News Summary
Generated by OK AI. Editorially reviewed.- शाहब आलमको ह्याट्रिकसहित ६ विकेटको शानदार बलिङमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हरायो।
- शाहब आलमले एकै ओभरमा ४ विकेट लिएर एनपीएलमा पहिलो पटक एक ओभरमा ४ विकेट लिने कीर्तिमान कायम गरे।
- काठमान्डु प्लेअफमा पुग्दा पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ ।
१८ मंसिर, काठमाडौं । भनिन्छ क्रिकेटमा एक बलले मोमेन्टम परिवर्तन गर्छ अनि एक ओभरले खेलकै नतिजा बदल्न सक्छ, कीर्तिमान बन्न पनि एक ओभर नै पर्याप्त हुन्छ ।
बिहीबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीचको खेलमा पनि त्यस्तै भयो । काठमान्डु गोर्खाजले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा एक समय खेलमा अगाडि देखिएको पोखरा एभेन्जर्स अन्तिममा पराजित भयो ।
१६ ओभरमा १३०-४ को अवस्थामा रहेको पोखरालाई २४ बलमा ३६ रन आवश्यक थियो, जुन् टी-२० क्रिकेटमा कठिन होइन, विशेषगरी क्रिजमा दुई सेट ब्याटर भएको अवस्थामा । तर त्यही अवस्थाबाट काठमन्डुले खेलमा कमब्याक गरेर अन्त्यमा खेल नै जित्न सफल भयो ।
१७औं ओभरमा बलिङ गर्न आएका करण केसीले श्रीलंकन ब्याटर धनन्जय लक्षनलाई आउट गर्दै लक्षन र ऋषि धवनबीच बनेको ७६ रनको साझेदारी तोडे । त्यो त्यही बल थियो जसले खेलको मोमेन्टम काठमान्डुतर्फ फिर्ता ल्याएको थियो । त्यो ओभरमा ५ रन मात्र आयो ।

त्यसपछिको ओभरमा ६ रन र १ विकेट आयो भने १९औं ओभरमा बलिङमा आएका करणले फेरि ५ रन मात्र खर्चे । पोखरालाई अब ६ बलमा २० रन आवश्यक थियो र करण केसीसँग राशिद खान र आदिल आलमको पेस बलिङ विकल्प बाँकी हुँदाहुँदै बाँयाहाते स्पीनर शाहब आलमलाई बलिङ गराए ।
शाहबले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिँदै कूल ६ विकेट लिएर कीर्तिमान नै कायम गरे, काठमान्डुले खेल जित्दै प्लेअफमा स्थान पक्का गर्यो ।
सुरुवाती खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएपछि दुई हार बेहोरेर लय गुमाएको काठमान्डुले त्यसपछि लगातार ४ खेल जितेर प्लेअफको उडान भरेको हो । यस उडानमा विदेशी खेलाडीसँगै नेपाली युवा बलर शाहब पनि नायक बने ।
शाहबले बनाएको कीर्तिमान
कप्तान करण केसीले २०औं ओभरमा २० रन डिफेन्ड गर्नका लागि शाहबलाई बल थमाउनुअघि उनले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए । स्ट्राइकमा सेट ब्याटर ऋषि धवन थिए, जो अर्धशतक बनाएर खेलिरहेका थिए ।
२० रन आवश्यक हुँदा ब्याटर ठूला शटकै लागि जाने र विकेट पनि प्राप्त हुने सम्भावना रहन्छ । सर्कल बाहिरका ५ जनै फिल्डर बाउन्ड्री लाइनमै थिए । शाहबको पहिलो बलमा अगाडि बढेर लङअनमा शट खेलेका धवन क्याचआउट भए । बाउन्ड्रीमै रहेका मिलिन्द कुमारले राम्रो जजमेन्टका साथ क्याच पूरा गरे । सेट ब्याटरको विकेट गुमेपछि काठमान्डुले केही राहतको सास फेरेको थियो ।

त्यसपछि ब्याटिङमा आए बिपिन खत्री, जो पहिलो बलमै रिभर्स खेल्ने धुनमा एलबीडब्लु धरापमा फसे । त्यसपछि आएका आकाश चन्दले पनि ठूलो शट खेल्दा लङअनमा क्याच आउट भए, अनि पूरा भयो शाहबको ह्याट्रिक । केही बेर अघिसम्म एउटा जितको खोजीमा मात्र रहेका काठमान्डुका खेलाडीहरू एउटा कीर्तिमानकै साक्षी बने । यो एनपीएल इतिहासकै पहिलो ह्याट्रिक थियो ।
त्यसपछि ब्याटिङमा आएका सागर ढकालले शाहबलाई छक्का प्रहार गरे भने अन्तिम बलमा सागर पनि क्याच आउट भएपछि शाहबको एकै ओभरमा ४ सहित विकेट संख्या ६ पुग्यो। एकै ओभरमा ४ विकेट लिनु पनि अर्को एउटा कीर्तिमान थियो । एनपीएलमा पहिलोपटक कुनै बलरले एकै ओभरमा ४ विकेट लिएका थिए र ती बलर रहे शाहब ।
एनपीएलमा एकै खेलमा ६-विकेटको प्रदर्शन दोस्रोपटक आएको हो । यस सिजन भने पहिलोपटक भएको हो । गत सिजन कर्णाली याक्सका विलियम बोसिस्टोले ६ विकेट लिएका थिए ।
चार्ल्सवर्थ र भीमको शानदार ब्याटिङ
दोस्रो इनिङको रोमाञ्चअघि आजको खेलको पहिलो इनिङमा दुई खेलाडीको प्रदर्शन शानदार रह्यो । इंग्लिस ब्याटर बेन चार्ल्सवर्थ र नेपाली ब्याटर भीम सार्की ब्याटिङमा शानदार देखिए।
ओपनिङमा आएका चार्ल्सवर्थले अर्को एन्डमा विकेट गएको दर्शन गरिरहेका थिए । उनीसँगै ओपनिङमा आएका आकाश त्रिपाठी शून्यमै आउट भएका थिए भने राशिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ अनि आदिल आलम ७ रनमा आउट भएपछि काठमान्डु १४औं ओभरमा ७९-५ को अवस्थामा पुगेको थियो । ब्याटिङमा चार्ल्सवर्थलाई साथ दिन आए भीम सार्की ।
१४ ओभरको समाप्तिमा ८२-५ को अवस्थामा रहेको काठमान्डुका लागि त्यसपछि भीम सार्कीले आक्रामक ब्याटिङ गर्न थाले । १९ बलमै अर्धशतक पूरा गरेर टोलीलाई फिनिसिङ दिलाए । २३ बलमा ५ चौका र ४ छक्कासहित ५५ रन बनाएर उनी आउट हुँदा काठमान्डुले अघिको स्कोर लगभग डबल गरिसकेको थियो ।
चार्ल्सवर्थले ५५ बलमा ६४ रनको अविजित पारी खेले। काठमान्डुले १६५ रनको योगफल खडा गरेर त्यसलाई डिफेन्ड गर्न सक्यो । प्लेयर अफ द म्याच भीम सार्की घोषित भए ।

