+
+
Shares

वीरगञ्जका घरघरमै ढल मिसिएको पानी, एक महिनासम्म रोकिएन हैजा

दूषित नालामुनि दबिएको खानेपानीको पाइपमा हैजाको घातक जीवाणु मिसिएको छ । जसले पर्सावासीको जीवनमा हैजाको कहर मच्चाइरहेको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ असोज ९ गते २२:१३

९ असार, काठमाडौं । खुला ढलमा कुहिएको फोहोर मिसिएको धमिलो पानी बगेको छ । प्लास्टिकका खोल र लेउ भरिएको दुर्गन्धित त्यही ढलमा डुबेको छ खानेपानीको पाइप । नालामा बगिरहेको दूषित पानी पाइपमा मिसिएर घरघरमा पुगिरहेको छ ।

यो पर्सा जिल्लाको यथार्थ हो, जसले एक महिनाभन्दा लामो समय हैजा महामारीको संकट बेहोरिरहेको छ ।

नालामुनि दबिएको खानेपानीको पाइपमा हैजाको घातक जीवाणु मिसिएको छ । जसले पर्सावासीको जीवनमा कहर मच्चाइरहेको छ ।

पिउने पानीमा मिसिएको दूषित ढलका कारण जिल्लाभर हैजाको प्रकोप रोकिएको छैन । एक महिनादेखि जारी समस्याका कारण अहिलेसम्म १ हजार ५८७ जना बिरामी अस्पताल पुगिसकेका छन् ।

अहिले ५ जना बिरामीको आईसीयू र दुईजनाको एचडीयूमा उपचार भइरहेको छ । त्यस्तै २८ जनाले जनरल वार्डमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २० जना हैजा संक्रमित थपिएका छन् ।

पर्सामा ६ भदौमा पहिलो पटक झाडापखालाका बिरामी देखापरेका थिए । तर एक महिना बितिसक्दा हैजा संक्रमित घटेका छैनन् ।

नारायणी अस्पतालमा उपचाररत बिरामी/फाइल तस्वीर

एक महिनासम्म किन रोकिएन हैजा संक्रमण ?

नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार चार हप्तादेखि फैलिरहेको हैजालाई शून्यमा झार्न सकिएको छैन । ‘संक्रमण घट्नुपर्ने हो । तर घटेन । अहिले पनि हैजा संक्रमित अस्पतालमा भर्ना भइरहेका छन्,’ डा. दास भन्छन्, ‘यो गम्भीर चिन्ताको विषय हो ।’

उनका अनुसार दैनिक १५ देखि २० जनाको संख्यामा बिरामी अस्पताल आइरहेका छन् । पछिल्लो तथ्यांकअनुसार नारायणी अस्पतालमा हैजा संक्रमित १२ जना भर्ना भएर उपचाररत छन् । तर कुनै पनि बिरामीको अवस्था गम्भीर भने छैन ।

हैजाको प्रकोप एक महिनादेखि जारी रहँदा पनि पूर्ण रूपमा नियन्त्रणमा नआउनुले संकट निम्त्याइरहेको डा. दासले बताए ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, हैजाको प्रमुख स्रोत दूषित खानेपानी रहेको प्रष्ट देखिएको छ । ‘समस्याको जड नै खानेपानीको पाइपलाइनमा ढलको पानी मिसिनु हो,’ डा. सिंह भन्छन्, ‘निर्मूल पार्न सरकारसँगै आम नागरिकको पनि ध्यान जान सकेन ।’

वीरगञ्ज महानगरपालिका-१२ र १३ मा हैजा संक्रिमत देखिइरहेको उनले बताए ।

‘खानेपानीको पाइपमा नाला मिसिएको छ । त्यसलाई सफा गरिएको छैन । त्यसैले हैजाको संक्रमण बारम्बार दोहोरिएको छ,’ डा. सिंह भन्छन् ।

‘यो समस्या पुरानै ठाउँमा दोहोरिएको छ । सरकारी धाराको पानी प्रयोग भएको छ । आम नागरिकमा जनचेतना पनि पुर्याउन सकिएको छैन,’ सिंह भन्छन् ।

वर्षायाममा धेरै पानी पर्दा थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस पानीले बगाएर लैजान्छ । दिसाका जीवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण हुन्छ ।

डा. सिंहका अनुसार ढलको पानीमा रहेको हैजाको जीवाणु दुईदेखि तीन हप्तासम्म बाँच्न सक्छ । जीवाणु नालामा बस्ने र वर्षा भएपछि पानीको सतह माथि आउँदा खानेपानीको पाइपलाइनमा मिसिने गर्छ ।

चिकित्सकका अनुसार एक–दुई जनामा हैजा हुनुले पनि महामारीको संकेत गर्छ । किनकि, हैजाको जीवाणु तीव्र गतिमा फैलिन्छ । अधिकांश लक्षणविहीन संक्रमितले हैजा फैलाउने गर्छन् ।

