+
+
अन्तर्वार्ता :

‘धेरैजसो हिमतालका प्राकृतिक बाँध कमजोर छन्, कुनै पनि बेला फुट्न सक्छन्’

धेरैजसो हिमताललाई थेगिरहेका प्राकृतिक बाँधहरू कमजोर छन् । जलवायु परिवर्तनको असरका कारण ती हिमताल वा पोखरीहरू कुनै पनि बेला विस्फोट हुन सक्छन् र अकल्पनीय क्षति पुग्न सक्छ । अब विकास परियोजना र प्रकोपबारे सोच्नुपर्ने बेला भइसक्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते २०:२५

४ भदौ, काठमाडौं । साउन मसान्तमा सोलुखुम्बुमा गेगरान (गेग्य्रान) सहितको बाढी आउँदा थामे गाउँमा ठूलो क्षति पुग्यो । माथिल्लो क्षेत्रमा भएको हिमपोखरी विस्फोटलाई विनाशकारी बाढीको कारण मानिएको छ । जोखिमको रूपमा पहिचान नभएका हिमपोखरी फुट्दा पर्यटकीय गाउँ थामेमा भएको क्षतिले धेरैलाई झस्काइदिएको छ ।

नेपालमा हिमतालहरूको अवस्था, तिनीहरूबाट हुने जोखिम न्यूनीकरणका उपाय र हामीले गर्नुपर्ने तयारीका विषयमा केन्द्रित रहेर अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ जलवायु विशेषज्ञ अरुणभक्त श्रेष्ठसँग अनलाइनखबरकर्मी विनोद घिमिरेकृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :

सोलुखुम्बुको थामे गाउँमा गत साताको आकस्मिक बाढीले विनाश पनि निम्त्यायो । प्रारम्भिक रूपमा हिमताल विस्फोटपछि बाढी आएको भनिएको छ । त्यसको खास कारण के हो ?

माथिल्लो क्षेत्रमा रहेको ताल विस्फोट भएर नै बाढी आएको रहेछ । बाढीपछि त्यहाँ गएको हेलिकप्टरको सर्भिलेन्स फुटेजहरू हेर्दा हिमताल विस्फोटबाट बाढी आएको यकिन भयो । कुनै एउटा प्रक्रिया र कारणबाट हिमताल विस्फोट भएको होला ।

तालको पानी छचल्किएर अर्को तालमा गएको अनि त्यहाँबाट विस्फोट भएर बाढीको रूप लिएको सूचना हामीले पाएका छौं । साथसाथै घटनापछिको भूउपग्रहको चित्र पनि हेरेका थियौं, त्यसले पनि बाढी कहाँबाट आएको हो भन्ने देखाउँछ ।

तासी लाप्सो पासतिर जाने क्षेत्रमा चारवटा स–साना तालहरूको समूह छ । त्यसमध्ये एउटा ताल फुटेको देखिन्छ । माथिल्लो तालको पानी छचल्किएर पोखिएकाले तलको ताल फुटेको हुनुपर्छ । तल्लो तालको उचाइ समुद्र सतहबाट करिब ४ हजार ७६० मिटरमा छ । छचल्किएको तालको उचाइ ४ हजार ९०० मिटर छ ।

माथिल्लो भागमा रहेको ताल छचल्किएर पानी मात्रै पोखिएको हो कि भन्ने हामीले अनुमान गरेका छौं । किनभने त्यसको भौतिक संरचना पानीले फुटाएको देखिंदैन । ताल वरपर चट्टान बलियोसँग बसेको देखियो । तल्लो ताल भने गेग्य्रानहरूले बनेको प्राकृतिक बाँध जस्तो रहेछ, छचल्किएपछि पानीको तोडले त्यसलाई फुटाउन सफल भयो ।

माथिल्लो तालमा के कारणले पानी छचल्कियो भन्ने यकिन गर्न सकेका छैनौं, हामीले बुझ्ने कोसिस गरिरहेका छौं । पानीमा चट्टान, गेग्य्रान वा हिमपहिरो वा केही चिज खसेको हुनुपर्छ । त्यो विषय अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

त्यो ठाउँमा बादल लागिरहेकाले भू–उपग्रहको चित्र पनि स्पष्ट आएको छैन । हेलिकप्टर सर्भिलेन्सबाट आएको फुटेजबाट पनि माथिल्लो भागको अवस्था यकिन गर्न सकिएको छैन । तर माथिबाट केही झरेको, ताल छचल्किएको अनि त्यसले तलपट्टि रहेको अर्को ताललाई प्रभाव पारेकाले मैले यसलाई ‘डबल क्यास्केड’ प्रक्रियाबाट बाढी आएको भन्ने गरेको छु ।

एउटा तालको पानी पोखिएर अर्को ताल विस्फोट हुने अवस्था देखियो भन्नुभयो । पोखिएको र विस्फोट भएको ताल बीचको दूरी कति होला ?

