाकोटबाट चामल, पिठो, मैदा, भोटेचिया, घिउलगायत दैनिक उपभोग्य वस्तु किन्ने गरेको उनले बताए ।
प्रतिक्रिया 4