‘खानेपानीको पाइपमा नाला मिसिएको छ । त्यसलाई सफा गरिएको छैन । त्यसैले हैजाको संक्रमण बारम्बार दोहोरिएको छ,’ डा. सिंह भन्छन् ।

यसअघि सरकारले क्लोरिन हालेर पानी शुद्धीकरण गरेको थियो । तर क्लोरिनको प्रयोग बन्द भएपछि फेरि हैजा महामारी बढेको हो ।

युनिसेफले प्रभावित क्षेत्रका घरघरमा पुगेर क्लोरिनेसनको काम सुरु गरेको छ । तर यो दीर्घकालीन समाधान नभएको डा. सिंह बताउँछन् । ‘मुहान र ढलको पाइपलाइन मर्मत नभएसम्म हैजा मात्र होइन, अन्य पानीजन्य रोगहरू फैलिने जोखिम छ,’ डा. सिंहले चेतावनी दिए ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार हैजा नियन्त्रणमा संघ र स्थानीय सरकारको समवन्य हुन आवश्यक हुन्थ्यो । तर हुन सकेको छैन ।

‘ढल भएको ठाउँमा खानेपानीको पाइप राखेर दूषित पानी नागरिकलाई खुवाउनु स्थानीय सरकारको हेपाह प्रवृत्ति भयो,’ ती अधिकारी भन्छन्, ‘मन्त्रालय पनि हैजा नियन्त्रणमा गम्भीर भएको देखिएन ।’

अस्पतालमा हैजाका बिरामीको चाप पनि बढ्दो छ । अधिंकाश बिरामीमा अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, थकाइ महसुस हुने जस्ता समस्या लिएर आइरहेको डा. सिंहले बताए ।

उनका अनुसार परीक्षण गरिएकामध्ये आधा बिरामीमा हैजा पोजिटिभ देखिएको छ ।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

डा. सिंह समुदायमा जनचेतनाको कमी र दूषित पानीको प्रयोगलाई हैजा महामारीको प्रमुख कारण मान्छन् ।

‘मानिसहरूले पानी उमालेर वा शुद्धीकरण गरेर प्रयोग गरिरहेका छैनन् । स्रोत पनि अत्याधिक दूषित छ,’ डा. सिंह भन्छन् ।

विज्ञका अनुसार तत्काल पाइपलाइन मर्मत र पानी शुद्धीकरणको दीर्घकालीन उपाय नअपनाए हैजाको संक्रमण भयावह हुन जान्छ । त्यसैगरी अन्य पानीजन्य रोगहरूको जोखिम रहन्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन वीरगञ्जमा हैजाको फैलावटलाई सरसफाइ व्यवस्थापनमा देखिएको कमजोरीसँग जोड्छन् ।

डा. दासका अनुसार, समुदायस्तरमा सञ्चालित जागरूकता र सरसफाइ कार्यक्रमहरू प्रभावकारी भए पनि कतिपय कमजोरीले प्रकोप नियन्त्रणमा ढिलाइ भएको हुनसक्छ ।

‘समुदायमा जागरुकता अभियानसँगै सरसफाइ र स्वच्छता कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । तर नियन्त्रणमा नहुनुले कतै त्रुटि भएको शंका छ,’ डा. दास भन्छन् ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार पानीको मूल स्रोत नै प्रदूषित भएकाले त्यसको दीर्घकालीन समाधानमा अझै चुनौती छ ।

अहिलेको अवस्थामा, प्रदूषित पानीको विकल्प नभएका क्षेत्रहरूमा नागरिकहरू सोही पानी प्रयोग गर्न बाध्य छन् । यसले पानीजन्य रोगहरूको संक्रमण पुनः फैलिन सक्ने जोखिम बढाएको छ ।

‘पानीको मुहानमा रहेको प्रदूषणको स्रोत पहिचान गरी त्यसलाई नियन्त्रण नगर्दा क्लोरिन प्रयोग बन्द हुने बित्तिकै वा केही समयपछि फेरि पनि पानीजन्य रोगहरूको जोखिम बढ्छ,’ डा. मरासिनी भन्छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन वीरगञ्जमा हैजाको फैलावटलाई सरसफाइ व्यवस्थापनमा देखिएको कमजोरीसँग जोड्छन् । उनी भन्छन्, ‘शौचालयको राम्रो व्यवस्थापन नहुनु, हात नधोई खाना तथा पानी छुनु र सडक किनारका असुरक्षित खानेकुराले संक्रमणलाई सहजै फैलाइरहेको देखाउँछ ।’

डा. पुनले स्थानीय बासिन्दालाई पानी उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे ।

‘जनताले उमालेको वा शुद्ध पानी मात्र प्रयोग गर्नुपर्छ । रेस्टुरेन्टमा खाना खाँदा पनि सावधानी अपनाउनुपर्छ । व्यक्तिगत सरसफाइलाई कडाइका साथ पालना गर्नुपर्छ,’ डा. पुन भन्छन् ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?