
News Summary
Generated by OK AI. Editorially reviewed.- प्राचीन दोलखा शहर चीनको तिब्बतसँग जोडिएको सिल्क रोडमार्गको महत्वपूर्ण केन्द्र भएको र यसको सांस्कृतिक, सामाजिक सम्बन्ध सदियौँ पुरानो रहेको इतिहासले देखाउँछ।
- इतिहासका अध्येता शान्तकृष्ण श्रेष्ठले दोलखाको नाम तिब्बती भाषाबाट आएको र तिब्बती शासक स्रङ चङ गम्पोकी रानी नेपाली चेली भृकुटी दोलखाली हुन सक्ने सम्भावना उठाएका छन्।
सात वर्षअघि २०७५ सालमा चीनको ल्हासा भ्रमण गर्ने अवसर मिलेको थियो । १० जना पत्रकार थियौँ हामी । त्यो बेला ल्हासाको खुला थिएटरमा एउटा ऐतिहासिक नाटक हेर्ने अवसर जुर्यो । तिब्बती शासक स्रङ चङ गम्पोसँग सम्बन्धित नाटक थियो त्यो, जहाँ नेपाली चेली ‘भृकुटी’ पनि जोडिएकी छिन् ।
त्यो नाटक हेर्दा मैले प्राचीन दोलखा शहरमा विजया दशमीको भोलिपल्ट प्रर्दशन गरिने ‘खड्गे जात्रा’ सम्झिएको थिएँ । ‘खड्गे जात्रा’ दोलखा राज्यको कथा हो । ल्हासामा हेरिएको नाटक तिब्बत शासकको कथा हो । दुवै ऐतिहासिक तथ्यमा आधारित रोचक कथाको प्रस्तुति हो । यी दुवै कथाले नयाँ पुस्तालाई पौराणिक तथ्यको खोजीमा सहयोग पुर्याउँछ। त्यसैले यी दुवै महत्वपूर्ण छन् ।
अहिले हामी (नेपाली) चीनसँगको मित्रवत कुटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छौँ । नेपालका लागि चिनियाँ दूतावासले केही समय अघि कुटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा ‘रंगीन चीन’ नाम दिएर नेपाल र चीन बीचका सांस्कृतिक सम्बन्धहरूको विषयमा प्रर्दशन गरेको थियो ।
यस्ता सांस्कृतिक प्रर्दशन, बहस र छलफल विभिन्न तहमा भइरहेका छन् । यसले नेपाल–चीन सम्बन्धलाई राजनीतिको आँखाले हेर्ने विषयमात्र हैन, सांस्कृतिक आत्मीयताको निकटताले समेत जोडिरहेको छ ।
नेपाल–चीन बीच विकसित सम्बन्धका सांस्कृतिक आयामहरूमा म अहिले प्राचीन दोलखा शहरसँगको तथ्यगत किंवदन्तीहरू पहिल्याउने कोसिस गरिरहेको छु । जसले नेपाल–चीन सम्बन्धलाई जनस्तरबाटै आत्मीयताको धरोमा उधिनेको छ ।
यो सम्बन्धको धरो प्राचीन दोलखा शहर हुँदै तिब्बततिर तन्किएको ‘सिल्क रोड’ (रेशम मार्ग) बाट बनेको देखिन्छ । ऐतिहासिक तथ्यलाई अध्यन गर्दा लिच्छवी शासन कालमा प्राचीन दोलखा शहर केन्द्र भएर पाटनतिरबाट र भारत– सिन्धुलीबाट तिब्बत (भोट) मा व्यापार हुने गरेको थियो । त्यसैले प्राचीन दोलखा शहर केन्द्र भएर ‘सिल्क रोड’ तिब्बततिर तन्किएको तथ्यलाई हामीले नजरअन्दाज गर्न सक्दैनौँ ।
‘सिल्क रोड’ प्राचीन दोलखा शहर केन्द्र हुँदै अघि बढेको कुरालाई पुष्टि गर्ने आधार प्रसिद्ध भीमेश्वर मन्दिर पनि हो । ऐतिहासिक किंवदन्तीमा अहिले मन्दिर भएको ठाउँमा भरियाहरूले तीन ढुंगा गाडेर चुल्हो बनाएका थिए । खाना पकाउँदा हरेक पटक तीनमध्येको एक ढुंगापट्टी पोखिन्थ्यो । यही कारण एक भरियाले रिसले उक्त शिलामा पन्यु हाने । यसरी प्रहार गर्दा उक्त शिलामा रगत आयो । अनि त्यस शिलालाई भीमश्वर देवताको रूपमा स्थापना गरियो ।