दुई तालहरू बीचको दूरी केही सय मिटर मात्रै होला । तर उचाइ भने निकै फरक छ । २०० मिटर जतिको उचाइमा एकदमै भिरालो रूपमा रहेकाले छचल्किएको पानीको बल र प्रभाव ज्यादा देखियो । त्योभन्दा माथिल्लो भागमा ५ हजार ८०० देखि ६ हजार मिटरको उचाइबाट कुनै चिज झरेको हुनुपर्छ । करिब ९०० मिटरको उचाइबाट सानो वस्तु खसे पनि निकै जोडले झरेकाले प्रभाव पारेको हुनसक्छ ।

ती हिमतालबारे पहिले खासै चर्चा र बहस हुने गरेको थिएन । जोखिमको सूचीमा पनि थिएनन् । तर, किन एकाएक विस्फोट भएको होला ?

हामीले जोखिमयुक्त हिमताललाई ‘पोटेन्सियल्ली डेन्जरस ग्लासियर लेक’ भन्ने गरेका छौं । त्यस्ता तालहरूको सूचीमा अहिले विस्फोट भएका हिमताल थिएनन् । हामीले अध्ययन गर्दाताका देखिएको क्षेत्रफल र अरू विभिन्न कारणले गर्दा उनीहरू जोखिमयुक्त सूचीमा थिएनन् ।

यस्ता हिमतालहरूलाई गहिरोसँग अध्ययन गर्न पनि गाह्रो हुने रहेछ । नेपालमा ३ हजार ६०० भन्दा बढी हिमतालहरू छन् । सबैलाई विस्तृत रूपमा अध्ययन गरेर त्यसबारे जानकारी लिन पनि सम्भव छैन । यो घटनाले हामीलाई के सिकायो भने तालको क्षेत्रफलबाट मात्रै त्यसको जोखिम सम्बन्धी धारणा बनाउन नहुने रहेछ ।

यो मात्रै होइन, पहिले पनि साना तालहरू विस्फोट भएका छन् । हुम्ला, कर्णाली र खुम्बु क्षेत्रमा पनि पोखरी खालका जलाशयहरू विस्फोट भएका थिए । यस्ता पोखरीहरू हिमताल बन्ने सुरुआती चरणका हिउँ र पानीका कुण्डहरू हुन् । यिनीहरूले सुरुमा साना पोखरीको आकार लिन्छन् । हिउँ पग्लँदै गएपछि एकआपसमा जोडिएर साना खाल्डाहरू पनि पोखरी बन्छन् । पोखरी पनि गाभिएर हिमताल बन्न थाल्छन् ।

कुनै सानै अवस्थामा बगेर जान्छन् र तिनले प्रभाव पार्दैनन् । कुनैले सानो बाढीको रूप लिएर स्थानीय फड्के, घट्ट र सानातिना पुलहरूलाई प्रभाव पार्छन् । इम्जा वा च्छो–रोल्पा हिमताल पनि सुरुमा यस्तै स–साना हिमकुण्ड र पोखरीहरूबाट बनेका हुन् । यस्ता हिमताल जति ठूलो हुँदै जान्छन्, जोखिम उति नै बढ्दै जान्छ ।

अरूको तुलनामा हिमताल विस्फोट र त्यसबाट आउने बाढी किन घातक हुन्छ ?

हिमाली क्षेत्रमा कुनै ठाउँमा जमेर रहेको पानीको बाँध भत्किएर बग्ने प्रक्रिया नै हिमताल विस्फोट हो । पानीको फैलावट रहेको क्षेत्र, गहिराइ र हिमताल रहेको भौगोलिक अवस्थाले त्यसको असरको मात्रा निर्धारण गर्छ ।

हिमताल विस्फोटले कस्तो प्रभाव पारेको छ भन्ने बुझ्न त्यसको विविध पाटो केलाउनुपर्ने हुन्छ । अलिअलि गर्दै फुटेको छ भने त्यसले एकखालको असर पुर्‍याउँछ । ह्वात्त फुट्दा निकै कम समयमा ठूलो आयतनको पानी बगेर जान्छ र तल्लो भागमा बढी विनाश गर्छ ।

