+
+
Shares
कुइनेटो :

मगरबस्तीमा माओवादीले कसरी विस्तार गर्‍यो तीज ?

माओवादीले नयाँ संस्कृतिको नाउँमा रातो टीका अर्थात् अबिर, माला लगाउने, भैलो खेल्ने लगायत हिन्दु संस्कृति मगरबस्तीमा लग्यो ।

नवीन विभास नवीन विभास
२०८२ भदौ ७ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादीले रोल्पाको मगरबस्तीमा तीज ब्रत र पूजा बिना विस्तार गर्‍यो भने राज्यसंयन्त्रले ब्रत र महादेव पूजासहित तीज विस्तार गर्‍यो।
  • २०४७ सालतिर रोल्पाको मगरबस्तीमा माओवादी महिला संघले तीज मेला आयोजना गरी नाचगान र गीत गाएर तीज मनाउन थाल्यो।
  • माओवादीले अखिल नेपाल महिला संघ र सांस्कृतिक परिवारमार्फत तीजका गीत पुस्तक र कार्यक्रम गाउँगाउँ पुर्‍याएर तीजको प्रचारप्रसार गर्‍यो।

भाग १

तपाईं घर वा डेरा वा कार्यालयमै बसी तीजको दर खाने कार्यक्रममा बजेका तीजको गीत सुनिरहनुभएको होला । कति गीतमा त नाचम् नाचम् लाग्छ होला, कति गीत सुनेर ‘हुक्क’ हुनुभएको होला।

तीज आउनुअघि नै आफ्ना गच्छेअनुसारका पार्टी प्यालेस वा घर वा रेष्टुरेन्टमा दर खाने कार्यक्रम शहरमा जारी छ। गच्छे भनेपछि बुझिहाल्नुभयो। सरकारी दल (कांग्रेस, एमाले, माओवादी)का नेता, सेना–पुलिस कमाण्डर, सरकारी र गैरसरकारी (एनजीओ/आईएनजीओ)का हाकिमका पत्नी वा बुहारी वा छोरीको तीजको दरभोज खाने भव्य पार्टी प्यालेसमा र सामान्यका पत्नी वा छोरी वा बुहारीका भए सामान्यमा। इलिट तीज भोजजत्तिकै भव्य प्रचार सरकारी र गैरसरकारी सञ्चारमाध्यमले गरिरहेका छन्। ‘बजार’ पनि पसेपछिको तीजको चमझम सामाजिक सञ्जालमा देख्नुभएकै छ। बाँकी बजारको के कुरा!

सडक र सामाजिक सञ्जालको व्यापकतासँगै ‘बजार’वाल तीज जसरी नेपालभर व्यापक भयो, कुनै बेला सुदूरपश्चिम, कर्णाली, रोल्पा–रुकुमका मगरबस्तीमा तीज थिएन ।

प्रकृतिपूजक मगरबस्ती रोल्पा, रुकुम, बाग्लुङका मगरबस्ती र मष्टोपूजक खसआर्य बस्ती कर्णाली र सुदूरपश्चिममा बहुदलीय व्यवस्था, माओवादी युद्ध र त्यसपछिको सडक र सामाजिक सञ्जालले व्यापक बनाएको थियो। कर्णाली र सुदूरपश्चिमका खसआर्य महिलाले समेत तीज मनाउँदैनथे। ती भेगमा भने सडक, सामाजिक सञ्जाल र ‘बजार’ले तीज व्यापक बनायो  (माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य रेणु चन्द, लेखक हेमन्त विवश, पत्रकार एवं लेखक राजबहादुर कुँवरसँगको कुराकानीपछिको निष्कर्ष)

यसको कारण थियो, राज्यको पहुँच नहुनु। राज्यसंयन्त्रको कमजोर उपस्थितिका कारण रोल्पा–रुकुम माओवादी आधार इलाका बन्यो। माओवादी बाटो भएर रोल्पाका मगरबस्तीमा तीज पुग्यो। जबकि पञ्चायतकालदेखि वाम पार्टी राज्यसंयन्त्रसँगै तीज विस्तारमा लागेका थिए तर ती बस्तीमा तीज विस्तार हुनसकेको थिएन।

