
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘राष्ट्रिय विपद् जोखिम प्राधिकरणको अध्ययन टोलीले ‘थर्मोकास्ट’ भएको निष्कर्ष निकालेको हो।
- अध्ययनले नाम्खा हिमपहिरोको कारण बरफ पग्लेर ठूलो बाढी आएको बताएको छ।
- इसिमोडले अहिले नाम्खामा तापक्रमबारे पूर्वजानकारी दिने डिभाइस राख्न लागेको बताएको छ।
२५ जेठ, काठमाडौं । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा हिमपहिरो आएपछि अध्ययनका लागि गएको टोलीले ‘थर्मोकास्ट’ भएको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको अध्ययन टोलीले थर्मोकास्ट भएको निष्कर्ष निकालेको हो ।
श्रेष्ठसहित खानी तथा भूगर्व विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशीको टोलीले स्थलगत अध्ययनपछि थर्मोकास्ट भएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदन लगभग तयार भइसकेकाले सोमबार, मंगलबारतिर बुझाउने तयारी भएको श्रेष्ठले बताए ।
उनका अनुसार नाम्खा हिमपहिरोलाई प्राविधिक भाषामा रूपमा थर्मोकास्ट भनिन्छ । थर्मोकास्ट कसरी भयो भन्नेबारे पनि टोलीले अध्ययन गरेको श्रेष्ठ बताउँछन् । उनका अनुसार नाम्खाभन्दा माथि उत्तरतर्फ करिब २ घण्टाको पैदल दूरीमा ५ हजार ४ सय ३० मिटरको उचाइमा तीनवटा हिमताल भेटिएको थियो । जसमध्ये दुईवटा हिमतालबाट निस्केको पानीले बाढीको आकार लिएको हो ।
थर्मोकास्टको कारण भने बरफ पग्लिनु र नजिकैको ढुंगाको प्रेस जोडिएको प्रतिवेदनमा उल्लेख छ । ‘गर्मी लागेसँगै हिमतालमा जमेको बरफ पग्लिएको छ । बरफ बग्लिएर सानो रूपमा पानी हिमतालबाट बाहिरियो । अनि तालको एउटा लेअर खाली भयो । नजिकै करिब ४० मिटर अग्लो ढुंगाको पहाड रहेछ । त्यो ढुंगाको प्रेस तालमा पर्यो । र, त्यहाँबाट ठूलो मात्रामा पानी बाहिरिँदा बाढी आएको देखिन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
अर्को एउटा तालमा पनि बरफ पग्लिएको तर त्यहाँ ढुंगाको प्रेस नहुँदा थोरै मात्रामा पानी बाहिरिएको, दुई वटा तालमा भने ढुंगाको प्रेसका कारण ठूलो मात्रामा पानी बाहिरिँदा बाढीको आकार लिएको उनको बुझाइ छ ।
यही निष्कर्ष निकाल्दै श्रेष्ठ नेतृत्वको स्थलगत अध्ययन टोलीले प्राधिकरणमा प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । यसरी तालबाट ठूलो मात्रामा निस्किएको पानी तल नाम्खा गाउँसम्म पुग्दा भने धमिलो र लेदो भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनका लागि काठमाडौंबाट खटिएको श्रेष्ठ नेतृत्वको टोली दुई दिनमा तिलगाउँ पुगेको थियो । टोलीले एक दिन र अर्को दिनको आधा दिन गरी डेढ दिन तिलगाउँमा बसेर अध्ययन गरेको थियो । सो क्रममा तिलगाउँमा बाढीले पुर्याएको क्षति, त्यहाँको भू-वनोट र आगामी दिनमा हुनसक्ने सम्भावित क्षतिको बारेमा टोलीले अध्ययन गरेको थियो । सो क्रममा स्थानीयसँग छलफल गर्नुका साथै उनीहरूको माग र गुनासो सुनिएको टोलीले बताएको छ ।