हिमाली क्षेत्रको धरातल एकदमै भिरालो हुन्छ, त्यसमा पानीको गति निकै तीव्र हुन्छ । समथर परेको भागमा सलल बग्ने पानीभन्दा खहरेहरूमा बग्ने पानीको विनाशकारी क्षमता बढी हुन्छ । अझ भिरालो क्षेत्रमा बग्ने पानीले ज्यादा क्षति गर्छ ।

च्छो–रोल्पाबारे बहस हुँदा कतिपयले ‘यो हौवा हो’ भनेर र कतिपयले ‘परियोजना ल्याउने बहाना हो’ भनेर बहसमा संलग्नहरूलाई गाली गरेका थिए । त्यसपछिका केही घटनाहरूले धेरै मानिसको चेत खोलिदिएको छ, यो विषय यथार्थ रहेछ भन्ने धेरैले बुझेका छन् ।

हिमताल विस्फोटले शुद्ध पानी मात्रै नभएर ठूला बोल्डर, बालुवा र गेग्य्रानहरू बगाएर ल्याएको हुन्छ । त्यस्तो पानीलाई ‘नन न्यूट्रनियन बडी’ भन्छौं, जसले क्षति गराउने क्षमता ज्यादा राख्छ । त्यस्तो बाढीले आफ्नो बाटोमा रहेका पुलपुलेसा, घरबस्ती लगायतका संरचनामा ज्यादा क्षति पुर्‍याउँछ ।

अहिले हिमताल विस्फोटमा ‘क्यास्केडिङ इम्प्याक्ट’ देखिएको छ । कुनै कारणले हिमताल विस्फोट भयो, तर त्यसले अरू खालको असर पारिरहेको हुन्छ, जुन हामीले भर्खरै मेलम्चीमा भोगेका छौं । हुनत मेलम्चीको घटना हिमताल विस्फोटसँग सम्बन्धित छैन । भिरालो पहाडी धरातलमा पहिरो जाने अनि पहिरोले छेकेको पानीले विस्फोटको रूप लिने अवस्था देखिएको छ । यस्तो बाढीले निम्त्याउने असर निकै गहिरो हुन्छ ।

नेपालका कैयौं जलविद्युत् आयोजना तटीय क्षेत्रमा छन् । तिनीहरू कत्तिको जोखिममा छन् ?

अस्तिको घटनाले थामे हाइड्रोपावरमा क्षति पुर्‍यायो, त्यहाँ अहिले बिजुली छैन । तल्लो तटीय क्षेत्रमा भौतिक संरचनाहरू हिजोको तुलनामा बढेका छन् । बाटो, जलविद्युत् परियोजना र बस्ती नै पनि विस्तार हुँदैछन् । संरचनाको फैलावटसँग जोखिम पनि बढ्दोे छ । हिमाली क्षेत्रको प्रकोप बाहेक अरू कारणले पनि जलविद्युत् क्षेत्रलाई बारम्बार क्षति पुगेको हामीले देखेका छौं ।

सन् २०१६ मा हिमताल विस्फोटपछि तिब्बतबाट आएको बाढीले भोटेकोशी क्षेत्रलाई तहसनहस पारिदिएको थियो । त्यतिबेला विस्फोट भएको हिमताल च्छो–रोल्पा र इम्जाको तुलनामा निकै सानो हो, तर तलसम्म आइपुग्दा वितण्डा मच्चायो । यसबाट पनि ठूला हिमताल विस्फोटबाट कस्तो असर हुनसक्छ, हामीले अनुमान गर्न सक्छौं ।

हामीले देशैभर जलविद्युत् आयोजना विस्तार गरेका छौं, ती संरचनाहरू जोखिमयुक्त छन् । यी उदाहरणहरूले जलविद्युत् परियोजनाहरू जलवायु परिवर्तनको असर थेग्न सक्ने (क्लाइमेट रिजिलेन्स) क्षमतामा छैनन् भन्ने देखाउँछ ।

अब हामीले यस मामिलामा ध्यान दिन अत्यन्त जरूरी छ । ठूला लगानी रहेका पूर्वाधारहरू प्रकोपका कारण नोक्सान हुनु दुर्भाग्यपूर्ण हो । तसर्थ हामीले क्षति न्यूनीकरण हुने गरी संरचना बनाउनुपर्छ । अहिले यी क्षेत्रका जलविद्युत् परियोजनालाई थप परिपक्व बनाउन मार्गनिर्देशन बनाउने प्रयास भइरहेको छ ।

हिमताल विस्फोटबाट सुरु हुने बाढीले कुन हदसम्म तल्लो तटीय क्षेत्रलाई असर गर्छ ?

