+
+
Shares
हुम्ला स्थलगत : :

हिमपहिरोको दुई सातापछि तिलगाउँ पुग्दा जे देखियो

‘नाम्खाको सो गाउँ नजिकै स्वा खाङ लुम्पा नामक खोला छ । दिउँसोपख स्थानीयहरू सो खोला आसपास हुनसक्थे, राति भएकाले मानवीय क्षति हुन पाएन’, फुर्वूले भने ।

नरजन तामाङ नरजन तामाङ
२०८२ जेठ २० गते २२:०८

२० जेठ, हुम्ला । पहाडको दोभानमा रहेको झुरुप्प परेको बस्ती हो, तिलगाउँ । यहाँको भूबनोट हेर्दा प्राकृतिक विपद्का बेला आइपर्ने संकट सम्झेर आङ नै जिरिङ्ग हुन्छ । तस्वीर हेरेर पनि संकट व्यहोरेका तिलगाउँवासीका लागि त्यो रात के–कसरी बित्यो होला भन्ने महसुस गर्न सकिन्छ ।

तिलगाउँमा गत जेठ १ गते राति स्थानीय सुत्ने तरखरमा थिए । अचानक राति साढे १० बजेतिर जहाज स्टार्ट भएको जस्तो आवाज घरभित्रैबाट सुनियो । विस्तारै आवाजको स्तर बढ्दै जान थाल्यो ।

‘जहाज त यता कहिल्यै आउँदैनथ्यो तर, त्यो दिन केको यति ठूलो आवाज आयो भन्दै घरको छतमा चढें, एक्कासी लेदो सहित ढुंगा–पानी बगेर आइरहेको देखें’, हुम्लाको नाम्खा गाउँपालिका–६ का ३३ वर्षीय कुन्चोक फुर्वू लामाले अनलाइनखबरसँग भने ।

त्यो रात हतारहतार घरमा सुतिरहेकी श्रीमतीलाई उठाएर वृद्धा आमालाई बोकेर चिच्याउँदै घरबाट बाहिर भागेर ज्यान जोगाएको उनले बताए । गाउँको सिरान उत्तरतिरबाट एक्कासी हिमपहिरो भासिएर लेदो सहितको पहिरोसँगै ठूला–ठूला ढुंगा बगेर आएको थियो । राति सुतिरहेका बेला हिमताल फुटेर ढुंगा र लेदो सहितको गेग्रान बगेर आएपछि गाउँ नै जोखिममा पर्‍यो र भागाभागको स्थिति सिर्जना भयो ।

‘गाउँभन्दा ५ मिनेट टाढाको दूरीमा सुरक्षित स्थानमा गयौं, श्रीमती कता भागिन्, म त आमालाई बोकेर अर्कै स्थानतिर पुगें । श्रीमतीसँग बिहान उज्यालो भएपछि मात्रै भेट भयो’, फुर्वूले सम्झिए ।

हेर्नुहोस् भिडियो:

ज्यान जोगाएर हतासमा भाग्नु पर्दा खाद्यान्न तथा लत्ताकपडा केही पनि घरबाट निकाल्न नपाएको उनले बताए । स्थानीयका अनुसार १ गते राति साढे १० बजेदेखि बिहानको १ बजेसम्म लगातार लेदो सहितको पहिरो खसेको थियो ।

नाम्खा–६ तिलगाउँकै छेवाङ जाङ्मु लामा पनि त्यो दिनको भयावह स्थितिले पिरोलिएकी छन् । त्यो रात बाढीको स्तर कम भएपछि गाउँकै सुरक्षित एक घरबाट कपडा ल्याएर चौरमै रात कटाएको उनले बताइन् ।

‘नाम्खाको सो गाउँ नजिकै स्वा खाङ लुम्पा नामक खोला छ । दिउँसोपख स्थानीयहरू सो खोला आसपास हुनसक्थे, राति भएकाले मानवीय क्षति हुन पाएन’, फुर्वूले भने । तिलगाउँकी ४२ वर्षीया सोनाम साङमु लामा अहिले पनि गड्याङगुडुङको आवाज सुन्दा शरीर काप्ने गरेको बताउँछिन् ।

‘राति सुतिरहेका थियौं, जहाजको जस्तै आवाज आयो । खोलानजिकै घर थियो, बाहिर आउँदा एक्कासी लेदो, ढुंगा उछिट्टिएर घरको छतसम्मै पहिरो आएको देखें । हतारहतार घरमा गएर ७० वर्षीय आमा निमा ल्हामु लामालाई बोकेर भागें’, उनले भनिन् ।

