
कुरो हो यो कहीं कहिल्यै नभएको र शायद कहीं कहिल्यै नहुने पत्रकार सम्मेलनको । सम्मेलनहीन सम्मेलनमा लिन्ठिङ्ग दुई जना थिए । आयोजकतर्फबाट थियो मकर विश्वकर्मा, पत्रकारतर्फबाट टलक धमला ।
मकर थियो नेकपा (डी)को प्रवक्ता, टलक थियो राजधानी शहरभरि बटारे भनिकन कहलिएको पत्रकार । प्रवक्ता माथि मण्डपमा बसेको थियो, पत्रकार तल दर्शकथलोमा । दुवैका हातमा सशक्त माइक्रोफोन थिए । भित्तामा गाढा रातो कपडामा सेता अक्षरमा लेखिएको थियो— ‘नेकपा (डी)को नूतन अर्थ कोरल्ने महान् ऐतिहासिक पत्रकार सम्मेलन ।’
प्रवक्ता मकर ‘डी’ले हल घन्किने माइकमा वक्तव्य शुरु गर्यो, ‘आदरणीय पत्रकारगण……।’
बहुवचनसूचक ‘गण’ शब्द कानमा पर्दा एकल पत्रकार टलक हल्केलाले मुख छोपेर फिस्स हाँस्यो ।
टलकको खिसीटिउरीमय मुस्कानको पर्वाह नगरी मकरवाणी जारी रह्यो, ‘पत्रकारगण, नेकपा (डी)को ‘डी’ अभिवादन । नेकपा (डी)को यो नयाँ औतारबारे यहाँहरू अवश्य अवगत हुनुहुन्छ भन्ने मेरो अटल विश्वास छ ।

नेपाली कम्निस्ट आन्दोलनमा नितान्त नयाँ सभ्यताको द्वार खुलेको छ । यो ‘डी’ सभ्यता हो । विरल एवम् गरिमामय ‘डी’ सभ्यता शुरु हुँदा राजधानी शहरमा यत्रतत्र यसको जयजयकार हुनुपर्थ्यो ।
लहर–लहर भई सर्वत्र बधाई जुलुसको लर्को निस्कनुपर्थ्यो । विडम्बनावश त्यस्तो केही भएन । यसको अर्थ हो- मान्छे संवेदनाहीन र जडवत् भएको छ । मान्छे नाथेका जर्जर चित्तमा ‘डी’को झल्झलाकार आविष्कारले धरी छोएन । त्यसैले गर्दाहुँदी….’
प्रवक्ता मकर ‘डी’ले भाले मुर्गाले झैं मुन्टो बङ्ग्याएर यसोक्क सिलिङतिर हेर्यो । अनि लहडी धुनमा, उच्च स्वरमा, मानौं आफैंलाई सुनाउँदै भन्यो— ‘लौ आयो हाम्रो नितान्त नूतन ‘नेकपा ‘डी’ !’
टलकलाई शंका लाग्यो, मिस्टर मकर ‘डी’ हल्का खुस्केट पो हो कि !
