
नेपालको समकालीन कवितामा विविधता र बहुलता तीब्र गतिमा बढ्दै गएका छन् । तर, पनि देशका धेरै सामाजिक र सांस्कृतिक तहका आवाज अझै पनि कविताको केन्द्रमा आउन सकेका छैनन् । विशेष गरी आदिवासी, दलित तथा अन्य सीमान्तकृत समुदायको पीडा, अस्तित्व र पहिचानका कथाहरू उपेक्षित छन् । यी समुदायका अनुभूतिलाई साहित्यमा स्थापित गर्न गर्ने प्रयासहरू दुर्लभ छन् ।
कवि रमेशचन्द्र अधिकारीको पहिलो कवितासङ्ग्रह ‘माझिहाडाम’ त्यस्तै उपेक्षित आवाजलाई नेपाली कवितामा ल्याउने बहुमूल्य प्रयास हो । यसले सन्थाल समुदायको सांस्कृतिक, सामाजिक र राजनीतिक अनुभूतिको संवेदनशील र सशक्त प्रतिनिधित्व गरेको छ।
रेडपाण्डा बुक्स, काठमाडौंद्वारा प्रकाशित यस कवितासङ्ग्रहमा छोटा, मध्यम र लामा गरी ३१ वटा कविता संग्रहित रहेका छन् । भूमिकामा कवि विमल निभाले भनेजस्तै ‘माझिहाडाम’ सङ्ग्रहका कविताहरू ‘ताजा हावाका सुखद् झोँक्का’ दृष्टिगोचर हुन्छन् । अतः यहाँ सङ्ग्रहका कवितालाई मुख्यतः चारवटा आयाममा वर्गीकरण गरेर समालोचकीय दृष्टिबाट सूक्ष्म विश्लेक्षण गरिएको छ । यसबाट कवितासङ्ग्रहको बहुआयामिक महत्त्व उजागर हुने अपेक्षा गर्न सकिन्छ।
सांस्कृतिक पहिचानको पुनःनिर्माण
कविता सङ्ग्रहको शीर्षक ‘माझिहाडाम’ सन्थाल समुदायमा एउटा प्रमुख नेतृत्वको पदनामबाट राखिएको छ। यसले सामुदायिक निर्णय, विवाद समाधान र परम्परागत व्यवस्थापनको जिम्मेवारीका बारेमा धेरै कुरा बोलिरहेको प्रतीत हुन्छ।
यो नाम केवल सामाजिक पद होइन, सन्थाल समुदायको इतिहास र सांस्कृतिक पहिचानको प्रतीक पनि हो । रमेशचन्द्र अधिकारीले यो शीर्षकमार्फत् त्यस्तो पहिचानलाई साहित्यिकरूपमा पुनःस्थापित गर्ने प्रयास गरेका छन्। यसले राज्य र प्रभुत्वशाली संस्कृतिले लामो समयदेखि किनारामा राखेको समुदायको आवाज कविता बनेर मुखरित भएको छ।
सङ्ग्रहका ‘माझिहाडाम’, ‘गाउँ’, ‘लिगलिगे दौड’ र ‘उत्तर खोजिरहेकी चानो’ लगायत शीर्षकका कविताले सन्थाल समुदायको स्थानीयता, भौगोलिक विशेषता, परम्परा, मिथक र सामाजिक संरचनालाई उजागर गर्छन् ।
उदाहरणका रूपमा ‘कर्कलाको पातमा खसेको भाग्य’ शीर्षकको कविता सन्थाल समुदायको प्राकृतिक परिवेशसँग जोडिएको जीवनशैली र सामाजिक असमानताको सूक्ष्म प्रतीक हो। कवि भन्छन्-
हत्केलामा
जसोतसो जोगिएको थियो
केही थोपा पानी।
अचानक चिप्लियो
र, खस्यो
…..मुन्तिर।
धन्य डल्लिएर घुमिरह्यो
कर्कलाको पातमै भए पनि।
मेरो आँखाले त्यसलाई
किन ?
मेरै भाग्य देखिरहेछ ।
यसरी हेर्दा ‘माझिहाडाम’ कवितासङ्ग्रह मात्र होइन कि सांस्कृतिक पुनरुत्थानको दस्तावेजका रूपमा नेपाली साहित्याकाशमा उपस्थित भएको छ । यसले नेपालमा उपेक्षित आदिवासी समुदायको आवाजलाई साहित्यिक रूप दिने अपेक्षा गर्न सकिन्छ।
भाषिक सहजता र सौन्दर्यशास्त्रको संवेदनशीलता
रमेशचन्द्र अधिकारीको कविता शैलीमा कुनै आधिकारिक वा क्लिष्ट शब्दावलीको भारीपन छैन । उनको लेखन भावको सजीवता र संवेदनशीलतामार्फत् पाठकमा पुग्ने सरल र प्रभावकारी भाषा प्रयोगमा केन्द्रित छ।
उनी परम्परागत छन्द वा श्लोकमा बाँधिनुभन्दा पनि गद्यात्मक प्रवाहमा कवितालाई प्रवाहित गर्ने गर्छन् । यसले कविताको जीवन्तता र संवेदनशीलतालाई सुन्दर ढंगले अभिव्यक्त भएको छ।
‘उ: बेला’, ‘अनुपस्थित’, ‘एकान्तबासमा ईश्वर’, ‘भ्रम’, र ‘छोएर जानेहरू’ शीर्षकका कविता मौनता, अस्तित्वको रिक्तता र मनोवैज्ञानिक अवस्थाको सूक्ष्म भावहरू प्रकट गर्छन् । यी कवितामा कुनै अतिशयोक्ति नभए तापनि एक गहिरो सौन्दर्यशास्त्र छ, जुन मौन चिसोपन र विस्थापित पात्रहरूको विवशता बोक्छ।
काव्यिक संरचनाको दृष्टिकोणबाट ‘म बाँचेकी भए…’ कविताले उच्च दार्शनिक अस्तित्वको सम्भावनालाई छुने प्रयास गरेको देखिन्छ। यसले कवि रमेशचन्द्रलाई पारम्परिक कविताको सीमाभन्दा माथि उठ्न मद्दत गरेको छ। उनी पोखिन्छन्-
म बाँचेकी भए जीवन
मान्छेहरूका कति थरी भाषाहरूले
लखेटिने थिएँ होला
कित थरी कुलषित विचारहरूको
शिकार हुनुपर्थ्यो होला
कति अनुहारहरूको भावभङ्गिमाले खेदिने थिएँ होला।
म बाँचेकी भए
मेरा रहरहरूले उडान भर्थ/भर्थेनन्
मेरा पैतालहरूले
यात्रा तय गर्ने/गर्थेनन् ?
कविताको भाषा सरल, स्पष्ट र सशक्त छ । यसले टाढा रहेका पाठकलाई समेत सन्थाल समुदायको मौलिक जीवन र सांस्कृतिक संवेदनालाई समेट्न सहज बनाएको मान्न सकिन्छ।
सामाजिक-राजनीतिक चेतनाको स्वर
वास्तवमा ‘माझिहाडाम’ सामाजिक र राजनीतिक विरोधको सङ्ग्रह हो। ‘चाकडी’, ‘विपी चोकको सालिक’, ‘बलिदान’, ‘सधैँ उदाउने घाम’ र ‘नयाँ देवताको खोजी’ शीर्षकका कविताले सत्ता, भ्रष्टाचार, पूजक मानसिकता र सामाजिक अन्यायप्रति तीब्र काव्यिक जिज्ञासाका ज्वारभाटा उठाउँछन्।