सानो हिमताल विस्फोट भए त्यसको बाढी धेरै तलसम्म जाँदैन । धरातल भिरालो भए अलि तलसम्म पुग्छ । कुन आकारको ताल कसरी विस्फोट भएको हो भन्ने कुराले असर र त्यसले प्रभाव पार्ने क्षेत्रको आकलन गर्न सकिन्छ ।

विगतको अनुभव हेर्दा, कतिपय ठाउँमा ५०/६० किलोमिटर तलसम्म बाढीको असर पुगेको छ । तल जाँदा गेग्य्रानहरू पनि थिग्रिन थाल्छन् । तलतल जाँदै गर्दा नदी फराकिलो पनि हुने भएकाले बाढीको बहाव पनि स्वतः कम हुँदै जान्छ ।

दुई वर्षअघिको मेलम्चीको अनुभव अलि फरक हो । ठूलो वर्षाले जमेको पानी फुटेपछिको गेग्य्रानयुक्त बाढीले विनाशकारी रूप लिएको हो । त्यसको उद्गम थलो मेलम्चीको मुहानभन्दा निकै माथि थियो । त्यो घटना पनि पर्वतीय क्षेत्रको जोखिमको विषय हो ।

नेपालको मध्य र उच्च पहाडी क्षेत्रमा ठूला ताल र जलाशय छन्, तिनीहरू स्थिर छन् । तिनको तुलनामा अति साना लाग्ने हिमाली क्षेत्रका पोखरी र तालहरू के कारणले अस्थिर र जोखिमयुक्त भएका हुन् ? 

हिमाली क्षेत्रका ताल, पोखरी अनि पहाडी क्षेत्रका तालहरूको संरचनागत अवस्था फरक छ । फेवा, बेगनास, रारा लगायतका तालहरू भौगोलिक रूपमा स्थिर छन्, तिनीहरू फुटेर जाने खालका संरचना होइनन् । तिनीहरूका बाँध प्राकृतिक रूपमै बलिया छन् ।

हिमाली भेगमा पनि कैयौं कुण्ड र तालहरू छन् । गोसाईंकुण्ड, दूधकुण्ड, भैरवकुण्ड, पाँचपोखरीहरू पनि स्थिर खालका छन् । धेरै अगाडिदेखि बनेका ती पोखरीहरू वरपरको चट्टानी संरचनाका कारण स्थिर छन् । तिनीहरू फुटेर जाने अवस्था छैन, जोखिममा छैनन् ।

हामीले कुरा गरिरहेका धेरैजसो हिमतालहरूको अवस्था भने फरक छ । तिनीहरू ५० वर्षयता मात्रै बनेका हुन् । इम्जा, च्छो–रोल्पा लगायत तालहरू ५० वर्षअघि स–साना कुण्ड थिए, अहिले तालको रूप लिएका हुन् ।

यसरी विस्तार भएका ताल वरपरको संरचना अत्यन्त कमजोर छ । तिनलाई थेगिरहेका प्राकृतिक बाँधहरू कमजोर छन् । प्राकृतिक बाँधको भित्री र बीचको भागमा हिउँका ढिस्का हुन्छन् । तापमान वृद्धिपछि तिनीहरू स्वाभाविक रूपमा पग्लिन्छन् । हिउँ पग्लिएपछि प्राकृतिक बाँध खोक्रो हुन्छ, त्यसले पानी थेग्न सक्दैन र भत्किन्छ ।

माथिबाट ढुंगा खस्ने, हिउँपहिरो जाने गतिविधिले पानीमा दबाब बढ्छ । अनि तालहरू छचल्किने, फुट्ने घटना हुन्छन् । त्यसैले ती हिमताल वा पोखरीहरू कुनै पनि बेला विस्फोट हुन सक्छन् र अकल्पनीय क्षति पुग्न सक्छ ।

केही दशकअघि दोलखाको च्छो–रोल्पा हिमताल विस्फोटको हल्ला भयो । कतिपयले त्यसलाई अनावश्यक बहस भनेर टिप्पणी गरे । अहिले एकाएक अरू साना हिमताल विस्फोट भएका छन् । हाम्रो आकलन अलि यथार्थपरक देखिएन भन्न मिल्छ ?

