+
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप :

यस्ता छन् ऐतिहासिक महिला विश्‍वकप खेल्ने १५ नेपाली खेलाडीहरू

२०८१ माघ  १ गते २२:४६ २०८१ माघ १ गते २२:४६
यस्ता छन् ऐतिहासिक महिला विश्‍वकप खेल्ने १५ नेपाली खेलाडीहरू

२९ पुस, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोली ऐतिहासिक विश्वकपमा सहभागी हुनका लागि मलेसिया पुगिसकेको छ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने यू-१९ महिला टी-२० विश्वकपमा १६ टिमको सहभागिता छ ।

चार समूहमा गरी १६ टिम सहभागी हुने विश्‍वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

विश्‍वकप खेल्नका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसिया गएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन छन् भने प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।

महिला क्रिकेट इतिहासमै पहिलोपटक विश्वकप खेल्न लागेको नेपालको टोलीमा भएका १५ खेलाडीहरू कस्ता छन् त ? आज १५ खेलाडीहरूका बारेमा छोटकरीमा कुरा गर्नेछौं ।

पुजा महतो
पुजा महतो यू-१९ महिला टिमको कप्तान हुन् । पुजाले अलराउण्डरको भूमिकामा खेल्ने गर्छिन् । उनी दाँयाहाते ब्याटिङ र मिडियम बलिङ गर्छिन् ।

उनकै कप्तानीमा नेपाल ऐतिहासिक विश्‍वकपमा छनोट भएको थियो । उनको कप्तानीमा नेपालले यू-१९ महिला एसिया कप पनि खेल्दै पाकिस्तानलाई हराएको थियो ।

पुजा सफल कप्तान मात्र नभएर ब्याटिङ र बलिङमा पनि उत्तिकै अब्बल छिन् । उनी सिनियर टिममा पहिले मौका पाएर यू-१९ मा परेकी खेलाडी हुन् ।

सानैदेखि क्रिकेटमा रूचि राख्ने पुजा भारतीय खेलाडी रोहित शर्माबाट प्रभावित थिइन् । उनी भारतमा हुर्किएका कारण क्रिकेटको माहोलमा भिज्ने मौका पाएकी थिइन् र क्यानको नजरमा परिसकेपछि उनी पछाडि फर्केर हेर्नुपरेको छैन ।

विश्‍वकपमा बंगलादेशलाई हराएर एसिया कपको बदला लिने बताउँदै उनले भनेकी छन्, ‘भिक्टोरी इज स्वीट बट रिभेन्ज इज द स्वीटेस्ट।’

सोनी पाख्रिन
सोनी पाख्रिन नेपाली यू-१९ महिला क्रिकेट टिमकी उपकप्तान हुन् । सोनीले नेपालका लागि २ टी२०आई पनि खेलेकी छन् । उनी दाँयाहाते ब्याटर हुन् ।

सर्लाहीमा जन्मिएर १० वर्षको हुँदादेखि क्रिकेट खेल्न सुरू गरेकी सोनीले काठमाडौं आएर ओएसिस क्रिकेट एकेडेमीबाट खेल्न थालेकी थिइन् । उनले बागमती प्रदेशको टिमबाट प्रधानमन्त्री कप महिला क्रिकेट खेलिसकेकी छन् ।

उनी विराट कोहली र अस्ट्रेलियाकी एलिस पेरीबाट प्रभावित भएको बताउँछिन् । विश्वकपमा छनोट हुनु भनेको एउटा सपना पूरा भएको बताउँदै उनी त्यसमा नेपालको जितको लागि आफ्नो बेस्ट प्रदर्शन दिन प्रयास गर्ने बताएकी छन् ।

सना प्रवीण
सना प्रवीण नेपाली यू-१९ क्रिकेट टिमकी ओपनिङ ब्याटर हुन् । १७ वर्षीय दाँयाहाते ब्याटर सनाले यसअघि सन् २०२२ मा भएको यू-१९ विश्वकपको छनोटदेखि नेपालको यू-१९ टिममा खेलेकी छन् ।

वीरगञ्जमा जन्मिएकी सनाले दाईले क्रिकेट खेलेको देखेर त्यसबाट सिको गर्दै क्रिकेट खेल्न थालेकी थिइन् ।
सनाले त्यसयता यसपटकको छनोट र यू-१९ एसिया कप हुँदै विश्वकपसम्मको यात्रा तय गरेकी छन् ।

उनले मधेश प्रदेशको टोलीबाट पिएम कप क्रिकेट र नवौं राष्ट्रिय खेलकुद खेलेकी छन् । उनी विराट कोहलीबाट प्रभावित भएको बताउँछिन् ।