‘पत्रकारगण’ मकर ‘डी’ले उत्साह लत्रिए जस्तो स्वरमा कुरो तन्कायो, ‘नवजात ‘डी’बारे चुरो कुरो जान्न पत्रकार ओइरिएलान् भन्ने कत्रो आश थियो, उपस्थित हुनुभयो जम्मा तपाईं टलक एक जना । तर केही छैन ।
नेकपा ‘डी’का दृष्टिमा भीड केही होइन, गाँठी कुरा ल्याकत र गुण हो । तपाईं टलक धमलामा म जगतभरिका पत्रकार लाटलुट्टै एकाकार भएको देख्दैछु ।
खासमा हुनुपर्ने यस्तो हो ! टलकजी, नेकपा ‘डी’बारे जे–जे सोध्नु छ, समस्त पत्रकारको केन्द्रको रुप धारण गरेर निसङ्कोच र भयमुक्त भई दिल खोलेर सोध्नोस् । र, मेरो सविनय निवेदन छ— नेकपा ‘डी’बारे छर्लङ्ग हुने गरी लट््ठक जगतलाई बुझाइदिनोस् ।’
बल्ल टलकको बक् फुट्यो, ‘माफ गर्नुहोला मिस्टर मकर ‘डी’, तपाईंको यो ‘डी’बारे मलाई फिटिक्कै थाहा थिएन । तपाईंका मुखबाट पहिलोचोटि अहिले सुन्दैछु । त्यसैले पहिले यो ‘डी’को रचनागर्भबारे सुनम्, मनमा केही प्रश्न उठे त्यसपछि सोधम्ला ।’
एकल टलकका कुरा सुन्दा मकर ‘डी’को चित्त चसक्क दुख्यो । आहत चित्त मुसार्दै उसले भन्यो, ‘डी’को जन्म भएको हाम्रो पार्टीका महासचिव कमरेड रणवीर नेपालको सिर्जनशील मस्तिष्कमा हो । कुरो किञ्चित नाटकीय छ ।
कसैलाई केही नभनी महासचिव कमरेडको मौनव्रत शुरु भयो । बसाइको शैली पद्मासन, मुद्रा अति गम्भीर, वाणी बिल्कुल मौन— कमरेड महासचिव रणवीर नेपाल तपस्यामा लीन हुनुभयो । न एक थोपो जल, न एक गाँस अन्न, केवल हावाको भरमा कमरेड महासचिवका हप्ता दिन बिते । हाम्रो यावत पार्टी पङ्क्ति चिन्तातुर भयो ।
कमरेड महासचिव रणवीरले तपस्यामै देह त्याग गर्ने पो हुन् कि ? हप्ता दिनपछि कमरेड महासचिव रणवीरको अनुहार धपक्कै बल्यो । र, हाम्रा प्रतिभाका खानी भनिन लायकका कमरेड महासचिवको वाणी फुट्यो ।
कमरेड महासचिव ‘युरेका, युरेका’ भन्दै उत्तेजित र पुलकित स्वरमा चिच्याउनु भो । कार्यकर्तागण विलखबन्द भयो । हन, के हो यो ‘युरेका’ ? कतै तपस्याको प्रभावले कमरेड महासचिवको दिमागको कायाकल्प भएको त होइन ?
बुझ्न खोज्दा कुराको गुह्य खुल्यो । ‘युरेका, युरेका’ भनेको ‘फुर्यो, फुर्यो’ भने जस्तो रहेछ । कमरेड महासचिव रणवीर नेपालका चित्तमा तपस्याको प्रतापले ‘डी’ फुरेछ । नूतन ज्ञानले सज्जित कमरेडश्रीको व्याख्या अनुसार ‘डी’ नयाँ सभ्यतासूचक चमत्कारी तत्व रहेछ । ‘डी’ फुरेछ र नेपाली कम्निस्ट आन्दोलनमा नयाँ सभ्यताको जन्म भएछ । जगतमा यसअघि कतै नभएको ‘डी’ सभ्यताको !
