News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले घरेलु ट्रिबेल जित्दै ३६ वर्षपछि डोमेस्टिक ट्रिबेल प्राप्त गर्यो।
- फ्लिकले युवा खेलाडीहरूमा विश्वास र अनुशासन ल्याएर टोलीको सफलता सुनिश्चित गरे।
- बार्सिलोनाको वर्तमान शैली जोखिमपूर्ण भए पनि सफलताको आधार बनेको छ।
४ जेठ, काठमाडौं । ‘बच्चा (अनुभवहीन) लाई साथमा लिएर तपाईं कुनै प्रतियोगिताको उपाधि चुम्न सक्नु हुन्न’, इंग्लिस प्रिमियर लिगको सन् १९९५–९६ को सिजन सुरु हुने बेला लिभरपुलका पूर्वडिफेन्डर एलन हानसेनले भनेका थिए ।
तर, हानसेनको कथनलाई त्यही सिजनमा म्यानचेन्सटर युनाइटेडले गलत सावित गरिदियो । एलेक्स फेर्गसनको युवा टिमले प्रिमियर लिग र एफए कपको उपाधि चुम्यो । विश्व फुटबलकै उत्कृष्ट टिममध्ये एक रहेको आफूलाई स्थापित गरायो ।
३६ वर्षपछि हानसेनको यो कथनलाई फेरि स्पेनिस क्बल बार्सिलोनाले गलत सावित गरिदिएको छ । युवा जोसले भरिएको हान्सी फ्लिकको टिमले घरेलु ट्रिबेल उपाधि चुमेर हानसेनको भनाइमा सत्यता नरहेको जवाफ दिएको छ ।
गत बिहीबार राति सम्पन्न खेलमा इस्पानियोललाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले दुई खेल अगावै ला–लिगाको उपाधि जित्यो । यसअघि बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपरकपको उपाधि यसै सिजन जितिसकेको थियो । ला–लिगा पनि जितेपछि डोमेस्टिक ट्रिबेल उपाधि बार्सिलोनाको युवा टिमले जित्यो । ३६ वर्षपछि बार्सिलोनाले डोमेस्टिक ट्रिबेल उपाधि चुमेको हो ।
फ्लिक आउनुअघि बार्सिलोना खराब स्थितिबाट गुज्रेको थियो । सिजन सन् २०२३/२४ त ट्रफीहीन नै बनेको थियो । कोपा डेल रेमा क्वाटरफाइनलबाटै बार्सिलोना बाहिरिएको थियो । स्पेनिस सुपरकपमा फाइनलमा रियल मड्रिडसँग हारेको थियो । ला–लिगा पनि रनर–अप हुँदै सिजन टुंंग्याएको थियो । च्याम्पियन्स लिगमा समूह चरण पार गर्न नसकेपछि युरोपा लिग समेत बार्सिलोनाले खेलेको थियो ।
यही कठिन अवस्थामा रहेको बार्सिलोनामा जब फ्लिकको आगमन भयो, त्यसपछि चमत्कार नै भयो । अनि अहिले फ्लिकको युवा टिमका सदस्यहरू लामिन यामल (१७), पउ कुबार्सी, (१८), पेड्री (२२), अलेजेन्द्रो बाल्डे (२१), मार्क कासाडो (२१), फिर्मिन लोपेज (२२), गाभी (२०) हरूले लोभलाग्दो प्रदर्शन गरे ।
युवा खेलाडीहरूको प्रदर्शनपछि केहीले त पेप ग्वार्डिवाला युग (२००८–११) को बार्सिलोना जस्तो भनेर समेत विश्लेषण गरेका छन् । भलै, अहिलेको बार्सिलोनाले त्यो तहको सफलता पाउँछ वा पाउँदैन त्यो भने हेर्न बाँकी नै छ ।
बार्सिलोनाको अहिलेको टिम औसत २५ वर्ष उमेर समूहका छन् । बार्सिलोनाको आर्थिक समस्याका कारण नयाँ खेलाडी सम्झौता गर्न नसकेको अवस्थामा आफ्नै एकेडेमी ला मासियाका खेलाडी लिएर खेल्नुपर्ने बाध्यता थियो । तर त्यो कमजोरी नभएर शक्ति बन्न पुग्यो ।
फ्लिकको जादु
जब बायर्न म्युनिख र जर्मनीका पूर्व प्रशिक्षक फ्लिक बार्सिलोना आइपुगे, उनले पत्ता लगाए कि धेरै खेलाडी अपेक्षा भन्दा निकै कमजोर प्रदर्शन गरिरहेका छन् । रोबर्ट लेवान्डोस्की, राफिन्हा र फ्रेन्की डी जोङ जस्ता अनुभवि स्टारमा आत्मविश्वासको अभाव छ ।