यो लेख भने माओवादीले युद्ध थाल्नुअघि, युद्धमा र त्यसपछि पनि ‘हिन्दु महिला’को पर्व ‘तीज’ कसरी प्रकृतिपूजक रोल्पाको मगरबस्तीमा विस्तार भएको थियो भन्ने विषयमा केन्द्रित छ। लेखभित्र किनाराकृत आदिवासी जनजाति, कर्णाली, मधेश र महिलाको पक्षधर वकालत गर्ने माओवादीले किन र कसरी हिन्दु जात व्यवस्थामा आधारित राज्यसंयन्त्रको बोलीमा लोली मिलायो होला? माओवादीले शासक संस्कृतिको प्रभुत्व किन विस्तार गरेको होला? भन्ने प्रश्नको सोधीखोजी छ।

राज्यसंयन्त्रले गरेको तीज विस्तार र माओवादीले गरेको तीज विस्तारमा फरक यत्ति थियो– राज्यसंयन्त्र ब्रत र महादेवको पूजा सहितको तीज विस्तार गर्‍यो भने माओवादीले ब्रत र पूजा विनाको।

रोल्पाको सुदूरपश्चिम (रुकुम पूर्व) सीमावर्ती गाउँमा तीजे–सम्झना

माओवादी मक्का मानिने नेपालको पश्चिम र दुर्गम भेगमा अवस्थित रोल्पाको मगर बस्तीमा तीज विस्तार किस्सा कहनुअघि तपाईंलाई रोल्पा र रुकुम(पूर्व)को सीमावर्ती एउटा गाउँमा लान्छु। अर्थात् मेरो जरमथलो(जन्मथलो) जैपा गाउँमा।

पारि रपा वारि जैपा। दुई गाउँ– रपा र जैपा। गाउँलाई गारले वारिपारि पारेको छ। गार भनेको खोला हो, जो रोल्पाबाट पश्चिम लागे गाड हुन्छ। गार चुनबाङगार हो, जो ढाङढुङ गारसँग मिलेर मारीखोला अनि झिम्रुकसँग मिसिएपछि रापती बन्छ।

दुवै गाउँका मिल्ने केही साझा चरित्र छन्।

एक, दुवै मगर बहुल गाउँ हुन्।

दुई, दुवै गाउँका मगरले आफ्नो मातृभाषा गुमाएका छन्। तिनका मुखबाट ट र त, ठ र थ, ड र द, ढ र ध सही ठाउँबाट निक्लँदैनन्। जस्तो ट भन्नुपर्ने ठाउँमा त।

तीन, दुवै गाउँमा फलाम खानी थिए/छन्। गाउँवासी खानी खन्ने खनेल हुन्। सामान्य खानी होइन, त्यसबेलाको कालाशेष थुममा बयान्नेको नामी फलाम खानी।

पश्चिमपट्टि रपा, पूर्वपट्टि जैपा। स्मरणीय त के भने, मेरो जन्मथलो जैपामा मुक्खे थिएनन्। मुक्खे नहुनु रामायण नहुनु थियो। तिरो बुझाउन प्युठान जाँदा मुक्खेलाई सरकारले एकेक प्रति रामायण बोकाउँथ्यो। तर, मुक्खे विनाको जैपामा एक थान रामायण थियो। त्यो रामायण साइँला झाँक्री काकुकहाँ थियो। शायद जेठा काकु (सार्की पुन) कालापार जाँदा वनारसबाट लिए, साइँला भाइलाई दिए। बाह्रमासे कालापारे जेठा काकुले देह पनि कालापारमै त्यागे।

राज्यसंयन्त्रको कमजोर उपस्थितिका कारण रोल्पा–रुकुम माओवादी आधार इलाका बन्यो। माओवादी बाटो भएर रोल्पाका मगरबस्तीमा तीज पुग्यो। जबकि पञ्चायतकालदेखि वाम पार्टी राज्यसंयन्त्रसँगै तीज विस्तारमा लागेका थिए तर ती बस्तीमा तीज विस्तार हुनसकेको थिएन।

मेरो ठूल्दाजु माष्टर थिए। प्राथमिक स्कूलका शिक्षक। एकदिन ठूल्दाजुले सदरमुकाम लिबाङबाट यामानको रेडियो बोकेर आए। त्यो रेडियो शिक्षक तालिमको लागि सरकारले दिएको थियो। त्यही रेडियोबाट पहिलोपालि सुनें, तीज त्यसपछि तीजका गीत पनि। रेडियोले भन्थ्यो, नेपाली महिलाको महान् चाड तीज। पहिलोपालि सुनेको तीजको गीत थियो, ‘तीजको लहर आयो बरि लै।’

