+
+
Shares

भवन बनाउन सरकारी बजेट पाएपछि उठाएको रकम फिर्ता गर्ने तयारीमा तरुण दल

विद्धान गुरुङको नेतृत्वमा रहेको तरुण दलले भवन निर्माणका लागि केन्द्रीय सदस्य र शुभेच्छुकसँग संकलन गरिएको रकम समेत फिर्ता गर्ने तयारी गरेको छ । २०८० चैतमा बसेको केन्द्रीय समिति बैठकमा कार्यालय भवन निर्माणका लागि रकम संकलन गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते २०:३८
निर्माण हुन लागेको तरुण दलको केन्द्रीय कार्यालय भवनको प्रस्तावित डिजाइन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहरी विकास मन्त्रालयले भवन बनाउन बजेट दिने भएपछि तरुण दलले आन्तरिक रुपमा संकलित रकम फिर्ता गर्ने तयारी गरेको छ।
  • मन्त्रालयले भवन निर्माणको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिदिएको छ, जसको संगठनभित्रैबाट आलोचना भइरहेको छ।
  • संकलित रकम फिर्ता गर्ने भनिएपनि सहयोग रकमको यथार्थ विवरण नरहेको तरुण दलकै नेताहरु बताउँछन्।

२५ जेठ, काठमाडौं । तरुण दलले सहरी विकास मन्त्रालयले केन्द्रीय कार्यालय निर्माण गर्न बजेट दिएपछि आन्तरिकरुपमा संकलन गरेको रकम फिर्ता गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ बजेटमा नै सहरी विकास मन्त्रालयले तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ । पार्टीको संगठनको भवन बनाउन सरकारी ढुकुटीको रकम दूरुपयोग गरेको भन्दै सहरी विकास मन्त्री प्रकाशमान सिंहको आलोचना भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित रविभवनमा बन्ने भवनका लागि मन्त्रालयबाट ३ करोड बजेट छुट्याइएको छ । सरकारबाट कार्यालय बनाउन बजेट प्राप्त हुने भएपछि संगठनले आफ्नै बलबुतामा भवन निर्माण नगर्ने भएको छ ।

‘यो बजेट आइसकेपछि केन्द्रीय सदस्यले दिएको रकम आवश्यक छैन भन्ने छ । पैसा दिएकाहरुलाई रकम बुझाएको प्रमाणसहित तरुण दलको कार्यालयमा उपस्थित हुन सूचना निकाल्ने तयारी छ,’ गुरुङ निकट एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।

कार्यालय भवन बनाउन सहयोग गर्नेहरुमा कतिपयले कबोल गरे अनुसार पैसा नबुझाएको उनले सुनाए । तर, कुन व्यक्तिसँग कति रकम लिएको र संकलित रकमको यथार्थ तथ्यांक नरहेको तरुण दलका नेताहरु बताउँछन् । केन्द्रीय सदस्य सरोज न्यौपानको दाबी अनुसार भवन बनाउन पुग्ने रकम पार्टीभित्रैबाट उठिसकेको थियो ।

‘पैसा व्यक्तिगत खातामा जम्मा भएको छ । तरुण दलको बैंक खाता नहुँदा व्यक्तिगत खातामा पैसा जम्मा भएको छ,’ न्यौपानेले भने, ‘यस्तै कुराको विरोध गर्दै आएका हौं । सिस्टम बनाऔं भन्दै आएका हौं । उहाँले सुन्नुभएन ।’ राज्यको ढुकुटी दुरुपयोग भएको न्यौपानेको निष्कर्ष छ ।

विद्धान गुरुङको नेतृत्वमा रहेको तरुण दलले भवन निर्माणका लागि केन्द्रीय सदस्य र शुभेच्छुकसँग संकलन गरिएको रकम समेत फिर्ता गर्ने तयारी गरेको छ । २०८० चैतमा बसेको केन्द्रीय समिति बैठकमा कार्यालय भवन निर्माणका लागि रकम संकलन गरिएको थियो ।

त्यस समय ३७ जनाले केन्द्रीय कार्यालय भवन बनाउन सहयोग रकमको वाचा गरेका थिए । ‘भवन निर्माणका लागि तपशिलका बमोजिमका साथीहरुबाट आर्थिक संकलन भएको’ उल्लेख गरी अध्यक्ष गुरुङले निर्णयमा लेखेका छन् ।

पार्टी सभापतिलाई अनावश्यक विवादमा मुछिएको भन्दै गुरुङप्रति तरुण दलभित्रैबाट विरोध भयो । पुरानो विज्ञप्तिलाई संशोधन गरेर गुरुङले नयाँ जारी गरे । संशोधित विज्ञप्तिमा ‘नेपाल तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि ३ करोड विनियोजन भएको’ उल्लेख गरिएको छ ।

त्यसबेला भवन निर्माणका लागि रकम सहयोग गर्नेहरुले ५५ हजार ५ सय ५५ देखि ४ लाख रुपैयाँसम्म वाचा गरेका थिए । अधिकांशले २ लाख रुपैयाँ सहयोग गरेको गुरुङले निकालेको विज्ञप्तिमा केन्द्रीय सदस्यको सूची छ ।

३७ जनाबाट ६८ लाख ७२ हजार १०२ रुपैयाँ संकलित भएको देखिन्छ । तर, केन्द्रीय सदस्यहरुको दाबी अनुसार यो भन्दा बढी रकमलाई प्रतिबद्धता गरिएको छ । तरुण दलका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘केन्द्रीय सदस्य र विदेशमा रहेका तरुण दलका शुभेच्छुक सहयोग गरेका छन् । प्रतिबद्धता गरेका मध्ये ५० प्रतिशत बढीले रकम जम्मा गरेका छन् ।’

भवन निर्माणका लागि जुटाइएको आर्थिक सहयोग संगठनको खातामा भने जम्मा भएको थिएन । तरुण दलका केन्द्रीय सदस्यहरुका अनुसार फरक फरक तीन वटा व्यक्तिगत खाता रकम जम्मा गर्नका उपलब्ध गराइएको थियो ।

‘सरकारबाट बजेट नआउने अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी लाग्ने अनुमानित गरेका थियौं,’ अध्यक्ष गुरुङ निकट केन्द्रीय सदस्य भन्छन्, ‘अब सरकारले छुट्याएको बजेट अनुसार बन्ला नि ।’

सरकारले बजेटको व्यवस्था गरिदिने अवस्था बनेपछि केन्द्रीय सदस्यबाट सहयोग संकलनको आवश्यकता नरहेको उनले बताए । तरुण दलको भवन बनाउने जग्गा पूर्व सांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएकी हुन् । जग्गाको क्षेत्रफल १८ आना रहेको छ । कांग्रेस पार्टीलाई उनले दिएको जग्गालाई तरुण दलको नाममा नामसारी गरिएको छ ।

गुरुङ नेतृत्वको कार्यसमितिले नयाँ भवन बनाउने उद्देश्यले पुरानो भवन भत्काएर जग्गा खाली गरेको छ । तीन तलाको भवन बनाउने गरी नक्सा पास समेत भइसकेको तरुण दलका नेताहरुले जानकारी गराएका छन् ।

विनोद कायस्थ संगठनको अध्यक्ष हुँदादेखि (२०६० साल) तरुण दलको कार्यालय रविभवनबाट सुरु गरिएको थियो । सरकारबाट बजेट लिएर भवन निर्माण गर्न लागिएको विषय बाहिरिएपछि तरुण दलको आलोचना भएको छ ।

आफ्नो कार्यकालमा भवन निर्माण गर्न बजेट विनियोजन भएको जस लिने उद्देश्यले अध्यक्ष गुरुङले शनिबार सार्वजनिक जानकारी गराएका थिए । नेपाल तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा नेपाल सरकार शहरी विकास मन्त्रालयबाट यसै आर्थिक वर्षमा वहुवर्षीय योजना अन्तर्गत तीन करोड रुपैयाँ विनियोजन भएको सार्वजनिक गरेका थिए ।

बजेट बिनियोजन गर्न विशेष पहल गरिदिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र विभागीय मन्त्री प्रकाशमान सिंहलाई गुरुङले धन्यवाद दिएका थिए । शनिबार गुरुङले बजेट विनियोजनको रकम सहित विशेष पहल गरेको भन्दै सभापति देउवा र मन्त्री सिंहको नाम लिएपछि उनको आलोचना भयो । सरकारले दलको भ्रातृ संस्थाको भवन निर्माणमा रकम छुट्याएकोप्रति नागरिकहरु रुष्ट भए ।

पार्टी सभापतिलाई अनावश्यक विवादमा मुछिएको भन्दै गुरुङप्रति तरुण दलभित्रैबाट विरोध भयो । पुरानो विज्ञप्तिलाई संशोधन गरेर गुरुङले नयाँ जारी गरे । संशोधित विज्ञप्तिमा ‘नेपाल तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि ३ करोड विनियोजन भएको’ उल्लेख गरिएको छ ।

‘तरुण दलको भवन निर्माणार्थ’ शव्दावली हटाएर ‘गणेशमान सिंह स्मृति भवन’ उल्लेख गरेका छन् । विरोध भयो भनि विज्ञप्ति संशोधन गरि तरुण दलकै भवन बन्नका लागि बजेट विनियोजन भएको तरुणका एक केन्द्रीय सदस्यले सुनाए ।

२०७३ सालपछि तरुण दलमा निर्वाचित कार्यसमिति आउन सकेको छैन । २०७८ को चैतमा गुरुङलाई सभापति देउवाले तरुण दलको अध्यक्षमा मनोनित गरेका थिए ।
गुरुङ नेतृत्वको कार्यसमितिको मूल दायित्व निर्वाचित समिति ल्याउनु हो । मूल उद्देश्यबाट बाहिरिएर गुरुङ भवन निर्माणको काममा लागेको भन्दै संगठनभित्रैबाट उनको आलोचना भएको छ ।

केन्द्रीय सदस्य सरोज न्यौपाने भन्छन्, ‘हाम्रो जिम्मेवारी भवन बनाउने होइन नि । पार्टीले अधिवेशन गर्न पठाएको हो नि ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?