+
+
Shares

मःम पसलदेखि स्टेजसम्म, यस्तो छ पूर्ण राईको सांगीतिक यात्रा

बिस्तारै-बिस्तारै उनका गीतहरू हिट हुन थाले । युट्युबमा पनि राम्रै हुन्छ । त्यसैबीच युट्युबाट उनलाई केही पैसा आउन थाल्यो ।

सापेक्ष सापेक्ष
२०८२ भदौ २१ गते ८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्ण राईले दार्जीलिङमा संगीत सिकेर धरान फर्केपछि आफ्नै घरमा म:म पसल खोले पनि असफल भएपछि इटहरीमा शिक्षकको काम थाले।
  • उनले २०६० सालमा युट्युबमा \'म\' गीत अपलोड गरी संगीतमा लागे । बिस्तारै देशविदेशमा लोकप्रिय गायक बने।
  • पूर्णले सामाजिक र व्यक्तिगत विषयमा गीत लेख्दै युवाको आवाज बनेका छन् र धरानले दुई चर्चित ब्यान्डलाई हुर्काएको छ।

लामो समय दार्जीलिङ बसेर पूर्ण राईआफ्नै घर धरान १७, गिटीडाँडा फर्केका थिए । अब फेरि उनलाई पढ्न दार्जीलिङ फर्कनु थिएन । बरु आमालाई सहयोग गर्दै आफ्नै घरमा बस्नु थियो ।

सानैदेखि पढाइमा अब्बल उनी मेहनेती थिए । आफ्नो काम निश्चिन्त भएर गर्थे । आत्मविश्वासी थिए । आफ्नो काम गर्न उनलाई कुनै लाज थिए । उनले घरअगाडि म:म पसल खोले । राम्रो मोबाइल किन्न घरमा सुँगुर पनि पाले ।

तर सोचेजस्तो म:म पसल चलेन । त्यसपछि व्यवसाय बन्द गरेर उनी इटहरीतिर हानिए ।

घरको कान्छो छोरा । दु:खमै हुर्केको विगत । सानोमा बाआमाले आफूलाई कसरी पढाएका थिए, त्यो उनले नजिकबाट बुझेका थिए ।

घरको मुख्य आम्दानीको स्रोत आमाको काम थियो । बुबा सेवानिवृत्त भइसकेका थिए । उनका बुबाआमा दुवै घोपा क्यापभित्र काम गर्थे ।

दार्जीलिङमा पढ्दा आमाले आफ्नो एटीएम कार्ड नै उनलाई दिएकी थिइन् । यता धरानमा कमाएको आमाको मासिक तलब त्यता पुग्थ्यो ।

त्यो दु:ख बुझेकाले घरको आर्थिक अभाव टार्न उनी इटहरी हानिएका थिए ।

त्यहाँ उनले एउटा निजी विद्यालयमा शिक्षक र होस्टल वार्डेनको काम थाले । ६, ७, ८ कक्षालाई अङ्ग्रेजी पढाउने र बाँकी समय वार्डेनको काम गर्ने उनको दैनिकी थियो ।

डेढ/दुई वर्ष ती काम गरेपछि उनी फेरि धरान नै फर्के ।

व्यक्तिगत अनुभवका कारण आजको समयमा पनि उनलाई प्रहरी पेशादेखि एक प्रकारको विकर्षण छ । प्रहरीहरूले गर्ने कतिपय हर्कतका कारण समाजको सुरक्षाकर्ताप्रति उनमा नकारात्मक प्रभाव परेको थियो । तर एक समय इन्स्पेक्टरमा भिड्न उनी विराटनगर पनि पुगेका थिए । भलै त्यसमा उनी छनौट भएनन् ।

आज यी केटो अहिलेको युवा पुस्ताको लोकप्रिय गायक हुन् । देशविदेश दुवैमा उतिकै लोकप्रिय, कर्णप्रिय केटो हुन् । संगीतमै लागेर उनले घरको अभावलाई पुर्न सकेका छन् । यसै क्षेत्रमा लागेर दुई तलाको घर पनि बनाएका छन् ।

ईश्वरले आफूलाई गायक बन्न पठाएको मान्ने उनी हुन्, पूर्ण राई । अर्थात् संगीतका कारण पूर्ण भएको ठिटो । धराने ब्यान्ड पूर्ण राई एन्ड दाजुभाइको अग्रपङ्क्ती । धराने संगीतको नयाँ अनुहार । नवपुस्ताको स्वर । शहरको महँगो क्याफेदेखि गाउँको चियापसलसम्म बज्ने धुन । नाइटबसदेखि क्लबसम्म बज्ने आवाज ।

