+
+
Shares
निबन्ध :

म बबुरो जागिरे

जिजीविषा पालेर त्यसकै गोरेटोमा हिंडेको सपना देख्न समेत छुट छैन म जस्तो तल्लो दर्जाको जागिरेलाई ।

प्रदीप सापकोटा प्रदीप सापकोटा
२०८२ भदौ ७ गते ११:१५

आकाश कञ्चन छ । तर मनको मझेरीमा कालो बादल मडारिएको छ । खै कुन्नि, मैले मनलाई मनाउन सकिनँ । शान्तिले बाँच्ने इच्छामाथि जब्बरे विवशताको साङ्लोले प्रभुत्व जमाएपछि मेरो मनको के लाग्थ्यो र !

सम्झन्छु जागिरे जीवन । जिम्मेवारीको घट्टले मज्जैले थिचेको छ म निम्छरो कर्मचारीलाई । त्यसैले त मन नहुँदा नहुँदै परिवारका आवश्यकता र चाहनाको उपेक्षा गर्न बाध्य छु ।

कहिले रिसाउँछु, झर्किन्छु अनि फन्किन्छु । कहिले आफ्नो लाचारीपनलाई सबै सामु प्रष्ट्याउने यत्न गर्छु । तर उनीहरू मेरो कुरा पत्याउँदैनन् । बनावटी ठान्छन् ।

मन सुक्सुकाउँछ । दिमागमा ठूलै भूकम्प जान्छ । मेरो भावना परिवार, साथीभाइ तथा इष्टमित्रले समेत बुझिदिएनन् मेरो विवशता । सहानुभूतिपूर्ण सद्भाव राखिदिने र सकारात्मक रूपमा बुझ्ने प्रयास नै गरेनन् ।

बाबुले टन्न पैसा थुपारेर पनि हामीलाई दिएन भन्ने ठान्छन्, छोराछोरी । कमाएको पैसा परस्त्रीलाई खुवाएर सक्छ भनेर शंका गर्छिन् श्रीमती । बुढेसकाल लागेका बाआमालाई छोराले तीर्थव्रत घुमाइदिएन भन्ने चिन्ता छ । खाजा खाँदा अरूको कहिल्यै बिल तिर्दैन भन्ने मित्रमण्डलीको दोषारोपण छ । आफन्त र इष्टमित्र पनि मप्रति त्यति नजिकिन खोज्दैनन्, घरमा कहिल्यै बोलाउँदैन भनेर ।

उफ् ! कसलाई कसरी सम्झाउँ ? म पो आफ्नै समस्यासँग परिचित छु । अरूलाई त मेरो समस्याको बारेमा सुइँकोसम्म भए पो ! कहिलेकाहीँ यस्ता कुराहरूले मनै उद्वेलित हुन्छ । कहिलेकाहीँ सपनामा पनि झस्किन्छु । बेचैनीले मुटुको चाल बढ्छ । म पीडाले धेरै पटक रन्थनिएको छु । तर यो पीडा शब्दमा व्यक्त गर्न सक्दिनँ ।

म मुडमा थिएँ । सुखको अनुभूति गर्दै थिँए- वास्तविक साथी त चुरोट र रक्सी पो रहेछ । यिनीहरू भगवान बनेर आए मेरो जिन्दगीमा ।

जब मन दुख्छ, सुटुक्क घरबाट निस्कन्छु । करिब ३०० मिटर दूरीमा रहको माल्दाइको हरियो पर्दाभित्र दायाँबायाँ छेलिएर पसिदिन्छु सुटुक्क । सबैभन्दा कुनाको एउटा थोत्रो कुर्सी, जुन मेरो जिन्दगीसँग विम्बित लाग्छ मलाई । त्यहीँ बसिदिन्छु थचक्क ।

यसो तुलना गर्छु म बसेको कुर्सी र मेरो जिन्दगी ठ्याम्मै मेल खान्छ । दाँज्न प्रयासरत छु । कतै सनमाइका उप्किएको छ । कतै किलाहरूले ठाउँ छोडेका छन् । कुर्सी खुइलिएको छ, रंगहीन भएर ।

अभाव र पीडाको दबदबा खप्न नसकेको मेरो जिन्दगी त्यस्तै छ । कतै के नमिलेको, कतै के नपुगेको । साँच्चै जीवनको लय मिलाउन सकिरहेको छैन । त्यसैले यस्ता कुराले कहिलेकाहीँ शिताङ्ग बनाउँछ ।