यो थियो, चालीस दशकको मध्यतिर।

मगर बहुल तर मिश्रित जैपाको पूर्वी पुछान (तल्लो भाग)मा खत्री (दाहाल खत्री) डेरा (टोल) र पश्चिम पुछानमा ठाकुर डेरा (एक घर चन्द ठकुरी) र एक घर थापा मगर थिए। सबभन्दा माथ्लो डेरामा क्षेत्री (ओली र खड्का)का ओल्डेरा र खर्काडेरा थिए। जैपाको बीचोबीच भागमा मगर (पुन)।

एक्लेपोनडेरा भन्ने जैपाको माझडेराको पनि माथ्लो डेरा थियो। ती उलङ्ङे पोन (लिखतमा पुन तर बोलीचालीमा पोन) थिए। एक्लेपोनका दुई छोरी थिए, मनसरा र बिनसरा। त्यसैगरी ओली डेराका ठेक्दार नरबहादुर ओलीपुत्री पिउमाली ओली र धामीपुत्री लालमती ओली थिए। ती चारजनाले ओडारखोलामा म्हाय पातको पट्री (टपरी)मा फूल, फलफूल आदि महादेवलाई चढाएका सामग्री सेलाएर तीज साङ्ङे गरेको देखें। रेडियोले सुनाएको केही समयमै पहिलोपालि जैपामा ती चार चेलीले तीज ब्रत बसेको, गाएको र नाचेको देखें।

पहिलोपालि सुनेको तीजको गीत–

माथिबाट सुगाचरी झर्‍यो,

बन्दुके गोलीले हो कि बरिलै

खुटेखुटे बारुली लाग्यो

आमाले सम्झेर हो कि बरिलै।

मैले थाहा पाउँदा एक्लेपोन बाजीको तागत घटेको थियो। भलै उनै नै थिए, धेरै देउताका पुजारु। गाउँलेका लागि उनले पुज्ने नइय देउती सबभन्दा खतरनाक थिए। कुनै बेला जैपामा राज गरेका एक्लोपोनले कथा (सत्यनारायणको पूजा) लगाउँथे। रातभर ढाटमे भावन (बाहुन), रुङाले भावन, पुरानगाउँका ग्वापे भावन र रपाका काले भावनले पूजा गर्थे। निम्तालुले घरी फूल त घरी रुपैयाँ हुर्र हुर्र हुर्‍याउँदै दुई हात जोड्थे। पूजाथलोमा अम्खोरामा राखिएको पञ्चामृतमा सयपत्रीको थुंगा चोब्थे। पूजाका निम्तालुले दुई हातका हत्केलालाई कटौरा बनाउँथे।

पञ्चामृत बाँड्नेले निम्तालुको हातको कटौरामा फूलको थुंगाबाट मुस्किलले दुई थोपा पञ्चामृत चुहाइदिन्थे। ‘भग्वानको पर्साद’ भन्दै जिब्रोको टुप्पोमा च्वास्स पार्थे, त्यसपछि घुटुक्क निल्थे। निम्तालुलाई भँगेराको टाउकोजत्रो फलफूल, खीर बाँड्थे। भन्थे, ‘भग्वानको पर्साद नखाई कोही पनि घर नगए।’

माल्दाजुको बिहे भयो। भाउजूको माइत थियो, रुकुम चुनबाङ गोठबाङ। ती ठाउँ रुकुमको अघिल्लो र पछिल्लो सदरमुकाम क्रमश: रुकुमकोट र मुसीकोटका नजिक थिए। बाईसेचौबीसे राज्यकालमा मुसीकोट र रुकुमकोटमा जुम्ली शाही राजाले राज गरेका थिए।

भाउजू तीजको ब्रत नबसी नछाड्ने अडान लिइन्। जेईले भनिन्, ‘भोको नरह, भौ(बच्चा) भोकाउँछ। दुधे भौले दुध नखाए कसरी बाँच्ला?’ जेई र भाउजूबीच चुलिएको जुहारी सम्झेर सम्झन्छु, जैपामा तीज मनाउने भाउजू पाँचौं पुगिन्।