000

हुर्काइ धराने परिवेशमा भयो । तर दैनिकी यस्तो थियो कि, पूर्णले आफ्नो गाउँठाउँ नै राम्ररी देख्न/हेर्न पाएनन् । स्कुल, घर, ट्युसन उनको दैनिकी थियो । यहीकारण लामोसमयसम्म उनले आफ्नो जन्म शहर धरान मजाले घुम्न पाएनन् । अलि ठूलो भएपछि त उनी दार्जीलिङ गइहाले ।

दार्जीलिङ जानु उनका लागि महत्त्वपूर्ण घुम्ती साबित भयो । कारण, त्यहाँ उनको संगीतलाई फक्रने वातावरण मिल्यो । आमाले त्यो अमूल्य गुण लगाइन्-लाहुरेहरूको शहरमा हुर्के पनि उनी लाहुरे बन्न जानु परेन । बरु एक समय संगीतप्रतिको मोह देखेर आमाले उनलाई ड्रमसेट नै किनिदिएकी थिइन् ।

ड्रमसेटसँग उनको सम्बन्ध रोचक छ ।

कारण पहिले उनी जोन चाम्लिङ राईको गीगहरू तिर ड्रम बजाउने गर्थे । त्यो पनि अनियमित रूपमा । वैकल्पिक रूपमा । त्यसबेला जोन अहिलेको जस्तो चर्चित भइसकेका थिएनन् ।

पूर्ण एकफेर माछा मार्न खोलामा पुगेका थिए । उनलाई ड्रम बजाउनु पर्‍यो भन्दै कल आयो । त्यसपछि उनी भिजेको लुगा समेत नफेरी कार्यक्रमस्थलतिर दौडिए । अनि, त्यस्तै हालतमा ड्रम बजाइदिए ।

संगीतका लागि यतिसम्म गर्ने उनले अहिले चलेका धेरै गीतहरू भने दार्जीलिङमै हुँदा लेखिसकेका थिए ।

भलै त्यो सम्बन्ध छुट्यो-तर पहिलो प्रेमको छायाँमा परेर उनले यस्ता शब्दहरू फुराए, जसलाई लाखौं युवायुवतीले महसुस गर्न सके । आफूलाई त्यहाँ पाउन सके ।

000

संगीतबाहेकका भविष्य बनाउन गरिएका प्रयासहरू असफल भएपछि उनले घरमा एउटा निर्णय सुनाए-अब म केही वर्ष संगीतमा लाग्छु । नचलाउनू ।

दु:खले पढाएको छोराले त्यस्तो भन्दा बाआमाले के सोचे होलान् ? तर त्यसपछि जे भयो, त्यो कुनै जादूयी पलभन्दा कम छैन ।

२० जुन २०१९ । उनले युट्युबमा ‘म’ अपलोड गरे । औपचारिक रूपमाभन्दा उनको पहिलो गीत । घरबाट टाढा बस्नु पर्दाको पीडा उनले गीतमा सुनाएका छन् ।

१३ अप्रिल २०२० मा अर्को गीत ल्याए बिराम । प्रेम, विछोड, भोगाइ-गीतले समेटेका विषय । २१ डिसेम्बर २०२०, मनका कुरा । प्रेमलाई अरूसँग बाँड्नुको सट्टा आफैंसँग मात्र राख्दा हुने गल्तीबारे गाइएको गीत।

बिस्तारै-बिस्तारै उनका गीतहरू हिट हुन थाले । युट्युबमा पनि राम्रै हुन्छ । त्यसैबीच युट्युबाट उनलाई केही पैसा आउन थाल्यो । सुन्न त उनले पहिल्यै सुनेका थिए- युट्युबबाट पनि कमाइ हुन्छ रे ! तर कसरी आउँछ? कहिलेकहिले आउँछ ? कति आउँछ ? केही थाहा थिएन ।

युट्युबबाट आएको त्यो पहिलो पैसा बाआमालाई थमाइदिँदा पूर्णलाई बुबाले सोधेका थिए-के यतिले तेरो जीवनभर खान पुग्छ ?