त्यसमध्ये ‘विपी चोकको सालिक’ शीर्षकको कविताले राजनीतिक नायकहरूको मिथक निर्माण र इतिहास लेखनको पुनरावलोकन गर्न उत्प्रेरित गर्छ । यो कविता आदिवासी आवाज र उपेक्षित इतिहासलाई पुनःस्मरण गराउने महत्वपूर्ण साहित्यिक प्रयासका रूपमा मुखरित भएको छ।
त्यसैगरी ‘नयाँ देवताको खोजी’ शीर्षकको कविता धार्मिक विश्वास र देवत्वप्रति अनिश्चितता र प्रतिरोधको स्वर हो। यसले पूजा र श्रद्धालाई जबरजस्ती थोपर्नेलाई काव्यिक प्रश्नको झटारो हान्ने साहस गरेको छ।
‘बलिदान’ शीर्षकको कविताले त्यागको बहाना बनाइएको मृत्यु र शक्तिको प्रयोगप्रति आलोचना गर्छ । यसले राज्य र सत्ता प्रणालीले कसरी व्यक्तिको बलिदानलाई आफ्नो हितमा रूपान्तरण गर्छ भन्ने विषयलाई उजागर गरेको छ।
कवि उद्घोष गर्छन्-
मानसले खुलाइदिएपछि
आकाश जाने बाटो
आटोबाङ्गा भेट्यौ होला
जाहेरएडा भेट्यौ होला
मराङबुरू भेट्यौ होला
आकाशको तारा भयौ होला।
तिमीसँगै आफ्नो खुसी खोसिएको म
तिम्रै मुक्तिका लागि सती लगिँदैछु।
(मानसः ग्रामदेउता, आटोबाङ्गा जाहेरएडा मराङबुरूः सन्थाल समुदायले मान्ने देउताहरू)
यी कविताले नेपाली कवितामा दुर्लभ सामाजिक र राजनीतिक चेतनाको प्रतिनिधित्व गर्छन् । यसले ‘माझिहाडाम’ कवितासङ्ग्रहलाई केवल भावुक अभिव्यक्तिमा सीमित नराखी समकालीन विमर्शमा स्थापित गरेको छ भन्दा अत्युक्ति नहोला।
स्मृति, प्रेम, अन्तरदृष्टिभित्रको संवेदनशील पक्ष
यस सङ्ग्रहमा ‘तिमी’, ‘यादहरू’, ‘बतास’, ‘हावाको चाल’ र ‘वर्षातमा रुझेका बतासका पत्रहरू’ लगायतका संवेदनशील र भावुक कविता पनि समावेश छन् । यी कविताले प्राकृतिक परिवेश र मानवीय अनुभूतिको नाजुक सम्बन्ध, विछोडको पीडा र आत्मीयताको गहिराइ चित्रण गर्छन् ।
‘छाडी–जाने–घर’ शीर्षकको कविता केवल भौतिक स्थानको परिवर्तन मात्र नभई स्मृतिका द्वन्द्व र जीवनका कठोर सत्यहरूको चिन्तन हो । यसले व्यक्तिगत र सामुदायिक सम्झनाको अन्तरसम्बन्धलाई उद्घाटित गरेको छ।
त्यस्तै ‘बीच बाटोमा’ र ‘भिडन्त नभएको रात’ शीर्षकका कवितामा अधुरोपन, अनिश्चितता र मानसिक द्विविधाका भावहरू प्रवाहित छन्। यी कवितामा जीवनका अपूर्ण अनुभूतिहरूलाई नदीझैँ तरलता प्रदान गरिएको छ।
कवि भन्छन्-
ताराहरू खस्थेनन् भुइँमा
डुलिरहन्थे सपनाहरू जस्तै वरपर।
खोलामा डुबेको जूनको अनुहारले पनि
भेटाउँथ्यो आँखाको भ्रान्ति।
भिडन्त नभएको रात
देख्नै बाँकी सपनाहरू
आँखामा आउँथे !
धपधपी बलिरहेझैँ देखिन्थ्यो रात ।
समग्रमा सङ्ग्रहले सामाजिक संघर्ष र पहिचानका सवालमा प्रेम र मानवीय सम्बन्धका भावनात्मक पक्षलाई पनि उभ्याएको छ। यसले कवितालाई व्यापक सामाजिक सन्दर्भमा गहिरो मानवता जोड्ने महत्वपूर्ण काम गरेको छ।
मौन आवाजको प्रबल प्रतिध्वनि
कविताको पृष्ठभूमिमा सन्थाल समुदायको जीवन, संघर्ष, विस्थापन, विडम्बना र आशाको गहिरो दस्तावेज भेटिन्छ। कविले काव्यिक चेतनाले भ्याएसम्म संवेदनशील सामाजिक सन्देशवाहकका रूपमा सन्थाल परम्पराभित्र गाडिएको मौन इतिहासलाई उठान गरेका छन् । यी कवितामा मुखरित भएको आवाज काल्पनिक कोरस मात्र पक्कै होइन् । बरू यो नेपाली साहित्यिक प्रवाहमा बोल्न र बोलिन बाँकी रहेको काव्यिक प्रतिध्वनि हो।
उसो र सङ्ग्रहका कतिपय कविता व्यक्तिगत अनुभूतिमा केन्द्रित देखिन्छन्। यसलाई प्रारम्भिक यात्रामा देखिने स्वाभाविक प्रवृत्ति मान्नु पर्छ। तथापि कविले निजी अनुभूतिमार्फत् सामूहिक संवेदना र सामाजिक मर्मलाई चिर्ने प्रयास गरेका छन्। सन्दर्भ विशेषमा कविको भाषिक शैली कहिलेकाहीँ सरलीकृत वा रिपोर्ताजजस्ता लागे पनि त्यसले कविताको सामाजिक हस्तक्षेपलाई सहज बनाएको देखिन्छ । यसले कविता पढ्ने दायरा मात्र होइन, बुझ्ने वर्ग पनि फराकिलो बनाउने अपेक्षा गर्न सकिन्छ।
वास्तवमा ‘माझिहाडाम’को महत्त्व केवल काव्यिक सौन्दर्यमा सीमित छैन। यसमा नेपाली समकालीन कवितामा अनुपस्थित वा कम प्रतिनिधित्व पाएका सामुदायिक आवाजहरू मुखरित भएको छ । त्यति मात्र होइन, नेपाली साहित्यमा बहुलता र समावेशिताका लागि नयाँ प्रवेशद्वार खोलिदिएको छ। यो सङ्ग्रह सानो प्रयासमा शक्तिशाली हस्तक्षेप र संवेदनशील समाज निर्माणको सम्भावना बोकेको इमानदार प्रयास हो।
अर्कातिर यो सङ्ग्रहले समग्र नेपाली साहित्यिक परिदृश्यलाई यस्ता आवाजहरू किन मौन छन्, भनेर प्रश्न गरिरहेझैँ लाग्छ। कविता पढ्दा सन्थाललगायत थुप्रै समुदायका अनुभव, गाथा, कथा-व्यथा र जीवनशैली अझैसम्म पनि किन साहित्यबाट ओझेल परेको होलान् भन्ने अनुभूति हुन्छ। ‘माझिहाडाम’ले यस्ता प्रश्नलाई कविताको शैलीमा प्रस्तुत गर्दै पाठकलाई त्यसको उत्तरका लागि घोत्लिन बाध्य बनाउँछ।
रमेशचन्द्र अधिकारीको ‘माझिहाडाम’ समकालीन नेपाली कवितामा एउटा सशक्त उपस्थिति हो। यसले भाषिक विविधता, सांस्कृतिक बहुलता र सामाजिक न्यायको आग्रहलाई साहित्यिक विमर्शमा ल्याउने प्रयत्न गरेको छ । यसले नेपाली साहित्य अझै पूर्ण छैन, आवाजबिहीनहरूका कथा बाँकी छन्, अझै सुनिन बाँकी घाउहरूको लय बाँकी छ भन्ने स्मरण गराउँछ। अतः ‘माझिहाडाम’ तिनै बाँकीहरूलाई आवाज दिने सरल तर प्रभावशाली काव्यिक दस्तावेज हो।
प्रतिक्रिया 4