+
+
Shares

रचना रिमालसँगै स्पेनमा तीजको रौनक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ८:५४

११ भदौ, बार्सिलोना । गायिका रचना रिमालसँगै स्पेनमा रहेका नेपालीहरूले सोमबार उल्लासपूर्ण माहोलमा तीज मनाएका छन् । प्रवासी नेपाली मञ्च स्पेनले बार्सिलोनामा आयोजना गरेको तीज विशेष कार्यक्रममा रिमालले आफ्ना दर्जनौं चर्चित गीत प्रस्तुत गर्दा उपस्थित नेपाली समुदाय गीतको तालमा झुम्यो ।

कार्यक्रममा सयौँ नयाँ-पुराना नेपालीहरूको उपस्थितिले सभाहल खचाखच भरिएको थियो।रिमालका लोकप्रिय गीतसँगै स्थानीय कलाकारहरूले पनि विविध सांगीतिक प्रस्तुति दिएका थिए, जसले वातावरणलाई अझ रमाइलो बनाएको थियो। प्रवेश नि:शुल्क राखिएको सो कार्यक्रममा मञ्चले परम्परागत तीज संस्कृतिलाई जोगाउँदै चेलीबेटीलाई दर पनि खुवाएको थियो ।

मञ्चका अध्यक्ष केदारनाथ ढुंगानाले कार्यक्रममा ऐतिहासिक सहभागिता रहेको उल्लेख गर्दै भने, ‘हामीले हरेक वर्ष तीज कार्यक्रम गर्दै आएका छौं, तर यो वर्षको कार्यक्रम विशेष र ऐतिहासिक रह्यो । हलभित्र र बाहिर गरी करिब एक हजार जनाको उपस्थिति रहेको हाम्रो अनुमान छ।’

गायिका रिमालले पनि स्पेनका दुवै कार्यक्रम सफल बनेको प्रतिक्रिया दिइन् । ‘म्याड्रिडमा जस्तै बार्सिलोनामा पनि अत्यन्तै राम्रो उपस्थिति रह्यो । सायद घरगाउँको यादले दिदीबहिनीहरूले मेरा गीत सुनेर नाच्दै रमाएका होलान्’, उनले भनिन्।

रिमालका अनुसार, युरोपमा डेनमार्क र पोर्चुगलका उनका कार्यक्रमहरू पनि निकै सफल भएका छन्।

यसैबीच, एनआरएनए क्षेत्रीय समिति म्याड्रिडले पनि आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ, जसमा रिमालले म्याड्रिडवासी नेपालीहरूलाई आफ्ना गीतमार्फत भरपुर मनोरञ्जन प्रदान गरिन् ।

खेलकुदप्रति गहिरो रुचि राख्ने गायिका रचना रिमालका लागि स्पेन भ्रमण केवल संगीतमा सीमित रहेन। उनले म्याड्रिडस्थित सान्टियागो बर्नबाउ र बार्सिलोनाको निर्माणाधीन क्याम्प नाउजस्ता विश्वप्रसिद्ध फुटबल स्टेडियमहरूको अवलोकन गरिन् ।

टेलिभिजन पर्दामा मात्र देख्दै आएकी ती मैदानहरू आफ्नै आँखाले देख्दा उनी निकै भावुक भइन्। ‘यो क्षण शब्दमा व्यक्त गर्न गाह्रो छ, आफ्नै आँखाले देख्दा आँखा रसाए’, उनले प्रतिक्रिया दिइन् ।

स्विट्जरल्याण्डमा पनि तीजको रौनक

स्विट्जरल्याण्डमा यस वर्ष पनि तीज विशेष कार्यक्रमसहित उल्लासपूर्वक मनाइएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र तीजका परिकारले माहोल झन् रंगीन बनाएको थियो ।

रातो सारी, रातो टीका र गहनाले सजिएका दिदीबहिनीहरूको उपस्थिति बाक्लो देखिन्थ्यो। नेपालकी लोकप्रिय गायिका रिता केसीले आफ्ना चर्चित तीज गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाइन् । स्विट्जरल्याण्डमा यो उनको तेस्रो प्रस्तुति हो । उनलाई स्थानीय गायक आशिष परियारले साथ दिएका थिए ।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष विष्णु थापाले अपेक्षाभन्दा बढी सहभागिता भएको उल्लेख गर्दै सबै सहभागीप्रति धन्यवाद व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?