सुरुवाती २ खेल खेलेपछि त्यसपछिका ३ खेलमा भीम ड्रप भएका थिए । अघिल्लो खेलदेखि टोलीमा फर्किएका भीमले टिमलाई चाहिएको बेला प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए । ‘टिमको कम स्कोर थियो, मलाई धेरै रन बनाउँछु भन्ने नै सोच थियो’ उनले भने । शाहब आलमको बलिङ अनि चार्ल्सवर्थको ब्याटिङले खेल जित्ने आधार बनेको भीमको भनाइ थियो ।
‘योजना अनुसारकै प्रदर्शन भइरहेको छ र अहिले नतिजा हाम्रो पक्षमा आउन थालेको छ’ भीमले भने । नेपाली टोलीमा पर्ने सम्भावनाबारेको प्रश्नमा भीमले आफूले सकेको बेस्ट पर्फमेन्स दिने र बाँकी कुरा आफ्नो नियन्त्रणमा नहुने भएकाले धेरै त्यसतर्फ ध्यान नदिएको बताए ।
यस्तै बेन चार्ल्सवर्थले खेलपछि कुरा गर्दै आफूले खेल डिप लैजान खोजेको र भीमको आगमनले सजिलो भएको बताए । ‘पिच सजिलो थिएन, भीम क्रिजमा आएपछि उसले म अट्याक गर्छु भनेर मलाई चाहिँ अहिलेकै जसरी खेल्न सुझाएका थिए, मलाई पनि अट्याकिङ नै खेल्न मन थियो तर भीमले धेरै नै राम्रो गरे’ उनको भनाइ थियो ।
चार्ल्सवर्थले शाहब आलमको बलिङको प्रशंसा गर्दै उनी राम्रो बलर भएको बताए । ‘यो प्रतियोगितामा उनले राम्रो गरिरहेका छन्, लेन्थ पनि राम्रो छ, कन्सिस्टेन्ट छन्’ उनले भने ।
पोखराले भेटाएन लय
सुरुवाती ४ खेलमा १ जित मात्र निकालेपछि टोलिमा विदेशी खेलाडीसहितका केही परिवर्तनसहित पाँचौं खेल जितेर पोखराले सकारात्मक संकेत गरेको थियो । विदेशी खेलाडी एडम रोसिङटनको लय अनि जेसन रोय, धननज्य लक्षन र ऋषि धवनको आगमनले बलियो देखिएको पोखराले छैटौं खेलमा सोही लय दोहोर्याउन सकेन ।
पाँचौं खेलमा शतक बनाएका रोसिङटन र राम्रो ब्याटिङ गरेका रोय आजको खेलमा नचलेपनि लक्षन र ऋषिले भने ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेका थिए । तर टोलीको जितका लागि भने पर्याप्त रहेन ।

खेलपछि कुरा गर्दै लक्षनले सुरुवाती १० ओभरमा खेलमा पछाडि परेपनि पछि खेल क्लोज भएको र अन्त्यमा सम्हालिन नसक्दा हार बेहोरेको बताएका थिए । उनले आफ्नो विकेट गुम्नुले मोमेन्टम चेन्ज भएको बताए ।
हारपछि पोखराको प्लेअफ सम्भावना भने अब कमजोर बनेको छ । ६ खेलमा ४ अंक मात्र भएको पोखराले अब समान खेलमा समान अंक भएको चितवन राइनोजसँग खेल्न बाँकी छ ।
अब शुक्रबार हुने खेलको नतिजाले पोखराको भाग्य निर्धारण गर्नेछ । जनकपुर र लुम्बिनीबीचको खेलमा लुम्बिनी विजयी भएमा पोखरासहित चितवन र जनकपुर बाहिरिने छन् ।
जनकपुरले लुम्बिनीलाई हराएमा भने ४ वटै टोलीको ६ अंक हुने हुँदा नेटरनरेट राम्रो हुने टोली प्लेअफमा पुग्नेछ ।
प्रतिक्रिया 4