भोलिपल्ट दिउँसो भने अध्ययन टोली बाढी आएको खोल्सी हुँदै उकालो हिमालतर्फ चढेको थियो । करिब २ घण्टामा हिमताल भएको ठाउँमा अध्ययन टोली पुगेको थियो । हिमताल भएको ठाउँमा करिब दुई घण्टा लगाएर अध्ययन गरिएको श्रेष्ठ नेतृत्वको टोलीले बताएको छ । सो क्रममा गर्मी बढेसँगै बरफ पग्लिँदा जमिनको सन्तुलन बिग्रिएको र नजिकैको ढुंगाको पहाडको प्रेस हिमतालमा पर्दा ठूलो बाढी आएको निष्कर्ष अध्ययन टोलीको छ ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को टोली पनि नाम्खामा हिमपहिरो गएपछि अध्ययनका लागि गएको थियो । उक्त टोलीले अहिले पनि अध्ययन जारी राखेको बताइएको छ । यो टोली पनि नाम्खामै रहेको बताइएको छ ।
इसिमोडले अहिले नाम्खामा तापक्रमबारे पूर्वजानकारी दिने डिभाइस राख्न लागेको बताएको छ । यो डिभाइस राखेको अवस्थामा त्यहाँको तापक्रमबारे पूर्वजानकारी हुने र बरफ पग्लेर हिम नदीबाट बाढी आउने सम्भावित आकलन गर्न सकिने बताइएको छ ।
‘इसिमोडले तापक्रमबारे पूर्वजानकारी दिने डिभाइस नाम्खामा राख्ने बताएको छ । उसको रिपोर्ट भने आउन बाँकी नै छ,’ विपद् प्राधिकरणका एक अधिकारीले भने, ‘यसअघि इसिमोडले पनि प्रारम्भिक जाँचका क्रममा थर्मोकास्ट आएको बताएको थियो ।’
बाढीपछि बस्न योग्य छ त तिलगाउँ ?
स्थलगत अध्ययन गरेर फर्किएको टोलीसँग अनलाइनखबरले तिलगाउँको अहिलेको अवस्थामा र बस्न योग्य रहे/नरहेकोबारे जिज्ञासा राख्दा टोलीले पर्ख र हेर ‘वेट एन्ड सी’ को अवस्थामा रहेको बतायो ।
तिलगाउँ हिमाली गाउँ अन्य गाउँजस्तै पहाडको फेदमा भएकाले हिमताल बाहेकको पनि एक किसिमको जोखिम सधैं हुने गरेको बताइन्छ । भिरालो ठाउँमा बस्ती, माथि पहाड भएकाले एउटा जोखिम सधैं नै रहेको अध्ययन टोलीले बताएको छ । तर अहिले नै हिमतालका कारण तिलगाउँ बस्नै नहुने जोखिममा भने नपुगेको अध्ययन टोलीले बताएको छ ।
बाढीका कारण तिल्चुङ खोल्सी छेउका दुई/चार घर जोखिममा रहे पनि अन्य बस्ती भने अहिले हिमतालका कारण जोखिममा नरहेको श्रेष्ठ बताउँछन् । ‘बस्ती नजिकै हिमतालले ठूलो खोल्सी बनाएकाले त्यस छेउमा केही जोखिम त छ । तर पूरै बस्ती अहिले नै हिमतालका कारण बस्नै नमिल्ने भन्ने अवस्थामा छैन,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
आगामी वर्षहरूमा पनि जाडोमा तालमा बरफ जम्ने र गर्मी लागेसँगै बरफ पग्लिएर थर्मोकास्टको अवस्था आउनसक्ने जोखिम रहेको अध्ययन टोलीले बताएको छ ।
