
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिरत्नपुर राज्यलाई शत्रु धरमपुरले चौतर्फी घेरिसकेको छ र नयाँ हातहतियारले आक्रमण बढाइरहेको छ।
- कालीपार नाटकले पन्ध्रौँ शताब्दीको त्रिरत्नपुर र धरमपुरबीचको युद्ध र राजनीतिक द्वन्द्वलाई प्रस्तुत गरेको छ।
- नाटकमा २० भन्दा बढी कलाकारको अभिनय छ र कथावाचनमा सफलता भए पनि वैचारिक पाटोमा निर्देशकहरूले केही कमजोरी देखाएका छन्।
कहिल्यै नहारेको त्रिरत्नपुर राज्यलाई शत्रु राज्य धरमपुरले चौतर्फी घेरिसकेको छ । सोच्दै नसोचेको इलाकाहरूबाट धरमपुरका सैनिकहरू त्रिरत्नपुरतिर अघि बढिरहेका छन् । उनीहरू कुनै पनि हालतमा रोकिने छैनन् । रातदिन नभनी त्रिरत्नपुरतिर कदम बढाइरहेका छन् ।
त्यो कुराले त्रिरत्नपुरका सैनिकहरूको आत्मबल विस्तारै गिर्दै गइरहेको छ । अधिकांश सैनिकहरू घाइते छन् । शत्रुमाथि जाइलाग्न राज्यमा स्रोत साधनको अभाव हुँदैछ । यस्तोमा त्रिरत्नपुरका कुलगुरु रंगनाथ भन्दै छन्-शत्रुले प्रयोग गरेका धनुका तीरहरू, विषहरू अहिलेसम्म मैले देखेको भन्दा कयौं गुणा कडा छ ।
अर्थात् युद्धमा नवीन हातहतियार लिएर धरमपुरका सैनिकहरू त्रिरत्नपुरतिर जाइलागिरहेका छन् । तर त्रिरत्नपुर कमजोर पनि छैन । पछिल्लो युद्धमा धरमपुरका १५ हजार सैनिकलाई मात्र ८ हजार सैनिकले पराजय गरेको थियो । तर अब सेनापति छत्र भन्दै छन् – युद्ध गर्न सकिन्न ।
तर त्रिरत्नपुर राज्यको राजसभामा जगतपुर राज्यका राजकुमार रणवीर र रत्नकोट राज्यका राजा महाराज दिक्पाल जसरी पनि युद्ध गर्नुपर्ने बताइरहेका छन् । सेनापति र सैनिकहरूलाई युद्धमा होमिन उक्साइरहेका छन् । धरमपुरका राजाको शिर आफैंले काट्छु भनेर जोशिरहेका छन् ।
000
अन्य फरक-फरक राज्य-जगतपुर, रत्नाकोट र नदीपुर मिलेर बनेको संयुक्त राज्य हो, त्रिरत्नपुर राज्य । यी तीन राज्यहरूको आ-आफ्नै विशेषता छ ।
जस्तो:घैया, मकै र कोदोको खेती हुने, सुन्तला, नासपाती, आरु जस्ता पहाडी फलफूल हुने, मृग, बँदेल, कालोचितुवा जस्ता जनावर पाइने, बाख्रा, भेडा, गाईगोरु धेरै भएको अनि तीन राज्यमध्ये सबैभन्दा प्रभावशाली राज्य हुन्छ जगतपुर । सबैभन्दा ठूलो दरबार, अन्य राज्यसँग कुटनीतिक सम्बन्ध, हरेक युद्धमा तीन राज्यको प्रतिनिधि, ठूलो किनमेलको बजार लाग्ने, दर भाउ तोक्ने, नटुक्रिँदैको राजधानी जगतपुरको थप विशेषता हुन् ।
फलाम, तामा जस्ता खनिज, साल, चिलाउने जस्ता काठ पाइने, घरेलु औजार र हतियार बनाउने, पञ्चेबाजा, नौमति बाजाका लागि पनि प्रसिद्ध, महिला योद्धा पनि सामेल गर्ने राज्य हुन्छ-रत्नकोट ।