यो किंवदन्तीलाई विश्लेषण गर्दा भरियाहरू प्राचीन दोलखा शहरको बाटो हुँदै कता हिँडेका थिए ? भन्ने प्रश्न उठ्छ । यसको जवाफ तिब्बततिर व्यापारका लागि हिडेको भन्ने नै हुन्छ । त्यसैले प्राचीन दोलखा शहर केन्द्र भएर ‘सिल्क रोड’ तिब्बतसम्म तन्किएको कुरामा कुनै दुविधा हुनुपर्ने अवस्था छैन ।
प्राचीन शहर दोलखा–तिब्बत सम्बन्ध ‘सिल्क रोड’को प्रवेश नाकासँग मात्र सम्बन्धित छैन । यो त धार्मिक–सांस्कृतिक र पारिवारिक तहसम्म विस्तार भएको ऐतिहासिक तथ्यहरूले सङ्केत गरेको छ ।
प्राचीन दोलखा शहरका एकजना छन् शान्तकृष्ण श्रेष्ठ । इतिहासका अध्येता उनले प्राचीन शहर दोलखा–तिब्बत सम्बन्धको विषयमा धेरै कोर्णबाट अध्यन गरेका छन् ।
उनको अध्यनमा प्राचीन दोलखा शहरको नामाकरण नै तिब्बती भाषाबाट भएको हो । तिब्बती भाषाको ‘दोल्हाखा’ (दोलखिउ) बाट ‘दाल्खा’ हुदै ‘दोलखा’ भएको ऐतिहासिक तथ्यहरूले देखाउने शान्तिकृष्णको भनाइ छ । तिब्बती भाषामा ‘दो’ को अर्थ ढुङ्गा र ‘ल्हाखा’को अर्थ देवता वा देवस्थान भन्ने हुन्छ । यसरी हेर्दा ढुङ्गा अर्थात शिलाको देवता (भीमेश्वर) रहेको स्थानकै कारण तिब्बतीहरूले दोल्हाखा (दाल्खा– दोलखा) नामाकरण गरिदिएका हुन् ।
इतिहासका अध्यता श्रेष्ठको भनाइमा चोभारको डाँडा काटेर काठमाडौंमा बस्ती बसाल्ने श्रेय पाएका मञ्जुश्री तिब्बतबाट प्राचीन दोलखा शहर हुँदै काठमाडौँ उपत्यका प्रवेश गरेका हुन् । यो क्रममा मञ्जुश्रीले प्राचीन दोलखा शहरमा बस्ती बसालेको उनको दावी छ । त्यसैले काठमाडौँ भन्दा पुरानो शहर दोलखा हो
उनको अध्ययनअनुसार मञ्जुश्रीसँग ‘ङापार’ जातका मानिस पनि आएका थिए । त्यही ‘ङापार’ जाति नै पछि ‘नेवार’ भएको हो । प्राचीन शहर दोलखा–तिब्बत सम्बन्धलाई अझ गहिरोसँग विश्लेषण गर्ने आधार तिब्बती शासक स्रङ चङ गम्पोको रानी, नेपाली चेली भृकुटी पनि हुन् । शान्तिकृष्णको अध्यनमा भृकुटी पनि तिब्बती शासक स्रङ चङ गम्पोसँग विवाह गरेर प्राचीन दोलखा शहर हुँदै तिब्बत पुगेकी हुन् । केही ऐतिहासिक तथ्यमा भृकुटी हालको अरनिको राजमार्ग रहेको बाटो हुँदै तिब्बत पुगेकी हुन् भन्ने पनि छ ।
लिच्छवी कालीन राजकुमारी भृकुटीलाई अंशुवर्माको पुत्री भनिएको छ । केहीले नरेन्द्रदेवकी पुत्रीको रूपमा समेत व्याख्या गरेको पाइन्छ । शान्तकृष्णले प्रश्न उठाएका छन्– प्राचीन शहर दोलखा–तिब्बतको पारिवारिक– सांस्कृतिक सामिप्यता र भृकुटी कस्को पुत्री हो भन्ने बहस भइरहँदा कतै भृकुटी दोलखाली पुत्री त हैनन् ? उनको यो प्रश्नमा थप अध्यन आवश्यक छ ।