कमरेड महासचिव रणवीर ‘डी’ले दिग्विजयी मुद्रामा उद्घोष गरेछन्— ‘कमरेडहरू हो, आजका मितिले हामी सबै ‘डी’ भयौं ।’ अब थरलाई कट गरी खाली ठाउँमा हामी सबै ‘डी’ लेख्छौं । थर परम्परागत रुढी हो । थर हाम्रा शिरमाथि बलात् थोपरिएको थोत्रो बोझ हो । थरको सट्टा लेखिने ‘डी’ नूतन चीज हो । ‘डी’ बोझमुक्ति हो । ‘डी’ नयाँ सभ्यताको दीप हो । ‘डी’ अगतिग्रस्त जीवनमा फटाफट अग्रगति हो ।’
मकर ‘डी’ भन्दै गयो— ‘कमरेड महासचिव ‘डी’ले हामीलाई सोध्नुभयो— मेरो यो नूतन सोच र आविष्कारबारे कमरेडहरूको राय के छ ? थरको सट्टा ‘डी’, विश्वलाई नयाँ सभ्यताको उपहार, अगतिमा फटाफट अग्रगति आदि ।’
हामी सारा कमरेडले करतल ध्वनिले महासचिव कमरेड रणवीर ‘डी’को ‘डी’ नामक नूतन आविष्कारलाई सर्वसम्मतिले सदर गर्यौं ।
चुपचाप सुनिरहेको पत्रकार टलकले वचनको तीर हान्यो— ‘विना जिज्ञासा, विना सन्देह, विना प्रश्न, विना तर्क, विना वादविवाद आँखा चिम्लेर ‘डी’लाई सर्वसम्मतिले सदर गरियो, कि कसो कमरेड मकर ‘डी’ ?
मकर ‘डी’ले भक्तिमुखी भाकामा उत्तर दि- ‘कमरेड महासचिव रणवीर ‘डी’ले त्यत्रो तपस्या गरी सोचेपछि हामीले सोच्ने कुरै के बाँकी रह्यो र ? त्यसैले हामीले एक मनले, एक मतले, सर्वसम्मतिले ‘डी’लाई सदर गर्यौं ।’
‘माफ गर्नुहोला मकर ‘डी’, पत्रकार टलकले घोचपेचकारी भाकामा भन्यो, ‘यहाँनेर मलाई भेडाको एउटा बगालको याद आयो ।’
टलकले भेडागणको अधोगतिको दु:खद् कथा सुनायो । अगाडिको भेडो चर्दै भीरको टुप्पोमा पुग्यो । आखिर भेडो न हो, त्यो भीरबाट उँधो मुन्टियो । ऊपछिको भेडो उसैको सिको गर्दै उँधो मुन्टियो ।
अनि ऊपछिको मुन्टियो, अनि ऊपछिको, अनि सबभन्दा पछिको । सकल भेडाको यो उँधो मुन्ट्याइ पनि त विना जिज्ञासा, विना सन्देह, विना प्रश्न, विना तर्क, विना वादविवाद एक मनको, एक मतको र सर्वसम्मतिको उँधो मुन्ट्याइ हो नि ! कि कसो कमरेड मकर ‘डी’ ?’
टलकको तीरको ताजनले रन्थनिएको मकर ‘डी’का कुम घ्याच्च धसिए । टलकले कुरो घुमाएर ‘तिमीहरू दोपाया भेडाका बगाल हौ’ भन्दा मकर ‘डी’ झन्डै फ्यान्ट भयो । तैपनि उसले आफ्नो अन्धभक्तिमय जिद्दी छाडेन— ‘अहो ! महान् आविष्कारक कमरेड महासचिव रणवीर ‘डी’को बुद्धिको ताछिल्य !’
टलकले हाई काढ्यो, कुम हल्लायो र घाँटी मर्याक्क पार्यो । अनि अल्छी मान्दै सोध्यो— ‘कमरेड मकर ‘डी’, ‘डी’ नामक तोत्रको अरू केही विशेषता छ कि ?’
‘किन नहुनु’ मकर ‘डी’ले हौसिंदै भन्यो, ‘विशेषता कति छन् कति ?’