अघिल्लोपटक विश्वकपमा छनोट हुन नसक्दा दु:ख लागेको तर यसपटकको विश्वकपमा छनोट भएर उक्त दु:खलाई सुखमा परिणत गर्न सफल भएको बताउँदै उनले विश्वकपमा एकदम राम्रो प्रदर्शन गर्न तयार रहेको बताएकी छन् । नेपालको जितको लागि महत्वपूर्ण पारी खेल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् ।

साबित्री धामी
साबित्री नेपाली यू-१९ क्रिकेट टिमकी ब्याटर हुन् । १६ वर्षीय साबित्रीले सना प्रवीणसँग मिलेर ओपनिङ ब्याटिङ पनि गर्ने गर्छिन् भने विकेटकिपिङ पनि गर्छिन् ।

उनी यू-१९ टी२० विश्वकप छनोटदेखि नेपाली टिमको सदस्य हुन् । महेन्द्रनगरमा जन्मिएकी उनले ११ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् ।

सानोमा साथीहरूले क्रिकेट खेलेको देखेर क्रिकेट सुरू गरेकी साबित्रीले आफू पढ्ने स्कुलमा क्रिकेट एकेडेमी खुलेको केही समयमा त्यहीँ जोडिएर उनको यात्रा सुरू भएको थियो । उनले सुदूरपश्चिम प्रदेशबाट पिएम कप खेलेकी छन् ।

भारतीय क्रिकेटर शुभमन गिलबाट प्रभावित भएको बताउने साबित्री ऐतिहासिक विश्वकप खेल्ने टोलीमा हुन पाउँदा निकै उत्साहित छिन् । उनले विश्वकपमा ठुलो टिमसँग राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

किरण कुमारी कुँवर
किरण नेपाली राष्ट्रिय क्रिकेट टिमकी ब्याटर हुन् । १८ वर्षीय किरणले बाँयाहाते ब्याटिङ गर्छिन् ।

उनले पनि सना प्रवीणजस्तै अघिल्लोपटकको विश्वकप छनोट पनि खेलेकी थिइन् जहाँबाट नेपाल अगाडि बढ्न सकेको थिएन । उनी त्यसबेलादेखि हालसम्म यू-१९ टिममा निरन्तर रूपमा छिन् ।

१३ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी उनी घरेलु क्रिकेटमा उनी कर्णाली प्रदेश महिला क्रिकेट टिमको कप्तान समेत हुन् । उनले पिएम कप तथा राष्ट्रिय खेलकुदमा खेलेकी छन्।

अघिल्लोपटक छनोट हुन नसकेपनि यसपटक पाएको अवसरमा अब धेरैभन्दा धेरै खेलहरू जितेर आउने किरणले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

किरणको मनपर्ने क्रिकेटर भारतका बाँयाहाते यशश्वी जैसवाल र स्मृति मन्धना हुन् भने नेपालबाट रोहित पौडेल र सन्दीप लामिछाने धेरै मनपर्ने बताइन् ।

अनु कडायत
अनु नेपाली यू-१९ क्रिकेट टिमकी बलर हुन् । १७ वर्षीया अनुले तल्लोक्रममा केही रन पनि प्रहार गर्न सक्छिन् ।

उनले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । सानैदेखि अरूले खेलेको देखेर क्रिकेट खेल्न सुरू गरेकी उनी अघिल्लोपटक विश्वकपको छनोटदेखि नेपालको यू-१९ टोलीमा छन् ।

यद्यपी यसपटकको छनोटमा भने उनी खेलेकी थिइनन् । त्यसपछि भएको यू-१९ एसिया कपमा भने उनी खेलेकी थिइन् । त्यसपछि विश्वकपको टिममा पनि समावेश भइन् ।

विश्वकपमा खेल्न पाउँदा निकै खुसी लागेको बताउँदै उनले विश्वकपमा अघिल्लो चरणमा प्रवेश गरेर इतिहास बनाउन आतुर रहेको बताएकी छन् ।

कुसुम गोदार
कुसुम नेपाली क्रिकेट टोलीकी बलर हुन् । १७ वर्षीय कुसुम मिडियम पेस बलिङ गर्छिन् । स्याङ्जामा जन्मिएकी उनले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न सुरू गरेकी थिइन् ।

उनी यू-१९ टी२० विश्वकप छनोटको बेलादेखि नेपालको टोलीमा छिन् । उनले यू-१९ एसिया कप पनि खेलिन् । बंगलादेशसँगको खेलमा एक विकेट लिएकी थिइन् ।

सुरूमा स्कुलको क्रिकेटमा सहभागी भएपछि क्रिकेटमा भिज्न थालेकी उनले घरेलु क्रिकेटमा गण्डकी प्रदेशको यू-१९ तथा सिनियर टोलीबाट खेल्ने गरेकी छन् ।

