+

हैदराबादसँगको हारले लखनउ प्लेअफ होडबाट बाहिरियो

२०८२ जेठ  ५ गते २३:४७ २०८२ जेठ ५ गते २३:४७
हैदराबादसँगको हारले लखनउ प्लेअफ होडबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ, हैदराबादले ६ विकेटले जित हासिल गर्‍यो।
  • हैदराबादले २०६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो, अभिषेक शर्माले आक्रामक अर्धशतक बनाए।
  • लखनउले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनायो, मार्करम र मार्शले अर्धशतक गरे।

५ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो ।

प्लेअफ होडबाट यसअघि नै बाहिरिएको हैदराबादले लखनउलाई ६ विकेटले हरायो । लखनउले दिएको २०६ रनको लक्ष्य हैदराबादले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

हैदराबादका लागि ओपनर अभिषेक शर्माले आक्रामक अर्धशतक प्रहार गरे । उनी २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाएर आउट भए ।

हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदा रिटायर्ड भए । लखनउका लागि दिग्वेश राथीले २ तथा विलियम ओरोर्कले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । लखनउका लागि दुई ओपनर एइडेन मार्करम र मिचल मार्शले अर्धशतक बनाए । मार्शले ६५ तथा मार्करमले ६१ रन बनाए । निकोलस पूरनले ४५ रन बनाए ।

योसँगै आठौं स्थानको हैदराबादले १३ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ भने १२ खेलमा १० अंक भएको लखनउ सातौं स्थानमा छ र प्लेअफ होडबाट बाहिरिएको छ ।

अब मुम्बई र दिल्लीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय