+
+
Shares

शाकाहारी संघले काठमाडौंमा तीनदिने अहिंसा महोत्सव आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शाकाहारी संघले महोत्सव भदौ १२ देखि १४ गतेसम्म अहिंसा महोत्सव नेपाल सम्मेलन आयोजना गर्दै ।
  • सम्मेलनमा लगभग ३० हजार सहभागीको अपेक्षा गरिएको छ र ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी संस्था सहभागी हुनेछन्।

६ जेठ, काठमाडौं । नेपाल शाकाहारी संघले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यले ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ । आगामी भदौ १२ देखि १४ गतेसम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘करुणाले जोड्छ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवले पशुपंक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकहारी’ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास आयोजकको छ ।

अहिंसाका मूल्य र शाकहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, संघ-संस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया, साङ्गीतिक प्रस्तुति, योग सत्र समेत रहनेछ । साथै देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज समेत महोत्सवमा रहनेछन् ।

महोत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङले उल्लेख गरे । उनका अनुसार महोत्सवमा शाकहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् ।

संघले यसअघि २०७४ सालमा काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) को आयोजना गरेको थियो । उक्त सफलतालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?