News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठले हेल्प नेपाल स्पोर्ट्स क्लबबाट पीएम कप एनभीए भलिबल लिगमा खेल्न भएका छन् ।
- मानबहादुरले राष्ट्रिय टिमबाट सन्यासपछि पहिलो पटक घरेलु प्रतियोगिता खेल्न आएका हुन् । साथै उनले नेपाली सेनालाई धन्यवाद पनि दिए ।
- एनभीए भलिबल लिग जेठ ८ देखि १५ गते पोखरा रंगशालामा आयोजना हुनेछ, जसमा आठ पुरुष र छ महिला टिमहरू प्रतिस्पर्धा गर्नेछन् ।
५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई नवौँ पीएम कप एनभीए भलिबल लिग खेल्ने भएका छन् ।
गत कात्तिकमा राष्ट्रिय टिमबाट सन्यास घोषणा गर्दै अष्ट्रेलिया लागेका मानबहादुर एनभीएल भलिबल लिग खेल्ने नेपाल आइसकेका छन् ।
मानबहादुरले सोमबार आफ्नै युट्युब च्यानलमा भिडियो पोष्ट गर्दै हेल्प नेपालबाट खेल्ने जानकारी दिएका हुन् ।
राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेपछि उनी पहिलो पटक नेपालमा घरेलु प्रतियोगिता खेल्न आएका हुन् ।
‘आज तपाईँहरुको मनमा लागेको कुरा लिएर आएको छ । पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग खेल्न नेपाल आइसकेको छु । तपाईँहरु छक्क पर्नुहुनेछ । म आफैँ पनि छक्क परिरहेको छ । किनभने तपाईँहरुले यसपाली मलाई नयाँ जर्सीमा देख्नुहुनेछ ।’ मानबहादुरले भिडियोमा भनेका छन् । ‘एनभीए लिगमा लाई टिप टप हेल्प नेपालले मलाई अनुबन्ध गर्नुभयो । त्यसका लागि धन्यवाद ।’
यस्तै उनले एक दशकसम्म आफू खेलेको टिम त्रिभुवन आर्मी क्लबलाई पनि धन्यवाद दिएका छन् । ‘विगत दश वर्षदेखि म खेल्नै आएको त्रिभुवन आर्मी क्लब र नेपाली सेनालाई मलाई यो स्थानसम्म ल्याइपुर्याउन अवसर बनाइदिनुभएकोमा टिम र नेपाली सेनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ आफू हाल त्यो संस्थाबाट रिटायर भइसकेको उनले बताएका छन् ।
त्रिभुवन आर्मी क्लबलाई जितको शुभकामना समेत दिए । उनले आर्मीका नयाँ युवा खेलाडीहरुलाई पनि शुभकामना दिएका छन् । साथै उनले दर्शकहरुलाई पनि माया गर्नुभएकव धन्यवाद दिए ।
मान बहादुर २०८० साल साउनमा नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान बनेका थिए । उनकै कप्तानीमा नेपालले त्यही वर्ष चीनमा भएको १९औं एसियाडमा प्रतिस्पर्धा गरेका थिए । उनी नेपालबाट दुई पटक एसियन गेम्स खेल्ने दुई भलिबल खेलाडी मध्ये एक हुन् ।
नेपालले सन् २०१७ मा माल्दिभ्समा भएको सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा मा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड अट्याकरको अवार्ड जितेका थिए ।
नेपाल भलिबल संघको आयोजनामा यही जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालाको बहुउद्देशिय कभर्डहलमा हुने एनभीए भलिबल लिगमा पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिमहरूको सहभागिता रहनेछ ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबसहित, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेश टिमले प्रतिस्पर्धा गर्नेछन् ।
महिला तथा पुरुष दुवैतर्फका विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस प्रतियोगिताको विजेता काभा भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुनेछन् ।
प्रतिक्रिया 4