
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई दुर्लभ गैँडाका बच्चालाई सदर चिडियाखानामा लैजान तयारी गरेको छ।
- बुधबार र आइतबार प्रयास गर्दा पनि पूजा खोरमा जान मानेको छैन, किनभने उनीहरूलाई मान्छेसँगै हुर्किएको थियो।
- गैँडाका बच्चालाई संरक्षण र पुनःप्रवेशका लागि कोषले पालनपोषण गर्दै आएको र जंगलमा पुनःस्थापना चुनौतीपूर्ण रहेको छ।
२५, जेठ, चितवन । चितवन राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किएका दुर्लभ एकसिंगे गैँडाका दुई केटाकेटीलाई सदर चिडियाखाना जावलाखेल लगिने भएको छ । दुई बर्षको माइलालाई गत बुधबार नै चिडियाखाना लगिसकिएको छ भने ३ वर्षको पूजालाई आज लैजाने तयारी छ ।
बुधबार नै पूजालाई पनि पठाउन खोजिएपनि खोर भित्र जान नमानेपछि आइतबार पुनः लैजान लागिएको हो । आज पनि पूजा खोरमा जान मानेको छैन । निकुञ्ज तथा कोषका कर्मचारीले पूजालाई आइतबार खोरमा हालेर लैजाने प्रयास गरेका छन् ।
सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले गैँडाका दुबै बच्चालाई पालनपोषण गर्दै आएको थियो । सानो उमेरमा नै आमाबाट छुट्टिएर अलपत्र अवस्थामा निकुञ्जको टोलीले फेला पारेका यी दुबै गैँडाका बच्चालाई कोषमा ल्याइएको थियो ।
वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयअनुसार भाले गैँडा माइला र पोथी गैँडा पूजालाई काठमाण्डौं लैजान लागिएको हो । सदर चिडियाखानाले दुईवटा गैँडा माग गरेपछि मान्छेसँग नै हुर्किएका दुई गैंडालाई चिडियाखाना पठाउने निर्णय मन्त्रालय र विभागले गरेका थिए ।
सदर चिडियाखाना लगिएको माइला बर्दिया राष्ट्रिय निकुञ्जमा जन्मिएको ५ महिनामा बाघले आक्रमण गरेर घाइते भई टुहुरो अवस्थामा भेटिएको थियो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराहा पारी जंगलमा जन्मिएको एक हप्ता मात्रै भएको अवस्थामा माउबाट छुट्टिएर अलपत्र परेको अवस्थामा गैँडाको पोथी बच्चा फेला परेको थियो ।
यी दुबैलाई कोषमा ल्याएर भालेलाई माइला र पोथीलाई पूजा नामकरण गरेर रेखदेख तथा पालनपोषण गरिएको थियो । गैँडाको बच्चालाई मान्छेको बच्चालाई सानो उमेरमा दूध खुवाएर तेल लगाएर हुर्काउनुपर्छ ।
सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैँडाका बच्चा लगिएको हो ।
पूजा र माइला जोडी, देव र रामको अर्को गुट
कोषमा चार वटा गैँडाका बच्चाहरु हुुँकिरहेकोमा पूजा र माइलाको एक जोडी थियो भने देव र रामको अर्को जोडी थियो । विहान ५ बजे नै खोरबाट निकालेपछि माइला र पूजा दिनभरजसो सँगै हुन्थे भने, राम र देव आफ्नो सुरले चर्ने, हिँड्ने, बजार डुल्ने गरेको गैँडाका केटाकेटीको पालनपोषण गर्दै आएका लालबहादुर महतराले बताए ।
पूजा र माइला मिल्ने भएकै कारण उनीहरुलाई सदर चिडियाखानामा पनि सँगै राख्न खोजिएको हो । भाले र पोथी पनि भएकोले दुबैलाई राख्न पनि सजिलो हुने तथा राम र देवभन्दा ठूलो भएकोले यी दुईलाई रोजिएको हो । देव नाम दिइएको बच्चा चितवनको देवनगरबाट घाइते अवस्थामा ल्याइएको थियो ।
कोषमा अब राम र देव मात्रै रहनेछन् । यी दुई डेढ वर्षका भए । राम र देव सौराहाको बजार क्षेत्रमा समेत बेलाबखत निस्कने गर्दछन् । कोषमा मानिसको संरक्षणमा हुर्काइएका गैँडालाई जंगलमा लगेर पुर्नस्थापना गर्न निकै चुनौतीपूर्ण हुँदै आएको छ ।
यसअघि कोषमा पालिएका पूष्पा र अञ्जलीलाई जंगलमा लगेर छाडिएको भएपनि पुनः सौराहामा नै फर्किएपछि दुबैलाई कोशी टापु बन्यजन्तु आरक्षमा राखिएको छ । मेघौली नामको अर्को गैँडा पनि सौराहा क्षेत्रमा घुम्ने गर्छ ।
माउबाट छुट्टिएका वा बाघको आक्रमणमा परेर घाइते भएका गैँडाका केटाकेटीहरूको उद्धार गरेर ल्याएपछि कोषले तिनको उपचारसँगै पालन पोषण गरेर हुर्काउने गरेको छ ।
प्रतिक्रिया 4