+
एनपीएल २०२५ :

सुदूरपश्चिमको तुफानी यात्रा

२०८२ मंसिर  १८ गते २२:३३ २०८२ मंसिर १८ गते २२:३३

सुदूरपश्चिमले एनपीएलको दोस्रो संस्करणमा मैदानमा तुफानी प्रदर्शन गरिरहेको छ । लगातार ६ खेल जितेपछि शीर्षस्थानमै रहेर पहिलो क्‍वालिफायर खेल्ने पक्का भइसकेको छ ।

सुदूरपश्चिमको तुफानी यात्रा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोएल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा ६ खेलमा ६ जितसहित अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ।
  • कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टिमले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफायर वान खेल्ने सुनिश्चित गरेको छ।
  • प्रशिक्षक जगत टमाटाले दीपेन्द्रलाई 'गड गिफ्टेड प्लेअर' भनेका छन् र टिमवर्क तथा विदेशी-नेपाली खेलाडीको तालमेलले सफलता दिलाएको बताए।

१८ मंसिर, काठमाडौं । ६ खेलमा ६ जित । एक्लो अपराजित टोली । ब्याटिङ, बलिङ मात्र नभएर फिल्डिङमा पनि उत्तिकै उत्कृष्ट प्रदर्शन ।

दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोएल्सले अहिले भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा गज्जबको प्रदर्शन गरिरहेको छ । खेलेको ६ खेलमै शतप्रतिशत जित निकाल्ने एक्लो टिम भएकोले पनि टिम कस्तो छ भन्ने थाहा हुन्छ ।

सुदूरपश्चिमले पहिलो सिजनमा ‘मैदानमा तुफान, सुदूरको सान’ भन्ने गीत नै तयार गरेको थियो । अहिले पनि सुदूरपश्चिमको खेल हुँदा मैदानमा त्यो गीत गुन्जिरहेको छ ।

गीतले भने जस्तै सुदूरपश्चिमले एनपीएलको दोस्रो संस्करणमा मैदानमा तुफानी प्रदर्शन गरिरहेको छ । क्रिस लिन, जोश ब्राउन, विनोद भण्डारी, इशान पाण्डेको ब्याटिङ, स्कट कुगेलेइन, अविनाश बोहरा, हेमन्त धामीको तुफानी बलिङ, हर्मित सिंहको अलराउण्ड प्रदर्शन अनी कप्तानी दीपेन्द्रको जबरजस्त फिल्डिङ । मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि सबैभन्दा धेरै दर्शकको साथ पाउने टिम । सुदूरपश्चिमको फ्यानबेस पनि गज्जबकै छ । सुदूरको गेम हुँदा टीयू मैदानमा खेल हेर्न सबैभन्दा धेरै दर्शक उपस्थित हुन्छन्।

लगातार पाँच खेल जितेर प्लेअफ पुग्ने पहिलो टिम बनेको सुदूरपश्चिमले बिहिबार चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै शीर्ष दुईमै स्थान सुरक्षित गरेर क्वालिफायर वान नै खेल्ने भएको छ ।

लगातार ६ खेल जितेपछि सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीहरुले सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको र टिमवर्क देखिएको प्रतिक्रिया दिए । ‘खेलाडीहरुलाई धेरै बधाई । समर्थकहरुले यहाँसम्म पुर्‍याउनुभएको छ, सबै नेपालीहरुले माया गर्नुभएको छ । हाम्रो जितमा खेलाडीले आप्नो तर्फबाट २०० प्रतिशत दिनुभएको छ’ टमाटाले पोस्ट म्याच कन्फेरेन्समा भने, ‘टिमवर्क गरेर खेल्नुभएको छ । हरेक खेलमा फरक प्लेअर अफ दि म्याच हुनुभएको छ । सो टिमवर्क त्यहाँ देखिरहेको छ।’

यस्तै टमाटाले ब्याटिङ बलिङ सबैमा टिमले राम्रो गरिरहेको र टिम म्यानेजमेन्टले पनि सपोर्ट गरेको बताए । ‘हाम्रो ब्याटिङ युनिट र बलिङ युनिटमा खेलाडीले जिम्मेवारी लिएको छ । त्यसमा टिम म्यानेजमेन्ट र सपोर्ट स्टाफलाई पनि धन्यवाद दिन्छु’ उनले भने, ‘अवस्था अनुसार अहिले पनि हाम्रो बलियो पक्ष बलिङ देखिएको छ । हाम्रो ब्याटिङ र बलिङ दुवै बलियो छ जस्तो मलाई लागिराछ ।’

सुदूरले अझ शनिवार विराटनगर किंग्ससँग लिगको अन्तिम खेल खेल्न बाँकी छ । क्वालिफायर वानमा खेल्ने अपोनेन्टको टुङ्गो पनि सम्भवत त्यही खेलको नतिजापछि नै थाहा हुन्छे । प्लेअफअघि सुदूरपश्चिमलाई त्यो खेल तयारीको लागि राम्रो मौका पनि हुनेछ ।

