+
+
Shares

वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा भर्ना

स्वास्थ्य मन्त्रालयका अनुसार १९४ जनामा झाडापखलाको लक्षण देखा परेको छ । तीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १७:५१
नारायणी अस्पतालमा उपचाररत बिरामी । फाइल तस्वीर

९ काठमाडौं । वीरगञ्ज महानगरपालिका आसपासमा देखिएको झाडापखाला र हैजाका कारण २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर- १, ३, ११, १२, १३ र १६ का १९४ जनालाई झाडापखलाको लक्षण देखा परेको छ । तीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् ।

नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, आशाराम अस्पताल, एडभान्स हस्पिटल, वीरगञ्ज हेल्थ केयर, नारायणी सेन्ट्रल, सर्वोत्तम, स्पर्स मल्टी स्पेसलिटी, प्रभु, भवानी, अली अर्त, निलकन्ठ एन्ड रिसर्च र तराई अस्पतालमा उपचार भइरहेको छ ।

६ भदौमा संकलित नमुनामा गरिएको परीक्षणमा ७१ जनामा आरडीटी मार्फत हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको दिसाबाट संकलित ५२ वटा नमुनामध्ये २२ वटा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र ३० वटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । साथै, रोगको स्रोत पत्ता लगाउन तीन वटा पानीका नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

हैजा नियन्त्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र डब्ल्यूएचओ नेपालसम्मिलित टोलीले जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गर्दै उपचार सेवा, फिल्ड अनुगमन र रोग नियन्त्रण अभियान अघि बढाइरहेको छ ।

खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य मन्त्री प्रदीप पौडेलबीच छलफल भई पानीका स्रोत परीक्षण, कोलेरा परीक्षण किट तत्काल उपलब्ध गराउने, संक्रमितलाई तुरुन्त उपचार सुनिश्चित गर्ने, निजी अस्पतालमा निःशुल्क परीक्षण गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय उनले बताए ।

७ भदौमा स्वास्थ्य सचिवको अध्यक्षतामा मन्त्रालय, विभाग, मधेश प्रदेशका अधिकारी, वीरगञ्ज महानगर र सरोकारवाला निकायबीच भर्चुअल बैठक बसेर पानी तथा सरसफाइ क्लस्टरसँग सहकार्य गर्दै एकीकृत गतिविधि सञ्चालन गर्ने र अस्पतालहरू माझ प्रभावकारी समन्वय गर्ने निर्णय भएको छ ।

हैजाका मुख्य लक्षणमा बारम्बार पातलो पानीजस्तो दिसा, वान्ता, अत्यधिक तिर्खा, मुख सुक्ने, छाला चाउरिने, आँखाको पानी भित्र पस्ने, कमजोरी, थकान, पिसाब कम हुने, रक्तचाप घट्ने, मुटुको धड्कन बढ्ने र बेहोस हुनेसम्मका समस्या देखिन्छन् । हैजाको लक्षण देखिए लगत्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र तुरुन्त जीवनजल सेवन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले विशेष गरी गर्मी र वर्षायाममा पानीजन्य रोग फैलन सक्ने भएकाले उमालेर वा क्लोरिन प्रयोग गरेर मात्रै पानी पिउन, व्यक्तिगत र खानेकुराको सरसफाइमा ध्यान दिन, खुला ठाउँमा दिसा नगर्न र चर्पी प्रयोग गर्न तथा खानु अघि र दिसा–पिसापपछि अनिवार्य साबुनपानीले हात धुन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?