होटलवाली माइली मादक मुस्कान छर्दै एक स्टिल गिलास लोकल ठर्रा अर्डरबिना नै थपक्क मेरो अगाडि राखिदिन्छिन् । उनी अभ्यस्त छिन् म के पिउँछु भनेर । खरानी कट्कटिएको एस्ट्रे र एउटा चुरोट साथमा राखिदिन्छिन् ।

म अगाडि डोरीमा बन्धकी बनेर झुन्डिएको छ लाइटर । चुरोट सल्काउँछु । चुरोटको लामो सर्कोसँगै ओठमा गिलास पुर्याउँछु र घरको तनाव चुरोटको धुँवासँगै उडाउने असफल प्रयास गर्छु । कल्पिन्छु- यो धुवाँझैं मेरा अभाव र पीडाहरू उडाउन पाए !

मनमा तनाव र अभाव भएको बेला, मुटुको धड्कन अशान्त भएको बेला, मथिंगल खलबलिएको बेला, आफूमाथि मानसिक दुःखको पहिरो खस्न लागेको बेला सुखको कल्पनाको उडान भरेँ रक्सीमा । किन दुःखको गर्भमै समाधिस्थ भए मेरा सुखहरू ? कहाँनेर बाटो बिराएँ र यो परिस्थितिसँग सामना गर्न नसकी भाग्दैछु ? किन गलित तन र थकित मन लिएर जिउन पर्छ मैलै सधैं ? दुःखकै क्रुर पहिरो मात्र जान्छ जिन्दगीमा ?

यस्तै निरुत्तर प्रश्नहरूले घेरिएँ । टेबुलको गिलास उठाएँ र मुख बिगार्दै पिउन थालें । सबै दुःख र अभाव यसैगरी पिएरै सिध्याउन पाए ! पिउँदै गएँ, गिलास रित्याउँदै गएँ ।

फेरि उही मादक मुस्कानका साथ माइलीले थपिदिइन् रक्सी । नसा चढ्दै गयो । लाग्यो, अब मेरा सबै पिर सकिए । मन प्रसन्न भयो । मेरो विश्वासले त्यही भन्यो ।

लाग्यो- अब सुखले निम्तो दिनेछ । उसले भन्यो- प्रदीप अब तेरा समस्या रित्तिए । तेरा दुर्दिन सकिए । एकाङ्गीपनबाट तँ मुक्त भइस् ।

म मुस्कुराँए आफैंसँग । लाग्यो, जिन्दगी नयाँ मोडमा आएर खडा भएको छ । म मुडमा थिएँ । सुखको अनुभूति गर्दै थिँए- वास्तविक साथी त चुरोट र रक्सी पो रहेछ । यिनीहरू भगवान बनेर आए मेरो जिन्दगीमा ।

साहुजीलाई बिल तिर्ने पैसा थिएन । एउटा निम्छरो जागिरेसँग कहाँबाट होस् सधैं रक्सी पिउने पैसा । यताउती हेर्दै खुसुक्क बोलाएँ माल्दाइलाई र बहीखातामा बिल चढाउन लगाएँ । दुःखपीडा हराएको मान्छे भएर हुलुँगो मन तर रक्सीको मातले लड्खडाएको शरीर हल्लाउँदै बेफिक्रीसँग निस्किएँ ।

सन्नाटायुक्त कालो रात । सुनसान गाउँ । घरतर्फ पाइला अघि बढाएँ । खुट्टा थिरिएका छैनन्, तर पनि आफूलाई सम्हाल्ने कोसिस गर्दैछु ।

केही कदम बढेको के थिएँ, अगाडि खाल्डो रहेको पत्तै भएन । परिहालें खाल्डोको पासोमा । बल्लतल्ल सम्हालिएर उठें । माथिबाट चन्द्रमाले चिहाइरहेको थियो । कताकता लाज पनि लाग्यो । आकाशको चेपबाट मेरो चालढाल नियालिरहेको चन्द्रमासँग समेत लजाउनुपर्ने म बबुरो कर्मचारी । अगाडि बढेँ सुस्तरी ।

छिप्पिँदो रात, घरको आँगनमा पुग्दा सबैतिर चकमन्न थियो । मेरो आनीबानी नजिकबाट बुझेकी धर्मपत्नीले म घर आउन ढिला हुँदा ढोकाको आग्लो खुलै राख्थिन् । आफूलाई सम्हाल्ने प्रयास गर्दै जुत्तालाई खोलें र सुटुक्क माथि गएर सुतें ।

