
News Summary
Generated by OK AI. Editorially reviewed.- गाईलाई धार्मिक, आयुर्वेदिक र जैविक दृष्टिले पवित्र मानिन्छ र गोमूत्रलाई दिव्य र पूज्य मानिन्छ।
- आयुर्वेद र परम्परागत मान्यताका अनुसार, गोमूत्रले पाप नाश र शरीरको शुद्धि गर्छ भन्ने विश्वास छ।
यया सर्वमिदं व्याप्तं जगत् स्थावरजङ्गमम् ।
तां धेनुं शिरसा वन्दे भूतभव्यस्य मातरम् ॥
सनातन तथा आयुर्वेदिक परम्परामा एक अत्यन्तै पवित्र तथा औषधीय तत्त्वको रूपमा ‘गोमूत्र’लाई मानिन्छ । गोमूत्र धार्मिक आस्थाबाट मात्र नभएर आयुर्वेद, वातावरण र परम्परागत जीवनशैलीसँग समेत गहिरो रूपमा गाँसिएको छ ।
विशेषगरी नेपाल, भारत तथा भुटानका अधिकांश क्षेत्रमा धार्मिक मान्यता अनुसार गाईलाई ‘गौमाता’को रुपमा पूजा गरिन्छ, र गाईबाट प्राप्त हुने प्रत्येक वस्तुलाई दिव्य र पूज्य मानिन्छ जस्तै- दूध, दही, घ्यू, गोबर र गोमूत्र यी पाँच चिजलाई ‘पञ्चगव्य’ का रूपमा अत्यन्तै उपयोगी र पवित्र मानिन्छ ।
यत्त्वगस्थिगतं पापं देहे तिष्ठति तावके ।
प्राशानात् पञ्चगव्यस्य दहत्वग्निरिवेन्धनम् ।।
पञ्चगव्यको सेवनले शरीरमा स्थित सबै प्रकारको पाप गर्दछ जसरी आगोले ईंधनलाई जलाइदिञ्छ । अत: उपरोक्त श्लोकको आशयले पापनाशक शक्तिको बोध गराएको छ ।
हाम्रो पौराणिक ग्रन्थहरू- जस्तै मनुस्मृति, वेद, पुराण तथा अन्य धर्मग्रन्थहरूमा गाईलाई पूजनीय जीव भनिएको छ । शास्त्रीय मान्यता अनुसार गाईको शरीरमा ३३ कोटी देवीदेवताहरूको वास हुने कुरा उल्लेख छ र विश्वास पनि ।
गाईको मलमूत्र समेत ‘दिव्य’ मानिन्छ, जसले धार्मिक कार्यमा शुद्धता ल्याउने विश्वास गरिन्छ । गोमूत्र विशेषगरी शुद्धिकरणका लागि प्रयोग गरिन्छ- पूजा अघि घर, मन्दिर, वा यज्ञकुण्डमा गोमूत्र छर्किएर वा गोबरले लिपेर वातावरण शुद्ध बनाइन्छ ।
सनातन संस्कारहरू जस्तै भूमिपूजा, गृहप्रवेश, यज्ञ, पूजा, श्राद्ध वा अन्य विभिन्न धार्मिक विधिहरूमा गोमूत्रले स्थान, सामग्री र व्यक्तिको शुद्धि हुन्छ भन्ने विश्वास रहिआएको छ ।
धार्मिक कार्यमा प्रयोग गरिने ‘पञ्चगव्य’ लाई ग्रहण गर्नु आत्मशुद्धिको उपाय मानिन्छ । गोमूत्र पिउनु वा तिलकको रूपमा प्रयोग गर्नु पापको नास र पुण्य वृद्धिका लागि गरिन्छ भन्ने धार्मिक एवं सांस्कृतिक मान्यता पनि रहेको छ ।
नमो गोभ्य:श्रीमतीभ्य: सौरभेयीभ्य एव च ।
नमो ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नम: ।।
गोमूत्रलाई आयुर्वेदमा निकै महत्व दिइएको छ । आयुर्वेदिक शास्त्रका अनुसार, गोमूत्र त्रिदोषहर (वात, पित्त, कफ) तत्त्वलाई सन्तुलन गर्ने औषधि मानिएको छ । यसमा पाचन शक्ति बढाउने, रक्त शुद्ध पार्ने, किड्नी सफा गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, तथा विभिन्न प्रकारका चर्म रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोगहरूमा सहयोगी हुने गुणहरू पाइन्छन् भन्ने मान्यता आयुर्वेदिक ग्रन्थमा उल्लेख छ ।
गोमूत्रमा एन्टिब्याक्टेरियल, एन्टिफंगल, एन्टिसेप्टिक, र एन्टिऑक्सिडेन्ट गुणहरू हुन्छन् भन्ने अनुसन्धानहरू भएका छन् । यसको नियमित सेवन (आयुर्वेदिक निर्देशनअनुसार) शरीरमा सञ्चित विषाक्त पदार्थहरूको निष्कासन, पाचन सुधार तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्नसक्छ भन्ने मान्यता आयुर्वेदमा छ ।
गोमूत्रको प्रयोग केवल धार्मिक वा औषधीय कार्यमा मात्र सीमित छैन । यसको जैविक खेतीमा पनि निकै ठूलो भूमिका छ । अर्गानिक खेतीमा रासायनिक मल र विषादीको सट्टामा गोमूत्रबाट बनाइने ‘जीवामृत’ वा ‘गौ-झर’ (गौमुत्र, गोबर, बेसार, बेसन आदि मिलाएर बनाइने मिश्रण) प्रयोग गरिन्छ ।
यसले माटोको उर्वरता बढाउने, कीराहरू भगाउने र जमिनमा मित्राणु (माइक्रोब्स) को विकासमा सहयोग गर्ने काम गर्दछ । यसले पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुर्याउँछ । गोमूत्र प्रयोगबाट वातावरणमैत्री खेती सम्भव हुन्छ, जसले दीर्घकालीन रूपमा मानव स्वास्थ्य र पृथ्वीको संरक्षणमा भूमिका खेल्दछ त्यसैले गोमूत्रको वातावरणीय उपयोगितामा पनि उत्तिकै महत्त्व रहेको पाइन्छ ।
सामाजिक रूपमा, गाईको संरक्षणलाई धर्म, स्वास्थ्य, र वातावरणीय हितसँग जोडेर देखिन्छ । गोमूत्र सहित दूध, दही, घ्यू, गोबरको महत्त्वले गाई पालनलाई प्रबर्द्धन दिन्छ, जसले ग्रामीण अर्थतन्त्रलाई पनि टेवा दिएको देखिन्छ ।
गोमूत्रलाई पवित्र मान्नुको आधारहरू धार्मिक, सांस्कृतिक, आयुर्वेदिक, जैविक, कृषि र सामाजिक पक्षहरूसँग गहिरो रूपमा जोडिएको छ । यो केवल एक धार्मिक विश्वास होइन, परम्परागत ज्ञान, औषधीय प्रयोग र वातावरणीय संरक्षणसँग समेत सम्बन्धित छ ।
यद्यपि आधुनिक विज्ञानले यसबारे अझ धेरै अध्ययन गर्नुपर्ने देखिन्छ, गोमूत्रप्रतिको श्रद्धा र यसको बहुआयामिक उपयोगिताले गर्दा यो आज पनि सनातन संस्कृतिमा विशेष स्थानमा रहेको छ । अस्तु ।।
प्रतिक्रिया 4