‘नाम्खा-६ कै अर्को गाउँ हल्जीमा सन् २००६ देखि २०११ सम्मको अवधिमा ६ पटकसम्म ताल फुटेर दुखः दिएको रहेछ । तिलगाउँमा पनि आगामी वर्ष यस्तै समस्या हुनसक्छ । त्यसैले बस्ती नै बस्न मिल्ने/नमिल्ने भन्नेमा आगामी वर्षहरूको अवस्था पनि हेर्नुपर्छ । अहिले भन्दा ‘वेट एन्ड सी’को अवस्था हो,’ अध्ययन टोलीका संयोजक श्रेष्ठले भने ।
तिलगाउँ स्थानान्तरणबारे छलफल
हिमतालबाट बाढी आएपछि तिलगाउँको नजिकैको तिल्चुङ खोलामा आएको बाढीका कारण बस्ती जोखिममा परेको भन्दै बस्ती स्थानान्तरणको बारेमा समेत छलफल भएको छ । अध्ययन टोलीले पनि बस्न योग्य रहे/नरहेकोबारे पर्ख र हेरको अवस्था रहेको बताएपछि गाउँपालिकाले पनि यसबारे छलफल गरेको हो ।
गाउँपालिका उपाध्यक्ष तक्दिर लामाका अनुसार पालिकामा छलफल भएको र यसबारे तिलगाउँकै बासिन्दाको निर्णय प्रमुख हुने भन्दै अहिलेसम्म कुनै निर्णय नभएको बताए । ‘गाउँकै बासिन्दाको निर्णय भएपछि मात्रै बस्ती सार्ने/नसार्ने यकिन हुन्छ । उहाँहरूले बस्ती सार्ने कुरा गर्नुभए हामीले पनि त्यहीअनुसार पहल गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष लामाले अनलाइनखबरसँग भने ।
तिलगाउँका धेरैजसो मान्छे अहिले बाहिर रहेकाले यसबारे गाउँलेले पनि केही निर्णय गरिसकेका छैनन् । गाउँ गुम्बाहरू रहेको सार्वजनिक सम्पत्ति पनि रहेकाले गाउँलेले यसबारे अहिलेसम्म केही निर्णय गर्न सकेका छैनन् ।
अहिले भने तिलगाउँका बासिन्दा पुरानै अवस्थामा बस्न थालेको उपाध्यक्ष लामा बताउँछन् । अहिले तिल्चुङ खोल्सा छेउका जोखिमपूर्ण घरका बासिन्दा धर्मशालामा बसेका छन् । बाँकी गाउँले भने पहिलाकै अवस्थामा आ-आफ्नो घरमा बसेको उपाध्यक्ष लामा बताउँछन् ।
बाढीका कारण मुख्यगरी पानीको समस्या रहेकोले अहिले त्यो पनि समाधान भएको उनले बताए । बत्तीको समस्या भने यथावत् छ ।
१ जेठ राति एक्कासि आएको बाढी र पहिरोले तिलगाउँ जोखिममा छ । समुद्री सतहदेखि ३ हजार ९४८.३४ मिटरको उचाइमा रहेको सुन्दर तिलगाउँ विद्रुप बनेको थियो । एकैठाउँ गुजुमुज्ज भएका घरमा त्रास फैलिएको थियो ।
बाढीले तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको थियो । सोनाम साङमु लामाको घरको छत पहिरोको कारण प्वाल परेको थियो । छे बुटी लामाको घर चर्किएको थियो । धर्मशालाको छत समेत भत्किएको थियो ।
१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको थियो । करिब ४ सय रोपनी जमिनमा सिंचाइ गर्ने कुलो बगाएको थियो । तिलगाउँमा ५० घरधुरीमध्ये बाढी गएको समयमा १८ घरधुरीका मान्छे बसोबास गरेका थिए । जसमा २१ महिला, ९ पुरुष र २ बालक थिए । अहिले उनीहरु भने पहिलाकै अवस्थामा बसोबास गर्न थालेका छन् ।
प्रतिक्रिया 4