यो थियो, चालीस दशकको मध्यतिरकै कुरा।

२०४६ मा आएको बहुदलसँगै जैपामा विश्वास (अहिले पुष्पकमल दाहाल प्रचण्ड) नेतृत्वको नेकपा (मशाल) पुग्यो। कारण, मेरो ठूल्दाजु गाउँका शिक्षक र नेता पनि थिए। गाउँका जानभान भनेकै गाउँका शिक्षक न थिए। ठूल्दाजु कृष्णबहादुर महराका विद्यार्थी थिए। जैपा, रपा वरपरका गाउँ मशालमय भयो। मशाल पछि नेकपा (एकताकेन्द्र) भयो। २०४८ को संसदीय चुनावमा एकताकेन्द्रले संयुक्त जनमोर्चा नेपाल नाउँबाट चुनावमा भाग लियो। महरा र वर्मन बुढामगर रोल्पाबाट सांसद भए।

हामी स्कुले भुराले जैपामा लालकिरण सांस्कृतिक परिवार बनायौं। परिवारले तीजको दिन नाटक (सांस्कृतिक कार्यक्रम) देखाउन थाल्यो। तीजको दिन जनवादी गीत, तीजका गीत पनि गाउन थाल्यो। त्यसबेला जैपामा तीजका गीतको किताब भने पुगेको थिएन।

त्यसबेलासम्म त जैपा र रपाको बीचमा पर्ने चुनबाङ र पाछाबाङ गार मिसिने ढोमैमा तीजको नाचगान शुरु भइसकेको थियो। जैपाबाट २० कोस दक्षिणपूर्व सदरमुकाम लिबाङमा तीजको के कुरा। सदरमुकाममा तीज भव्य मनाउँथे। स्मरणीय त के भने, सदरमुकाम लिबाङ नजिकैको गुरुङ गाउँको तीजको नाच सबभन्दा विशेष थियो।

महिला संघलाई माउ पार्टीले नै तीजका गीत भएको किताब पठाउन थाल्यो । ती किताबमा लेखेका गीत गाएर तीज गाउन थाले।

तीजको दिन त ती गुरुङसेनी आफ्नै गाउँमा नाच्थे। पञ्चमीको दिन भने सदरमुकाम लिबाङको टुँडिखेल ओर्लन्थे। गुरुङगाउँको नाच हेर्न दर्शक झुम्मिन्थे। यो थियो, पचासको सुरुवातीतिरको कुरा। थलिबाङ, फल्लेढारामा डाँगी क्षेत्री, मूलपानी र रेउघामा मगर र लिबाङ बजारमा बाहुन र ठकुरी महिलाका तीजका नाच नाच्थे।

रोल्पा सदरमुकाम लिबाङको बालकल्याण माध्यमिक विद्यालय (अहिले प्लस टु) स्कूल पढ्न गएको बेला स्कुले याममा सुनेका तीजको गीतको सम्झना छ–

हाम्रा बाबाले छोरी दिन जानेनन्,

बरि लै

दाङ छाडी प्युठान।

सदरमुकाम लिबाङजत्तिकै तीज लाग्थ्यो, पूर्वी रोल्पा अर्थात् प्युठानसँग जोडिएका खुङ्ग्री, घोडागाउँतिर। तीजको रमझम हुनुको मुख्य कारण थियो, मारीखोला किनारका बस्ती पहिलेदेखि नै प्युठानको संसर्गमा हुनु (विप्लव नेतृत्व नेकपाको महिला संघ अध्यक्ष बन्धु चन्दसँगको कुराकानी)। ती दुवै गाविस त डा. हर्क गुरुङ नेतृत्वको सीमा सम्बन्धी बनेको आयोग(२०३२) मा मात्र प्युठानबाट रोल्पामा मिसिएका थिए।

‘रापतीको माडीखोला भेगतिर क्षेत्री बाहुन भएको क्षेत्र भएकाले होला कि, पहिलेदेखि नै तीज भयंकर थियो। प्युठान, अर्घाखाँची, गुल्मी खुबै तीज मान्थे। रोल्पाको माथ्लो भेगमा तीज थिएन’, चन्दले सम्झिइन्।

रोल्पाको मगरबस्तीमा तीज कसरी पुग्यो ?