सुदूरपश्चिमले पछिल्ला दुई खेलबाट बेन्चमा रहेका अन्य खेलाडीहरुलाई समेत अवसर दिँदै तयारि अवस्थामा राखेको छ ।

पहिलो संस्करणमा फेभरेट हुँदा हुँदै पनि फाइनलमा जनकपुर बोल्ट्सँग पराजित हुँदा उपविजेतामा समेटिएको थियो । दोस्रो संस्करणमा विजेता नै बन्ने लक्ष्य लिएर आएको सुदुरपश्चिमले अहिले गज्जबको प्रदर्शन गरिरहेको छ ।

चल्यो क्रिस लिनको ब्याट

यसअघि वान डाउनमा ब्याटिङ गर्दै आएका क्रिस लिनले चितवन विरुद्ध जोश ब्राउन नखेलेपछि भने विनोद भण्डारीसँग ओपनिङ गरेका थिए ।

एक छेउबाट विकेट गइरहेपनि क्रिस लिनले अर्को छेउ सम्हाले । उनले १७औं ओभरको अन्तिममा रिटायर हर्ट हुनुअघि ५६ बल खेल्दै ७५ रन बनाए । जसमा ५ चौका र ३ छक्का सामेल थियो ।

पहिले जस्तो आक्रमक नदेखिएपनि उनले स्ट्राइक रोटेट गर्दै इनिङ्स बिल्ड गरेका थिए । पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरेको लिनले तेस्रो विकेटका लागि पुनित मेहरासँग ३८ रनको साझेदारी गरे । यस्तै पाँचौ विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरे ।

लिनले यसअघि ५ खेलमा जम्मा ६८ रन बनाएका थिए । त्यसमा पोखरा विरुद्ध बनाएको ३१ रन व्यक्तिगत उच्च थियो । तर आज चितवन विरुद्ध भने उनको ब्याट चल्यो । ओपनिङ देखि नै खेल्ने अवसर पाए र एकै खेलमा ७५ रन जोडे । लिन ६ खेलबाट १४३ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा समेत १२औं स्थानमा उक्लेका छन् ।

लिनलाई ब्याटिङमा साथ दिएका विनोदले २१ रन र पुनितले १३ रन जोडे । त्यसपछि आरिफ र कप्तान दीपेन्द्र सिंह ऐरीले समान २४ रन बनाए । दुवै अविजित रहे । दुवैले आक्रमक ब्याटिङ गरे । दीपेन्द्रले १४ बल खेल्दै २ छक्का प्रहार गरे । १६ बल खेलेका आरिफले २ चौका र १ छक्का प्रहार गरे ।

सुदूरले दिएको १७० रनको लक्ष्य पछ्याउँदा चितवनले सुरुवातदेखि ने विकेट गुमायो र १७ बल अघि नै १२० रनमा अलआउट भयो ।

ब्याटिङ मात्र नभएर बलिङमा पनि सुदूरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । त्यसमा कप्तान दीपेन्द्रसहित अन्य खेलाडीको फिल्डिङ पनि उत्कृष्ट रह्यो । सुदूरको बलिङ र पिल्डिङ अघि चितवनका कुनै पनि खेलाडीले ३० रनको आँकडा छुन सकेनन् । रबि बोपाराले २९, देव खनालले २८, अर्जुन साउनले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न समेत सकेनन् ।

बलिङमा कुनै खेलाडी स्टान्ड आउट नखेदिएपनि कप्तान दीपेन्द्रले अवस्था अनुसार बलर चेन्ज गरेका थिए । यसअघि उत्कृष्ट बलिङ गर्दै आएका स्कट कुगेलेइन र हर्मित सिंहले आज विकेट लिन नसकेपनि अन्य बलरबाट दीपेन्द्रले विकेट निकाले । आफैले बलिङ सुरुवात गरेका दीपेन्द्रले ३ ओभरमा ९ रन मात्र दिएर १ विकेट लिए । उनले डिरेक्ट हिटमार्फत डाविड मलानलाई रनआउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

यस्तै आजै एनपीएलमा पहिलो खेल खेलेका पुनित मेहराले २.१ ओभरमा १४ रन मात्र खर्चेर ३ विकेट लिए । ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हिक्मत महराले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । गत वर्ष सुदूरपश्चिमबाट खेल्दै बेस्ट प्लेअर बनेका चितवनका सैफ जैबलाई हिक्मतले एनपीएल डेब्यु खेलमा आउट गरे । अविनाश बोहराले सर्वाधिक रन बनाएका बोपारा र इशान पाण्डेले कप्तान कुशल मल्लको विकेट लिए । दीपेन्द्रको डिरेक्ट हिटसहित सुदूरपश्चिमले तीन रनआउट गरेको थियो ।