यदि भृकुटी दोलखाली पुत्री हुन भने मैले ल्हासामा हेरेको नाटक र प्राचीन दोलखा शहरमा दशैं टीकाको भोलिपल्ट प्रर्दशन गरिने ‘खड्गे जात्रा’ बीच कुनै न कुनै सामाजिक– सांस्कृतिक सामीप्यता वा सहकार्य हुनुपर्छ । त्यसो नभए पनि प्राचीन दोलखा शहरको नामाकरण नै तिब्बती भाषाबाट भएको, व्यापारको सिलसिलामा दोलखा हुँदै सिल्क रोडको प्रयोगबाट तिब्बतीहरू समेत विभिन्न स्थानमा आउजाउ गरेको तथ्यले पनि ल्हासामा हेरेको नाटक र प्राचीन दोलखा शहरमा देखाइने ‘खड्गे जात्रा’ बीचको सम्बन्ध केलाउनु उपयुक्त देखिन्छ ।
शान्तिकृष्णले अर्को एउटा प्रशंग पनि सुनाए । काठमाडौंका नेवारहरूले व्यापारको सिलसिलामा तिब्बत पुग्दा ल्हासामा भीमसेनको मन्दिर स्थापना गरेका छन्, जसलाई तिब्बती भाषामा ‘नेचुङ’ भनिन्छ । यो भीमसेन नै हो भन्ने तथ्यगत प्रमाण नभेटिए पनि नेवार समुदायले भीमसेनलाई इष्ट देवताको रुपमा पुजा गर्ने र उनीहरू पुगेका हरेक ठाँउमा भीमसेन मन्दिरको स्थापना गर्ने भएकाले तिब्बतको ‘नेचुङ’ मन्दिर भीमसेन नै हो भन्ने भनाइ सान्दर्भिक लाग्दछ ।
यो तथ्यले पनि प्राचीन शहर दोलखा–तिब्बत बीचको सम्बन्धलाई थप आत्मीय बनाएको पाइन्छ । तर नेपाल-चीन बीच कुटनीतिक सम्बन्धको ७० वर्ष पूरा भइसक्दा पनि प्राचीन दोलखा शहर र चीन (तिब्बत) सँगका सांस्कृतिक, सामाजिक र व्यापारिक सम्बन्धको चर्चा भने भएको सुनिदैन । यो दुःखद् विषय हो ।
नेपाल सरकार र चीनसँग सम्बन्धित संघ–संस्थाले अहिलेसम्म प्राचीन शहर दोलखा–तिब्बत सम्बन्ध पहिल्याउने तदारुकता देखाएको पाइएको छैन । र, चीनले पनि प्राचीन शहर दोलखा–तिब्बत बीचको सामाजिक, सांस्कृतिक तथा जनस्तरको आत्मीय सम्बन्ध पहिल्याउने कोसिस गरेको पाइँदैन ।
नेपालसँगको कुटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा चीन सरकारले दुई देश बीचको सामाजिक, सांस्कृतिक सम्बन्ध र जनस्तरको आत्मीय निकटतालाई मुखरीत गर्न ‘रंगीन चीन’को नामबाट सांस्कृतिक प्रर्दशन गरिरहेको छ । नेपाल–चीन बीचका राजनीतिक, सामाजिक, सांस्कृतिक सम्बन्धहरूको विषयमा बहस र छलफलहरू गरिरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक भ्रमणहरू गराइरहेको छ । यस्ता गतिविधिले नेपाल–चीन बीचको सम्बन्धलाई थप निकट, घनिष्ठ र आत्मीय बनाउछ ।
तर, यसमा दोलखा च्याप्टर छुटेको छ । चीनको ‘हान वंश’को समयमा विकास भएको ‘सिल्क रोड’ को एउटा महत्वपूर्ण गन्तव्य प्राचीन दोलखा शहर र चीन (तिब्बत) बीचको सम्बन्ध त्यतिबेलैबाट अघि बढेको हो । त्यसैले नेपाल–चीन बीचको कुटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएपनि जनस्तरको सम्बन्ध भने सदियौँ पुरानो छ । जसको एउटा जग प्राचीन दोलखा शहर पनि हो ।
अर्थात सांस्कृतिक ‘रंगीन चीन’को परिकल्पनामा महत्वपूर्ण रङ भर्ने प्राचीन दोलखा शहर पनि । यो तथ्यलाई कुटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा बहसको मुख्य विषय बनाएर सांस्कृतिक सामिप्यतालाई अझ कसिलो बनाउन प्रयत्न गर्ने पो हो कि !
प्रतिक्रिया 4