
पहाडमा अहिले हुनु, एक्लै हुनु जस्तै हो। दौंतरीहरू सबै पहाडभन्दा पर, विरानो मुलुकमा छन्। जमाना फेरियो: आज बिरानो मुलुकमा बरु दौंतरीहरूसँग साथमा भइन्छ। पहाडमा हुनेहरू आज प्राय: एक्लै छोडिन्छन्।
यस्तै सँगै हुर्के, बढेको र पढेको एक जना साथी जापानमा छ। दुइटा बर्खा उसले उतै कटाइसक्यो। एक रात नेपालको १० बजे राति उसलाई अनलाइन भेट्छु र कल गर्छु। जापानमा समय हुत्तिएर मध्यरातको दोस्रो प्रहर छिचोलिसकेछ। रातको १ बजे नाघिसकेछ। यसरी हामी, “पहाडभन्दा पर छुटिसकेपछि, पहाड र पहाडको समय दुइटैलाई हामी पछाडि छाड्ने रहेछौं।”
सुशी कम्पनीमा ड्युटी रहेछ उसको; नाइट सिफ्ट। सन्चो–बिसन्चो र दुःखसुख हामी साट्छौं। कुराकानीको बहावमा म उसलाई सोध्छु, जीवनमा केही पछुतो छ ? उ नरोकिई फ्याट्ट भन्छ, “छ नि! बाबाले कति कर गर्नुभएको हो। केही गरी मान्दै मानिनँ। सानैमा बोर्डिङ पढेको भए आज प्रथम विश्वको अरू देशमा हुन्थें; यहाँ, अर्काको देशको भाषा पढिरहने दुःख त आइपर्थेन।” र हाम्रो जीवनरूपी चलचित्रको मध्यान्तर अगाडिका क्लाइमेक्सका कथाहरू यिनै पछुतोबाट शुरु हुन्छन्।
हामी पहाडका गाउँमा जन्मिनेहरू, पहिलो बोली नफुट्दासम्म हामी धेरैका काखहरूमा फुर्किन्छौं। गाउँमा जन्म दिने एक जना हुन्छ, तर सिङ्गो गाउँले एक जनालाई हुर्काउँछ। पहिलो पाइला हिंड्दा सबै झैं हामी पनि लड्बडाउँछौं। पहिलो वाक्य बोल्दामा लर्बराउँछौं। तर चाहे त्यो हिंडाइ होस् या बोलाइ, हाम्रा प्रथम पाइला र वाक्यहरूको साक्षी बसिदिने सिङ्गो गाउँ हाम्रो साथमै हुन्छ। यो हाम्रो सामाजिक रित हो। र हाम्रो बाँच्न बाँकी सारा जीवन यिनै रित र यिनले निर्माण गरिदिने व्यक्तित्वमा निर्देशित रहन्छ।
भाषा र जीवन हामीले पहाडबाट सिक्छौं। त्यसैले नजानिंदो ढङ्गमा पहाड हामी सबैको पहिलो गुरु हो। हामी पहाडका छाँगाहरूबाट खस्ने झरना र कलकल बग्ने खोलाहरूबाट सौन्दर्य चेत सिक्छौं। पहिलो संगीत देउरालीमा हावाले फर्फराइरहेको पातबाट सिक्छौं। हामीले कोइलीको कुहुकुहुबाट गायन सिक्छौं। मठ–मन्दिर र थानमा बाँधिने ध्वजाहरूबाट हामीले आस्था र भरोसा सिक्छौं। हामीले पहिलो माया बोटबिरुवा र जीवहरूसँग सिक्छौं।
हामीलाई पहाडको शिरलाई ढपक्कै ढाकेर हराइहाल्नुपर्ने हुस्सुले जीवनको नियति र करुणा सिकाइरहेको हुन्छ। हामीले सामूहिकता गाउँका रितहरूबाट सिक्छौं। हामीले नैतिकता पहाडका संस्कृतिहरूसँग सिक्छौं। यसरी हामीले अर्धचेतमा पहाडका पूर्ण कुराहरू सँगाल्छौं र थाहा नपाइकन सिङ्गो गाउँ आफूभित्रै बोक्छौं।
हुर्कंदै जाँदा हामी धेरै भाषाहरू भाकाहरूबाट सिक्छौं। ख्याली, रोइला, झ्याम्रे, सालैजो, कौरा, चुट्का र ठाडो भाकाहरूबाट हामीले जीवन, साहित्य र भाषा सिक्छौं। त्यसैले हाम्रो लवज लयात्मक हुन्छ। र गाउँ सँगै हुर्कने हुँदा, हामी गाउँ जस्तै खुल्ला, उदार र बढी सामाजिक हुन्छौं। यी त हाम्रा विशेषता हुन्। तर सामाजिक र कमजोर राज्यसंरचनाको कारण, हामीलाई हाम्रो विशेषताहरू कालान्तरमा पछुतो लाग्छन्। यो हाम्रो दुर्भाग्यपूर्ण नियति हो।
साठीको दशकतिर हुनुपर्छ। पहाडका हरेक देहातमा शिक्षाचेतले सबैलाई झकझकाउन थालेको थियो। अरब ट्रेन्ड शुरु हुन आँटेको थियो। शहरतिर बसाइँ सर्ने ट्रेन्डले पनि सँगै छुन आँटेको थियो। शहर, बजार र वैदेशिक यात्राहरूले शिक्षाको महत्त्व बढाएको थियो। विशेषत: अंग्रेजी शिक्षाको।
लगत्तै गाउँलाई अङ्ग्रेजीको भूत र भ्रमले झुक्यायो। त्यसैले काँचो माटो जस्तो कच्चा मानसिकता बोक्ने हाम्रो निर्दोष गाउँको वैचारिकता झुक्याउनमा धर्म र राजनीतिपछि अंग्रेजी भाषा तेस्रो नम्बरमा उभिन्छ।
यसै पनि हाम्रा विकेन्द्रित बस्तीहरूका माझ सरकारी स्कूल पनि हामीलाई टाढै पर्थे। अधिकांश विद्यार्थी लामो पैदल यात्रापछि मात्रै स्कूल पुग्थे। घरधन्दाको सकस सिध्याएर विद्यालय धाउनु सहज हुँदैनथ्यो। तर अङ्ग्रेजीको भ्रम र भूतपछि हामीलाई विद्यालय अझै टाढिए। र बोर्डिङ स्कूलहरू गाउँमा शून्यप्राय: थिए। त्यसैले यो पटक हामीले विद्यालय अनुरूप बस्ती नै शहर झार्यौं। यसरी नेपाली समाजको सामाजिक चरित्र र बसाइँसराइको प्रवृत्ति र प्रकृति निर्धारण गर्ने क्रममा चाहिं अंग्रेजी भाषा पहिलो नम्बरमा उभिन्छ।
कहीं कतै नबुझिएको र सुन्दै नसुनिएको बिरानो भाषा हाम्रा हजुरबुवा हजुरआमाका लागि अकाट्य थियो। आफ्ना नाति–नातिनाको तेज भाषाको तेजस्व अनुरूप मापन गर्नुभयो। विद्यालयले हामीलाई त्यही सिकायो र हामीले पनि त्यही सिक्यौं। फलस्वरूप हाम्रा लागि भाषा, भावनाहरूको सहजताका लागि नभएर क्षमता र दक्षताको मानक बनिदियो। यो हाम्रो पुस्ताले भोग्नुपरेको टिठलाग्दो त्रुटि हो।
र, यो त्रुटिलाई सत्य बनाइदिन अलिअलि शिक्षाको बढ्दो निजीकरणको फाइदा उठाउने स्वार्थ समूहहरूले खेले। जसले आफ्नो ब्रान्डिङको लागि अङ्ग्रेजी भाषा र यसको माध्यमलाई रोज्यो। राज्यको शिक्षा क्षेत्रमा रहेको कमजोर उपस्थितिको भूमिकाले पनि खेल्यो। र वैचारिक र बौद्धिक वर्गको असमञ्जसमा हामी फस्यौं।
बदलिंदो विश्व संरचना, सम्भावना र चुनौतीसँग जोड्नका लागि अंग्रेजी भाषाको महत्त्व थियो छ र रहनेछ नै। हामीलाई वैश्विक मञ्चमा उभिन र प्रतिस्पर्धा गर्न अङ्ग्रेजी भाषा चाहिन्छ पनि। त्यसैले आजको समस्या अङ्ग्रेजी भाषासँग होइन। निजी र कमजोर सरकारी शिक्षा संयन्त्रले थोपरिदिएको मान्यताहरूसँग हो। अंग्रेजी भाषासँग जोडिएको कमसल मानसिकतासँग हो जसले व्यक्तिगत उत्कृष्टतालाई भाषासँग जोड्छ।
त्यसैले हामीले बुझ्नुपर्छ, अंग्रेजी केवल भाषा हो। बढी फैलिएको भाषा। हाम्रा प्राप्तिहरू मापन गर्ने कुनै मानक होइन। हाम्रा प्रतिभाहरू जाँच्ने कुनै परीक्षा होइन। र हाम्रो व्यक्तित्व निर्धारण गर्ने कुनै नैतिक तत्व पनि होइन।
यसै पनि जिन्दगी, क्रमहरूमा मिल्नुपर्ने। नियमहरूमा बाँधिनुपर्ने। सूत्रहरूमा चल्नुपर्ने र सारहरूमा समेटिनुपर्ने भाषा र व्याकरण दुवै होइन। र पनि भाषाले थोपरिदिएको बोझ र मानकको उकालो चढ्न हामी जो–कोही सक्दैनौं। रुरुक्षेत्र गाउँपालिका ५ बम्घाबाट, विज्ञान संकायका निम्ति प्लस टु पढन बुटवल झरेका कविराज ज्ञवाली, “शुरु–शुरुमा अंग्रेजी सरले आफूलाई हेरेर पढाउँदा आफूलाई गाली गरेको हो कि पढाएको छुट्याउन नसक्ने अवस्थाहरू सम्झन्छन्।”
उत्कृष्ट अङ्क सहित उनले प्लस टु पास गरे। उनी अहिले सल्यान जिल्ला, शारदा नगरपालिकामा कृषि विकास अधिकृत भएर काम गरिरहेका छन्। यसरी भाषाको उकालो छिचोल्न सक्नेहरू हामी थोरै छौं। होइन भने शिक्षाको निजीकरणका स्वार्थ समूहहरूले थोपरिदिएको भाषिक बोझले हामी बीचमै थिचिन्छौं। यी बोझहरू अब हाम्रो पुस्ताको तगारोबाट हटाइनुपर्छ। यसै पनि देवकोटाले भनेका थिए, “मेरो भाषा ज्यादा नफैलिएको होस्, तर मेरो इन्द्रेणीको झर्ना यही हो।”
त्यसैले आज जापान कोरिया र अन्य देशको भाषा पढ्नुपर्ने बाध्यता आइपर्नुका पछाडि राज्य छ। जसले आफू जोगिनलाई हामीलाई भँगालोमा धकेलिदियो। भाषासँग जोडिएको पछुतोलाई हामीले अब बिर्सनुपर्छ। र भाषा मात्र होइन; भाषासँग लवज जोडिएर आउँछ। उच्चारण शैली पनि जोडिएर आउँछ। र नेपाली समाजको सन्दर्भमा हाम्रा भाषा र हाम्रो उच्चारण शैली जिल्लैपिच्छे फरक छन्। जातजातिका आ–आफ्ना मातृभाषा छन्। त्यसैले हामी सबैका उच्चारण शैली अलग छन्। हामी एउटै शब्द फरक–फरक शैलीमा बोल्छौं। हाम्रा एउटै भावना पनि भिन्नाभिन्नै तरिकामा जनाउँछौं। हाम्रो एउटै आशयका लागि हामीसँग अनेकन् लवज छन्। र यो हाम्रो भौगोलिक, भाषिक, व्यक्तिगत र समष्टिमा सामाजिक पहिचान सबै हो।