यसले पनि सुदूरपश्चिमले एउटा कम्प्लिट गेमको उदाहरण देखाएको पुष्टि हुन्छ ।

दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी

दीपेन्द्र सिंह ऐरीले चितवन विरुद्ध अविजित २४ रन बनाए । बलिङमा १ विकेट लिए । फिल्डिङमा सानदार रनआउट गरे अनि आफ्नो ट्रेडमार्क समरसल्ट सेलेब्रेसन हाने ।

समर्थकहरु दीपेन्द्रले कुन बेला समरसल्ट गर्छन् भनेर प्रतिक्षा गरिरहेका हुन्छन् । उनले आज भने मलानलाई रनआउट गर्दै पहिलो विकेट लिएपछि नै सेलेब्रेसन गरे । सायद त्यो नै महत्वपूर्ण विकेट लागेर होला । त्यसपछि दीपेन्द्रको समरसल्टको आवश्यकता पनि परेन । बाँकी काम अरुले पूरा गरे । दीपेन्द्रले अर्जुन साउदलाई आउट गर्दै विकेट पनि लिएका थिए ।

खेलपछि प्रशिक्षक टमाटाले दीपेन्द्रको खुलेर तारिफ गरे । टमाटाले यसरी प्रशंसा गरेको यो पहिलो पटक भने होइन । दीपेन्द्रले राष्ट्रिय टिममा डेब्यु गर्दा होस् या यू१९ टिमा उत्कृष्ट प्रदर्शन गर्दा होस् तारिफ पाइरहेका छन् ।

बिहीबार चितवनलाई हराएपछि पनि टमाटाले फेरि एक पटक दीपेन्द्रको प्रंशामा शब्दहरु खर्चिए । ‘दीपेन्द्रलाई म एकदमै सलुट गर्छु । यू-१९ देखि मैले उसलाई हेरेको हो । उसको जुन इनर्जी छ म भन्छु फरक खालको प्लेअर हो,’ टमाटाले पोष्ट म्याच कन्फेरेन्समा भने, ‘म त गड गिफ्टेड प्लेअर भन्छु । त्यस्तो प्लेअर जन्मन धैरै गाह्रो पर्छ।’

यस्तै दीपेन्द्र मैदान भित्र र बाहिर पनि उत्कृष्ट रहेको कप्तानी पनि उत्कृष्ट रहेको टमाटाले बताए । ‘उनले अन दि फिल्ड, अफ दि फिल्ड दुवैमा कभर गरेको छ । उसको कप्तानीको जति तारिफ गरेपनि कम हुन्छ । जतिखेर बलिङ चेन्ज गरेको छ विकेट आएको छ’ टमाटाले भने, ‘एउटा ब्रिलियन्ट फिल्डर हो र नेपालको लागि र विश्वमै पनि । आज पनि हेर्नुभयो, विकेटलाई हिट गरेर मोमेन्टम चेन्ज गरेको छ । नेपालले त्यस्तो प्लेअर पाउनु गर्वको कुरा हो र हाम्रो वान अफ दी बेस्ट क्याप्टेन हो ।’

यस्तै टमाटाले विदेशी र नेपाली खेलाडीको तालमेल मिलिरहेको र त्यसले नतिजा पनि आएको बताए । ‘विदेशी र नेपाली खेलाडीको तालमेल मिलेको छ । हरेक म्याचमा फरक प्लेअर अफ दि म्याच छ त्यसले पनि टिमवर्क छ भन्ने देखिन्छ’ उनले भने, ‘नेपाली खेलाडीले प्रदर्शन गरेको छ र म धेरै खुशी छ । नेपालीले नै राम्रो प्रदर्शन गर्ने हो र त्यसमा विदेशीले सपोर्ट गर्ने हो ।’

यस्तै ट्यालेन्ट हन्टबाट आएका हिक्मतको पनि टमाटाले तारिफ गरे । ‘हिक्मतलाई ट्यालेन्ट हन्टबाट ल्याएका थियौँ । एउटा चान्स दियौं, उसले आफ्नो रोल पनि निभायो । उसले बल फाल्यो, विकेट लियो, सेलेब्रेसन पनि गर्‍यो राम्रो भयो,’ टमाटाले भने, ‘उ पनि नेपाली क्रिकेटको फ्युचर हो ।’

टमाटाले एक पटकमा एक म्याच सोचेर जाने र बेटर भन्दा बेटर क्रिकेट खेल्ने बताए । यस्तै टिममा धेरै जस्तो सुदूरपश्चिमको खेलाडीहरु भएकोले पनि फ्यानसँग धेरै अट्याचमेन्ट भएको प्रतिक्रिया दिए ।

एनपीएल क्रिस लिन जगत टमाटा दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम रोएल्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय