२९ वैशाख, विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर समूहले विराटनगरमा भेला आयोजना गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीन विश्वकर्माको अगुवाइमा मंगलबार कोशी प्रदेशस्तरीय भेला भएको हो ।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहले पार्टीलाई एकताबद्ध बनाउन सुझाव संकलन गर्न भन्दै यो भेलाको आयोजना गरेका हुन् । जसमा डा. शेखर कोइराला समूहका नेता केदार कार्कीसहितका नेता पनि पुगेर आफ्नो धारणा राखेका छन् ।
भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमहामन्त्री सिटौलाले जेठ १० गतेभित्र सबै प्रदेशमा प्रदेशस्तरीय भेला गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका छन् । ‘के गर्ने हो जेठ १० गतेभित्र गरिसकौं,’ उनले भने, ‘त्यो भन्दा उता ढिलो हुन्छ ।’
भेलापछि पत्रकारसँगको कुराकानीमा उनले पार्टीको वृहत भेलाको विषय १० गतेभित्र गर्न भनेको प्रतिक्रिया दिएका छन् । ‘अहिले थोरथोरै उपस्थितिमा भेला–छलफल चलिरहेको छ । सुझाव संकलन गरिरहेका छौं । जेठ १० गतेभित्र प्रदेश स्तरीय भेला गरौं भन्ने मेरो धारणा हो ।’
पार्टीभित्र खलबलिएको एकतालाई पुन:स्थापित गर्न ढिलाइ गर्न नहुने सिटौलाले बताए । पार्टीलाई एकताबद्ध गर्नकै लागि प्रदेश तहमा छलफल चलाइएको पनि उनको दाबी छ ।
‘विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादले पार्टीलाई कमजोर बनाएको छ,’ सिटौलाले भने, ‘पार्टीभित्र एकता नभए लोकतन्त्र र देशमाथि आइलाग्ने चुनौतीहरूको सामना गर्न कांग्रेसलाई कठिन हुन्छ ।’
पार्टी केन्द्रमा बस्नेहरूले मात्रै सबै कुरा नजान्ने तर्क अघि सार्दै नेता सिटौलाले देशभरका कार्यकर्ताको भावना समेट्न आफूहरूले छलफल चलाएको दाबी गरे ।
प्रतिक्रिया 4