ज्यान जोगाउनै मुश्किल पर्ने संकटका बेलामा अचानक भाग्नुपर्दा नाम्खा–६ का अधिकांश स्थानीयसँग शरीरमा लगाएको कपडा बाहेक त्यो रात साथमा अरू केही थिएन । ‘अहिले खेतबारीमा माटोको ढिस्को खस्दा पनि डर लाग्छ, कतिखेर बाढी आउँछ भन्ने डर लागिरहन्छ, डराएरै बस्नुपरेको छ’, साङमुले भनिन् ।

नाम्खा–६ तिलगाउँकै छेवाङ जाङ्मु लामा पनि त्यो दिनको भयावह स्थितिले पिरोलिएकी छन् । त्यो रात बाढीको स्तर कम भएपछि गाउँकै सुरक्षित एक घरबाट कपडा ल्याएर चौरमै रात कटाएको उनले बताइन् ।

लेदो सहितको बाढी–पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानीयवासी एकसातासम्म त्रिपालमै रात कटाउन बाध्य भएको स्थानीय पासाङ डोल्कर लामाले बताए । ‘लेदो सहितको बाढी आएको एकसातापछि मात्रै हामी त्रिपाल छोडेर घर फर्कियौं’, उनले भने ।

जब गाउँले युवा हिमताल खोज्न आफैं हिमालतर्फ गए

हिमताल फुटेर नाम्खा गाउँपालिका–६ को तिलगाउँ विस्थापित भएपछि स्थानीय युवाहरूको एक टोली सोही दिन बिहानको ४ बजेतिर हिमालतिर लागेको थियो । गाउँबाट हिंडेको ८ घण्टापछि हिमताल भएको स्थानमा पुगेको स्थानीय युवा कुन्जोक फुर्वु लामाले बताए । समुद्री सतहबाट ५,३५० मिटर उचाइमा पुग्दा दुई वटा हिमताल फेला परेको लामाले जानकारी दिए ।

‘हिमतालको जमिन भासिएर बाढी आएको देखियो’, उनले अनलाइनखबरसँग भने । हिमताल फुटेर लेदो सहितको बाढी आएको पुष्टि भएपछि फिरेको युवाको टोली बिहान ७ बजेतिर गाउँ आइपुगेका थिए । बाढीले तिलगाउँ विस्थापित भएको स्थानमा हिल्सा प्रहरी चौकी र सशस्त्र प्रहरी चौकी छ । तर, सुरक्षाकर्मीको टोली एक दिनपछि मात्रै घटनास्थलमा पुगेको स्थानीय दोर्जे लामाले बताए ।

हिल्साबाट ५ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गाउँ पुगेर मुचुल्का उठाएर फिर्ता भएको उनले जानकारी दिए । हिमताल भासिएको स्थानतर्फ प्रहरीलाई पनि सँगै जानभन्दा नमानेको स्थानीयको दुःखेसो छ ।

हिमपहिरो खसेको एकसातापछि राहत वितरण

घटनाको एकसातापछि मात्रै तिलगाउँका बासिन्दाले राज्यको राहत पाए । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय र विभिन्न संघ–संस्थाको सहयोगमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा नेतृत्वको टोलीले दाल, चामल, तेल, चिउरा, भुजालगायत खाद्य सामग्री तिलगाउँमा वितरण गरेकोे स्थानीय काजेन लामाले बताए ।

यस्तै कर्णाली प्रदेश सरकारले पनि एकसातापछि राहत सामग्री पठाएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । २१ घरधुरीका ३३ जनालाई ५ थान टेन्ट (अस्थायी आवास), २० क्वीन्टल खाद्यान्न, १८ थान सोलार, म्याट्रेसलगायत सामग्री कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले त्यहाँ पठाएको वडाध्यक्ष तामाङले बताए ।

घटनापछि अन्य गैरसरकारी संस्थाहरूले पनि तिलगाउँमा राहत सामग्री पठाएका छन् । हिमाली शिक्षा, विकास हेड नेपाल, कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र, किर्डाक नेपालले तिलगाउँवासीलाई राहत सामग्री वितरण गरेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

तिलगाउँका स्थानीयहरूका अनुसार भौगोलिक विकटताका कारण राहत सामग्री ढुवानी गर्न समेत सकस परेको थियो । एक घण्टा बढी पैदल हिंडेर तिलजोङ खोला नजिक आइपुगेको राहत सामग्री स्थानीयले घोडा मार्फत ढुवानी गरेको स्थानीय डोमा लामाले बताइन् ।