रोल्पाको मगर बस्तीमा तीज विस्तारबारे यसअघि नै मेसो लागिसकेको छ। विस्तार कसरी भन्ने कुरा भन्नुभन्दाअघि रोल्पाको मगरबस्तीमा कसरी तीजबाट मुक्त थिए? अलिकति कुरा यतापट्टि पो गरौं।

नेपालमा मगर समुदायलाई तथाकथित ‘मूलधार’मा समाहित गर्न र ‘एक भाषा र एक संस्कृति’ नीतिले रेट्न राज्यले नै दुई बाटो अपनायो।

एक, बाह्र मगरात (मगर ढुटभाषी)लाई राज्यसंयन्त्रले हिन्दु धर्म लाद्यो। अर्थात् गण्डकीदेखि पूर्वका मगरलाई हिन्दूकरण गर्‍यो। फलस्वरुप तिनका जन्म, बिहे र मृत्युमा बाहुन प्रवेश भयो। हिन्दु महिलाको पर्व तीज सहित हिन्दु संस्कृतिमा मगर ढुटभाषी सामेलिए।

दुई, मगर खाम/पाङभाषी (रोल्पासहित रुकुम, बाग्लुङ क्षेत्र)मा हिन्दूकरणलाई भन्दा खस भाषा लाद्न राज्यसंयन्त्रले बलजफ्ती गर्‍यो। यसैको कारण हो, रोल्पा, रुकुम, बाग्लुङ (निसीभुजी क्षेत्र)का मगर समुदायका जन्म, बिहे र मृत्युमा अहिलेसम्म बाहुन सहभागिता नहुनु। फलस्वरुप तिनका जन्म, बिहे र मृत्युमा छोरीभान्जा(मगर समुदायमा भान्जा भनेको ज्वाइँ पनि हो) सहभागी हुने चलन बच्यो। जन्म, बिहे र मृत्यु जस्ता जीवनपद्धतिमा बाहुन प्रवेशबाट जोगियो, मगर खाम/पाङभाषा जोगिएन। खाम/पाङभाषी नगन्य संख्या मात्र बचे।

तीज विस्तारित थिएन भन्दैमा हिन्दु संस्कृति पुगेको थिएन भन्ने त होइन। बाहुन प्रवेश नै थिएन भन्नेचाहिं होइन। अठार मगरात क्षेत्रका मगर समुदायलाई हिन्दूकरणले नछोएको भने होइन।

बाहुनले रुद्री, कथा (सत्यनारायण), जग्गे जस्ता पूजा, रक्षाबन्धनका दिन धागो बाँध्ने र अभिच्छे (अभिषेक भन्न खोजेको होला) गराउने चलन चलिसकेको थियो। खाम/पाङभाषी मगर समुदाय बसोबास रहेको रोल्पामा हिन्दूकरणलाई भन्दा खस नेपाली भाषा लाद्न जोड दिएकाले नै ढिलोगरी तीज विस्तार भयो। अर्थात् राज्यसंयन्त्रको मूल जोडतोड हिन्दूकरणमा नभएकाले तीज विस्तारमा ढिलाइ भयो।

रोल्पाको मगरबस्तीमा तीज कुन बाटोबाट पुग्यो? केको माध्यमबाट तीज विस्तार भयो? तीज विस्तार गर्ने बाटो सम्झम् है।

१. वाम दल

वाम दल माओवादीले आफ्ना भ्रातृ संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी) र सांस्कृतिक परिवारलाई खटायो। विस्तारको पृष्ठभूमिमा राज्यसंयन्त्र, आधुनिकता, पूँजीवादको उपभोक्तावादी संस्कृति त छँदैथिए। राज्य त निरन्तर तीज सहितको शासक संस्कृति विस्तार र प्रभावमा लागिपरेकै थियो।

१.१ अखिल नेपाल महिला संघ

नेपालका वामदल भ्रातृ संगठन महिला संघमार्फत तीज लिएर गाउँ पसे। शहर पसे। तिनले तीजको कार्यक्रम आयोजना गरे। टोलटोलमा तीजका गीत गाउन थाले। यस्ता कार्यक्रम कम्युनिष्ट पार्टीका महिला संघले आयोजना गरे। हिन्दु महिलाको पर्व तीज विस्तारको लागि कम्युनिष्ट पार्टीका महिला संघ लागिपरे।

जैपाको छिमेकी गाउँ रामखुम डाँडागाउँकी जयपुरी घर्तीमगर (कमरेड नमूना), जो युद्धकालीन माओवादीको महिला संघकी अध्यक्षको सम्झना स्मरणीय थियो।