विश्वकप एउटा सपना रहेको र त्यो पूरा गर्न पाउँदा र ठुलो स्टेजमा खेल्न पाउँदा निकै खुसी लागेको बताउँदै विश्वकपमा राम्रो प्रदर्शन गर्न आतुर रहेको उनको भनाइ थियो ।

सिमाना केसी
सिमाना नेपाली क्रिकेट टोलीकी बलिङ अलराउण्डर हुन् । १८ वर्षीय सिमानाले दाँयाहाते ब्याटिङ र मिडियम पेस बलिङ गर्ने गर्छिन् ।

स्कुलको प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी उनले त्यसपछि गण्डकी प्रदेशको टिमबाट घरेलु क्रिकेट खेलेकी छन् ।

विश्वकपमा नेपालको लागि अहिलेसम्मकै बेस्ट प्रदर्शन गर्ने उनको विश्वास छ । उनी भारतीय क्रिकेटर स्मृति मन्धनाकी फ्यान हुन् ।

नेपालबाट इन्दु बर्मा, सिता रानामगर र रुबिना क्षेत्रीको खेल मनपर्ने उनको भनाइ छ ।

कृष्मा गुरुङ
कृष्मा नेपाली क्रिकेट टोलीकी बलर हुन् । १७ वर्षीय कृष्माले दाँयाहाते मिडियम पेस बलिङ गर्ने गर्छिन् ।

विद्यालय स्तरदेखि क्रिकेट खेल्न थालेकी उनले बागमती क्रिकेट एकेडेमीबाट क्रिकेट यात्राको सुरू गरिन् । त्यसपछि उनी बागमती प्रदेशको टिमबाट घरेलु क्रिकेट खेलेकी छन् ।

उनी नेपालको यू-१९ टोलीमा विश्वकप छनोटको बेलादेखि छिन् । उनले छनोटअन्तर्गत यूएईसँगको महत्वपूर्ण खेलमा चार विकेट लिँदै नेपालको जितको आधार बनाएकी थिइन् ।

विश्वकपमा पनि राम्रो बलिङ प्रदर्शन गरेर विपक्षीलाई चूनौति दिने उनको विश्वास छ ।

अलिशा कुमारी यादव
अलिशा नेपाली यू-१९ टिमकी विकेटकिपर ब्याटर हुन् । १८ वर्षीया अलिशाले दाँयाहाते ब्याटिङ गर्ने गर्छिन् ।

बारामा जन्मिएकी अलिशाले स्कुल पढ्दाखेरि जिल्लाको छनोटबाट खेल्दै जाँदा क्रिकेट खेल्ने इच्छा बढ्दै गएको र त्यसपछि क्रिकेट यात्रा सुरू गरेकी थिइन् ।

सुरूमा मधेश प्रदेशको यू-१९ टिमबाट खेल्ने गरेकी उनले त्यसपछि मधेश प्रदेशको महिला टोलीबाट पीएम कपमा पनि खेलिसकेकी छन् ।

उनी यसअघिको छनोट चरणका बेलादेखि नेपालको टिममा छिन् । यसपटकको छनोटदेखि एसिया कप र विश्वकपसम्मै उनी लगातार रूपमा टिममा समावेश छिन् ।

विकेटकिपिङको भूमिकामा रहने उनी भारतका लिजेण्डरी क्रिकेटर महेन्द्रसिंह धोनीबाट प्रभावित भएको बताउँछिन् । त्यस्तै स्मृति मन्धनाको खेल राम्रो लाग्ने बताइन् ।

रिया शर्मा
रिया नेपाली यू-१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दाँयाहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् ।

झापामा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो ।

उनले पीएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि यू-१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको यू-१९ टिममा रहेकी रियाले यू-१९ एसिया कप पनि खेलिन् ।

पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।

उनी सन्दीप लामिछानेको लेगस्पीन बलिङबाट प्रभावित भएको बताउँछिन् ।

रचना कुमारी चौधरी
रचना नेपाली यू-१९ टिमकी बलर हुन् । १७ वर्षीया रचनाले बाँयाहाते स्पीन बलिङ गर्छिन् ।

सुदूरपश्चिममा जन्मिएर परिवारसँग पोखरा बसाइसराइ गरेपछि उनले स्कुलमा हुँदादेखि क्रिकेटमा रूचि राख्दै क्रिकेट खेल्न थालेकी थिइन् ।

त्यसपछि जिल्ला छनोट हुँदै उनले गण्डकी प्रदेशको टोलीसम्मै अवसर प्राप्त गरिन् । उनले गण्डकी प्रदेशको टोलीबाट पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेकी छन् ।