आज पूर्ण भन्दा हुन्-‘हो, बुबा पुग्दो रहेछ ।’

डेल्ली पब्लिक स्कुल‍मा पढेका पूर्णले कुनै पनि समय गायक बन्ने सपना नै राखेका थिएनन् । फुटबलर बन्छु बनेर हिँड्थे । बरु उनका दाजु मिलन राई गायक बन्ने लक्ष्य लिएर खुबै हिँडेका थिए । संगीतका लागि दिलोज्यान दिएका थिए ।

समयले कोल्टे फेरिसकेको थियो । सोच्दै नसोचेको क्षेत्रमा उनका भाइ लागिसकेका थिए । र आफूले देखेको सपना पूरा गरिरहेका थिए ।

त्यसको पहिलो झलक उनले पूर्ण दार्जीलिङमै हुँदा देखेका थिए । त्यहाँ पूर्ण होस्टल बस्थे । भाइलाई भेट्न उनी त्यहाँ पुगेका थिए ।

तर, उनले सोचेको भाइ त्यहाँ थिएन । उनको भाइले कपाल लामोलामो पालेको थियो । संगीतमा चुर्लुम्मै डुबेको थियो । साथीहरूले पूर्णको ‘नेपाल’ भनेर नाम राखिदिएका थिए । भाइस भर्सा नामक ब्यान्ड बनाएको थियो । गीत लेख्थ्यो । गाउँथ्यो ।

उतिबेला गाउँकाले पहिले उनका दाजु गायक हुन्छन् भन्थे । तर समयले भाइलाई गायक बनायो । अनि उनले आफ्नो दाजुको सपना पूरा गरिरहेका छन् । आज उनको दाजु भने समाजसेवातिर लागेका छन् ।

000

पछिल्लो पाँच वर्ष हेर्दा धरान भाग्यमानी शहर देखिएको छ । किनकि यो शहरले एउटै समयमा हालको दुई चर्चित ब्यान्ड/गायकलाई हुर्काएको छ । पूर्ण र जोन ।

उनीहरूको सम्बन्ध चर्चित हुनुभन्दा अघिदेखिकै छ ।

जोन अग्रपंतिमा रहेको जोन एन्ड दी लोकल्समा स्टिभ्स राई गितार र मन्नु म्यान बेसिस्ट छन् । उनीहरू पूर्णको साख्खे आफन्त पर्छन् ।

एक समय ब्यान्डमा सँगै काम गर्नेबारे उनीहरूको कुरा पनि भएको थियो । तर पहिल्यैदेखि जोनलाई साथ दिँदै आएकाले सहमतिमै उनीहरूले अलग-अलग ब्यान्डमा काम गर्ने भए।

तर आज दुवै धराने ब्यान्डलाई लाखौंले मन पराइरहेका छन् ।

पूर्ण आफ्नो लयमा छन् । जोन आफ्नो लयमा ।

तुलना नठानौं तर हालसम्मका जोनका अधिकांश गीतको विषय प्रेम छ । पूर्णले पनि प्रेम गीत लेखेका छन् । तर त्योभन्दा केही अगाडि गएर उनले सामाजिक र व्यक्तिगत विषयहरू पनि गीतमा लेखेका छन् ।

कहिले आफ्नो संगीतलाई उर्बर बनाउने दार्जीलिङको सम्झनामा गीत लेख्छन् त कहिले चाक जस्तो हौसला प्रदान गर्ने, सम्झाउने गीत लेख्छन् । कहिले खोलाले बगाएको छिमेकी भाइको सम्झनामा खहरे खोला लेख्छन् त कहिले प्रेमलाई सुकुम्बासी/नम्बरी जग्गासँग तुलना गर्दै लेख्छन् ।

उनका बिम्बहरूमा जमानाको हम्बले साइकल आउँछ । कुवाको भ्यागुतो जस्तो अहिलेको युवाले बिर्सदै गएको उखान आउँछ । उनी गीतको कम्पोज पनि ती शब्दहरू जस्तै सरल र सजिलै गाउन सकिने गरी गर्छन् । एउटा झुण्डलाई उनको गीत मन नपर्ला- तर उनी युवाको ठेट् आवाज गाउन खोज्छन् ।

यसरी पूर्ण गीत लेखन र गायनमा समाज लेख्न/गाउन खोजिरहेका छन् । अहिलेका युवाले के महसुस गरिरहेका छन्, त्यो लेख्छन् । जुन उनको बाक्लो आवाज जस्तै पृथक विशेषता पनि हो ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?