‘बादीको परिवार थियो। खै कताबाट आएका थिए कुन्नि ? त्यो परिवार जिबाङ (डाँडागाउँ नजिकैको गाउँ)मा बसेको थियो । तिनले बाबासँग मीत लगाएका थिए। त्यसैले हामी बादीलाई मीत बा भन्थ्यौं, बदिनीलाई मीतआमा। बादी परिवारले तीज मनाउँथे।

हाम्री आमाको पालासम्म पनि हाम्रो गाउँमा तीज थाहा थिएन। हाम्रै पालामा पनि तीजसिज भन्ने थाहै थिएन’ जयपुरी घर्तीमगरले मगर बहुल उनको गाउँमा २०४७ तिर तीज पुगेको सम्झिइन्, ‘पोखरा (राङ्सी, रोल्पा)मा तीजको मेला लगाइम्। ब्रत बस्ने भनेर होइन कि, नाच्ने र गीत गाउने भनेर हो। हामीले तीज मेला लगायौं। अहिले त पालिकाले नै मेला लगाउँछ, तीज मेला भनेर। तीज मेला भनेर स्थापित नै भयो।’

महिला संघलाई माउ पार्टीले नै तीजका गीत भएको किताब पठाउन थाल्यो। ती किताबमा लेखेका गीत गाएर तीज गाउन थाले।

‘पार्टीले पठाएको किताबका गीत गाएर तीज मनाउन थाल्यौं। हामी न ब्रत बस्यौं न पूजा गर्‍यौं। त्यसअघि त मगर बाहुल्य गाउँमा तीज नै मनाउँदैनथे कतैकतै कोहीकोहीले मनाउँथे। पछिल्लो चरणमा आम भयो।’

माओवादी मूल मानिने उत्तरी रोल्पाको थबाङमा तीजको बीउ पञ्चायतकालमै रोपिएको थियो। थबाङकी सम्झना घर्तीमगर (कमरेड असिना, हाल विप्लव नेतृत्व नेकपा केन्द्रीय सदस्य, रोल्पा इन्चार्ज)ले सम्झिइन्, ‘प्युठान पढ्न र व्यापार गर्न गएका कुमारी घर्तीमगर, शान्ति बुढामगरहरूले पञ्चायतकालमै थबाङमा तीज ल्याए। रेशमकुमार शाहपत्नी मूलजिता, सिरकुमारीहरूले पनि तीज मनाउन थाले।’

छिमेकी गाउँ गुनाममा तीज भव्य रूपमा मनाउँथे। रोल्पा थबाङको छिमेकी गाउँ रुकुम गुनाम नेवार बस्ती थियो। सम्झनाले सम्झना सुनाइन्, ‘तीजमा स्कुल विदा हुन्थ्यो। त्यो विदाको दिन हामी गुनाममा तीजको नाच हेर्न जान्थिम्।’

पछि त तीजको विदामा गुनाम जान नै परेन, सम्झनाहरू आफैं तीजको गीत गाउन थाले। नाच्न थाले। ‘हामी महिला संगठनमा बस्यौं। आफैं गाउन, नाच्न थाल्यौं, तीजमा’, सम्झनाले सम्झिइन्।

तीज मनाउन निर्देशन

माओवादी त्यस्तो भेगमा मौलायो जहाँ पूँजीवादको प्रभाव परेको थिएन । राज्यसंयन्त्रले जरा टेकेको थिएन । जहाँ आदिवासी मगर बहुल थियो, तिनै भेगमा माओवादी मौलायो । माओवादीले नयाँ संस्कृतिको नाउँमा रातो टीका अर्थात् अबिर, माला लगाउने, भैलो खेल्ने लगायत हिन्दु संस्कृति मगरबस्तीमा लग्यो । प्रभुत्व जमाएको हिन्दु संस्कृतिलाई मगरबस्तीमा लग्यो ।

‘महादेवको पूजा गर्ने र ब्रत बस्ने गरिएन। तीजका सकारात्मक पक्षलाई आत्मसात् गरी अगाडि बढाउने भन्ने भयो। तीजको बेलामा राति कहिले हाम्रो गाउँमा जान्थिम् कहिले कुन गाउँमा’ रेखा शर्मा, युद्धकालीन माओवादी महिला संघकी अध्यक्ष एवं पूर्वमन्त्रीले सम्झिइन्, ‘२०५४/५५ तिर काठमाडौं खुलामञ्चमा तीज कार्यक्रम गर्‍यौं। रातभर लेखेर लगेको तीज गीत गायौं।’

