
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा कथानक फिल्म ‘रातो पासपोर्ट’ को निर्माण घोषणा भयो।
- फिल्मको कथावस्तु युरोपेली मुलुकको नागरिकता प्राप्त गर्ने संघर्षमा केन्द्रित छ।
- निर्माताले यसअघि ‘अमेरिका ब्वायज’ र ‘बिहे पास’ जस्ता फिल्महरू निर्देशन गरेका प्रवेश पौडेल कार्यकारी निर्माता रहनेछन्।
काठमाडौं । कथानक फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । युरोपेली मुलुकको नागरिकता प्राप्त गर्ने उद्देश्यले त्यहाँ पुगेका नेपालीले गर्ने संघर्ष र सकसको कथावस्तु यसमा हुनेछ ।
सि-बड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति, ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको फिल्मको निर्देशन सिमसोन तामाङले गर्दैछन् । कथा माइकल तामाङले लेखेका हुन् । पटकथा तथा संवाद प्रदीपकुमार चौधरीले लेखेका हुन् ।
निर्माताले केही दिनदेखि नै दर्शकलाई यसबारे टिजिङ गरिरहेका थिए । उनीहरूले लेखेका थिए, ‘सबै भन्छन्- त्यता गएपछि सेटल भइन्छ रे । परिवारको भविष्य सुरक्षित हुन्छ रे । रातो पासपोर्ट पाइन्छ रे ।’ निर्माताको यो पोस्टमै फिल्मको कथासार लुकेको बुझ्न सकिन्छ ।
औपचारिक निर्माण घोषणा भने ‘मिनिमल पोस्टर’ सार्वजनिक गर्दै आइतबार मात्र भएको हो । पोस्टरको थिम युरोपेली देश पोर्चुगलको पासपोर्टको कभर पेजको स्टाइलमा तयार पारिएको छ ।
पोर्चुगलले ३ हजार भन्दा बढी नेपालीको अस्थायी आवास अनुरोध अस्वीकार गर्दै देश छाड्न सूचित गरेको एकदिनपछि निर्माताले सोही कथावस्तुमा फिल्म बनाउने घोषणा गर्नु संयोग मात्र हुनेछ ।
यो फिल्मको लगानीकर्तामा लोकबहादुर तामाङ छन् । प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा रहनेछन् । पौडेलले यसअघि ‘अमेरिका ब्वायज’ र ‘बिहे पास’ फिचर निर्देशन गरेका थिए ।
मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायाँकारमा रवीन्द्र न्यौपाने, संगीतकारको रुपमा जयन जे वाइबा जोडिएका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन् ।
निर्देशक तामाङ घरेलु फिल्ममा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन् । कलाकार तथा क्रू सदस्य नेपालबाट चाँडै नै छनौट गरिने भएको छ ।
युरोप र बेलायतमा रहेका कलाकारलाई अडिसनमार्फत छनोट गरिने भएको छ । छायाङ्कन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा हुने जनाइएको छ ।
प्रतिक्रिया 4