
१० भदौ, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका बिरामीका नमुनाहरूमा हैजा पुष्टि भएको छ ।
प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार कुल १० नमुनामध्ये ८ नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नुमनाको रिपोर्ट भोलि आउनेछ ।
‘हामीले अहिले सब कल्चर प्रक्रियाबाट पुष्टि गरिसकेका छौँ, बाँकी दुई नमुनामा पनि सम्भवतः पोजिटिभ नै आउला,’ डा. भट्टले भने ।
राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले स्थानीय अस्पतालबाट प्राप्त बिरामीका नमुनामा परीक्षण गरेको हो ।
‘विभिन्न अस्पतालमा भएका बिरामीको नमुना ल्याइएको थियो । ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा फैलिरहेको संकेत गरेको छ,’ डा. भट्टले अनलाइनखबरसँग भने ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हैजा र झाडापखलाका १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् ।
शुक्रबार यता ३९१ जना झाडापखला र हैजाका बिरामी वीरगञ्जका एक दर्जनभन्दा बढी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
झाडापखला र हैजा गरी अझै २२० जना बिरामी विभिन्न अस्पतालमा उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।
ठाकुरका अनुसार सबैभन्दा बढी झाडापखला र हैजाका बिरामी नारायणी अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा १०६ जना बिरामी उपचाररत छन् ।
यसैगरी तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २० जना बिरामी उपचाररत छन् ।
यसैगरी सर्वोत्तम हस्पिटलमा ९, एडभान्स हस्पिटलमा ६, प्रभु हस्पिटलमा ५, नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ३, नारायणी सेन्टर हस्पिटलमा २ जना बिरामी उपचाररत छन् ।
यसैगरी आशाराम हस्पिटल, वीरगञ्ज न्युरो एन्ड जनरल हस्पिटल, स्पर्श एमएस हस्पिटल, भवानी हस्पिटल, अलि अर्थ हस्पिटलमा एक/एक जना बिरामी उपचाररत छन् ।
उपचारपछि अस्पतालबाट हैजा र झाडापखलाका बिरामी डिस्चार्ज हुने क्रम बढे पनि हैजाका नयाँ बिरामी पुष्टि हुने क्रम भने रोकिएको छैन ।
सोमबार दिउँसो ४ बजेदेखि मंगलबार बिहान ११ बजेसम्म ९५ जना झाडापखलाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिए ।
उनका अनुसार नारायणी अस्पताल र तराई अस्पतालमा ३२/३२, नेसनल मेडिकल कलेजमा १३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।
यसैगरी भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम प्याथालोजीमा ३/३ जना नयाँ हैजाका बिरामी फैला परेका छन् ।
यसैगरी अली अर्थो अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलमा समान २/२ जना झाडापखलाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरी नारायणी सेन्ट्रल हस्पिटल, नेपाल इन्डो हस्पिटल, नीलकण्ठ हस्पिटल, नेपाल मेडिसिटी वयोधा हस्पिटल र सर्वोत्तम हस्पिटलमा एक/एक जना झाडापखलाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय पर्साका अनुसार २४ जना बिरामीलाई आईसीयू र ६ जनालाई एचडीसीयूमा राखेर उपचार भइरहेको छ ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलमा ९ र तराई हस्पिटलमा ८ जना बिरामीको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
यसैगरी सर्वोत्तम हस्पिटल र नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २/२ तथा नेसनल मेडिकल कलेज, प्रभु हस्पिटल र भवानी हस्पिटलमा एक/एक जना बिरामी आईसीयूमा उपचाररत छन् ।
यसैगरि तराई हस्पिटलमा ४, सर्वोत्तम एमएस हस्पिटल र नेसनल मेडिकल कलेजमा १ जना बिरामी एचडीसीयूमा उपचाररत छन् ।
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ ।
उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् ।
हैजाको जीवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ ।
विज्ञका अनुसार केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।
हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।
गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् ।
यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।
हैजाबाट बच्न शौचालयमा मात्रै दिसा-पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन-पानीले हात धुने, खाना बनाउनुअघि साबुन-पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने विज्ञको सुझाव छ ।
प्रतिक्रिया 4