माओवादी युद्ध थालनीपछिको रोल्पा सम्झना रेखाले सम्झिइन्, ‘हामी दक्षिण रोल्पा बुढागाउँमा महिला संघको कार्यक्रम थियो। त्यहीं भएको बेला तीज आयो। यो २०५५/५६ तिरको कुरा हो। आदिवासी मगर भेगका क्षेत्री बाहुनले पनि तीज नमनाउँदा रहेछन् क्यार। हामी तीजकै दिन दाङ झर्‍यौं ।

दाङ पसेपछि त तीजको ब्रत बसेका महिला रातैपहेंलै भेटिए। के गर्ने होला? छलफलपछि झोलामा राखेको सारी लगायौं। हिंड्दाहिंड्दै बेसरी भोक लाग्यो। बिस्कुट खाँदै हिंड्न थाल्यौं। ‘कस्ता आईमाइ हुन्, ब्रत बसेकाले पनि बिस्कुट खाँदै हिंडेका छन्’ भनेको सुनेर बिस्कुट झोलामा लुकायौं। त्यसबेला मसँग चितवनकी शोभा कट्टेल पनि हुनुहुन्थ्यो।’

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले त नारी दिवस (८ मार्च)लाई पनि तीजको रूपमा मनाउन समेत कोसिस गरेको थियो। रेखाले सुनाइन्, ‘आठ मार्चलाई तीजको रूपमा मनाउने छलफलसम्म चलेको हो।’

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का पूर्वअध्यक्षद्वय रेखा र जयपुरीले आफ्नो मातहतका जिल्ला र गाउँमा तीज मनाउन केन्द्रबाट निर्देशन दिएको सम्झिए, ‘माथि (महिला संघको केन्द्रीय समिति)बाट देशैभरि स्थानीय रूपमा तीज मनाउन तलका तहलाई सर्कुलर गर्‍यौं।’

१.२ सांस्कृतिक परिवार

वामदल माओवादीले महिला संघको साथै सांस्कृतिक परिवारलाई पनि तीज विस्तारमा लगायो। पार्टीको कलाकारले नै गीत लेख्ने, गाउने र गाउँगाउँ लाने हुन्। तिनले नै गीतसंगीत र नाचमार्फत जनतामाझ तीज विस्तार गरे।

महिला संघले जसरी नै सांस्कृतिक परिवारले तीजका गीत भएका पुस्तक प्रकाशित गरे। बुटवलको क्षितिज परिवारले निकालेको तीजका भाका भन्ने किताब पश्चिमतिर खुबै चल्ती थियो। दाङको मिर्मिरे परिवारले तीजका कोसेली नामक तीज गीतको किताब निकालेको थियो।

‘तीजका कोसेली भन्ने सानो हाते पुस्तिकाका गीत लिएर तीज आउनुअघि नै गाउँगाउँ पुगेका थिए’, लेखक हीरामणि दु:खीले सुनाए। त्यसबेलाका पार्टीका संस्कृतिकर्मी गाउँशहर पुगेर तीजका गीत गाएका थिए। नाचेका थिए।

तीजको गीत निकाल्ने मिर्मिरे परिवारमा दु:खी सहित नन्दबहादुर पुन पासाङ (पछि उपराष्ट्रपति बने), कुलप्रसाद केसी सोनाम (पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री बने) र रेखा शर्मा (पछि संघीय सरकारको मन्त्री बनिन्) पनि थिए।

रोल्पामा तीजका गीत भएको किताब त निक्लेन, तर क्यासेटमा रेकर्ड गरेर गाउँगाउँ लगे। माओवादीको केन्द्रीय सांस्कृतिक टोली सामना परिवारकी गायिका सीता आचार्यले (हाल रोल्पा जिल्ला समन्वय समिति संयोजक) सम्झिइन्, ‘झक्कु मामा (झक्कुप्रसाद सुवेदी)लाई चौपट्टा(दाङ)मा कांग्रेस गुण्डाले कुटपिट गरे नि, त्यो गुण्डागर्दी विरुद्ध ओम सेन दाइले गीत लेख्नुभयो। तीजको भाकामा मैले गाएँ। ठूलो टेप्रिकाट (टेप रेकर्डर)मा चक्कामा भरेको गीति क्यासेट लिएर कुलप्रसाद केसीको गाउँ कोटगाउँ दारबोट, चोपबहादुर डाँगीको गाउँ राम्मी गैरीगाउँ र गजुललगायतका गाउँमा कमरेडहरू जानुभयो। गीतमा राज्यआतंकको विरोध, देशमा जनवाद ल्याउने कुरा थिए।’