अनि आलु, गहुँ, जौ, फापर, तोरी राम्रो फल्ने, काली र वीर खोलाले बनाएको फाँट, पहाडको फेदीमा अवस्थित, माछा, शालिग्राम र सुनका लागि प्रसिद्ध हुन्छ-नदिपुर राज्य
यसरी तीन राज्य शत्रु जसरी पनि होइन मित्र जसरी पनि होइन गरी वर्षौंदेखि मिलेर बसिरहेका छन् । उनीहरू आजको दिनसम्म आइपुग्दा कहिल्यै पनि युद्धमा हारेका छैनन् ।
000
यी राज्य र राज्यमा जाइलागेको पीर पन्ध्रौँ शताब्दी आसपासको घटना हो । जुन टेकुस्थित कौसी थिएटरमा १२ भदौदेखि मञ्चन भइरहेको ‘कालीपार’ नाटकमा देखाइएको छ ।
तुलनात्मक रूपमा नेपाली थिएटरहरूमा ऐतिहासिक नाटक कम लाग्ने गर्छन् । मिथक अथवा सांस्कृतिक महत्त्वका विषयमा बन्ने नाटक अलग्गै छन्, तर कालीपार विशुद्ध ऐतिहासिक कथामा आधारित नाटक हो । अझ यो युद्धसँग सम्बन्धित नाटक हो ।
नाटक युवा लेखक मुक्ति प्रसाद पौडेलले लेखेका छन् । उनले यसअघि समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको ‘काँचो धागो’ पनि लेखेका थिए । यसपटक प्रवीण पौडेलसँग मिलेर उनी नाटक निर्देशनमा होमिएका छन् । नयाँ तथ्य-मुक्ति र प्रवीणको यो डेब्यु नाटक हो ।
करिब डेढ घण्टा लामो नाटकमा मुक्ति र प्रवीणले विधामाथि न्याय गरेका छन् । ड्रामा, एकपछि अर्को मोड, मोडले ल्याउने नयाँ जानकारी । जुन मज्जैले मञ्चमा देखिन्छ । जसले सभामा मात्र सीमित गरिएको मञ्चलाई पट्यार लाग्न दिँदैन ।
निर्देशकहरूले यस नाटकमा कथा त्यही सभामार्फत अघि बढाएका छन् । जहाँ हुनु, नुहनु पर्ने सबै हुन्छ । तर कथा युद्धकै भए पनि दोहोरो युद्धको दृश्य कतै देखाइएको छैन । त्यस्तोमा पनि दर्शकलाई भयंकर युद्ध भइरहेको महसुस हुन्छ । जुन अब्बल निर्देशकीय विशेषता हो ।
कथा अघि बढाउन बेलाबखत घाइते सैनिकहरू सभामा छिर्छन् । उनीहरू छिर्दा नयाँ कथा र मोड पनि छिरिरहेको हुन्छ । सजिलो शब्दमा भन्दा कोर्टरुम ड्रामामा जसरी नाटकको कथावाचन गरिएको छ ।
त्यसमा थप बल पुर्याएको छ-नाटकमा प्रयोग गरिएका प्रप्सहरूले । तर ती पर्याप्त लाग्दैनन् । नाटकलाई पन्ध्रौं शताब्दीमा सेट गरिएको छ । र, त्यो सुहाउँदो पात्रका लुगाहरू डिजाइन गरिएका छन् ।
अलिकता दु:खेसो-पात्र बस्ने कुर्सीहरू त्यो समयको जस्तो लाग्दैन । राजा, युवराजहरू बस्ने कुर्सीहरू समयकाल र पद अनुसार सुहाएको जस्तो लाग्दैन । पात्रका जुत्ताहरूमा ख्याल पुर्याउँदा कुर्सीहरूमा ध्यान नदिनु कमजोरी देखिन्छ। अनि कहिलेकाहीँ उनीहरूले बोक्ने हतियार पनि खेलौंना जस्तो भान हुन्छ । प्रत्यक्ष र नाटकभर देखिने यी कुरामा निर्देशकहरूले ख्याल नगरेको भान हुन्छ ।