‘एक–दुईवटा सुन्न पाएहुँदी…’ टलकले भुत्ते जिज्ञासा प्रकट गर्यो ।
‘महासचिव ‘डी’ले भन्या’ मकरले रटिरटाउ पाठ सुनायो, ‘नेपाली कम्निस्ट आन्दोलन बासीहरूको दास भयो । बासी विचारको, बासी कार्यनीतिको, बासी रणनीतिको, बासी कार्यशैलीको, बासी संस्कृतिको, बासी संस्कारको दास । हाम्रो आफ्नो न केही स्वत्व भयो, न केही निजत्व भयो । हाम्रो क्रान्ति किन अधुरो रह्यो ? मौलिक चिन्तन नभएर ।
हाम्रो शिल्पी समूह किन मुक्त भएन ? मौलिक नाम नभएर । जगतमा नेपालको नाम किन चम्किएन ? हामीले जे पनि अर्काको जडाउरी भिरेर ।’ केही सम्झिन खोज्दै मकर ‘डी’ पलभर अडियो । अनि भन्दै गयो– ‘कमरेड महासचिव ‘डी’ले भन्नु भा’— ‘डी’ हाम्रो मौलिक चिन्तन हो । ‘डी’ हाम्रो मौलिक आविष्कार हो ।
अब नेकपा ‘डी’ले विश्वलाई ‘डी’ सभ्यताको उपदार दिने भो । अब हाम्रो अधुरो क्रान्तिले पूर्णता प्राप्त गर्ने भो । अब नेपाली जातिका सुखका दिन आउने भए । अब जगतमा नेपालको नाम चम्किने भो ।’
मकर ‘डी’ले भित्तामा विद्युतीय चित्रहरू देखाउँदै बयान गर्यो— ‘हेर्नोस् है टलकजी । यी हाम्रा केही नूतन गतिविधिका चित्र हुन् ।’
बाबासाहेब अम्बेडकरलाई पिट्न खोजे जस्तो एउटा चित्र थियो । टलकले उत्कट खुल्दुलीसाथ सोध्यो, ‘मकर ‘डी’, नेकपा ‘डी’ले बाबासाहेब अम्बेडकरमाथि हातपात गर्न खोज्या हो ?’
मकर ‘डी’ले सकार्यो— ‘हो भने पनि हुन्छ ।’
‘किन ?’ किञ्चित् आक्रामक लवजमा टलकले सोध्यो ।
‘किनभने अम्बेडकरको नाम ठूलो, काम फासफुसे हो ।’
‘किन ?’
‘किनभने यी मान्छेले शिल्पी समूहहरूलाई ‘दलित’ भनेर अपमानित गरे ।’
‘चर्को दलनमा पारिएकाहरूलाई दलित नभनेर के बिष्ट भन्ने त ?’
टलकको प्रश्न सुन्या नसुन्यै गरी मकरले भन्यो— ‘नेकपा ‘डी’ले दलितलाई यो अपमानबाट मुक्त गरिदियो ।’
‘कसरी ?’
‘नाम फेरेर ।’
‘के नाम फेरेर ?’
‘सुन्नु भा’ छैन ? नेकपा ‘डी’ले शिल्पी समूहहरूलाई ‘माटिकोरे समूह’ भन्न थालेको छ नि !’
‘माटिकोरे रे ? त्यो भन्या के हो ?’
‘त्यो भन्या माटो खोस्रिखाने अर्थात् गरिखाने समूह हो ।’
‘धइत्’ टलकको अनुहारमा उपहासको भाव झल्क्यो, ‘उट्पट्याङ कुरा !’
‘यो उट्पट्याङ कुरा होइन, पत्रकारज्यू’ किञ्चित् कडा स्वरमा मकर ‘डी’ले नकार्यो, ‘यो नेकपा ‘डी’को नौलो आविष्कार हो ।’
टलकले अडान छाडेन । ‘जानिफकारहरू ‘दलित’ शब्दमा शिल्पी समूहहरूको इतिहास बोल्छ, पीडा बोल्छ, जागरण बोल्छ, संगठन बोल्छ, विद्रोह बोल्छ, मुक्तिको सपना बोल्छ भन्छन् त ।’
‘नेकपा ‘डी’ भन्छ— यो हावा कुरा हो । अम्बेडकरले के गरे, नेकपा ‘डी’को निचोड सुन्नुहुन्छ ? तिनले शिल्पी समूहहरूलाई ‘दलित’ शब्दमा अड्काएर इतिहासको बीच बाटोमा अलपत्र छाडिदिए । अब के हुन्छ, थाहा छ ? अब नेकपा ‘डी’को नेतृत्वमा ‘माटिकोरे’ नामले शिल्पी समूहहरूले छिटै मुक्ति प्राप्त गर्ने कुुरा शतप्रतिशत निश्चित छ ।’
टलक खितित्त हाँस्यो ।
मकर ‘डी’ वाल्ल पर्यो ।
अर्को चित्रबारे टलकले प्रश्न गर्यो, ‘त्यो चौपायामाथि खुकुरी उजाएको चित्र के हो नि ?’
