News Summary
Generated by OK AI. Editorially reviewed.- हेटौंडाको मुख्य बजार सडक सीमा क्षेत्रभित्र ५ सय ३१ घरटहरा भत्काएर राष्ट्रिय राजमार्ग विस्तार गर्ने तयारी भइरहेको छ।
- व्यवसायीहरूले सामानमा विशेष छुटसहित 'सेल' चलाएका छन् र बजारमा भीड बढेको छ।
- सडक डिभिजनले २० मंसिरदेखि सडक विस्तारका लागि सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी गरेको छ।
१८ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजारका सडक सीमा क्षेत्रभित्र निर्मित घरटहरा हटाउँदै सडक डिभिजन हेटौंडाले राष्ट्रिय राजमार्ग विस्तार गर्ने भएपछि व्यवसायीहरुले ‘सेल’ चलाएका छन् ।
बजार क्षेत्रका व्यवसायीहरुले सामानहरुमा सामान्य दिनको तुलनामा सस्तोमा बिक्री थालेका छन् ।
फर्निचर, कपडा तथा जुत्तालगायातका सामानहरुमा मूल्य घटाएर विशेष अफर, छुट भन्दै ‘सेल’ लगाइएको हो । सस्तोमा सामान पाइने भएपछि बजारमा थामिनसक्नु भीड लागेको छ ।
सर्वसाधारणको भीडले सीमाचोक, बुद्धचोक, पिपलबोटचोक, राप्तिरोडका दुवै सडक पेटीहरु भरिभराउ भएका छन् ।
भीड सडक छेउबाटै हिँड्डुल गर्न थालेपछि बुद्धचोक र राप्तिरोडमा ट्राफिक व्यवस्थापनमा कठिनाईसमेत भएको छ । सडक पेटीमै राखेर सामानहरु बिक्री भइरहेको छ ।
व्यवसायीहरू हाते माइक लगाएर ग्राहक बोलाउँदै गरेको दृश्य देख्न सकिन्छ ।
तयारी पोशाक व्यवसायी तेजराज अधिकारीले सडक भत्किने त्रासमा व्यवसायीहरूले सामान कटाउन सेल चलाएको बताउँछन् ।
२०७३ यता चार पटकसम्म सूचना निस्किएर पनि उच्च अदालत पाटन र सर्वोच्च अदालतमा मुद्दा परेकोलगायतका कारणले सडक विस्तार हुन सकेको थिएन । घरधनीहरूले हालेको मुद्दामा सर्वोच्च अदालतले विसं २०८० सालमै गरेको फैसलालाई टेकेर सडक डिभिजनले सडक विस्तारको सूचना ५ मंसिरमा निकालिसकेको छ ।

सडक विस्तारको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालयले सबै तयारी पूरा गरिसकेको जानकारी दिएको छ । घरधनी र व्यवसायीहरू मुआब्जा र क्षतिपूर्ति माग्दै प्रदर्शनमा उत्रिएका छन् । प्रशासनले प्रदर्शन नगर्न सूचना नै जारी गरेको छ ।
२० मंसिरदेखि हेटौंडा बजारको सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम अगाडि बढाउने डिभिजनको तयारी छ ।
सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म गरेर ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ ।
सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको डिभिजन प्रमुख अधिकारीले जानकारी दिएका छन् ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ गरी दुई वटा राजमार्गको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुनेछ ।
तस्वीरहरू : नवीन तिमल्सिना/अनलाइनखबर

प्रतिक्रिया 4