मञ्चमा एकातिर शाही परिवार बसेका हुन्छन् भने अर्कोतिर सैनिकहरू । तत्कालीन समयमा उनीहरूबीच अवश्य भेद हुन्थ्यो । त्यसको छनकको अभाव नाटकमा देखिन्छ ।
यद्यपि साजसज्जामा नाटक अब्बल देखिएको छ । युद्धका कारण घाइते भएका सैनिकहरूको पोशाकमा रगत लतपतिनु, तरबारले काटेको भाग वास्तविक झैं लाग्नु र त्यसको उपचार गर्ने सुसारेहरूले जीवन्त अभिनय गर्नु त्यसको प्रमाण हुन् ।
नाटकमा प्रकाशको कम प्रयोग गरिएको छ । सम्भवत: कोठाभित्र एउटा लामो दृश्य भएकाले त्यस्तो भएको हुन सक्छ । ध्वनि ठिकठाक छ । स्पिकरमा बजाइएको पार्श्वध्वनीभन्दा नेपथ्यबाट पात्रहरूले गाइरहने ‘कालीपार’ बलियो सुनिन्छ ।
कथावस्तु, अभिनय र निर्देशनीय पक्ष
एउटा बलियो राज्य हार्दै गइरहेको र राज्य विस्तारको अभियानमा आक्रमक भइरहेको अर्को राज्यको द्वन्द्व नै नाटकको कथावस्तु हो । यस्तोमा के त्यो राज्य हार्छ ? कि भयङ्कर युद्ध गरेर आक्रामक राज्यलाई परास्त गर्छ ? अथवा राजपिरवार, भारदार र तीन राज्यबीच नै केही हुन्छ ? यी प्रश्नहरूको उत्तर नै नाटकको उत्कर्ष हो ।
त्यहाँ कथा पुर्याउन नाटकमा तीन ठाउँको चर्चा गरिएको छ ।
एक, परास ।
परास त्रिरत्नपुरको छिमेकी राज्य हो । आवश्यक परेको खण्डमा कूटनीतिक सहयोग गर्न सक्ने राज्य । आफूहरू हार्न लागेको अवस्थामा पराससँग सहयोग माग्नु पर्ने त्रिरत्न राज्यका सेनाहरू बताइरहेका हुन्छन् । त्यस्तोमा खबर आउँछ-परासलाई धरमपुरले हरायो ।
त्यसपछि केहीअघिसम्म आड जस्तो बनिरहेको परास डर बनेर आउँछ । परासको हारले सभामा बबन्डर ल्याउँछ । यो राज्यका कोही पनि प्रतिनिधि मञ्चमा आउँदैनन् । तर नाम नै एउटा पात्रको रूपमा देखिन्छ ।
दोस्रो केघा राज्य ।
भञ्ज्याङ क्षेत्र भएको, जडीबुटीका लागि प्रसिद्ध यो राज्य त्रिरत्नपुर राज्य बन्ने बेलामै छुट्टिएको हुन्छ । यद्यपि यसका शासक राजा जितेन्द्रलाई त्रिरत्नपुरको दरबारमा साहारा दिइएको हुन्छ । यो पात्र मानसिक रोगी जस्तो देखिएको छ । सम्भवत: कुनै हारका कारण हुनुपर्छ । किनकि उनी बेलाबेला ‘आत्मसमर्पण आत्मसमर्पण’ भनेर बर्बराइ रहन्छन् । उनले त्यसो भन्दा गम्भीर सभामा हाँसो देखिन्छ । युनेशले निभाएको यो पात्रको भूमिका नाटकमा नुन जस्तै न्यून तर निक्खर छ ।
र तेस्रो, कालीपार । अर्थात् काली पारीको ठाउँ । हारको प्रतिबिम्ब । जहाँ हार्नेहरू मात्र जान्छन् । यो ठाउँ एक अर्थमा नर्क हो । जहाँ हरियाली छैन । उब्जाउ छैन । सुनसान छ ।
संवादका माध्यममार्फत नै यी तीन ठाउँहरूको कल्पना दर्शकहरूले गर्नुपर्छ । त्यसमा सबैभन्दा विशेष कालीपार छ । नाटकको नाम नै यसबाट राखिनु अर्को स्वभाविक कारण हो ।