हिमपहिरोपछि ७ घर उच्च जोखिममा

हिमपहिरोले क्षत–विक्षत बनाएको तिलगाउँका ७ वटा घर उच्च जोखिममा छन् । कुल २१ घरधुरीमध्ये ७ वटा घर बाढीको उच्च जोखिममा रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । घटनापछि गाउँमा मानिसको संख्या बढेको छ । बाढीभन्दा पहिला १८ घरधुरीमा ३३ जना थिए । बाढीपछि २१ घरधुरी भएर जनसंख्या ४० पुगेको छ ।

लेदो सहितको बाढीले तिलगाउँमा ५ करोडभन्दा बढीको भौतिक संरचनाको क्षति भएको अनुमान गरिएको छ । गाउँ आसपास लेदो सहितको ठूलो पहिरोले १५ किलोवाट जलविद्युत्को भवन, मेसिन र कुलो समेतमा क्षति पुगेको छ ।

यस्तै गरी करिब ४०० रोपनी सिंचाइ गर्ने कुलो र खानेपानी, काठेपुल, पानीघट्ट समेत बगाएकाले अझ बढी क्षति भएको हुनसक्ने वडाध्यक्ष तामाङले बताए । हिमताल भासिएर पर्यटकीय स्थल तिलजोङ खोला समेत क्षत–विक्षत भएको छ ।

नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँ र हल्जी बाढी र पहिरोको उच्च जोखिममा रहका बस्ती हुन् । पहिले पनि टाक्चीमा पहिरोेले चौंरीहरू पुरेको थियो । तलुङ हिमताल फुटेर लिमीको हल्जी गाउँमा २०६३/६४ सालतिर बाढी आएर जोखिममा परेको वडाध्यक्ष तामाङ बताउँछन् ।

घटनास्थलमा पुग्यो विज्ञको टोलीे, अध्ययन प्रतिवेदन अझै आएन

हिमपहिरोको कारण पत्ता लगाउन सरकारी अध्ययन टोली हुम्ला आएर तीन वटा हिमताल फेला परेको जनाए पनि अझै अध्ययन प्रतिवेदन रिपोर्ट नआएको स्थानीयले बताए । ५,३५० मिटर उचाइमा तीन वटा हिमताल फेला परेको तथ्य बाहिर आए पनि हालसम्म अध्ययन टोलीले कुनै निष्कर्ष नदिएपछि तिल गाउँका स्थानीय अन्योलमा छन् ।

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओलोजिस्ट शिवकुमार बास्कोटा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहार्द जोशी हिमपहिरो खस्नुको कारण पत्ता लगाउन तिलगाउँ पुगेका थिए ।

जेठ १ गते रातिको हिमपहिरोले तिलगाउँ विस्थापित भएको खबर आफूले सो गाउँका स्थानीयभन्दा अरूबाट थाहा पाएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष तामाङ बताउँछन् । तिलगाउँमा पहिरो गएको खबर पाउने बित्तिकै लेक पार गरी ६ घण्टापछि तिलगाउँको अध्ययन गरेको बताए ।

नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँ र हल्जी बाढी र पहिरोको उच्च जोखिममा रहका बस्ती हुन् । पहिले पनि टाक्चीमा पहिरोेले चौंरीहरू पुरेको थियो । तलुङ हिमताल फुटेर लिमीको हल्जी गाउँमा २०६३/६४ सालतिर बाढी आएर जोखिममा परेको वडाध्यक्ष तामाङ बताउँछन् ।

त्यतिबेला तीन जना युवाहरू हिमालसम्म पुगेर माथि हिमताल फुटेको पत्ता लगाएको उनले बताए । हल्जी गाउँमा ५–६ वर्षसम्म लगातार बाढी आउँदा गाउँ उच्च जोखिममा परेको उनी सम्झिन्छन् ।

‘राज्यले लिमीलाई निमिट्यान्नै पार्न खोजेको हो कि के हो’, आक्रोशित हुँदै उनले भने, ‘लिमीमा केन्द्र सरकारको उपस्थिति कहिल्यै देखिएन ।’ लिमीको राम्रा कुराको प्रचार हुन नसकेको दुःखेसो पोख्दै उनले स्थानीयलाई स्वास्थ्य समस्या हुँदा हेलिकप्टर समेत नआउने गरेको बताए ।

हुम्ला हिमपहिरो
लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?