+
+
Shares

उठिनसक्दै धर्मरायो राजावादी आन्दोलन

पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने भन्दै बोलाइएको बैठक नै प्रभावित बनेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिको बैठकमा देखिएको दृश्यले आन्दोलन धर्मराएको संकेत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजावादीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बैठकमा विवाद भयो।
  • नेता र कार्यकर्ताहरूले आन्दोलनको कार्यक्रम र रणनीति तय गर्न सकेनन्।
  • असन्तुष्ट युवाहरूको समूहले छुट्टै भेला गरेर कार्यक्रम घोषणा गर्ने बताइरहेका छन्।

२१ जेठ, काठमाडौं । राजसंस्था पुनर्स्थापना नभएसम्म रोकिँदैनौं भनेर सडकमा उत्रिएका राजावादीहरूको आन्दोलन उठिनसक्दै ढल्ने अवस्थामा पुगेको छ । बुधबार दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बसेको बैठकमा नेतृत्वकर्तामाथि नै केही युवाहरूले प्रश्न उठाएपछि कार्यक्रम बिथोलियो ।

युवाहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा आन्दोलन अघि बढाउन सक्षम नभएको भन्दै होहल्ला गरे ।

उनीहरूले कमल थापाले राजावादीलाई एकठाउँमा समेट्नुको सट्टा गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्री हुन कुदेको र राजेन्द्र लिङ्देनले राजा फर्काउने आन्दोलनभन्दा गणतन्त्रको संसद्लाई धेरै प्राथमिकता दिएको आरोप लगाएका छन् ।

पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए । त्यसपछि कमल थापा र राजेन्द्र लिङ्देन लगायत  पुराना राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए । उनीहरूले मुलुकमा गणतन्त्र आएको दिन १५ जेठको छेको पारेर नै आन्दोलन सुरु गरेका थिए ।

सुरुमा सडकमा राम्रै उपस्थिति जनाएका राजावादीहरूको प्रदर्शनमा पछिल्लो समय नैराश्यता देखिएको थियो । जेठ १८ गते सडकमा उत्रिएका राजावादीहरूमाथि प्रहरीले धरपकड गरेपछि आन्दोलनका संयोजक नवराज सुवेदीले १९ जेठमा उपत्यका बन्दको घोषणा गरेर विज्ञप्ति निकालेका थिए । तर राप्रपाले उक्त बन्दमा आफूहरूको समर्थन नरहेको बताएपछि जेठ १९ गते बिहानै राजावादीहरूले बन्द फिर्ता लिएको बताएका थिए ।

१९ गते उनीहरूले दिवंगत राजपरिवारको शोकमा दीप प्रज्वलन गरे । त्यतिखेरै तितरबितर भएका राजावादीहरू बुधबार बल्लतल्ल भेला भएका थिए ।

बुधबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाएका थिए ।

तर, बैठकको सुरुमै राप्रपा अध्यक्ष लिङ्देन संसद्‌मा व्यस्त रहेको जानकारी गराइयो । त्यसपछि कार्यकर्ताहरू होहल्ला गर्दै ‘संसद् चाहिएको भए किन आन्दोलन गर्नुपर्‍यो ?’ भन्न थाले ।

कार्यकर्ताहरू होहल्ला गर्न थालेपछि राप्रपा अध्यक्ष कमल थापाले भने, ‘तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिनँ, जे मन लाग्यो त्यही गर्नूस् । यसरी बैठक चल्छ ?’

त्यसपछि समितिका संयोजक सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिए ।

‘यो सभालाई विसर्जन गर्नुभन्दा पहिले साथीहरू सबैलाई धन्यवाद दिन चाहन्छु,’ सुवेदीले होहल्लाकै बीचमा भने, ‘तपाईंहरूको उत्साह, जाँगर, विचारप्रतिको विश्वास देखेर म बुढो भए पनि म माथि झनै ऊर्जा थपिएको छ ।’

उनले आफूले नै राम्रा कार्यक्रम ल्याउने जानकारी गराउँदै आजको बैठक अन्त्य भएको घोषणा गरेका छन् । त्यसपछि उनले विज्ञप्ति निकालेर अब समितिले जिल्ला केन्द्रित आन्दोलन गर्ने जनाएका छन् ।

‘संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक आज सम्पन्न भयो ।

उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्ययोजनाका बारेमा समेत छलफल भयो,’ बैठकपछि संयोजक नवराज सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘आगामी आन्दोलनका कार्यक्रममा समेत विभिन्न वर्ग, पेसा लगायत निजामती, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका पूर्वराष्ट्रसेवकहरू तथा आम जनताको व्यापक सहभागिताको निम्ति बैठकले अपिल गरेको छ ।’

संयोजक सुवेदीले बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले विभिन्न ६ बुँदे कार्य निर्धारण गरेको जनाएका छन् ।

त्यसमा काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनलाई जारी राख्ने, काठमाडौं अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने, आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने उल्लेख छ ।

देशका विभिन्न जिल्लामा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरुको समूह तयार गर्ने र देशका विभिन्न जिल्लाहरूमा आन्दोलनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गरिने विज्ञप्तिमा भनेका छन् ।

तर, असन्तुष्ट युवाहरूको समुहले छुट्टै भेला गरेर कार्यक्रम घोषणा गर्ने बताइरहेका छन् । उनीहरूले बुढाखाडाबाट आन्दोलनको नेतृत्व हुन नसक्ने पनि बताएका छन् ।

एक हप्ता लामो पहिलो चरणको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम तय गर्न भन्दै आज सुवेदीले बैठक बोलाएका थिए । उनका अनुसार बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरुलाई बोलाइएको थियो । तर अब कार्यक्रम नै छिन्नभिन्न भएपछि राजावादीहरूको दोस्रो चरणको आन्दोलननै तिलमिलाएको छ ।

गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कंदा देखिएको भीडले राजावादी उत्साहित भएका थिए ।

गत चैत ४ मा संयुक्त जनआन्दोलन समिति गठन हुँदा आफूहरूसँग आपसी सल्लाह नभएको भन्दै सुवेदी नेतृत्वको समितिमा लिङ्देन, थापा र विष्ट सदस्य बस्न अस्वीकार गरेका थिए ।

गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनको जनकमान्डर दुर्गा प्रसाईंलाई तोकिएपछि लिङ्देन, थापा लगायतका नेताहरू सहभागी भएनन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भने तीनकुनेको प्रदर्शनमा सहभागी भएका थिए ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?