किनकि अब हार घाँटीमै आइसक्दा त्रिरत्नपुर राज्यले सोच्नुपर्ने हुन्छ-कालीपार जाने कि युद्धमा होमिने ।
जगतपुर राज्यका युवराज राजकुमार रणवीरले नदिपुर राज्यका राजा नरदेवलाई कालिपारबारे वर्णन गर्दै भन्छन्, कालिपारमा तपाईं जत्रा गिद्धहरू हुन्छन् ।
भलै राजा नरदेवको कद सानो हुन्छ । तर यस्तै संवादहरूमार्फत कालीपार के हो ? त्यहाँ के छ ? के हुन्छ ? जस्ता जिज्ञासाहरू अनुमान गर्नुपर्ने हुन्छ । नाटकको मुख्य भाग अथवा ठाउँ नदेखाएर यहाँ निर्देशकहरूले दर्शकलाई गृहकार्य गर्न दिएका छन् । नाटकको अंश बनाएका छन् ।
000
नाटकमा २० भन्दा बढी कलाकारहरूको अभिनय छ । बीचबीचमा केही ठाउँ संवादमा अड्किने समस्यालाई छाड्ने हो भने सबै पात्रहरूले सशक्त अभिनय गरेका छन् ।
सागर दाहालले निभाएको कुलगुरु रंगनाथ, युनेशले निभाएको राजा जितेन्द्र, ऋषिकेश बस्यालले निभाएको सेनापति छत्र, निरज पन्थीले निभाएको राजकुमार रणवीर, आयुष्मा मगरले निभाएको राजकुमारी/सेनापति सोमा, आशिष काफ्लेले निभाएको राजा नरदेव जस्ता पात्रहरू नाटकका केही अब्बल अभिनय भएका पात्रहरू हुन् ।
त्यसमा भाषा र संवादमा केही काम गरेको भए सुनमा सुगन्ध हुन सक्थ्यो । किनकि सेट वर्षौं अघिको छ । सायद दर्शकको सहजता पनि ख्याल गरिएको हुन सक्छ । तर बेलाबेला कुलगुरु रंगनाथले बोल्ने तत्कालीन भाषाहरू प्यारो सुनिन्छन् ।
पात्रहरूकै कुरा गर्दा दुवै निर्देशकले यसमा केमियो रोल पनि गरेका छन् । जुन आफैंमा हेर्न लायक छ ।
000
समग्रमा कथा भन्न निर्देशकहरू सफल भएका छन् । तर नाटकको अन्त्यमा प्रभावशाली सन्देश दिन चुकेका छन् । किनकि अन्तिमको दृश्यले दर्शकमा अन्योलतामा छाड्छ । त्यो अन्योलता मोह र प्रेमको हो ।
राजकुमार रणवीरमा मातृभूमिको भयङ्कर प्रेम छ । तर त्यो प्रेममा सन्देह छ । खासमा उनी मात्र होइन, सबै पात्रहरूमा आफू जन्मेहुर्केको ठाउँको प्रेम छ । वर्षौंदेखिको पुर्खाहरूको रगत छ ।
तर त्यहाँ केही हुन्छ, जसले गर्दा उनीहरूले जन्मभूमिलाई प्रेम गरिरहन सक्दैनन् । खासमा निश्चित भूगोलभित्र बस्नेहरू कस्तो हुनु पर्ने हो ? जन्मभूमि प्यारो कि ज्यान ? निर्णय ठूलो कि भावनाको लय ? धोका कि भयको परिणाम ? राज्य बाहिरी कुराले कमजोर हुन्छ कि भित्री कुराले ? यस्ता प्रश्नहरूमा अन्योलता देखिन्छ ।
अन्त्यमा, कथावाचन र अभिनयमा नाटक अब्बल छ । विधागतमा रुपमा न्यायपूर्ण छ । यति हुँदाहुँदै पनि वैचारिक र दार्शनिक पाटोमा भने निर्देशकहरू चुकेका छन् ।
प्रतिक्रिया 4