म कलेज पढ्दाताका सुनकोशीमा ठूलो बाढी आएको थियो । त्यसले सुनकोशीको जलविद्युत् आयोजना, अरनिको राजमार्ग लगायत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । त्यतिबेला तिब्बतबाट बाढी आयो भनेर समाचार सुनियो, अरू थप कारण थाहा भएन ।

हामीले त्यतिबेला तिब्बतमा ठूलो पानी परेको होला, अनि बाढी आएर क्षति पुर्‍यायो भन्ने अनुमान गरेर बसेका थियौं । पछि म समेत संलग्न टोलीले त्यही विषयमा काम गर्ने अवसर पायो । त्यतिबेला हिमताल विस्फोटबाट बाढी आएको रहेछ भन्ने पछि मात्रै थाहा भयो ।

झाङ झाङ घो भन्ने ठाउँमा ‘सेरेन्मा चो’ (तिब्बतमा ताललाई चो भनिने हुनाले अधिकांश हिमाली तालको नाम पछाडि चो भन्ने शब्द आउँछ) विस्फोट भएको रहेछ । वैज्ञानिक अनुसन्धानबाट के पत्ता लाग्यो भने, त्यसभन्दा अघि १९६४-६५ ताका पनि त्यो ताल फुटिसकेको रहेछ । हिमतालहरू फुट्ने, फेरि ठूलो हुने, फेरि फुट्ने क्रम चलिरहन्छ । अहिले फेरि त्यो ताल बढ्दो छ भन्ने सूचना आएको छ ।

सन् १९८५ मा ‘ढिक चो’ भन्ने अर्को ताल विस्फोट भयो । अरूतिर खासै चर्चा नभए पनि यो घटना वैज्ञानिक नेटवर्कमाझ निकै चर्चा र बहसको विषय बनेको थियो । एकातिर त्यो खुम्बु क्षेत्रमा थियो, त्यहाँ विदेशी पर्यटकहरूको चहलपहल पनि हुने भएकाले अध्ययनको नयाँ पाटो सुरु भयो ।

त्यतिबेला नेपाली र चिनियाँ वैज्ञानिकहरूले तिब्बतसम्मै पुगेर हिमतालबारे अनुसन्धान गरेका थिए । कठिन भौगोलिक अवस्थाका कारणले त्यस्ता ताल भएको ठाउँमा जान र अध्ययन गर्न कठिन हुन्छ । ‘ढिक चो’को घटनापछि हिमताल विस्फोटबारे नयाँ बहसको सुरुआत भएको थियो, भलै त्यो बहस वैज्ञानिक समुदायमा सीमित भयो ।

च्छो–रोल्पा हिमतालको विस्तार र विस्फोटको बहस पनि त्यसपछिको सिलसिला हो ?

हो, त्यसपछि मात्रै च्छो–रोल्पा हिमतालको बढ्दो आकारबारे चिन्ता हुन थाल्यो । त्यसको छुट्टै पृष्ठभूमि पनि छ । त्यतिबेला विविध कारणले अरुण तेस्रो जलविद्युत् आयोजना बन्न नसक्ने निश्चित जस्तै भएको थियो ।

ऊर्जाको बढ्दो माग सम्बोधनका लागि खिम्ती जलविद्युत् आयोजना बनाउने कुरा अघि बढ्यो । खिम्तीको पावरहाउस रहने ठाउँ तामाकोशी किनारमा पर्छ । रोल्वालिङ खोला त्यसको माथिपट्टि पर्छ, जसको मुहान च्छो–रोल्पा हो ।

खिम्तीको प्रक्रिया बढाउने क्रममा च्छो–रोल्पा हिमतालले अनुसन्धानकर्ताहरूको ध्यानाकर्षण गरेको हो । त्यसपछि आकार बढ्दै गएको च्छो–रोल्पाका बारेमा केही न केही अध्ययन गर्नुपर्छ भन्ने महसुस भएको हो । अनि त्यहाँ पूर्वसूचना प्रणाली जडानदेखि साइफन राख्नेसम्मका काम भयो । पछि ताल छेउको भाग काटेर पानी झार्ने काम भएको थियो, जसमा म पनि संलग्न थिएँ ।