अघिल्ला प्रशिक्षक जाभीबाट पनि उनीहरूले पूर्ण विश्वास नपाएको महसुस गरेको विषय फ्लिकले पत्ता लगाइसकेका थिए । जाभीको समयमा राफिन्हा सामान्यतः ६० मिनेट भन्दा बढी समय मैदानमा रहँदैन्थे । लेवान्डोस्की पनि टिमसँग जमेर फिट देखिँदैनन्थे । स्ट्राइकरको रुपमा अघि बढेर खेल्ने उनी तलसम्मै झर्थे ।
उनीहरू तीनै जनाले आफूहरू कम्र्फट फिल नभएको महसुस गरेका थिए । डी–जोङ त बार्सिलोनाले आफ्नो आर्थिक संकट टार्न आफूलाई बेच्नेमा ढुक्क जस्तै देखिन्थे । हुन पनि जाभीको समयमा बार्सिलोनाले डी–जोङलाई बेच्ने तरखर थियो ।
यी तीन वटै खेलाडीलाई विश्वासमा लिएर टिम स्पिरिट अनुसार खेलाउने विश्वास दिलाउनु फ्लिकको पहिलो काम थियो । त्यसमा फ्लिक पूर्ण सफल रहे । अहिले ला–लिगामा दोस्रो धेरै गोल गर्ने खेलाडी लेवान्डोस्की नै छन् ।
उनको गोल संख्या २५ छ । राफिन्हाले पनि १८ गोल गरिसकेका छन् । हरेक महत्वपूर्ण खेलमा डी–जोङको आवश्यकता पनि अहिले त्यति नै खाँचो छ । उनी पहिलो रोजाइमा खेलिरहेका छन् ।
आत्मविश्वास गुमाएका खेलाडीलाई फ्लिकले विश्वासमा लिए, सँगै युवा खेलाडीमा भरोसा राखे । जाभीको समयमा युवाहरूलाई आर्थिक कारण डेब्यू गरिएको थियो ।
तर फ्लिक भने आर्थिक कारण डेब्यू मात्रै होइन, उनीहरूको आवश्यकता टिमलाई छ भन्ने विश्वास गरेर मुख्य रोजाइमा राखे । उनीहरूको प्रदर्शन पनि अब्बल रह्यो र सफल पनि भयो । फ्लिकले युवा खेलाडीको मनोबल बढाउन यतिसम्म गरे कि ड्रेसिङ रुपमा उनीहरूकै इच्छाअनुसारको संगीत बज्थ्यो । यसको नतिजा हरेकजसो खेलमा देखिन्थ्यो ।
फ्लिक आफैं पनि युवा खेलाडीहरूसँग नजिक रहन्थे, सँगै खेल्थे र विश्वास जित्थे । उनको यो सुत्र बार्सिलोनामा सफल देखियो । अर्कोतर्फ मैदानमा नियमित स्थान नपाउने खेलाडीहरूसँग पनि उनी नजिक रहन्थे र भन्थे, एक पटक समय आउँछ ।
फ्लिक आएपछि उनले बार्सिलोनासँग धेरै कुनै डिमान्ड पनि गरेनन् । जम्मा दुई खेलाडी भित्र्याए– डानी ओल्मो र पउ भिक्टर ।
६० वर्षीय जमर्न प्रशिक्षक फ्लिक फिटनेसबारे आफूभन्दा पनि बढी खेलाडीहरूमा विश्वास गर्छन् । त्यसैले उनले आफ्ना मुख्य खेलाडी राफिन्हा र यामललाई विश्राम दिनेबारे योजना उनीहरूकै सल्लाहमा बनाए ।
कहिले काहिँ टिमले खराब प्रर्दशन गर्दा पनि उनी हतोत्साही बनेनन् । क्रिसमस ब्रेकअघि बार्सिलोनाले ४ खेल गुमायो । तर यसलाई उनले शिक्षाको रुपमा लिँदै त्यसपछिका खेल सुधारे । र, अहिले ला–लिगा ट्रफीसम्म दिलाए ।
लामिने यामल फ्याक्टर
यो सिजनको यात्राबाट फ्लिकले धेरै कुरा सिकेका छन् । च्याम्पिन्स लिगमा बेनफिकाविरुद्धको खेलमा जब फ्लिकले सुरुवाती ११ मा फ्रेन्की डी–जोङ र डानी ओल्मोलाई खेलाए, उक्त खेल बार्सिलोनाले ५–४ गोल अन्तरको प्रभावशाली जित निकाल्यो । लिस्बनमा भएको त्यो खेलमा टिमका लागि राफिन्हाको महत्व कति छ भन्ने पनि फ्लिकले राम्रोसँग बुझेका थिए ।
