+
+
Shares
अन्तर्वार्ता :

विवादबीच वाईसीएल अध्यक्ष चुनिएका वलीलाई प्रश्‍न- चुनाव गर्न केले रोक्‍यो ?

समूह भन्ने त धेरै टाढाको कुरा हो । पार्टी नै हो मूल कुरा । पार्टीको सहायक संगठन, सेना संगठनले पार्टीको निर्देशन र कार्यक्रम मानेर नेतृत्वलाई रक्षा गर्न सधैं अगाडि बढ्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाइसीएलको तेस्रो सम्मेलनले आइतबार साँझसम्म पूर्ण कमिटी पाएको छैन।
  • अध्यक्ष पुष्प वलीलाई सर्वसम्मत चयन गरिएको र असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन्।
  • अध्यक्ष चयन र नयाँ कमिटी गठनमा सहमति भए पनि आधिकारिक पत्र प्राप्त गर्न ढिलाइ भएको छ।

१८ जेठबाट सुरु भएको नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो सम्मेलनले पूर्ण कमिटी आइतबार साँझसम्म पाएको छैन । निर्धारित समयभित्र सम्पन्न हुन नसकेको सम्मेलनबाट शुक्रबार अबेर साँझ सहमतिमा पुष्प वली अध्यक्ष चुनिए । अध्यक्ष टुंगिए पनि असन्तुष्टिका स्वरहरू संगठनभित्र सुनिन सुरु भइसकेका छन् ।

 वाइसीएलका नवनिर्वाचित अध्यक्ष वलीसँग सम्मेलन र भावी योजनाबारे अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी :

निर्धारित समयमा सम्मेलन सकिएन । तीन दिन लम्बिएको तेस्रो सम्मेलनबाट अध्यक्षमा तपाईंको नाममा सहमति जुट्यो । अरु १३ जना आकांक्षीमा तपाईं सहमतिमा अध्यक्ष बन्ने अवस्था कसरी बन्यो ?

तेस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्षका आकांक्षी १३ जना हुनुहुन्थ्यो । अरु १२ जनाले समर्थन गरेर म सर्वसम्मत अध्यक्ष बनें ।

पार्टी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्दा नयाँ ढंगले संगठित गर्नको निम्ति यो संगठनलाई अलि बढी महत्व दिनुभयो । संगठनभित्र विभाजन आउन नहुने र तपाईंहरू सबै मिलेर सर्वसम्मत नेतृत्व चयन गर्नुहोस् भन्ने कोणबाट निर्देश गर्नुभएको थियो । त्यही रफ्तारका साथ छलफल भयो ।

सबै साथीहरूले समर्थन गरेर मलाई अध्यक्ष बनाउनुभयो । एउटा राम्रो सन्देश गएको छ । मेरो नेतृत्वको कमिटीले संगठनमा ऊर्जा थप्न र गतिशील बनाउन राम्रो काम गर्नेछ ।

सिनियरिटीलाई आधार बनाउँदा उपाध्यक्षको नाममा सहमति जुट्नुपर्ने तर तपाईं उपमहासचिवबाट अध्यक्ष हुनुभयो । के गुण पार्टीले हेर्‍यो र अध्यक्षमा तपाईंमा सहमति जुट्यो ?

उपमहासचिव पनि सिनियरिटीकै लेबल हो । हामी साबिक पदाधिकारी नै, पुरानै पदाधिकारीको र्‍याङ्किङलाई उपमहासचिवमा लगेर राखेको हो । पार्टीको सहायक संगठन भएको हुँदा उहाँहरूको पनि चासो त हुने भइनै हाल्यो ।

महत्वपूर्ण के छ भने, आकांक्षीमध्ये १३ जनामा अरु ११ जनाले मलाई समर्थन दिएपछि पार्टी नेतृत्व पनि त्यतातिर निर्णय गर्न पुग्यो भन्ने लाग्छ ।

निर्वाचनबाट नेतृत्व चयन गर्न किन तयार हुनुभएन ?

सर्वसम्मत भनेको पनि सबैले अनुमोदन गरेरै चुनिने हो । आकांक्षीहरू कोही त्यसमध्येबाट सर्वसम्मति दिनुभएन, उहाँहरूले नमान्दिनु भएको भए निर्वाचनमा जाने विधि त हामीसँग छँदै थियो । हाम्रो कार्यविधि, विधान हरेक कुराले भन्छ नै ।

संगठनमा निर्वाचन गरेर पनि आयौं नि । नुवाकोटको जिल्ला समिति निर्वाचनबाट चुनियो । लुम्बिनी प्रदेशको प्रदेश समिति निर्वाचनबाट चुनियो । अन्यत्रतिर सहमति भयो । सहमति भनेको त झन् राम्रो कुरा होला नि ।

लोकतन्त्रमा सबभन्दा राम्रो त सबैले मान्दिएर नेतृत्व चयन गर्ने विधि होला । निर्वाचनले एउटा हार्ने, एउटाले जित्ने हुने थियो । यसमा त सबैले जित्नुभयो । निर्वाचन प्राविधिक विषय हो भन्ने लाग्छ । सर्वसम्मत हुँदा पनि कमिटी दिने त हो ।

जीवन्त संगठनमा अन्तर्विरोध हुन्छन् । त्यसलाई नयाँ ढंगले हेरिनुपर्छ भन्ने हो । संगठनको सबभन्दा सर्वोच्च निकाय भनेको राष्ट्रिय सम्मेलन हो । राष्ट्रिय सम्मेलनबाट निर्वाचित कमिटी आइसकेपछि अब यी अन्तर्विरोधहरू सबै अब नयाँ ढंगले जान्छन् ।

पछिल्लो समय त पार्टीमा समूह-समूहको कुराहरू सुनिन्छ । तपाईं बलियो समूहमा रहेर अध्यक्ष बनेको बुझ्न सकिन्छ ?

