
News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जमा ४४ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ र १२९ बिरामीमध्ये ५० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ।
- खानेपानीमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका गरिएको छ र पानीका नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ।
- वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप बढेको छ र उपचारका लागि थप जनशक्ति र बेडको व्यवस्थापन गर्न स्थानीय र प्रदेश सरकारसँग समन्वय भइरहेको छ।
काठमाडौं । वीरगञ्जमा शुकबार यता ४४ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४४ जनामा हैजा संक्रमण पुष्टि भएको हो ।
झाडापखलाको लक्षण देखा परेर उपचार गराउन आएका दुई व्यक्तिको मृत्युसमेत भइसकेको छ । तर उनीहरूमा हैजाको संक्रमण भने पुष्टि भएको छैन । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका विज्ञहरूले गरेका छन् ।
हैजा प्रभावित विभिन्न ११ स्थानका पानीका नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशाला पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आज आउने भनिएको छ ।
वीरगञ्ज महानगरपालिका-११, १२, १३ र १६ मा हैजाको प्रकोप फैलिँदा वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । जनस्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो १० वर्षयता पहिलो पटक वीरगञ्जमा हैजाको प्रकोप देखिएको हो । ‘भिब्रियो कोलरी’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि यो हैजा लाग्ने गर्छ ।
वीरगञ्जस्थित नारायण अस्पतालमा उपचार गराउन आएका झाडापखलाका बिरामीमा बढी संख्यामा हैजाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मात्रै ४४ जना झाडापखलाका बिरामी उपचाररत छन् । जसमध्ये २३ जना अर्थात् ५० प्रतिशतभन्दा बढीमा हैजाको संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा हैजाका बिरामी बढ्नुका कारण लगायत यसको रोकथाम तथा न्यूनीकरणका लागि अस्पतालहरूले गरिरहेको प्रयासलाई केन्द्रमा राखेर नारायणी अस्पतालका सूचना अधिकृत डा. उदयनारायण सिंहसँग अनलाइनखबरका प्रेम लामाले कुराकानी गरेका छन् । प्रस्तुत छ, डा. सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
वीरगञ्जमा हैजाको प्रकोप देखिनुको मुख्य कारण के हुनसक्छ ?
विशेषगरी नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका-१२ र १३ का धेरै बिरामीहरू उपचाररत छन् । बिरामीसँग सोधपुछ गर्दा यसको मुख्य कारण खानेपानी नै हो कि भन्ने देखिन्छ । तर पुष्टि भइनसकेकोले यकिनासाथ भन्न सकिने अवस्था छैन । उनीहरूले प्रयोग गर्ने सरकारी धारामा दुई-तीन दिनदेखि धमिलो पानी आएको भन्ने पनि छ । सम्भवतः त्यही पिउने पानी कन्ट्यामिनेट भएर चाहिँ यो हैजा फैलिएको हुनसक्ने अहिलेको अनुमान हो । यसबारे थप छानबिन भइराख्या छ । यथार्थ पत्ता लगाउन विज्ञ टोलीहरू प्रभावित क्षेत्रमा खटिरहनुभएको छ। यसका लागि फाइनल रिपोर्ट कुर्नैपर्ने हुन्छ ।
वीरगञ्जका अस्पतालहरूमा हैजाका बिरामीहरूको संख्या बढिरहेको छ । यो हैजाको कस्तो रूप हो ?
स्वास्थ्यमा इपिडिमियोलोजिकल मापदण्ड छ । त्यो अनुसार महामारीका जुन क्राइटेरियाहरू छन्, त्यो क्राइटेरिया मिट भइसकेको अवस्था छ । उदाहरणका लागि नारायणी अस्पतालमा अहिले ४४ जना झाडापखालाका बिरामी छन् । जसमध्ये २३ जनामा हैजा पुष्टि भइसकेको छ । यो भनेको आधाभन्दा अर्थात् ५० प्रतिशतभन्दा बढी हो । १० जना झाडापखालाका रोगीमध्ये एकजनामा हैजा पुष्टि हुनु पनि महामारी नै हो ।
अहिले देखिरहेको हैजाको यो प्रकोपले भोलिका दिनमा कस्तो परिणाम निम्त्याउने खतरा देख्नुहुन्छ ?
वीरगञ्ज महानगरका तीनवटा वडामा कन्सेन्ट्रेट भएर धेरै केस आइरहेका छन् । फाट्टफुट्ट मात्रै अन्य वडाका बिरामी छन् । पछिल्लो समय अन्य वडाबाट पनि बिरामी आउने क्रम बढेको छ । वीरगञ्ज महानगरबाहेकबाट पनि एक-दुईवटा केस आइरहेका छन् । यसरी नै बिरामीको संख्या बढेर मासको रूपमा अर्थात् अझ धेरैमा यो संक्रमण फैलिन सक्ने खतरा पनि छ ।

अहिले नारायणी अस्पतालमा झन्डै ४४ जना बिरामी भर्ना भएका छन् । जसमा २३ जनामा हैजा पुष्टि भइसकेको छ। त्यसरी नै अन्य अस्पतालमा पनि १०० जनाको हाराहारीमा केसेजहरू छन् । आजको दिनसम्म ४० देखि ४५ जनामा पोजिटिभ देखिएको छ । यो संख्या अझ बढ्यो भने चाहिँ हाम्रो अहिलेको सेवा, भौतिक संरचना र जनशक्तिले थाम्न नसक्ने अवस्था आउन सक्छ ।
नारायणी अस्पतालमा हैजाका बिरामीको उपचार गर्ने व्यवस्था कसरी मिलाइएको छ ?
