+
+
Shares

मान्छेले भन्दा धेरै पानी पिउँदै एआई, वार्षिक ७ खर्ब लिटर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एआई प्रणालीले एक वर्षमा ३०० देखि ७०० अर्ब लिटर पानी खपत गर्दछन्, जुन एक वर्षमा विक्री हुने बोतलबन्द पानीभन्दा बढी हो।
  • एआई डेटा सेन्टरहरूले ठूलो मात्रामा बिजुली खपत गर्दछन् जसले अधिक कार्बन उत्सर्जन निम्त्याउँछ।
  • विज्ञहरूले एआईको बढ्दो पानी खपतले भविष्यमा जल संकट गहिरिने चेतावनी दिएका छन् र नयाँ नियम आवश्यक भएको बताएका छन्।

मोबाइलको स्क्रिनमा औँलाहरू चल्छन्, एउटा प्रश्न टाइप हुन्छ र केही सेकेन्डमै जवाफ स्क्रिनमा देखिन्छ । आजको समयमा आर्टिफिसियल इन्टेलिजेन्स हाम्रो जीवनको यति अभिन्न हिस्सा बनिसकेको छ कि हामी यसका नकारात्मक पक्ष पनि छन् कि भन्नेबारे सोच्न समेत छोडिसकेका छौँ । तर जसलाई हामी स्मार्ट, छिटो र भविष्यको प्रविधि ठानिरहेका छौँ, त्यही एआईले चुपचाप पृथ्वीको पानी रित्याइरहेको छ ।

एआईले पिइरहेको पानी यति ठूलो मात्रामा छ कि यसका जोखिमहरू देखिन थालिसकेका छन् । अनि एआईले गर्ने जलविनास र त्यसको नियन्त्रणको विकल्पका विषयमा बल्ल गम्भीर बहस चल्न थालेको छ।

हालैको एक अनुसन्धानले देखाए अनुसार विश्वमा एक वर्षमा मानिसले खपत गर्ने बोतलबन्द पानीभन्दा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमहरू बढी पानी खपत गर्दछन् ।

मानिसले भन्दा धेरै पानी पिउँदै एआई

वास्तवमा एआई प्रविधि कुनै हावामा चल्ने जादु होइन । यसका पछाडि ठूला–ठूला डेटा सेन्टरहरू छन् जहाँ हजारौँ सर्भरहरू दिन रात चलिरहन्छन् । यी सर्भरहरू सञ्चालन हुँदा स्वभाविक रूपमा धेरै तात्ने गर्छन् । अनि उक्त ताप नियन्त्रण गर्न अर्थात् सर्भर चिस्याउनका लागि ठूलो मात्रामा पानी प्रयोग गरिन्छ।

त्यही पानी नै वास्तवमा एआई सञ्चालनका लागि चाहिने इन्धन हो । तर यसबारे आम प्रयोगकर्तालाई प्रायः जानकारी हुँदैन । एक अनुसन्धान अनुसार हाल एआई सम्बन्धित सिस्टमहरूले एक वर्षमा ३०० देखि ७०० अर्ब लिटर पानी खपत गर्छन् । यो मात्रा संसारभर एक वर्षमा विक्री हुने बोतलबन्द पानीभन्दा पनि बढी हो । अर्थात् मानिसहरूले किनेर पिउने पानीभन्दा बढी पानी एआईका मेसिनहरूले चुपचापरूपमा रित्याइरहेका हुन्छन् ।

पानी मात्र होइन, बिजुली पनि

एआई डेटा सेन्टरहरूले व्यापक रूपमा पानी मात्र खपत गर्दैनन् ती चलाउनका लागि ठूलो मात्रामा बिजुली चाहिन्छ । यसरी धेरै उर्जा खपत हुनुको अर्थ हो अधिक कार्बन उत्सर्जन ।

एक प्रक्षेपण अनुसार भविष्यमा एआईबाट उत्पन्न हुने कार्बन फुटप्रिन्ट धेरै ठूला शहरहरूको वार्षिक प्रदूषण बराबर हुन सक्छ । तर यसबारे खुला रूपमा कमै चर्चा हुन्छ किनकि अधिकांश ठूला प्रविधि कम्पनीहरूले आफ्ना डेटा सेन्टरहरूको वास्तविक पानी र बिजुली खपत सार्वजनिक गर्दैनन् ।

रोचक त के भने हामीलाई आफूले एआई च्याटबोटमा गर्ने एउटा प्रश्न सानो लाग्न सक्छ । तर यसको यसर भने थुप्रिँदै जान्छ । जब करोडौँ मानिसहरूले दैनिक रूपमा यसैगरी एआई टुलहरू प्रयोग गर्छन् तब पानी खपतको स–सानो हिस्सा जोडिँदै अरबौँ लिटरमा पुग्छ । त्यसैले यदि कुनै व्यवस्थित योजनाबिना नै एआईको विस्तार यसैगरी अघि बढिरह्यो भने त्यसबाट भविष्यमा पानीको अभाव झन् गहिरिने चेतावनी विज्ञहरूले दिन थालेका छन् ।

विश्व धेरै अघिदेखि नै जल संकटसँग जुधिरहेको छ । विश्वका धेरै शहर तथा गाउँहरूमा पानीको अभाव छ र सीमित आपूर्ति छ । भूमिगत जलस्तर घट्दै गएको छ र जलवायु परिवर्तनले अवस्थालाई थप जर्जर बनाइरहेको छ । यस्तो अवस्थामा एआईको बढ्दो पानी खपतले नयाँ र गम्भीर प्रश्न खडा गरेको छ । विज्ञहरू भन्छन्- हामीले भविष्यका पुस्ताको पानीबाट एआई प्रविधिको मूल्य चुकाइरहेका छौँ ।

एआईका यस्ता गम्भीर वातावरणीय जोखिम हुँदाहुँदै पनि यसलाई रोक्न सम्भव छैन । एआई प्रविधिलाई रोक्न आवश्यक पनि हुँदैन । तर यसमा जिम्मेवारी जवाफदेहिता र संवेदनशीलता भने अपरिहार्य बनिसकेको छ ।

अब एआईको स्मार्ट फिचर र तीव्र जवाफबाट खुसी भएर मात्र पुग्दैन । एआइले कति पानी प्रयोग गरिरहेको छ, कहाँबाट लिइरहेको छ र यसको जिम्मेवारी कसले लिने ? भन्ने विषयमा विश्वमा एउटा नयाँ नियम बन्नु आवश्यक छ ।

हुनत कतिपय एआई कम्पनीहरूले पानी र बिजुली खपत घटाउने उपायहरूमा काम गरिरहेका छन् । अब चाहिँ यस विषयमा पारदर्शीता र जिम्मेवारी झनै आवश्यक भइसकेको छ ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?