‘ए त्यो ?’ प्रश्न सुनेर मकर ‘डी’को फूर्ति बढ्यो । आफ्नै बोलीबाट आनन्दित हुँदै उसले भन्यो, ‘त्यो नेकपा ‘डी’को फार्ममा पालेको जङ्गी धराने कालो च्वाँचे नेकपा ‘डी’ले सान लाएको सिरुपाते खुकुरीले नेकपा ‘डी’का हातले एकै चोटमा चिर्लिक्क पारेको चित्र हो ।’
टलक चकित भयो । धराने च्वाँचे एकै चोटमा चिर्लिक्क ! कसरी ?
‘मकर ‘डी’, ढाडमा कि गर्धनमा चिर्लिक्क ?’ ओठबाट फुत्किन लागेको हाँसो मुश्किलले रोकेर टलकले सोध्यो ।
‘गर्धनमा नि !’ शब्द–शब्दमा जोड दिंदै मकर ‘डी’ले जवाफ दियो, ‘गर्धनमा एकै चोटमा चिर्लिक्क ।’
‘गजप !’ टलकले हत्केलामा हाँसो लुकाएर भन्यो ।
फुर्किएको मकर ‘डी’ले कुरो टुङ्ग्याउँदै भन्यो, ‘च्वाँचेलाई मुटुमा भाला रोपेर मारिन्थ्यो । बरा अबोध च्वाँचेलाई कति दुख्थ्यो ? अब च्वाँचेले चालै नपाई चिर्लिक्क । पशुबधको कलामा नेकपा ‘डी’को कल्याणकारी आविष्कार हो यो ।’
प्रसङ्ग बदल्दै टलकले सोध्यो, यो ‘डी’ले जनाउने अर्थचैं के हो मकर ‘डी’ ?
‘डी’ एकअर्थी, एकरेखीय, एक आयामिक रुढी होइन; मकर ‘डी’ले माने खुलायो । ‘यो भनाइ मेरो होइन । केवल भन्ने मुख मेरो हो, विचार हुबहु कमरेड महासचिव रणवीर ‘डी’को हो । कमरेड महासचिव ‘डी’ले भन्नु भा’— ‘कोण हेरी ‘डी’को माने अनेक हुनसक्छ । जस्तो कि ‘डी’ माने डेभलपमेन्ट अर्थात् विकास ।’
‘डाङडुङे क्रान्तिको कोणबाट ‘डी’को माने ‘डन’ अर्थात् स्वर्गीय कुमार घैंटे हुनसक्ला, कि कसो मकर ‘डी’ ?’ टलकले कुरा बटार्यो ।
हँ ? यसबारे कमरेड महासचिव ‘डी’ले केही भनेका छैनन् त । मकर ‘डी’ अलमलियो ।
मौका छोपेर टलकले पेल्यो, ‘सांस्कृतिक कोणबाट ‘डी’को माने ‘डमडम डिगाडिगा हुनसक्ला, कि कसो मकर डी ?’
मकर ‘डी’ झन् अलमलियो ।
टलकले अझ पेल्यो, ‘ध्वंसको कोणबाट ‘डी’को माने डिस्ट्रक्शन हुनसक्ला, कि कसो मकर ‘डी’ ?’