सुरुमा बेडकै समस्या भयो । किनभने नारायणी अस्पताल भनेको केन्द्रीय अस्पताल हो । यहाँ दैनिक रूपमा १०० देखि १५० जना आकस्मिक विभागमा बिरामीहरू उपचारका लागि आउँछन् । अन्य केसहरू त छँदैछन् ।
यसमा एक्कासि झाडापखलाका बिरामीहरू आउँदा हामीलाई बेडको अभाव हुन गयो । १५ सयको अब्जर्भेसन त दुई-चार घण्टामै भरियो । भुँइमै राखेर उपचार गर्नुपर्ने स्थिति पनि आयो । त्यसैगरी जनशक्तिको व्यवस्थापनमा पनि समस्या आयो । अस्पतालमा अतिरिक्त जनशक्ति छैन । एक्कासि बिरामी बढेपछि जनशक्तिको पनि समस्या आइपर्यो । बिस्तारै प्रशासनले अन्य दुईवटा वैकल्पिक वार्डको व्यवस्था गरी अहिले म्यानेज गरिएको छ ।
बिरामीहरूलाई एकाध बाहेकका औषधि पनि अस्पतालले निःशुल्क उपलब्ध गराइरहेको छ । थप जनशक्तिका लागि स्थानीय तहसँग समन्वय गरेका छौं । प्रदेश सरकारसँग पनि अनुरोध गरेका छौं । उहाँहरूले केही जनशक्तिहरू व्यवस्थापन गरिदिनेमा आशावादी छौं ।
अहिलेकै दरमा बिरामी बढ्दै जाने हो भने अस्पतालमा बेडको अभाव हुनसक्छ । जनशक्तिले जसोतसो भ्याउला तर बेड अभाव हुनसक्छ । वीरगञ्जका अस्पतालहरूमा प्रायः बेड बिरामीले भरिभराउ छन् ।
वीरगञ्जमा हैजाको यो प्रकोप कुन अवस्थाको हो ?
वीरगञ्जमा हैजाको प्रकोप ‘आउटब्रेक’ हो । आउटब्रेक नै किन हो भने एउटा पोइन्ट सोर्स भएर विस्तारै अरूअरू ठाउँमा पनि यो फैलिरहेको छ । त्यसैले यसलाई आउटब्रेक नै भन्नु पर्छ ।
उपचार र रोकथामका रणनीतिहरू के हुन सक्छन् ?
यसमा दुईवटा रणनीति हुनसक्छ । इन्फेक्सस डिजिज आउटब्रेक गर्न स्थानीय तहले नै बढी चासो राखेर काम गर्नुपर्ने हुन्छ । जस्तो मास एक्सनमा, स्थानीय सरकारले ठाउँठाउँमा सफा पिउने पानीको व्यवस्थापन गर्नुपर्छ । पानी निर्मलीकरण गरेर मात्रै पिउनुपर्नेबारे जनचेतना फैलाउनुपर्छ । हात सफा गर्नेदेखि लिएर हेल्थ नलेज, हेल्थ एन्ड हाइजिनका कुराहरू सम्प्रेसन गर्नुपर्छ ।

दोस्रो चाहिँ पर्सनल लेभलमा र अर्को मास भ्याक्सिनेसन पनि हुनसक्छ । मास भ्याक्सिनेसन गर्न सकिन्छ भने पर्सनल लेभलबाट हेल्थ हाइजिनका कुराहरू फलो गर्नुपर्छ । सबै व्यक्तिले तताएर वा क्लोरिनेसन गरेर मात्रै पानी पिउनुपर्छ । चर्पी प्रयोग गरेपछि, केही चिज खानुभन्दा अगाडि कमसेकम साबुन पानीले हात धुनुपर्छ ।
अर्को कुरा, हैजा फैलाउने मुख्य सोर्स पत्ता लगाउन ढिलाइ गर्नुहुँदैन । किनभने त्यो सोर्स रही रह्यो भने महामारी निरन्तर हुन्छ । त्यसैले कुन माध्यमबाट यो महामारी फैलिएको हो त्यो मुख्य सोर्स पहिचान गरेर त्यसको निराकरणमा जुट्नै पर्छ । यसका लागि राज्य नै मुख्य जिम्मेवार भएर अग्रसर हुनुपर्छ ।
महामारी रोक्न केन्द्र र प्रदेश सरकारबाट कस्तो सहयोग प्राप्त भइरहेको छ ?
प्रकोप रोकथाम र उन्मुलनका लागि अहिले तत्काल स्थानीय स्तरबाट हामी सबै लागिरहेका छौं । केन्द्र र प्रदेश सरकारसँग पनि समन्वय भइरहेको छ । प्रदेश र केन्द्रको टोली पनि वीरगञ्ज आइसकेका छन् । केही औषधि उपलब्ध गराउने र जनशक्ति पनि थप्ने आश्वासन पाएका छौं ।
प्रतिक्रिया 4