म त पार्टीकै मान्छे हो । यो समूह भन्ने त अब कहीँ कतै सुनिने कुरा होलान् । हाम्रो संगठनमा समूह देखिएको छैन । त्यस्तो हुने थियो भने सर्वसम्मत कसरी गर्न सक्थ्यौँ होला र ? समूह भएको देखिएन ।

जीवन्त संगठनमा अन्तर्विरोध हुन्छन् । त्यसलाई नयाँ ढंगले हेरिनुपर्छ भन्ने हो । संगठनको सबभन्दा सर्वोच्च निकाय भनेको राष्ट्रिय सम्मेलन हो । राष्ट्रिय सम्मेलनबाट निर्वाचित कमिटी आइसकेपछि अब यी अन्तर्विरोधहरू सबै अब नयाँ ढंगले जान्छन् ।

समूह भन्ने त धेरै टाढाको कुरा हो । पार्टी नै हो मूल कुरा । पार्टीको सहायक संगठन, सेना संगठनले पार्टीको निर्देशन र कार्यक्रम मानेर नेतृत्वलाई रक्षा गर्न सधैं अगाडि बढ्छ ।

बल्लतल्ल अध्यक्षमा सहमति त बन्यो । निर्वाचन आयोगले तपाईंहरूलाई आधिकारिक पत्र प्रदान पनि गरेको छैन । किन ढिलो भयो ?

राम्रो गर्नलाई नै समय लागेको हो भन्ने हिसाबले बुझौं न ।

वाइसिएलका नेताहरूलाई व्यवस्थापन गर्न विधान संशोधन गर्न लाग्नुभएको हो ?

हैन हैन । पार्टीलाई नै हामीले भनेका छौँ । को-को, कता-कता, कुन-कुन कमिटीमा गर्नुपर्ने हो, त्यसमा पार्टीले नै निर्णय गरेर देओस् । विधान संशोधन नगरी पार्टी नेतृत्वसँग सरसल्लाह गरेर भूमिका मिलाउँछौं ।

नयाँ कमिटी गठनप्रति विरोधका स्वर त सुनिएका छन् । सर्वसम्मत हुँदा असन्तुष्टि सामाजिक सञ्जालमा पोखिनुपर्ने हो र ?

यति धेरै संख्या सहभागी भएको सम्मेलनमा अलिअलि असन्तुष्टि त हुने भइहाल्यो । केही ल्याउनैपर्ने साथीहरू पनि हाम्रो विधानमा भएको व्यवस्थाअनुसार ल्याउन सकिराखेका छैनौँ ।

केही साथी छुटिराख्नुभएको छ । पर्नैपर्ने साथीहरू नपर्ने, केही नपर्ने साथीहरू पर्दा असन्तुष्टि पनि सुनिन्छन् । केही साथीहरूको जिम्मेवारीको विषयमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ । उहाँहरूको विषयमा सम्बोधन हुनेछ । साथीहरूलाई धैर्य गर्न अनुरोध गर्छु ।

एक समयको चर्चित युवा संगठन आजकल अलि कमजोर हुँदै गएको देखिन्छ । युवा संगठनहरूको साख गु्म्दै गएको बेला संगठनलाई प्रभावकारी बनाउने तपाईंसँग योजना के छन् ?

राष्ट्रिय सम्मेलन गर्दै गर्दा नवप्रवर्तन, स्वरोजगार, उद्यमशिलता लगायतका मुद्दा उठाएका छौं । स्वरोजगारका लागि युवा आन्दोलन भनेका छौं । सम्मेलनबाट यी अजेन्डा अनुमोदित भएका छन् । अब व्यवहारतः लागु गर्नुपर्नेछ ।

सुशासन, सामाजिक न्याय, समृद्धिका मुद्दालाई अघि बढाउँछौं । युवाका तमाम समस्या छन् । यिनीहरूलाई विस्तृत रूपमा छलफल गरेर यी समस्याहरू समाधान गर्ने कार्यमा संगठन योङ कम्युनिस्ट लिग लाग्नेछ । वाईसीएल भन्ने बित्तिकै कम्युनिस्ट युवाहरूलाई संगठित गर्ने संगठन हो । कम्युनिस्ट आचरण भएका युवालाई हामी संगठित गर्छौं ।

वाईसिएलले कम्युनिस्ट युवाहरूलाई संगठित गर्छ । निम्नवर्गीय जो शोषण उत्पीडनमा परेको वर्गलाई तिनीहरूको रक्षा गर्नको निम्ति, तिनीहरूलाई विकास गर्नको निम्ति र तिनीहरूको हरेक समस्याको समाधानको एउटा सशक्त माध्यम वाईसिएल बन्छ । बनाइन्छ । नयाँ ढंगले नयाँ कार्यक्रमहरू हामी छलफल गरेर अगाडि बढ्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?