उनी यसपटकको विश्वकप छनोटदेखि नेपालको टोलीमा समावेश छिन् । छनोटमा उनले एकै खेलमा चार विकेटसहित सर्वाधिक ११ विकेट लिएकी थिइन् । उनले त्यसपछिको एसिया कप पनि खेलिन् ।

विश्वकपमा राम्रो बलिङ प्रदर्शन गर्ने बताउँदै उनले एकै खेलमा पाँच विकेट लिन सक्ने अठोट व्यक्त गरेकी छन् ।

ज्योत्सनिका मरासिनी
ज्योत्सनिका नेपाली यू-१९ टिमकी ब्याटर हुन् । १७ वर्षीया दाँयाहाते ब्याटर ज्योत्सनिका नेपालको मिडल अर्डरमा खेल्ने गर्छिन् ।

स्याङ्जामा जन्मिएकी उनी सानोमा फुटबल खेल्ने गरेकी इन्जुरीपछि क्रिकेटतर्फ लागेकी थिइन् । १३ वर्षको हुँदादेखि क्रिकेट खेल्न सुरू गरेकी उनले स्कुल लेभल खेल्दै गर्दा उत्कृष्ट खेलाडी भएकी थिइन् ।

त्यसपछि अन्तर जिल्ला खेलहरू खेल्दै गर्दा उनी गण्डकी प्रदेशका लागि छानिएकी थिइन् । गण्डकी प्रदेशबाट पछिल्लोपटक पीएम कप खेलेकी उनी इमर्जिङ प्लेयर पनि घोषित भएकी थिइन् ।

उनी नेपालको यू-१९ टिममा विश्वकप छनोटदेखि नै छिन् । विश्वकप खेल्न पाउनु नै ठुलो कुरा भएको बताउँदै उनी समूह चरणमा राम्रो प्रदर्शन गरेर सुपर सिक्समा पुग्ने सपना रहेको बताएकी छन् ।

उनलाई दिपेन्द्रसिंह ऐरी र विराट कोहलीको खेल धेरै मनपर्ने बताइन् ।

तृष्णा विक
तृष्णा नेपाली यू-१९ टिमकी अलराउण्डर हुन् । उनले दाँयाहाते ब्याटिङ गर्दै मिडल अर्डरमा खेल्ने गर्छिन् भने पार्ट टाइम मिडियम बलिङ पनि गर्छिन् ।

भैरहवामा जन्मिएकी तृष्णाले ६ वर्ष अघि क्रिकेट सुरू गरेकी थिइन् । सँगै पढ्ने साथीले एकेडेमी जोइन गरेको देखेर आफू पनि रमाइलोको लागि सुरू गरेको बताउने उनी नेपालकै टिमबाट विश्वकपसम्म आइपुगेकी छन् ।

उनले कर्णाली प्रदेशको टोलीबाट पीएम कप खेलेकी छन् भने मैयादेवी कप, सुशील कोइराला कप लगायतका प्रतियोगिता खेलेकी छन् ।

विश्वकपमा छनोट हुँदा धेरै गर्वको महसुस भएको बताउँदै उनी विश्वकपमा सहभागी हुन पाउँदा उत्साहित रहेको र सुपर सिक्समा पुग्नेमा विश्वस्त रहेको बताएकी छन् ।

उनी इंग्ल्याण्डका जो रूट र भारतकी स्मृति मन्धनाको खेलबाट प्रभावित भएको बताउँछिन् ।

स्नेहा महरा
स्नेहा नेपाली यू-१९ टिमकी बलर हुन् । १७ वर्षीया स्नेहाले दाँयाहाते लेग ब्रेक बलिङ गर्छिन् ।

कैलालीमा जन्मिएकी स्नेहाले ११ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । बुबा प्रहरीमा भएकाले छोरी पनि फिटनेस क्षेत्रमा लागेहुन्थ्यो भन्ने चाहना अनुरुप उनी क्रिकेटमा लागेकी थिइन् ।

उनी यसअघिको विश्वकप छनोटमा पनि नेपाली यू-१९ टिमकी सदस्य थिइन् । त्यसबेलादेखि उनी अहिलेको यू-१९ विश्वकप छनोट र एसिया कपदेखि विश्वकपको टिममा समावेश भइन् । उनले घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेशको टिमबाट खेल्ने गरेकी छन् ।

अघिल्लोपटक छनोट हुन नसक्दा दु:ख लागेको भएपनि यसपटक छनोट हुन पाउँदा निकै खुसी र उत्साहित रहेको उनको भनाइ छ ।

उनी भारतीय क्रिकेटर विराट कोहलीलको मेहेनत, कन्फिडेन्स र खेलबाट प्रभावित भएको बताउँछिन् ।

आईसीसी यू-१९ महिला टी२० विश्वकप नेपाली महिला टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय