
१० भदौ, काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् ।
व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था समेत मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको र आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।
कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइन र भित्र छिरिसकेपछि आठ वटा लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
तेस्रो लाम पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गराइएको छ भने दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
चौथो लाम तिलगंगा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था गरिएको छ । आर्यघाट नजिकको पुलसँगैको अस्थायी कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
दर्शन गरी फर्कंदा मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीबाट चन्दन वितरणको व्यवस्था मिलाइएको छ ।
पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।
भक्तजनबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।
पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्रांगणबाहेक) अवलोकन भ्रमण गर्न दिइएको छ ।
प्रतिक्रिया 4