जागिरे जिन्दगी अचम्मकै छ नेपालमा । तल्लो दर्जाको जागिरेको दैनिकी त झनै कष्टप्रद छ । न हिउँदको ठिहीले चिस्याउन सक्छ न गर्मी यामको तातोले पोल्न नै । सबै सम्म, सधैं उस्तै । धक फुकाएर हिँड्न सक्दिनँ । आर्थिक अभावले थिच्छ सधैं ।

जीजीविषा पालेर त्यसकै गोरेटोमा हिँडेको सपना देख्नसमेत छुट छैन म जस्तो तल्लो दर्जाको जागिरेलाई । सोच्छु- मेरो जस्तै जिन्दगीको विदिर्ण चित्र भएका कति होलान् ।

असंख्य अभाव र गरिबीको पीडाका दैनिकी भोग्न बाध्य आम भुइँमान्छे सम्झेर जागिरे भएकोमा आत्मसन्तुष्टिको सास फेर्ने कोसिस गर्दै लाग्छु अड्डातिर ।

यता गर्यो, उता गर्‍यो, टुसुक्क बस्ने फुर्सदसमेत हुँदैन । निर्देशक कडा छन् अफिसका । साना कर्मचारीलाई जसै दिँदैनन् । टिप्पणी उठाएर लग्यो, शब्द शब्दमा खेल्ने, केरमेट गर्ने र पुनः लेखेर ल्या भन्ने उनको बानीसँग म परिचित छु ।

उनका भिजिटर आउँदा भने केही हल्का हुन्छ मलाई । किनकि, घन्टौं कोठा थुनेर गोप्य वार्तामा व्यस्त हुन्छन् । त्यतिबेला चिया-कफीबाहेक केही गर्नु पर्दैन ।

पौरख गर्नुपर्छ- स्कुल पढ्दा गुरुले सुझाउँथे । म राम्रै पढ्थें । सरकारी सिन्दुर लगाउने उत्कट चाह उतिबेला थियो । दोस्रो पटकको प्रयासमा खरदारमा नाम निकालें । तर आर्थिक अवस्था दिनानुदिन खस्कँदो । सँगैका मिल्ने दौंतरीहरू बिजनेस म्यान बनेर राजधानी वरिपरि घर ठड्याइसके । म भने उही बाको सम्पत्तिमा बसिरहेको छु । जोड्ने भन्दा नि ऋणको भारले पुर्ख्यौली सम्पत्ति बेच्ने परिस्थितिमा पुगिसकेको छु ।

जीवनका लाउँलाउँ-खाउँखाउँ वसन्त सकिइसके । उमेरले आधा शताब्दी पार गरिसक्यो, गर्न सकेको केही होइन । आँखाले खोज्छ- परिवार सुखी राख्न सकियोस्, मनले भन्छ– अभावबाट त्राण मिलोस् । तर यथार्थ विल्कुलै फरक ।

दुःखको कुहिरो पन्छाउने प्रयास सदैव असफल रह्यो । दुःखलाई सुम्सुम्याएर बस्नुको विकल्प रहेन । कहिलेकाहीँ सोच्छु- यही जागिर पनि घरपायक नभएको भए के हुन्थ्यो होला मेरो हालत ।

मनग्ये दुःख र मिहिनेत गरेकै छु । तर समय पुगेर पनि हुन नसकेको प्रमोसनको चिन्ता एकातिर, छोराछोरीका आवश्यकताका लामालामा मागपत्र अर्कातिर । अर्धाङ्गिनीका बग्रेल्ती रहर अनि बाआमाका सामान्य अपेक्षा कसरी पूरा गर्ने ? म आजकल द्विविधामा छु ।

एउटा सानो भूगोलमा अलिकति मात्रै स्वतन्त्रता बोकेर बाँचेको छु म । घर, अड्डा, माल्दाइको हरियो पर्दा, यही हो मेरो साँघुरो घेराभित्रको सानो भूगोल ।

अभाव बोकेर वैभवको सपना देख्न सक्दैन तल्लो दर्जाको जागिरेले । न उडेर पर जान सक्छ चरीझैं, न छोडेर जान सक्छ पथिकझैं यो सानो भूगोल । चुपचाप यथावत् दैनिकी बेहोर्नुको विकल्प पनि त छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?