आक्रामक पंक्ति बार्सिलोनाको बलियो त थियो नै । तर डिफेन्स लाइन कमजोर बन्दा गोल पनि त्यति नै मात्रामा खाएको थियो । जसकारण उनी डिफेन्स लाइनमा पनि भरपर्दा खेलाडीको खोजीमा थिए । अन्ततः फ्लिकको योजनामा इनिगो मार्टिनेजले त्यसको पुर्ताल गरे ।
डिफेन्स लाइनमा पनि अग्रपंक्तिमा रहँदै ३३ वर्षीय स्पेनिस डिफेन्डर मार्टिनेजले विपक्षीलाई अफसाइड ट्रयापमा पार्ने चलाखिपूर्ण तरिकाले खेले । जुन कुरा एक हदसम्म सफल पनि देखियो ।
यो टिम स्पिरिडमा फ्लिकले अर्को महत्त्वपूर्ण रुपमा बुझेका खेलाडी हुन्– यामल । फ्लिकका अनुसार यामल हरेक खेलमा खेल्न चाहन्छन्, त्यो पनि सुरुवाती ११ मै । यामल सबैजसो बल आफ्नै साइडतर्फबाट अघि बढोस् भन्ने चाहन्छन् । उनैले सोचेजस्तो अधिकांश बल यामलकै साइडबाट अघि बढ्ने गरेको छ ।
हरेक महत्त्वपूर्ण खेलमा यामलको प्रदर्शन पनि निकै लोभलाग्दो छ । यस सिजनका चार एल क्लासिको होस् वा अन्य महत्वपूर्ण खेलमा उनले अब्बल प्रदर्शन गरे । आक्रमण लाइनमा मात्रै होइन, डिफेन्स लाइनसम्म झरेर बल रिकभर गर्ने काममा पनि उनी उत्तिकै माहिर छन् । जसकारण बार्सिलोनाको सफलताको एक स्वभाविक हकदार यी १७ वर्षीय किशोर यामल हुन् ।
कुनै पनि टिमका प्रशिक्षक त्यो टिमका सेनापति हुन् भने खेलाडी उनका सिपाही हुन् । अपवाद बाहेक हरेक ‘युद्ध’ मोर्चामा फ्लिकले सेनापतिको काम गरे भने खेलाडीहरूले सिपाहीको । यसको प्रतिफल अहिले बार्सिलोनाले डोमेस्टिक लिगका उपाधीमा एकल वर्चश्व राख्यो ।
समय र अनुशासन
फ्लिक सफलताको सुत्रमा समय र अनुशासनलाई छुटाउन मिल्दैन । यी दुई कुरामा उनी निकै कठोर छन् । नियमित टिममा खेल्दै आएका कुन्डे र गोलरक्षक यानकी पेनालाई उनले स्पेनिस सुपकरकपको सेमिफाइनमा एथ्लेटिक क्लबसँगको खेलमा बेन्चमा राखेका थिए । यसका पछाडि समय र अनुशासन नै जोडिएको थियो । समयमै ट्रेनिङ र टिम मिटिङमा नआएको र अनुशासन उल्लंघन गरेको भन्दै उनले यी दुईलाई बेन्चमै राखेका थिए ।
फ्लिकको अर्को पक्ष भनेको उनी टिममा एक रुपता ल्याउन पोशाकमा समेत ध्यान दिन्छन् । टिममा रहेको बेला बाहिर जानु परेमा खेलाडीहरूको इच्छाअनुसारको पोशाक भन्दा पनि उनले क्लबको आधिकारिक पोशाकमा मात्रै जानुपर्ने नियम बनाएका थिए । यसलाई क्लबप्रतिको डेडिकेशन र अनुशासनलाई राम्रो बनाउने उनको विश्वास थियो ।
यति हुँदा हुँदै पनि अझै टिम पूर्ण रुपमा बलियो भइनसकेको उनी विश्वस्त छन् र अझै धेरै काम गर्न बाँकी रहेको उनी स्वीकार्छन् । फ्लिकको यो कुरा तथ्यांकले पनि देखाएको छ । बार्सिलोनाले १४ वटा च्याम्पिन्स लिगको खेल खेल्दा २४ गोल खाएको छ । यो बार्सिलोना जस्तो टिमका लागि भने खराब रेकर्ड हो । यही कारण बार्सिलोना फाइनल पुग्नबाट वञ्चित भयो ।
आफ्नो खेलाउने शैली नै जोखिमपूर्ण रहेको र धेरै गोल खानुपरेको पनि फ्लिक स्वीकार्छन् । सँगसँगै बार्सिलोनाको यो शैलीले त्यति नै रुपमा कमब्याक जितको नतिजा पनि निकालेको छ । अबको लक्ष्य भनेको आक्रामक शैलीसँगै थप बल नियन्त्रणमा ध्यान दिने फ्लिकको योजना रहेको छ ।
नोट : एफसी बार्सिलोना, बीबीसी, गोल डटकम, मार्का लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको ।
प्रतिक्रिया 4