
News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतले पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेको मेयर पदमा पुनः निर्वाचित हुने सम्भावनामा कानुनी जटिलता देखाएको छ।
- दुतेर्तेलाई मानवताविरुद्धको अपराधको मुद्दामा सुनुवाइ भइरहेको भए पनि उनले पदभार ग्रहण गर्न पाउने कि नपाउने विषयमा बहस चलिरहेको छ।
६ जेठ, काठमाडौं । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतको हिरासतमा रहेका फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते गृहशहर डाभाओमा फेरि एकपटक मेयरको रुपमा निर्वाचित भएका छन् ।
दुतेर्ते परिवारले यो पद २० वर्षभन्दा बढी समयदेखि सम्हाल्दै आएकाले चुनावी परिणामलाई अप्रत्यासित मानिएको छैन तर उनीविरुद्ध मानवताविरुद्धको अपराधको मुद्दा चलिरहेकाले पद सम्हाल्न पाउने कि नपाउने भन्ने अनिश्चित छ ।
उनीविरुद्धको मुद्दाको अर्को सुनुवाइ आगामी सेप्टेम्बरमा तोकिएको छ । तर त्यसअघि नै उनले पदभार ग्रहण गर्न पाउने कि नपाउने भन्ने विषयमा बहस भइरहेको छ । यो अवस्थामा अन्तर्राष्ट्रिय अपराध अदालत र फिलिपिन्सको कानुनी व्यवस्थाबीच जटिल कानुनी लडाइँ चल्ने अनुमान गरिएको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार ८० वर्षीय दुतेर्तेले हिरासतमै भिडियो कलमार्फत वा प्रतिनिधिमार्फत शपथ लिन सक्नेछन् तर त्यसका लागि पनि हेगस्थित अदालतको अनुमति आवश्यक हुनेछ ।
यदि उनले शपथ ग्रहण गर्न पाए भने पनि प्रशासन कसरी चलाउलान् भन्ने प्रश्न उठ्ने छ । किनभने हजारौं माइलको दुरीमा रहेका हेग र फिलिपिन्सको समय मिल्दैन । हिरासतमा रहिरहे उनीसँग इन्टरनेटको सुविधा पनि हुनेछैन ।
सीएनएनका अनुसार दुतेर्तेले शपथ ग्रहण गर्न पाए भने फिलिपिनी कानुनअनुसार, दैनिक कामकाज डाभाओका उपमेयर बनेका उनका कान्छा छोरा सेबास्टियन दुतेर्तेले हेर्न सक्छन् ।
तर यदि दुतेर्तेले शपथ लिन पाएनन् भने, डाभाओको मेयरको निर्वाचनमा दोस्रो स्थानमा आएका कार्लो नोग्रालेस मेयर बन्न सक्नेछन् । नोग्रालेसको परिवार लामो समयदेखि दुतेर्ते परिवारसँग प्रतिस्पर्धा गर्दै आएको छ ।
अटेनेओ दे डाभाओ विश्वविद्यालयका पूर्वप्राध्यापक तथा राजनीतिक विश्लेषक रमोन बेलेनोका अनुसार यदि नोग्रालेसलाई मेयर बनाइएमा, त्यसविरुद्ध दुतेर्ते परिवारले कानुनी चुनौती दिन सक्ने सम्भावना पनि छ ।
८० वर्षीय दुतेर्तेमाथि लागु औषध विरुद्धको अभियानको क्रममा हजारौं निर्दोष मानिसको हत्या गरेको अभियोग छ । उनले भने मानव अधिकार उल्लंघनको आरोप अस्वीकार गर्दै आएका छन् ।
दुतेर्ते अझै पनि फिलिपिन्समा प्रभावशाली तर विवादास्पद नेताका रूपमा रहेका छन् । डाभाओ सहरमा दुई दशकभन्दा बढी समय मेयरको रूपमा सेवा गरेपछि २०१६ मा उनी राष्ट्रपति बनेका थिए ।
तर २०११ नोभेम्बर १ देखि २०१९ मार्च १६ सम्मको अवधिमा लागु औषध विरुद्धको अभियानको क्रममा हत्या, यातना र बलात्कार जस्ता मानवताविरुद्धका अपराधहरूमा संलग्न भएको आरोपमा उनी २०२५ को मार्च ११ मा पक्राउ परेका थिए ।
हङकङबाट फर्किंदै गर्दा फिलिपिन्सको राजधानी मनिलाको निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए । त्यसै दिन राति उनलाई चार्टर्ड विमानमार्फत नेदरल्याण्ड्सको हेग सहरमा पठाइएको थियो । उनी २०२५ को मार्च १२ देखि हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतको हिरासतमा छन् ।
प्रतिक्रिया 4