च्छो–रोल्पा हिमतालको छलफलले हिमाली क्षेत्रमा प्रकोपको जोखिमलाई अर्को तहमा पुर्‍याएको हो । च्छो–रोल्पाबारे बहस हुँदा कतिपयले ‘यो हौवा हो’ भनेर आलोचना गरेका थिए । कतिपयले ‘परियोजना ल्याउने बहाना हो’ भनेर बहसमा संलग्नहरूलाई गाली गरेका थिए । त्यसपछिका केही घटनाहरूले धेरै मानिसको चेत खोलिदिएको छ, यो विषय यथार्थ रहेछ भन्ने धेरैले बुझेका छन् ।

हिमतालको पानी घटाउन च्छो–रोल्पामा साइफन विधि प्रयोग भयो । अरू जोखिमपूर्ण हिमतालमा पनि यही प्रक्रिया अपनाएर पानी घटाउन सकिंदैन र ?

साइफन जोड्ने काम प्राविधिक रूपमा सम्भव छ । दुईवटा त हाम्रै अनुभव पनि भइसकेको छ । च्छो–रोल्पा र इम्जा दुवैमा किनारमा काटेर पानी बाहिर निकालिएको छ । परीक्षणका लागि साइफन पनि राखिएको हो ।

हामीले कुनै भाँडोलाई अग्लो ठाउँमा राखेको पाइपको माध्यमबाट मट्टीतेल लगायतका तरल पदार्थ तलपट्टि सानो भाँडोमा खन्याएको देखेका छौं नि, हो त्यस्तै विधिबाट तालको पानी पाइपले निकालेर तलपट्टि झार्ने र खसाल्ने गरिन्छ, जसलाई साइफन विधि भनिन्छ । तर हिमाल तालमा पानीको मात्रा घटाउन साइफन विधि मात्रै व्यावहारिक नहुने देखियो ।

जलवायु परिवर्तनका हिसाबले नेपाल जोखिममा रहेको मुलुक हो । यसबारे तथ्य सहित नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्छ । यो लामो समयको लडाइँ हो, आजको भोलि नतिजा नदेखिएला तर प्रयास जारी राख्नुपर्छ ।

पानी फाल्न र सतह घटाउनका लागि निकै धेरै संख्यामा साइफन राख्नुपर्छ । त्यसमा लगानीभन्दा पनि प्राविधिक कठिनाइ धेरै छ । सबै सामान र उपकरण बोकेर भौगोलिक कठिनाइयुक्त ठाउँमा पुर्‍याउनुपर्ने भयो । अर्कोतिर पानीको बलले नै तालको पानी आफैं तानेर तल फाल्ने विधि अपनाउनुपर्छ, त्यसक्रममा पम्पिङ गर्न नसक्दा कठिनाइ हुन्छ ।

केही कारणले पानी तान्ने प्रक्रिया बन्द भएमा मानिसहरू गएर फेरि चलाउनुपर्ने भयो । हिउँ जम्दा पनि पानी फाल्ने क्रम रोकिने भयो । अन्य कतिपय मुलुकमा भने साइफन विधि प्रभावकारी भएको छ, तर हाम्रोमा यसको राम्रो अनुभव रहेन ।

साइफन बाहेकका अरू विधि पनि त होलान् ?

हामीले ताल छेउको जमिन काटेर च्छो–रोल्पा हिमतालको पानी करिब तीन मिटर घटाएका हौं । त्यहाँ अझै घटाउनुपर्ने आवश्यकता छ । कतिपय ठाउँमा टनेलिङको काम भइरहेको छ । पानीको सतह घटाउन कुलो काट्नुभन्दा टनेलिङ गर्नु राम्रो विकल्प मानिन्छ । कतिपय मुलुकले त्यस्तो ठाउँमा जलविद्युत् पनि उत्पादन गरेका छन् ।

हामीसँग दुईवटा तालमा काम गरेको अनुभव पनि छ । केही प्रयासहरू नभएका होइनन् । तर मुलुकको स्रोत परिचालन गरेर अरू तालहरूमा पनि यसरी सतह घटाउने काम गर्नु निकै कठिन हो । त्यहाँ पुग्न धरातलीय रूपमै कठिनाइ छ । आर्थिक स्रोतको पनि समस्या हुनसक्छ ।

इसिमोडले सन् २०२० मा हिमताल बारेको अध्ययन सार्वजनिक गरेको थियो । थामेको घटनाले त त्यतिबेलाको भन्दा अवस्था निकै जोखिममा पुगेको संकेत गर्दैन र ?

पछिल्लो पटक हामीले अद्यावधिक गरेको सूची अनुसार, फुट्न सक्ने अवस्थामा रहेका ४७ वटा हिमताललाई जोखिमयुक्त भनेका छौं । नेपालबाट बग्ने नदीको जलाधार क्षेत्रमा रहेका हिमतालको अध्ययन गरेर त्यो सूची तयार पारिएको थियो । त्यतिबेला कोशी, गण्डकी र कर्णालीको उद्गममा रहेका जलाधारको अध्ययन भएको थियो ।

यस्ता हिमनदीमध्ये २१ वटा नेपालमा र २५ वटा तिब्बतमा पर्छन् । एउटा महाकाली नदीको जलाधार भारतमा पर्छ । अध्ययनको नतिजा सन् २०२० मा प्रकाशन भएको हो । त्यतिबेलाको विषयवस्तु अध्ययन गर्न केही समय लागेकाले अहिले हामीले कुरा गरिरहेको प्रतिवेदनको विवरण ६÷८ वर्ष पुरानो भइसकेको छ, यो अवधिमा धेरै परिवर्तन भएको हुनुपर्छ ।

यो अवधिमा जलवायु परिवर्तनको असर तीव्र छ, नियन्त्रण भएको छैन । तापक्रम झन्–झन् वृद्धि हुँदैछ । पछिल्ला वर्षहरूमा तापमानको रेकर्ड तोडिने क्रम जारी छ । पोहोर नाम्चेमै ऐतिहासिक तापक्रम रेकर्ड भएको विवरण आएको थियो । ती क्षेत्रका हिमतालहरू यो उष्णीकरणबाट निकै प्रभावित छन् ।

पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा हिमाली क्षेत्रमा हिउँ भन्दा पानी पर्ने क्रम बढेको छ । त्यहाँका परम्परागत घरका छाना जस्तापाताले विस्थापित हुन थालेका छन् । हिमालमा हिउँको मात्रा घटेको भनेर इसिमोडकै रिपोर्टमा छ । अहिले हिमताल फुट्नुमा जलवायु परिवर्तन कति जिम्मेवार छ ?

जलवायु परिवर्तनले कतिपय क्रियाकलापहरू छिटोछिटो हुन्छ । हिउँ पग्लिने, हिमनदी बहने, हिमताल फैलिने आदि असरले तीव्रता पाउँछ । तर पनि जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यसो भएको हो भनेर ठोकुवा गर्न हामीलाई गाह्रो छ । किनभने यसबारे पर्याप्त अध्ययन चाहिन्छ ।

जलवायु परिवर्तनको कारण हिमनदी र हिमतालको आकार बढेको पक्कै हो, यसबारे अरू कारण हुनै सक्दैन । जलवायु परिवर्तनको एउटा असर तापमान वृद्धि हो, त्यसबाट हिउँ पग्लिन्छ । तापमान वृद्धिमा प्राकृतिक कारणभन्दा मानव सिर्जित कारण नै बढी जिम्मेवार छ ।

हिमताल र हिमनदीको फैलावटलाई त जलवायु परिवर्तनको असर भन्न कुनै हिच्किचाहट छैन । हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको तथ्य वैज्ञानिक रूपमा पनि स्थापित भइरहेको छ । उच्च क्षेत्रमा तापक्रम वृद्धि दर (वृद्धि होइन, दर मात्रै) अरू क्षेत्रको भन्दा बढी छ । धेरै वर्ष पहिले मैले मेरो विद्यावारिधिको शोध अध्ययनमा पनि यो तथ्यांक देखाएको थिएँ ।

नेपालमा मात्रै होइन, विश्वका कैयौं देशको माथिल्लो क्षेत्रमा पनि तापक्रम बढ्दो छ । यसलाई उचाइ अनुसारको उष्णीकरण भनेर नाम दिइएको छ । यी घटनाबाट भविष्यमा तापक्रम वृद्धिदर अझ कस्तो होला भन्ने परिदृश्य देखिएको छ ।

यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने भनेर अन्तर्राष्ट्रियस्तरमा घोषणा गरी विभिन्न प्रयास भएका छन् । विश्वस्तरमा तापमान वृद्धिदरलाई १.५ डिग्रीमा सीमित गर्दा पनि हिन्दु–कुश हिमालय क्षेत्रमा तापक्रम वृद्धिदर १.८ डिग्री सेल्सियस पुग्ने रहेछ । केही स्थानमा त अझ बढ्ने देखियो ।