“हामी एउटै मूलको पानी पिएर पनि, भिन्नभिन्न भाषाशैलीमा मनका तिर्खाहरू मेट्छौं।” साँध जोडिएर पनि स्याङ्जा, पाल्पा र गुल्मी जिल्लामा बोलिने मगर भाषाहरू उस्तै भएर पनि फरक सुनिन्छन्। स्याङ्जामा बोलिने र सिंजामा बोलिने नेपाली र त्यसको उच्चारण शैलीमा समानता भेट्न गाह्रो पर्न सक्छ। यो हाम्रा लागि गर्वको विषय हो।
”पोखिनलाई भाषाको आ–आफ्नो पोखरी हुनुले भाषाको समृद्धपन देखाउँछ।” तर गाउँपालिका र नगरपालिका लवजहरू महानगरपालिकामा पुगुन्जेल हेयका भावले हेरिने व्यथाका कहानीहरू आजसम्म भनिएका छैनन्। भाषिक र भाषाशैलीमा भेदभाव हुने तथ्य आजको नेपालको गुमनाम सत्य हो।
र, यसमा वैचारिक र साहित्यिक बहसको खाँचो छ। राजधानीको “आइसियोस्: गइसियोस्”, कर्णालीको “आया हु: गया हु” र मैथिलीको “आइलबा: गइलबा” सबैमा उस्तै भावना, संवेदना र सौन्दर्य रहन्छ। त्यसैले लवज बीचको भेदभाव र खिसीटिउरीको व्यथाहरू सुनिनु, बुझिनु र लेखिनुपर्छ। भाषाको अब नयाँ मानक बनाइनुपर्छ। लवजसँग जोडिएको भ्रमहरू लेखिनुपर्छ र अङ्ग्रेजीसँग जोडिएको पछुतोहरू भने अब मेटिनुपर्छ।
अन्त्यमा, मेरो जापान बस्ने साथी परदेशमै जुधिरहेछ। दिन र रातको अन्तर उसको यौवनमा अहिले मेटिएको छ। काम र पढाइ बीचको गणित मिलाउँदैमा उसलाई भ्याइ–नभ्याइ छ। परदेशी जीवनमा भेटिने फुटकर खुशी र प्राप्तिलाई, गाउँघरको न्यास्रो र भाषाले जोड्ने पछुतोले हरपल जितिरहन्छ। ऊ हामी सबै नेपालीको प्रतिनिधि पात्र हो। ऊप्रति मेरो असीम प्रेम छ।
कविराज दाइ अझै कृषि अधिकृत छन्। भाषाको बोझरूपी उकालो दाइले पूरा गरे। तर दाइसँगैका दौंतरीहरू, भाषाको तगारोमा अल्झिएर बीचमै कतै छुटे। र बाँकी वर्षेनि, गाउँबाट राजधानी र अन्य शहर पढ्न जाने भर्खरका विद्यार्थीहरू लवजको लयमा अलिअलि हेपिनेछन्। कर्णालीबाट कपडा बेच्न हिंड्ने दाजुभाइहरूले भूगोल, भाषा र लवजको भेदभाव टड्कारै महसुस गर्नेछन्।
हिमालबाट जिम्बु बेच्न झर्नेहरूको लवजको नक्कलमा उनीहरूलाई पनि उडाइनेछ। तराईबाट मजदुरी गर्न पहाड आउनेहरूलाई पनि भूगोल र भाषाको आधारमा परदेशी मानेर गिज्याइनेछ। तर अब, यी सबैको हिसाबकिताब गरिनुपर्छ र हरेक नागरिकको मनको पछुतोहरू मेटिनुपर्छ।
प्रतिक्रिया 4