
News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले हरेक नयाँ डिभाइसमा उन्नत आपतकालीन फिचरहरू थपिरहेको छ।
- एप्पलका चारवटा आपतकालीन फिचरहरूमा Emergency SOS, Crash Detection, आपतकालीन नम्बर सेट गर्ने, र Satellite SOS समावेश छन्।
- यी फिचरहरूले आपतकालीन अवस्थामा प्रयोगकर्तालाई तत्काल सहायता र सम्पर्क सुविधा प्रदान गर्छन्।
एप्पलका डिभाइसहरु विश्वकै सबैभन्दा उन्नत प्रविधिमा मानिन्छन् । ती प्रविधिले केवल प्रयोगकर्तालाई उपकरण प्रयोगका क्रममा भर्चुअल दुनियाँको सुविधा र सन्तुष्टि प्रदान गर्ने मात्र होइन वास्तविक जीवनको आपतकालीन अवस्थामा समेत निकै उपयोगी सावित हुन्छन्।
हामीले यसअघि पनि आइफोन तथा एप्पल वाचमा रहेका त्यस्ता प्रविधिले मानिसहरुको ज्यान जोगाएका विभिन्न समाचारहरु सुन्दै आएका छौं। वास्तवमा एप्पलले हरेक नयाँ डिभाइसमा ती फिचरलाई झनै उत्कृष्ट बनाउँदै लगेको छ । तर, यदि हामीले त्यसको प्रयोग गर्ने सही तरिका जान्यौं र त्यसलाई आफ्नो डिभाइसमा सक्रिय बनायौं भनेमात्रै ती फिचर्स उपयोगी हुन्छन् र लाभ उठाउन सकिन्छ।
यहाँ आइफोन र एप्पल वाचमा रहेका त्यस्ता चारवटा आपतकालीन फिचरका बारेमा प्रस्तुत गरिएको छ जो कुनै पनि आपतकालीन स्थितिमा तपाईंलाई काम लाग्दछन् ।
१. Emergency SOS : यो फिचरका माध्यमबाट प्रयोगकर्ताले तत्कालै र सजिलै आपतकालीन सेवाहरु, जस्तै पुलिस, एम्बुलेन्स आदिलाई फोन गर्न सक्नुका साथै आफ्ना आपतकालीन फोन नम्बरहरुलाई सचेत गराउन सकिन्छ । यसका लागि आइफोनको साइड बटन र भोल्यूम बटनलाई एकसाथ केही सेकेण्डसम्म थिच्नुपर्छ र त्यसपछि स्क्रिनमा देखिने Emergency SOS स्लाइडरलाई दायाँतर्फ स्वाइप गर्नुपर्छ। यसका साथै स्क्रिनमा काउन्टडाउन वा अलार्म सुरु नहोउन्जेल दुबै बटनलाई थिँचिराख्दा पनि हुन्छ। त्यसपछि फोनले स्वचालित रुपमा आपतकालीन सेवामा फोन गरिदिन्छ।
२. Crash Detection : यदि तपाईंले गाडी चलाइरहनुभएको छ र त्यसबेला दुर्घटनामा पर्नुभयो भने तपाईंले प्रयोग गरिरहेका आइफोन वा एप्पल वाच आफैले आपतकालीन सेवालाई कल गर्न सक्दछन्। यो फिचर आइफोन १४ र त्यसपछिका आइफोन, एप्पल वाच सिरिज ८ र त्यसपछिका एप्पल वाच, एप्पल वाच एसइ (जेन टू) र एप्पल वाच अल्ट्रा वा त्यसभन्दा नयाँ संस्करणमा उपलब्ध छ ।
दुर्घटना भएको पत्ता लागेसँगै डिभाइसले अलार्म बजाउँछ र काउन्टडाउन सुरु हुन्छ। यदि प्रयोगकर्ताले जवाफ नदिएमा डिभाइसले आफै आपतकालीन नम्बरमा फोन गरिदिन्छ।यद्यपि यो फिचरले हरेक प्रकारका दुर्घटना पत्ता लगाउन सक्दैन।
३. आपतकालीन नम्बर सेट गर्ने : तपाईंले आफू आपतकालीन अवस्थामा परेको बेला पहिलो सूचना वा सन्देश दिनका लागि आफ्ना नजिकका मानिसहरुको फोन नम्बरलाई आपतकालीन सम्पर्कका रुपमा सेट गर्न सक्नुहुन्छ। यसका लागि आइफोनको Settings मा जानुहोस् र Emergency SOS सर्च गर्नुहोस्।Health एपमा Edit Emergency Contacts in Health को विकल्प छान्नुहोस्। त्यहाँ तपाईंले फोन नम्बर थप्न वा संशोधन गर्न सक्नुहुन्छ।
तपाईंले सिधै Health एप खोलेर प्रोफाइल आइकनमा ट्याप गरी Medical ID मा गई Edit अप्सनमा ट्याप गरेर पनि आपतकालीन फोन नम्बरहरू जोड्न सक्नुहुन्छ। जब SOS कल गरिन्छ तब तपाईंले त्यसरी सेट गरेका आपतकालीन फोन नम्बरहरुमा स्वतः एसएमएसको माध्यमबाट सूचना प्रेषित हुन्छ।
४. स्याटेलाइटका माध्यमबाट Emergency SOS : यदि तपाईं मोबाइल नेटवर्क वा वाइफाइ नभएको ठाउँमा हुनुहुन्छ भने पनि आइफोन १४ वा आइफोन १५ मा तपाईंले Satellite SOS फिचरसँग मद्दत माग्न सक्नुहुन्छ। यो फिचरका माध्यमबाट तपाईंले स्याटेलाइटका माध्यमबाट आपतकालीन मेसेज पठाउन सक्नुहुन्छ र नेटवर्क नभएको अवस्थामा पनि सम्पर्क सम्भव हुन्छ। एप्पलले यो फिचरलाई प्रयोगकर्ता डेमोको रुपमा पनि ट्रायल गर्ने विकल्प उपलब्ध गराउँछ । ताकि प्रयोगकर्ता यो फिचरसँग परिचित होउन् र वास्तविक आपतकालीन अवस्थामा यसको सही तरिकाले प्रयोग गर्न सकुन् ।
प्रतिक्रिया 4