२९ वैशाख, काठमाडौं । यस वर्ष मनसुनजन्य विपदबाट देशभर झण्डै २० लाख जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ४ लाख ५७ हजार १४५ घरधुरीका ९१ लाख ९७ हजार ७३१ जना प्रभावित हुने आकलन गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने आकलन गरेको छ ।
विगतको तुलनामा कम वर्ष हुने सम्भावना भए पनि सरदर तापक्रम वृद्धि हुन सक्ने आकलनले केही उच्च हिमाली स्थानहरुमा हिमताल विष्फोट भई तल्लो तटीय क्षेत्रमा बाढी पहिरो, डुबान, कटा तथा आकस्मिक बाढीको जोखिम हुने आकलन गरिएको छ ।
साथै दक्षिणी तराई भूभागमा सर्वसाधारण तातो हावाको लहरबाट समेत प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
कुन प्रदेशमा कति प्रभावित होलान् ?
विपद् प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ मा उल्लेख भएअनुसार सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश हुने देखिन्छ । लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या यस वर्षको मनसुनजन्य विपदबाट प्रभावित हुने आकलन छ ।
यसैगरी बागमती प्रदेशमा ३ लाख २७ हजार ३७६, गण्डकीका २ लाख ८७ हजार १०७, कोशीका २ लाख ७५ हजार ८६७ जना प्रभावित हुने आकलन छ ।
मधेशमा २ लाख २८ हजार ६८७ जना, सुदूरपश्चिममा २ लाख २७ हजार ७३० जना र कर्णालीमा १ लाख २७ हजार ३०८ जना मनसुनजन्य विपदबाट प्रभावित हुने आकलन गरिएको छ ।
विगत १० वर्षको अवधिमा मनसुनजन्य विपदबाट ३ हजार ७४ जनाको ज्यान गएको र ५०२ जना बेपत्ता भएको तथ्यांक छ । पहिरोबाट सबैभन्दा धेरै १ हजार ४८३ जनाको मृत्यु भएको छ । चट्याङबाट ८०५, बाढीबाट ६७८ र भारी वर्षाबाट १०८ जनाको ज्यान गएको छ ।
यस वर्ष पनि यस्तै प्राकृतिक विपद्बाट जनधनको क्षति हुनसक्ने भएकाले विपद् प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न मन्त्रालयहरुलाई जिम्मेवारी बाँडफाँट गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
समग्र नेतृत्व र समन्वय प्राधिकरणले गर्ने छ भने बन्दोबस्तीसहित खोज, उद्धार तथा राहत लगायतका कामको जिम्मा गृह र रक्षा मन्त्रालयले लिएका छन् । संघीय मामिला मन्त्रालयले शीघ्र पुनर्लाभको जिम्मेवारी दिइएको छ । यस अन्तर्गत विपद् प्रतिकार्यको अवधिमा स्थानीय तहहरुलाई मन्त्रालयले आवश्यक सहजीकरण र समन्वय गर्ने छ ।
मनसुनजन्य विपदमा प्रभावित हुने आकलन गरिएका जिल्लाहरुको जनसंख्या







प्रतिक्रिया 4