यो कुरा सुवेदी सभापति हुनुभन्दा केही अघिको हो। सुवेदी २०४९ को स्थानीय चुनावमा रोल्पा जिल्ला विकास समिति सभापति भएका थिए।

मोहनविक्रम सिंह नेतृत्व नेकपा (मसाल) नेतृत्व महिला र सांस्कृतिक परिवारले पनि तीज गीतको किताब र अल्बम निकालेको थियो। मसाल निकट अखिल नेपाल महिला संघ अर्घाखाँची, प्युठान आदि जिल्लाले तीजका गीतका किताब नै निकाले (पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष उदय जीएमसँगको कुराकानी)। रक्तिम परिवारकी कलाकार निलिमा पुनलगायतले कुनै बेला तीजका गीतका क्यासेट निकालिन्, अहिले हरेक तीजमा युट्युबमा गीत निकाल्छिन्।

माओवादीले त शान्तिप्रक्रियापछि पनि तीज गीतको किताब निकाल्यो। विचारमूलक प्रगतिशील तीज गीत संग्रह नामक किताबमा तीजको अर्थ र महिला मुक्ति शीर्षकको सुधा त्रिपाठीको भूमिका थियो।

‘हिजोको आँसुका भलहरू आज संङ्घर्षको फिलुङ्गाका रूपमा प्रकट नभई महिलामुक्ति कुनै पनि हालतमा प्राप्त हुन सक्तैन र एउटा स्वस्थ समृद्ध समाजको लागि महिलामुक्ति अनिवार्य शर्त हो र भोलिको त्यो समृद्धता महिलाका मात्र पोल्टामा सीमित रहने कुरा कदापि होइन। तीजका गीतहरूको यो सँगालो त्यसै उद्देश्य प्राप्तिका निम्ति समर्पित छ’, भूमिकामा भनिएको थियो।

किताबमा सत्य पहाडी, कल्पना धमला, सीता शर्मा, विमला शर्मा, सिर्जना शर्मा, निशा शर्मा लगायतका तीज गीत समेटिएका थिए। हिसिला यमीको शुभकामना सन्देश थियो।

‘यहाँ बुझ्नुपर्ने कुरा के छ भने तीज पर्व अन्तत: सामन्ती प्रथाको प्रतीक हो जहाँ पुरुषलाई पुज्य, देवत्व प्रदान गरेको देखिन्छ भने महिलालाई पुजारी र दासी बनाएको देखिन्छ। अझ आजको भूमण्डलीकृत समाजमा संसारमा तीज सामन्तवाद मात्र नभएर साम्राज्यवादको मिलनबिन्दु बनेको छ।

आजको वैज्ञानिक आधुनिक युगमा, सामन्तवादी सोच भएकाहरूलाई आफ्नो धर्म रीतिरिवाजको औचित्य पुष्टि गर्न धौ–धौ भएको बेला साम्राज्यवादले त्यस्ता रीतिरिवाजलाई आधुनिकीकरण गर्ने नाममा उपभोगवादी संस्कृति थपेर त्यस्ता संस्कृतिलाई लम्ब्याउने जुक्ति निकालेको देखिन्छ। यसरी धर्ममा आधारित भेलालाई साम्राज्यवादी, विस्तारवादीहरूले व्यापारी मेलामा परिणत गर्न खोजेको देखिन्छ’, यमीको शुभकामनामा भनिएको थियो।

त्यसैगरी सामेल गरिएका गीतमध्ये सत्य पहाडीको गीत थियो–

अधिकार मागेर त कहिले नि दिंदैन

वर्गमुक्ति विना महिला मुक्ति हुँदैन

एउटा राजा सामन्तको शासन अन्त्य भो

अझै उस्तै बनाउन खोज्नेहरू हो

शहीदका आमा, दिदी, बहिनी, जहान, परिवार सबै मिली गर्छौं फेरि

अर्को प्रतिकार (पृ.१६)

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?