त्यसैले हामीले १.५ डिग्री तापक्रम वृद्धि पनि हिन्दु–कुश हिमालयका लागि निकै ‘हट’ हो भनेर टिप्पणी गर्ने गरेका छौं । अन्यत्र १.५ डिग्री सेल्सियस तापक्रम बढ्दा हामीकहाँ अझै बढी हुन्छ भनेको हो । हामी जलवायु परिवर्तनको दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्छौं ।

हिमताल र हिमनदी उच्च भूभागमा हुने भएकाले यिनलाई त प्रभावित पार्ने नै भयो । तसर्थ, हिमाली क्षेत्रमा हुने जलवायु परिवर्तनको कारणबारे त्यति धेरै गलफत्ती गर्नुपर्ला जस्तो लाग्दैन । यस्तो विषयमा टिप्पणी गर्नुअघि वैज्ञानिकहरूले पर्याप्त मात्रामा अध्ययन र अनुसन्धान गर्न नै रुचाउँछन् । थामेको घटनामा हामी निश्चिन्त भएर भन्न सक्छौं कि यो जलवायु परिवर्तनको असर हो ।

आगामी दिनमा हिमताल विस्फोट लगायत जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग कसरी जुध्ने होला ?

हिमताल विस्फोट रोक्न पानीको सतह घटाउने प्रयास एउटा होला । त्यसमा पनि आफ्नै चुनौती छन् । बरु नदी जलाधारलाई दृष्टिगत गरी त्यहाँ कस्तो संरचना, कहाँ बनाउने भन्नेबारे बहस चलाउनुपर्छ, सजग बनाउनुपर्छ । पूर्वसूचना प्रणालीलाई एकीकृत रूपमा प्रयोग गर्नुपर्छ ।

अब विकास परियोजना र प्रकोपबारे सोच्नुपर्ने बेला भइसकेको छ । एक पक्षले अर्कोमा पार्ने प्रभावका बारेमा सोच्न ढिलाइ गर्नुहुन्न । विकास परियोजना बनाउँदा प्रकोपले पार्ने प्रभाव हेर्नुपर्छ ।

पूर्वसूचना प्रणालीले धनको क्षति जोगाउन नसके पनि मानिसहरूको ज्यान जोगाउन निकै मद्दत गर्छ । संरचनाहरूलाई नोक्सान पुर्‍याउनबाट भने रोक्न सक्दैन । तसर्थ संरचनालाई जोखिम सहनसक्ने क्षमताको बनाउनुपर्छ । अझ बढी एकीकृत र विस्तृत छलफलबाट अघि बढ्नुपर्छ ।

जलवायु परिवर्तनले पार्ने असर देखिन थालिसकेको छ । अब सरकारले यसबारेमा सोच्न ढिलाइ गर्नुहुँदैन, तत्काल काम अघि बढाउनुपर्छ । आर्थिक, प्राविधिक स्रोत लगायत विषयमा गृहकार्य गर्न थाल्नुपर्छ ।

यस्ता घटनाहरूलाई हामी चेतावनी दिने पाठ (वेकअप कल) भनेर टिप्पणी गर्छौं । २०७२ सालको भुइँचालोलाई पनि त्यसै भनियो, तर पछि फेरि निदाइयो । अहिले पनि केही समय बहस गर्ने फेरि निष्क्रिय हुनु राम्रो होइन । जलवायु परिवर्तनको जोखिममाथि हामीले हिजोदेखि नै काम थाल्नुपर्ने थियो, सकेनौं । अब आज जसरी पनि काम अघि बढाउनुपर्र्छ, भोलिका लागि पर्खनुहुँदैन ।

अर्कोतिर प्रकोप भनेको यति धेरै सरोकारवालाहरू जोडिने क्षेत्र हो कि कुनै क्षेत्रलाई जिम्मेवारी दिनुभन्दा एकीकृत रूपमा काम गर्नु उचित हुन्छ । अहिले तत्कालका लागि स्थानीय रूपमा सजग हुनुपर्छ, पूर्वाधारहरूलाई बलियो बनाउनुपर्छ । अर्कोतर्फ विश्वमञ्चमा पनि नेपालले आफूले सामना गरिरहेको र भोगिरहेको समस्या स्पष्ट रूपमा राख्न सक्नुपर्छ ।

जलवायु परिवर्तनका हिसाबले नेपाल जोखिममा रहेको मुलुक हो । यसबारे तथ्य सहित नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्छ । यो लामो समयको लडाइँ हो, आजको भोलि नतिजा नदेखिएला । तर प्रयास जारी राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?