
News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ भने दुई जनाको झाडापखलाबाट मृत्यु भएको छ।
- खानेपानीमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका गरिएको छ र ११ स्थानका पानीका नमुना परीक्षणका लागि पठाइएको छ।
- महानगरपालिकाले २६ टोली परिचालन गरी उपचार र जनचेतना अभियान गर्दै छ र खाद्यवस्तु बिक्रीमा रोक लगाएको छ।
वीरगञ्जमा शुकबार यता ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १६१ जना बिरामीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
झाडापखलाको लक्षण देखा परेर उपचार गराउन आएका दुई व्यक्तिको मृत्युसमेत भएको छ । तर उनीहरूमा हैजाको संक्रमण भने पुष्टि भएको छैन । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका विज्ञहरूले गरेका छन् ।
हैजा प्रभावित विभिन्न ११ स्थानका पानीका नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आइसकेको छैन ।
वीरगञ्ज महानगरपालिकाका चार वडामा हैजाको प्रकोप फैलिँदा वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । जनस्वास्थ्य कार्यालय पर्साले पछिल्लो १० वर्षयता पहिलो पटक वीरगञ्जमा हैजाको प्रकोप देखिएको बताएको छ ।
हैजा रोकथाम तथा न्यूनीकरणका लागि महानगरपालिकाले गरिरहेको प्रयासबारे वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग अनलाइनखबरका प्रेम लामाले कुराकानी गरेका छन् । प्रस्तुत छ, मेयर सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
वीरगञ्जमा हैजा संक्रमण फैलिनुको कारण केलाई मान्नुहुन्छ ?
खानेपानीमा दूषित वस्तु मिसिएर वा हरियो सागसब्जी राम्रोसँग पखालेर नखाएका कारण हैजाको प्रकोप फैलिएको हो कि भन्ने अनुमान विज्ञहरूको छ । तर प्रयोगशालाको रिपोर्ट आइनसकेकोले यही कारण हो भन्न सकिने अवस्था छैन ।
यो रोगको संक्रमण दूषित पिउने पानी प्रयोग गर्दा हुने रहेछ । खानेपानीमा दिसाजन्य पदार्थ मिसिएमा हैजाको संक्रमण हुने रहेछ । हरियो तरकारीमा दिसाजन्य पदार्थ रहेको अवस्थामा पनि यसको संक्रमण हुनेरहेछ ।
दिसा-पिसाब गरेपछि राम्रोसँग साबुनपानीले हात नधोएमा हैजाको जीवाणु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दो रहेछ । वीरगञ्जमा हैजा फैलिनुका कारण यिनै हुन सक्छन् ।
बिरामीको उपचारमा संलग्न चिकित्सकहरूले यो प्रकोपलाई महामारी भनिरहेका छन् । महानगरले यसलाई कसरी हेरेको छ ?
यो महामारी हो वा हैन, अहिले नभनौं । हिजो-अस्तिभन्दा केही नियन्त्रण भएको हो कि भन्ने हामीले महसुस गरेका छौं । हैजा संक्रमणलाई लिएर मिडियामा आएजस्तो अवस्था वीरगञ्जमा छ जस्तो मलाई लाग्दैन ।
किनभने पर्सा, बारा लगायतका जिल्लाका विभिन्न गाउँहरूबाट पनि उपचारका लागि झाडापखलाका बिरामीहरू वीरगञ्जका अस्पताल आएका छन् ।
अस्पतालमा बिरामीहरूको उपचारको व्यवस्थापन कसरी गर्नुभएको छ ?
वीरगञ्जमा हैजाको प्रकोप पुष्टि भएकै दिनदेखि वीरगञ्ज महानगरको स्वास्थ्य शाखा टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ । सरकारीदेखि निजी अस्पतालका सञ्चालकहरूसँग महानगरले समन्वय गरिरहेको छ ।
उपचारमा आउने झाडापखलाका बिरामीहरूलाई बेड छैन भनेर नफर्काउने वातावरण महानगरले बनाएको छ । बेड खाली नभएको अवस्थामा खाली रहेका अन्य अस्पतालसँग समन्वय गरी उपचार गर्ने व्यवस्था मिलाएका छौं ।
नागरिकको उपचार प्रभावकारी भइरहेको छ कि छैन भनेर निगरानी गर्न वीरगञ्ज महानगरको स्वास्थ्य महाशाखाको टोली २४सै घण्टा खटेको छ । अस्पतालहरूमा औषधिको अभाव छैन ।
अभाव हुन नदिन स्वास्थ्य महाशाखाले अस्पतालहरूसँग समन्वय गरिरहेको छ । नारायणी अस्पतालमा आउने बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन चारवटा वार्ड थप गरिएको छ ।
महानगरले हैजा रोकथाम तथा नियन्त्रणका लागि कस्तो रणनीति अपनाएको छ ?
महानगरले हैजा प्रभावित क्षेत्रमा २६ वटा टिम परिचालन गरेको छ । २५ वटा टिम फिल्डमै खटिएका छन् भने एउटा टिमले हेल्प डेक्समार्फत समन्वयको काम गरिरहेको छ ।
हेल्प डेक्समा प्रभावित क्षेत्रबाट संकलन भएका सूचनाहरू संकलन हुन्छ । यो टिमले अस्पतालसँग समन्वय गरी उपचाररत बिरामीको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक सहयोग गर्ने काम गर्छ ।

महानगरको स्वास्थ्य महाशाखा टोलीसँगै नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीहरू समेत प्रभावित क्षेत्रमा नगरवासीलाई जनचेतना जगाउन लागि परेका छन् । यसका लागि नर्सिङ कलेजका सञ्चालकहरूसँग महानगरले समन्वय गरिरहेको छ ।
यतिमात्रै होइन, विज्ञहरूको सुझावका आधारमा महानगरले तत्कालका लागि वीरगञ्जमा खुला रूपमा बिक्री हुने पानीपुरी, चटपटे, चाट जस्ता खाद्यवस्तुहरू बिक्री वितरणमा रोक लगाएको छ । चिकित्सकहरूले यस्ता खाद्य पदार्थबाट संक्रमण फैलने जोखिम बढी हुने सुझाव आएपछि बिक्री वितरणमा रोक लगाइएको हो ।
डिप बोरिङको पाइपलाइन बिस्तार गर्दा ढलमाथि अव्यवस्थित रूपमा काम गरिएकोले दूषित पानी मिसियो भनिन्छ नि ?
डिप बोरिङको मात्रै होइन, खानेपानी संस्थानको पानी खाने गरेका नगरवासीमा पनि यसको संक्रमण देखिएको छ । विज्ञहरूले गरेको अध्ययनअनुसार खानेपानीको पाइपमा ढलको दूषित पानी मिसिँदा प्रकोप फैलिएको आशंका छ । तर यसको पुष्टि भइसकेको छैन ।
यो वर्ष सुक्खायाममा वीरगञ्जमा पिउने पानीको हाहाकार भयो । चापाकाल सुके । जसका कारण केही वडाहरूमा पिउने पानीको विकल्पका रूपमा डिप बोरिङ गाडिएकै हो ।
वडा समितिहरूले पानीको वितरण गर्ने पाइपलाइनहरू ढल माथिबाट गरिएको पनि देखियो । यो गर्न नहुने काम थियो । विशेषगरी वडा नम्बर १२ को नयाँ टोलमा यस्तो देखियो । अस्ति राति नै त्यहाँका पाइपलाइनलाई व्यवस्थित पार्ने काम भइसकेको छ ।
केन्द्र र प्रदेश सरकारबाट साथ पाइरहनुभएको छ ?
हामीले हैजा संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षसँग समन्वय गरेर प्रभावकारी ढंगले काम गरिरहेका छौं । प्रदेश सरकारले पनि आवश्यक औषधि उपलब्ध गराएको छ ।
संघ सरकारले नारायणी अस्पतालमा थप जनशक्ति पठाउने भनेको छ । वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालका लागि थप जनशक्ति उपलब्ध गराइसकेको छ । अस्पतालका मेसुको आग्रहअनुसार हामीले ६ देखि १० जना स्वास्थ्यकर्मीलाई त्यहाँ खटाइरहेका छौं ।
हैजाको संक्रमण देखिएपछि नगरवासीमा एक खालको मनोवैज्ञानिक त्रास पैदा भएको हुनसक्छ । नगरवासीलाई ढुक्क हुने वातावरण कसरी बनाउनुभएको छ ?
नगरवासीमा त्यस्तो त्रास केही छैन । महानगरले हैजा रोकथाम र नियन्त्रणका लागि युद्धस्तरमा काम गरिरहेको छ । नगरवासी त्रासमा बस्नुपर्ने त्यस्तो कारण केही छैन ।
प्रकोप रोक्नका लागि २६ टोली प्रभावित क्षेत्रको गाउँटोल तथा वडामा परिचालित छन् । ती टोलीहरूले जनचेतना फैलाउने काम गरिरहेका छन् ।
प्रत्येक वडामा स्वास्थ्यकर्मी, कर्मचारीहरू प्रकोप नियन्त्रणका लागि परिचालन भएका छन् । उनीहरूले आ-आफ्नो क्षेत्रबाट तोकिएका आ-आफ्नो काम गरिरहेका छन् ।
नगरवासीमा आत्मविश्वास उच्च राख्न चिकित्सकहरूले आवश्यक सल्लाह सुझाव दिने काम गरिरहेका छन् । चिकित्सकहरूको सल्लाह सुझावलाई मानेर अगाडि बढ्यौं भने यो संकटपूर्ण अवस्थामाथि अवश्य पनि हामीले विजय प्राप्त गर्छौं ।
प्रतिक्रिया 4