+
+
Shares
जल तथा मौसम विभागको प्रक्षेपण :

यसपालिको मनसुनमा औसतभन्दा अधिक वर्षा र गर्मी

पूर्वतयारीका काम थाल्न मौसमविदहरूको सुझाव

यस वर्ष पनि मनसुन अवधिमा प्राकृतिक प्रकोप बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न मौसमविदहरूले सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ।
  • विभागले स्थान अनुसार सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको बताएको छ।
  • विज्ञहरूले वर्षा र तापक्रमको असमान वितरणले प्राकृतिक प्रकोप र मानव स्वास्थ्यमा प्रभाव पार्ने बताएका छन्।

७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।

विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जनाएको हो ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेष अनुसार फरक–फरक रहेको बताइन् । उनका अनुसार स्थान अनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको बताइन् ।

प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेकाले मनसुनको सुरूवातमा हुने वर्षाले पनि क्षति पुर्‍याउन सक्ने उनको भनाइ छ ।

कहाँ कति प्रतिशत वर्षाको सम्भावना ?

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

अधिकतम तापक्रम पनि बढी हुने आँकलन

मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको आँकलन छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भूभाग, कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेश प्रदेशको भूभाग र बागमती प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने संभावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

त्यसैगरी मधेश प्रदेशको पूर्वी भूभाग र गण्डकी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी रहने संभावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने आँकलन

विभागले मनसुन अवधिमा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको जनाएको छ । कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशको तराई भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग र कोशी प्रदेशको उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत छ ।

देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको आँकलन छ ।

प्रक्षेपणको आधार

विभागका अनुसार सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर विभागले नेपालमा यस वर्षको सम्भावित मनसुनी अवस्थाबारे जानकारी दिएको हो ।

यसअघि भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म आयोजित दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) बैठकले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमारमा यस वर्षको मनसुनको सम्भावित अवस्था सार्वजनिक गरेको थियो ।

विज्ञहरूका अनुसार वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा प्रभाव पार्दछ ।

नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अल निनो र साउदर्न असिलेसन (एन्सो) तथा हिन्द महासागरमा विकसित हुने इण्डियन ओसन डाइपोल (आईओडी) हुन् । तिनीहरुको हालको अवस्था तथा जलवायु प्रारुपहरुको मनसुन ऋतुको आँकलन, युरोप तथा एशियामा गत हिउँद तथा प्रिमनसुनको ऋतुमा परेको हिउँ र अन्तर ऋतु परिवर्तनशिलताका कारकहरुलाई समेत मध्यनजर गरेर प्रक्षेपण सार्वजनिक गरेको हो ।

हाल प्रशान्त महासागरमा एन्सो र हिन्द महासागरमा विकसित हुने आईओडी दुवै तटस्थ अवस्थामा रहेको र आगामी मनसुन ऋतुभर तटस्थ नै रहने आँकलन गरिएको छ ।

यद्यपि ऋतुगत जलवायु विभिन्न सामुन्द्रिक तथा वायुमण्डलीय प्रणालीहरु, भू–उपयोग जस्ता कुराहरुमा निर्भर हुने र जलवायु प्रारुपहरुलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा सतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने तथ्य मनन गर्नुपर्ने विभागले जनाएको छ ।

विपदको जोखिम

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।

वर्षा राम्रो हुँदा बालिनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने गर्दछ । यस वर्ष पनि मनसुन अवधिमा प्राकृतिक प्रकोप बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न मौसमविदहरूले सुझाव दिएका छन् ।

विज्ञहरूका अनुसार वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा प्रभाव पार्दछ ।

यस्तो अवस्थामा बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बालीको विविधीकरण, मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोग एवम् विपद उद्धार तथा राहतको तयारी आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?