+
+
Shares

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा संक्रमण पुष्टि, १२९ अस्पताल भर्ना

हैजाको प्रकोप रोकथाम गर्न महानगरले प्रभावित क्षेत्रमा २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ । टोलीहरूले घरघरमै पुगेर पानी शुद्धीकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेको मेयर राजेशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

प्रेम लामा प्रेम लामा
२०८२ भदौ ७ गते २३:४४
हैजा संक्रमितलाई भेट्न अस्पताल पुगेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ र शनिबारसम्म ४२ जनामा संक्रमण पुष्टि भएको छ।
  • वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्यकर्मी परिचालन गरी हैजा रोकथामका लागि आपतकालीन अभियान सुरु गरेको छ।
  • महानगरले खानेपानीमा क्लोरिन हाल्ने, घरघरमै सचेतना अभियान सञ्चालन गर्ने र अस्पतालमा बिरामीको अवस्था नियमित अनुगमन गर्ने जनाएको छ।

७ भदौ, काठमाडौं । वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ ।  शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो ।

शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरका स्वास्थ्य शाखा प्रमुख साजु साहले अनलाइनखबरलाई जानकारी दिए ।

साहका अनुसार शनिबार साँझसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन् ।

साहका अनुसार मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि उनीहरूलाई तराई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले उपचाररत बिरामीमा हैजाको संक्रमण आशंका गर्दै वीरगञ्ज महानगरको स्वास्थ्य शाखालाई खबर गरेको थियो ।

लगत्तै नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको साहले बताए  । साहका अनुसार वीरगञ्जका नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीको चाप बढिरहेको छ ।

‘शनिबारसम्म झाडापखालाकै कारण २ जनाको मृत्यु भएको जानकारी आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको वा नभएको पुष्टि भने हुन बाँकी छ,’ साहले अनलाइनखबरसँग  भने ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो । ‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ ।

यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए संक्रमितको मृत्यु समेत हुन सक्छ ।

ठाकुरले भने, ‘हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । एक जना पोखरिया नगरपालिका-९ की महिला र वीरगञ्ज महानगरपालिका-१२ का पुरुष बिरामीको मृत्यु भएको छ । उनीहरूको परिवारले दिएको जानकारी अनुसार उनीहरूमा झाडापखालाको लक्षण थियो । तर हैजाकै कारण नै उनीहरूको मृत्यु भएको भनेर भन्न सकिँदैन ।’

१२९ जना बिरामी मध्ये शनिबार साँझसम्म ४२ जनामा हैजाको संक्रमण पुष्टि हुनु महामारीको  रूप भएको ठाकुर बताउँछन् ।

ठाकुर भन्छन्, ‘२८ साउनमा मुर्ली क्षेत्रका स्थानीयमा फाट्फुट्ट झाडापखालाको लक्षण भएका बिरामी देखा परेका थिए । विस्तारै यो संख्या बढ्दै गयो । झाडापखाला देखिएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भयो ।यो संख्या शनिबार साँझसम्म आइपुग्दा ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो महामारीको रूप नै हो ।’

हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए । विशेषज्ञहरूले दूषित पानी पिउँदा र अस्वस्थकर खाना खाँदा हैजा फैलिने बताउँदै सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

हाल वीरगञ्जको विभिन्न बस्तीमा वर्षात्‌को ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ । संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र सफा खानेपानी प्रयोग गर्ने आग्रह गरेको छ ।

यससँगै स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै घर–घर सचेतना अभियान सञ्चालन गर्दै हात धुने बानी, सफा खानेपानी, र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई आग्रह गरिरहेका छन् ।

महानगरले थाल्यो आपतकालीन अभियान

शनिबार वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा सञ्चालित अस्पतालका सञ्चालकहरूसँग हैजा प्रकोप रोकथामबारे छलफल गरेको छ ।

बैठकमा हैजा संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउने निर्णय भएको छ । महानगर प्रमुख राजेशमान सिंहले संक्रमणको फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिएका छन् ।

मेयर सिंहले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

मेयर सिंहका अनुसार महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई तत्काल बोलाएर संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ भने आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ ।

अहिले वीरगञ्ज महानगरपालिका १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ ।

जहाँ घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको महानगरले जनाएको छ । यसै क्रममा महानगरले हेल्प डेस्क र सूचना केन्द्र समेत स्थापना गरेर संक्रमण नियन्त्रणलाई सहज बनाउने पहल गरेको छ ।

यसमार्फत नागरिकलाई हैजासम्बन्धी जानकारी, उपचारका लागि आवश्यक समन्वय, र आपतकालीन सम्पर्क सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको छ, जसले समुदायस्तरमै निगरानीलाई अझ प्रभावकारी बनाउने अपेक्षा महानगरको छ ।

हैजाको प्रकोप रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले सञ्चालन गरेको आपतकालीन अभियानलाई प्रभावकारी बनाउन महानगर प्रमुख सिंहले शनिबार  अस्पतालमै पुगेर बिरामीहरूको अवस्था बुझ्नुका साथै जनशक्ति परिचालनको कामलाई निरन्तर मनिटरिङ गरिरहेका छन् ।

शनिबार दिउँसो उनी नारायणी अस्पताल पुगेर त्यहाँका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नारायणी अस्पतालमा हाल ३३ जना झाडापखालाका बिरामी उपचाररत छन्, जस मध्ये १३ जनामा हैजाको पुष्टि भइसकेको छ ।

शनिबार साँझ उनी बिरामीहरूको अवस्था बुझ्न वीरगञ्ज हेल्थकेयर अस्पताल पुगेका थिए  । सो अस्पतालमा हाल १४ भन्दा बढी झाडापखालाका बिरामी उपचाररत छन् ।

हैजा संक्रमितलाई भेट्न अस्पताल पुगेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह।

हैजाको प्रकोप रोकथाम गर्न महानगरले प्रभावित क्षेत्रमा २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ । टोलीहरूले घरघरमै पुगेर पानी शुद्धीकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेको मेयर सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

प्रभावित बस्तीका नालामा महानगरले औषधि छर्कने अभियान पनि सञ्चालन गरेको छ । महानगर प्रमुख सिंहले झाडापखलाका बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्ससहितका सवारी साधनलाई पनि तयारी अवस्थामा राखेको बताए ।

उनले भने, ‘हैजाको प्रकोप नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी चनाखो भएर बस्न सरोकार पक्ष सबैलाई निर्देशन दिएको छु, सबैको सहयोग लिँदै महानगर यो संकटलाई नियन्त्रणमा लिन पूर्ण प्रतिबद्ध छ ।’

मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत साहले बताए ।

शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरिएको उनले बताए । महानगरले हैजाबाट जोगिनका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक-पटक हात धुन, खानपिनका भाँडाकडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ ।

हैजा एक गम्भीर संक्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापरबाही नगर्न महानगर प्रमुख सिंहको आग्रह छ ।

लेखक
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?