मकर ‘डी’ झन्–झन् अलमलियो । उसलाई आपत् पर्यो । दौडेर उत्तर सोध्न महासचिव रणवीर ‘डी’छेउ जान पनि नमिल्ने । हाते फोनमा सोध्न पनि नमिल्ने । मकर ‘डी’लाई मैदान छाडेर भागूँ–भागूँ लाग्यो । आतेसको भावमा मकर ‘डी’ले भन्यो, ‘सम्मेलन यहीं तुरुँ कि पत्रकार टलकज्यू ।’
‘प्रश्न डल्लै बाँकी छन् मकर ‘डी’ !’ टलकले मैदान छाडेन ।
‘अब अन्तिम प्रश्न है त’ मकर ‘डी’ हतारियो ।
‘न्वारानको नामले तपाईं मकर विश्वकर्मा । विश्वकर्मालाई काटेर खाली ठाउँमा ‘डी’ राख्दा के फरक पर्यो ?’
‘तमास फरक पर्यो ।’
‘के तमास ?’
‘विश्वकर्मालाई मिल्काएर ‘डी’ राख्दा मेरो शिरबाट परम्पराको पर्वत मिल्काएजस्तो भो । जीउ हलुङ्गो भो । मन चङ्गा भो । हृदय पुलकित भो ।’
‘यी वचन कमरेड महासचिव रणवीर ‘डी’का हुन् कि कमरेड मकर ‘डी’का हन् ?’ टलकले प्रश्नको झीरले मकरको चल्ली ताक्यो ।
प्रश्न सुनेर मकर ‘डी’ निस्तेज भयो, निरुपाय भयो, फ्याँ भयो ।
‘लु अब टुङ्ग्याऔं’ हतारिंदै र अत्ताल्लिंदै मकर ‘डी’ उठ्यो ।
एकल अटल लहरे हाँसो हाँस्यो ।
हाँसोको आघातले मकर ‘डी’ सातो गएजस्तो भयो । मौका यही हो भनेर टलकले मकर ‘डी’को झाँको झार्ने विचार गर्यो । मुख बिगार्दै उसले भन्यो, ‘मान्छे खुट्टा टेकेर उभिन्छ, त मैले नेकपा ‘डी’ मुन्टो टेकेर उभिएको देखें ? कि कसो मकर ‘डी’ ?’ मकर ‘डी’ले बोल्नै नपाई टलकले पेल्यो— ‘नाममा ‘डी’को पुच्छर गाँस्दैमा कोही जान्ने, सभ्य, असल हुन्छ ? नाम फेर्दैमा व्यक्ति वा वस्तुको भित्री सार फेरिन्छ ? भित्री सार फेर्न त जीवनको जटिल अवस्था पो फेर्नुपर्छ । यथार्थ अवस्थासँगै व्यक्ति वा वस्तुको आन्तरिक सार पो फेर्नुपर्छ ।’
मकर ‘डी’ अवाक् भयो ।
‘उत्पाती डन स्वर्गीय कुमार घैंटेले आफ्नो नाममा ‘डी’जस्तै ‘सुशान्त’को पुच्छर गाँस्यो रे लौ । मिस्टर घैंटे अब विश्वमा शान्तिको सन्देश फिंजाउने शान्तिदूत भइहाल्छ त मकर ‘डी’ ?’
मकर ‘डी’लाई खलखली पसिना आयो । टलकका पन्जाबाट फुत्किने दाउ रच्दै उसले विन्ती बिसायो, ‘सम्मान्य पत्रकार टलकज्यू, म महासचिव कमारेड रणवीर ‘डी’सँग तपाईंको भेट गराइदिन्छु । बाँकी प्रश्न उतै सोध्नोस् ।’
सिलिङबाट वार्तालाप सुनिरहेको माउसुली अट्टहासको लयमा हाँस्यो । माउसुलीको हाँसोमा साथ दिंदै पत्रकार टलक यति जोडले हाँस्यो कि माउसुली डरले पुच्छर छाडेर सुइत्त भाग्यो । माउसुलीको पुच्छर खसेर कमरेड मकर ‘डी’का नाकबाट तुन्द्रुङ्ग झुन्डियो ।
प्रतिक्रिया 4